बिहान घाम लाग्नुअघि नख्खुजेलमा विद्यार्थी उठाउन शिक्षकहरु कोठाकोठा चहार्छन्। आँखा मिच्दै उठ्छन् केही कैदी र हातमा कापीकिताब लिन्छन्। दौडेर आइपुग्छन् जेलको कक्षाकोठामा।
नख्खु कारागार खुला निमाविमा बिहान सात बजे सुरु हुन्छ, बिहानी कक्षा।
१० बजेपछि त जेलमा कल्याङ्मल्याङ् सुरु भैहाल्छ, खाना खाने, आफन्तहरु भेट्न आउने र अरु पनि काम गर्ने। स्कुल पनि त्यो दिनका लागि छुट्टी हुन्छ।
५ सय कैदी भएको नख्खु जेलमा अहिले १ सय जति विद्यार्थी पढ्छन्। विद्यालयमा कक्षा एक देखि आठसम्म पढाइ हुने भए पनि सबै कक्षा सञ्चालन नहुने जेलर चक्रपाणि गौतमले बताए।
‘हामी सबै कक्षाचाहिँ सञ्चालन गर्न सक्दैनौँ, तीनवटा कक्षा सञ्चालन हुन्छन्, तिनैमा ८ कक्षासम्मको कोर्स पढाइ हुन्छ,’ जेलर गौतमले भने।
खोटा सिक्का चलन कसुरमा जेल परेका सफी अहमदले दुई वर्षअघि जेलमा प्रौढ शिक्षा पढाउने पहल गरेका थिए। अलि समय प्रौढ शिक्षा पढाएपछि अहमदले जेलमा स्कुलकै पढाइ हुनुपर्ने माग राखे।
तत्कालीन जेलर लक्ष्मीप्रसाद रेग्मीको प्रयासमा जिल्ला शिक्षा कार्यालयबाट नख्खु जेलमा निमाविसम्म पढाउने अनुमति मिलेको उक्त स्कुलका मुख्य शिक्षक नूर आलम अन्सारीले बताए।
त्यसपछि यहाँ नियमित पढाइ हुने गरेको छ। विद्यालयको छुट्टै भवन छैन। सबै विद्यार्थीलाई किताब पनि पुग्दैन। जेलभित्र एउटा लाइब्रेरी छ, त्यहीँबाट विद्यार्थीहरुले किताब लिन्छन् र बाँडेर पढ्छन्। सक्नेले भने आफैँले किताब मगाएर पढ्छन्।
‘टिभीकोठामा दुईवटा कक्षा सञ्चालन हुन्छन् र लाइब्रेरीमा एउटा हुन्छ,’ अन्सारीले भने, ‘हामी ७ जनाले मिलेर जुन हामीलाई आउँछ, त्यही विषय पढाउँछौँ।’
जेलमा शिक्षक खोज्न भने केही गाह्रो नहुने जेलर गौतमले बताए।
‘यहाँ धेरै कैदीहरु पढेलेखेका छन्, एमए पढेको शिक्षक पनि सजिलै पाइन्छन्,’ जेलर चक्रपाणि गौतमले भने।
जेलमा समय बिताउन गाह्रो हुन्छ, पढाउने हो भने सिंगै बिहान जान्छ, त्यसैले पनि कैदीहरु पढाउन पाएर दंग पर्छन्।
जेलबाट निस्किएर जाँदा सकारात्मक आचरण लिएर जाउन् भन्नेमा प्रशासन सजग रहेको जेलरले बताए।
विद्यालयमा जस्तो पढाइ नभए पनि उनीहरुको परीक्षा भने जिल्ला शिक्षा कार्यालयले लिन्छ। गत वर्ष जिल्लास्तरीय परीक्षामा जेलबाट २९ जना विद्यार्थी पास भए। तीमध्ये २७ जनाले प्रथम श्रेणी ल्याए। दुई जना सेकेण्ड डिभिजन।
यस वर्षदेखि माध्यमिक स्तरको सम्बन्धन लिन पहल गरेको नख्खु कारागारका जेलर गौतमले जानकारी दिए।
जेलभित्रै एसएलसीसम्मै पढ्न पाइने कुराले यहाँका विद्यार्थीहरुलाई उत्साहित बनाएको शिक्षक नूर आलम अन्सारीले बताए।
‘हामीले पछिल्ला वर्षहरुमा जेलभित्रै पढ्ने माहोल सिर्जना गरेका छौँ,’ अन्सारीले भने, ‘यहाँको प्रशासनले हामीलाई सहयोग गरेको छ, माध्यमिक विद्यालय खोल्ने र विद्यार्थीका लागि छुट्टै कोठाको व्यवस्था गर्न सके राम्रो हुन्थ्यो।’