बहुलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन्। बुहुलाएर जथाभावी हिँडिरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन्।
घाइतेमध्ये गम्भीर अवस्थाका थरप्रसाद, सुशीला र सन्देशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको स्थानीय भोजराज खानालले बताए।
उनका अनुसार अन्य बिरामी आफैँ हिँडेर अस्पताल गए पनि थरप्रसादलाई स्ट्रेचरमा बोकेर अस्पताल ल्याइएको छ।
स्थानीयका अनुसार थरप्रसाद, सुशीला, रञ्जु र सुनितालाई रोपाइँका लागि खेततर्फ जाँदै गरेको अवस्थामा स्यालले टोकेको हो भने सन्देशलाई सदरमुकाम दिक्तेल जाँदै गरेको अवस्थामा बाटोमा टोकेको बताइएको छ । बहुलाहा स्यालले सुशीलाको अनुहार र तिघ्रामा, थरप्रसादको दाहिने खुट्टा र सुनिताको घुँडामा टोकेको छ।
उक्त स्याललाई तत्कालै स्थानीयले मारेका छन् । जे पायो त्यही टोक्दै हिँडेको स्याललाई आफूलाई टोक्न आएको बेला स्थानीय विक्रम विश्वकर्माले हातमा बोकेको फ्याउरीेले हिर्काएर मारेका हुन्।
बहुलाहा स्यालको टोकाइबाट एकैसाथ पाँच जना घाइते बनेपछि त्रासका कारण स्थानीय सिर्जनशील इङ्ग्लिस बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ।
घटनाको विषयमा जानकारी आएलगत्तै टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए। रासस
प्रकाशित मिति: 2014-07-30 13:46:32