काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले दक्षिण एशियामै पहिलो पटक दिगो विकास शिक्षा कार्यक्रम (सस्टेनेबल डिभलपमेन्ट) सुरु गरेको छ।
विश्वविद्यालले सुरु गर्न लागेको कार्यक्रम सञ्चालनअघि मंगलबार शिक्षाविद्, विकास साझेदार तथा सञ्चारविद्सँगको छलफलका वक्ताहरुले नेपालका विश्वविद्यालयले एकतर्फी रुपमा पाठ्यक्रम विकास गरेको र त्यसले बजारको माग प्रभावकारीरुपमा सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएका थिए। कार्यक्रमका सहभागीहरुले बजारको मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन जोड दिएका थिए।
विश्वविद्यालयको तर्फबाट शिक्षाविद् मनप्रसाद वाग्लेले दैनिक रुपमा विदेशिने विद्यार्थीलाई लक्षित गर्दै दिगो शिक्षा कार्यक्रम सुरु गरेको बताए। शिक्षाविद् महेशनाथ पराजुलीले यो कार्यक्रम दक्षिण एशियामै नयाँ भएको र यसले बजारको माग सम्बोधन गर्न सक्षम रहेको बताए। कुसोडका एसोसिएट डिन बालचन्द्र लुइँटेलले पहिलो पटक सरोकारवाला पक्षसँग छलफल गरी पाठ्यक्रम तय गरेकोे बताए। काठमाडौं विश्वविद्यालयले सरोकारवाला पक्षसँग छलफल गरी पाठ्यक्रम तय गर्न लागेको यो पहिलोपटक हो।