निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको सबै काम सोमबार साँझदेखि बन्द भएको छ।
नेपाली काँग्रेसका उत्तरी भेगीय प्रमुख पेम्बा छिरिङ तामाङका अनुसार चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको यथास्थानमा पुनःबहाली गर्नुपर्ने माग राख्दै गरिएको तालाबन्दीबाट सुनुवाइ नभएका कारण रसुवागढीमा भइरहेको सुरुङ निर्माणको सबै काम चिनियाँ ठेकेदार कम्पनीलाई आग्रह गरी बन्द गराइएको हो।
दश दिनदेखि जारी आन्दोलनलाई अघि बढाउन सङ्घर्ष समिति गठन भइसकेको तथा स्थानीय बासिन्दा र सरोकार समिति आन्दोलन कार्यमा सहभागी हुनाका साथै आफ्नो दलले पनि समर्थन दिइसकेको तामाङले बताए। शान्तिपूर्ण आन्दोलनप्रति एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीको पनि ऐक्यबद्धता रहेको जनाइएको छ।
यस्तै उत्तरी रसुवाको ५७.१ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजनाको निर्माणका सबै कामसमेत बन्द हुनाका साथै सञ्चालनमा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको प्रशासनिक काम ठप्प भएको बताइएको छ। रासस