चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश द्वार सौराहा हो। यहाँ सुरु सुरुमा विदेशी मात्र देखिन्थे। वदलिँदो समयसँगै सौराहा आन्तारिक पर्यटन गन्तव्य बन्दैछ। काठमाडौं र पोखरा पछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्य बनेको छ। प्रकृतिसँग नजिक हुन चाहने जो कोहिलाई सौराहाले तान्छ।
सौराहा आउनुको मुख्य उदेश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो। त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ। निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ। सबै भन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो। एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ। हात्तीबाट जनवार राम्रो र सुरक्षितसँग देख्न सकिन्छ।
अर्को सफारी जीपमा। सौराहाको राप्ती किनारबाट सुरु हुने यो यात्रा निकुञ्जको मुख्यालय कसरासम्म पुग्छ। यात्रा लगभग ३६ किमि दुरी करिब साढे ४ घण्टामा पार गर्न सकिन्छ। कसरामा रहेको गोही प्रजनन केन्द्र पनि यात्रामा देख्न सकिन्छ। यि दुई बाहेक साहसिक पर्यटकका लागि निकुञ्ज हेर्ने अर्को उपाय पदयात्रा हो। जंगल वाकमा जान पथ प्रर्दशक अनिर्वाय छ। सौराहामा छन् नेचर गाइडहरु।
निकुञ्जमा ५०३ गैंडा, लगभग १५० बाघ छन्। जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि अनगिन्ति देखिन्छन्। बर्ड वाचिङ मात्रै गर्न पनि विदेसी आउँछन्।
सौराहामा अर्को छुटाउन नहुने कुरा डुंगा यात्रा हो। राप्तीमा ४५ मिनेट डुँगा चढ्न पाइन्छ। डुँगामा बसेर नदी किनारमा सुस्ताईरहेका गोही हेर्दा आनन्द आउँछ। जाडो याममा साइबेरियादेखिका चरा नदीमा आउँछन्। वर्षाको बेला पानी धमिलो हुन्छ। आफ्नो सीमा नापन नगरी उर्लने खोलामा जल यात्रा गर्दा आउने आनन्द बेग्लै हुन्छ। जल यात्रा गर्दा लाईफ ज्याकेट लाउनु पर्छ।
जल यात्रा सकिनेवित्तिकै १० मिनेटको हिँडाईमा हात्ती प्रजनन केन्द्र पुगिन्छ। त्यहाँ विभिन्न उमेरका हात्तीको छावा देख्न पाईन्छ, अझ त्यस माथि जुम्ल्याहा पनि।
सौराहाको आकर्षण भनेको हात्तीसँग नुहाउनु पनि हो। गर्मी महिनामा मानिसलाई मात्र होइन, हात्तीलाई पनि पानीमा खेल्न मन पर्छ। यसरी खोलामा नुहाउन गएका हात्तीसँग नुहाउनु, हात्तीको सुँडले फ्याकेको पानीमा सावर लिनु र हात्तीलाई नुहाइदिनु अविष्मरणिय क्षण बन्छ।
साँझ राप्ती किनारमा बसेर सूर्यास्त हेर्दा आनन्द हुन्छ। जुस वा मदिराको चुश्कि लिँदै डुब्दै गरेको सूर्य हेरिरहन मन लाग्छ। दिउँसो चर्को घाम पछि चिसिँदै गएको सन्ध्याकालिन मौसमा छुट्टै आनन्द लिन सकिन्छ। बगरबाट निकुञ्जलाई नजिकबाट पनि हेर्न सकिन्छ। कहिलेकाहीँ त पानी पिउन आएका जनवार पनि देख्न पाइन्छ। रातमा सौराहाको मुख्य चोकमा रहेको थारु न्ााच घरमा थारु न्ाृत्य चम्किन्छ। नृत्य हेर्न टिकट काट्नु पर्छ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने चितवन हात्ती महोत्सव सौराहाका व्यवसायीले सौराहाको ब्रान्डींगको अवसरका रुपमा लिने गरेका छन्। यो समय विदेशी पर्यटकको संख्या कम हुने भएकाले आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव सुरुवात गरिएको हो। यो खेल
सुरु हुँदा सौराहा क्षेत्र लगायत चितवनमै नेपाली पर्यटकको निकै कमी हुने गर्दथ्यो। हात्ती दौड हुन थालेको दस वर्षको अन्तरालमा हात्तीसँग सम्बन्धित थुप्रै खेलहरु थपिदै आएका छन्।
पछिल्लो समय हात्तीका छावाको रोचक फुटबल प्रतियोगिता र हातीवीचको सुन्दरी प्रतियोगिता हुन थालेको छ। साथै गाडा दौड, डुङा दौड, सांस्कृति कार्यक्रम अवलोकन गर्न सकिन्छ।
चितवन हात्तीहरुको राजधानी हो। जंगली हात्ती हुन् या सरकारी वा निजी हात्ती, संख्यात्मक हिसाबमा नेपालका अन्य ठाउँहरुमा भन्दा यहाँ धेरै पाइन्छ। यति मात्र होइन, चितवन हात्ती सफारीका लागि पनि प्रमुख गन्तव्य हो। संसारका विभिन्न कुनाबाट चितवन हात्ती सफारीकै लागि आउने पर्यटक संख्या पनि निकै छ। हात्ती महोत्सवको कारण पनि चितवन पर्यटक बढाउँदैछ। यो सुखद पक्ष हो।
सौराहामा पर्यटकीय सुविधाका होटल, रेष्टुँरा छन्। त्यसैले सौराहा घुम्न कम्तिमा दुई रात छुट्टयाउनु पर्छ। मनसुनको हरियालीमा जंगलमा धेरै जनावर देख्न सकिन्छ। हामी नेपाली पर्यटक आउँदा खुशी हुन्छौं। सौराहासम्म देशका धेरै भूभागबाट यातायात साधनमा आउन सकिन्छ। काठमाडौंको कान्तिपथबाट हरेक बिहान ७ बजे टुरिष्ट बस आउँछ। त्यसमा आउँदा यात्रा आरामदायी हुन्छ। अरु बस, मिनिबस र निजि सवारी साधनमा आउँदा पनि हुन्छ। हामी न्यानो स्वागत गर्न पर्खिबसेका छौं।
(लेखक होटल संघ चितवनका महासचिव हुन्।)