प्रवेशिका परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ परीक्षा केन्द्रले सरकारले दिने पूर्वघोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ।
पचहत्तर जिल्लाका लागि रु १८ लाख ७५ हजार रकम पुरस्कार राखिएको थियो। सरकारले दिँदै आएको रु २५ हजार राशिको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ट ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन्। सोअन्तर्गत रु १५ हजार विद्यालय र रु १० हजार केन्द्राध्यक्षलाई पुरस्कार दिइन्छ।
शिक्षा मन्त्रालय, शिक्षा विभागमार्फत परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रूपमा दिँदै आएको थियो।
विसं २०७० को परीक्षामा व्यवस्थापन र मर्यादाका दृष्टिले हरेक जिल्ला परीक्षा समितिले हरेक वर्ष एक केन्द्र (विद्यालय) लाई उत्कृष्ट घोषित गरी पुरस्कार रकमका लागि सिफारिस गर्दैआएको छ।
गत वर्षको परीक्षामा काठमाडौँ जिल्लाभरिमा उत्कृष्ट परीक्षा केन्द्र घोषित भएको थानकोटस्थित मङ्गलोदय उमाविका प्राचार्य लीलानाथ शर्माले एकाएक सो रकम नपाउने जानकारी आएको गुनासो गरे।
पनिकाले तीन वर्षदेखि यस्तो पुरस्कार रकमको व्यवस्था गर्दै आएको छ। परीक्षामा चिट चोराउने, गुन्डागर्दी हुनेजस्ता विकृति रोक्नका लागि प्रोत्साहन दिन पुरस्कारको व्यवस्था गरिएको हो।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विभागले सरकारबाट पाउनेमध्ये वार्षिक रु चार अर्ब रकम पाउने कटौती भएकाले उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्न नसकिएको बताए। प्राचार्य शर्माले उत्कृष्ट विद्यालयका लागि सरकारले घोषणा गरेको पुरस्कार रकम अहिले एका एक नपाउनु दुःखद् हो, यसले हाम्रो मनोबल गिराउँछ,' उनले भने। रासस