इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् । यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् ।
विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापकरूपमा देखिन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो ।
गत असार १६ गतेदेखि रोजा सुरु भएपछि सोमबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो । रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ ।
तीन दिनसम्म मनाइने यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ । यस अबसरमा राष्ट्रपतिसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुलुकका विभिन्न समुदाले मनाउने पर्वले नै नेपालको पहिचान बोकेको छ, यहाँ प्रचलित सबै प्रकारका चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै समाजमा आपसी एकता, शान्ति, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति इद उल फित्र पर्वले हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् उनले दिएको सन्देशमा भनिएको छ ।
यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै विविध जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व, रहनसहन र परम्पराले आपसमा हार्दिकता, सहिष्णुता र एकतामा बाँध्ने काम गरेको नेपाली समाजमा इद उल फित्र लगायत चाडपर्वले पनि मेलमिलाप, एकता र सहयोगको प्रेरणा दिनेनै छ भन्ने विश्वास व्यक्त गरेका छन् ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले यस अवसरमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्न तथा महिला, दलित, मुसलमानको विशेषाधिकारसहितको संविधान निर्माणका लागि ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।
यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले देश तथा विदेशमा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विका लागि शुभकामना व्यक्त गरेका छन् ।