उच्च परिणाम फेला परेको सुनचाँदीसहित व्यवसायी दिपक अग्रवाललाई इलाका प्रहरी कार्यालय धरानले सोमबार राजश्वलाई बुझाएको छ।
धरान ४ स्थित अग्रवालको घरबाट ७० केजी चाँदीसहित ८० तोला (९४१ ग्राम) सून र ५२ लाख रुपैया पैसा बरामद् गरेको थियो। बरामद् सामग्रीसहित अग्रवाललाई मंगलबार इप्रका धरानले पूर्वाञ्चल राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको हो। राजश्वले ५२ लाख रुपैया भने प्रहरीलाई नै कागजपत्रसहित बुझाएको छ। उक्त रकम सम्पत्ति सुद्धिकरण आयोग काठमाडौंमा बुझाउने तयारी रहेको इप्रका धरानका डिएसपी संजयसिंह थापाले बताउनुभयो।
धरानको औद्योगिक क्षेत्रमा प्लाष्टिक उद्योग रहेका अग्रवालले सुनचाँदी आफ्नो नभएर सूनचाँदी व्यवसायी संघ सुनसरीका अध्यक्ष सुनिल अग्रवालको भएको बताएका थिए। त्यसबारेमा सूनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष एवं सुनसरीका निर्वतमान अध्यक्ष मोहनकाजी शाक्यले पनि सुनिलले नै सुनचाँदी सुरक्षाको लागि दिपकको घरमा राखेको बताइसकेका छन्। सुन व्यवसायीहरुमाथि प्रहरीको हस्तक्षेप भएको भन्दै सूनचाँदी व्यवसायीहरुले धरानको सुनचाँदी आइतबार र सोमबार ठप्प पारेका थिए।
जे उद्देश्यले प्रहरीले छापा हानेको त्यो अनुसार काम नगरेको उपाध्यक्ष शाक्यको दाबी छ। …छापा मार्दा उद्देश्य किटान गरेर मार्नुपर्यो।, उनले भने 'एउटा प्रयोजनले छापा मार्ने र अर्को कुरा फेला पर्दा पक्राउ गरिनु ठिक भएन्।, उनले सांकेतिक रुपमा एक दिन बन्द गरेको र व्यवसायीहरुबीच ऐक्यवद्धता रहेको बताउँदै प्रहरीले अनुमानको भरमा काम नगरिदिन आग्रह गरे।