प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १४ औं श्यामार्पा रिन्पोछेको कुदुङ (पार्थिव) शरीर ल्याउन दिने निर्णय गरेको छ।
'मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको हुनाले मुख्य सचिव लीलामणि पौडेलले दिने औपचारिक पत्रको प्रतिक्षा गरिरहेका छौं,' यो प्रक्रियामा संलग्न इतिहास तथा संस्कृतिविद डा.रमेश ढुंगेलले मंगलबार बिहान सेतोपाटीसँग बालुटारबाट भने।
सरकारले पत्र दिएपछि भुटानबाट कुदुङ नेपाल ल्याइनेछ। यतिबेला रिन्पोछेको पार्थिव शरीर भूटानको थिम्पुमा त्यहाँको राजपरिवार र सर्वसाधारणका निम्ति राखिएको छ। उनको समाधिका निम्ति कुदुङ ल्याउन दिन आग्रह गरेको भुटान नेपाली पक्षसँग निरन्तर सम्पर्कमा रहेको छ।
'चिठी पाएपछि भूटानबाट उडिहाल्छ,' ढुंगेलले भने, 'यताको पत्र हाम्रो हातमा आएको खबर पाउनासाथ ड्रूकको चार्टर्ड फ्लाइट गुरूको पार्थिव शरीर लिएर उड्नेछ।'