बुधबार ताइवानको ट्रान्स एसिया एयरवेज कम्पनीको विमान दुर्घटनामा पर्दा ४८ यात्रुको मृत्यु हुनुका साथै १० घाइते भएको उक्त विमान कम्पनीले पुष्टि गरेको छ।
कम्पनीको उडान नं जिइ २२२ बाट ५८ जना यात्रु बोकी आन्तरिक उडानमा रहेको विमान पेङ्गु द्वीपमा बुधबार राति दुर्घटनामा परेको हो।
फ्रान्समा निर्मित एटिआर–७२ मोडेलको सो विमान ताइवानको प्रमुख सहर काओसिउङ्बाट आन्तरिक गन्तव्यतर्फ साँझ ५:४३ बजे उडेको विमान केही समयपश्चात खराब मौसममा परी गन्तव्यतर्फ जान नसक्दा पेङ्गु द्वीपको मागोङ्ग विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ।
मागोङ्ग विमानस्थल क्षेत्र वरिपरि भारी वर्षाको कारण चालकले धावन मार्ग ठम्याउन नसकी खोजीका क्रममा विमानको सन्तुलन बिग्रन गई ग्रामीण निजी क्षेत्रको मानव बस्तीमा पुगेको र अग्ला भवनहरूलाई ठक्कर दिई विमान क्षतिग्रस्त हुन पुगेको थियो।
विमानमा दुई जना फ्रेन्च नागरिक र चार चालक दलका सदस्यसहित ५८ जना यात्रु रहेको जनाइएको छ। विमान दुर्घटना भई यात्रुहरूको मृत्यु भएकोमा चीनका राष्ट्रपति सि जिनपिङ्गले गहिरो समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति जिनपिङ्ग हाल ल्याटिन अमेरिकाको औपचारिक भ्रमणमा हुनुभएता पनि दुर्घटनाको खबरले उहाँलाई गहिरो चोट पुर्याएको भनी चीनस्थित ताइवान मामिलाको राज्य परिषद् कार्यालयको विज्ञप्तिमा जनाइएको छ।
विमान कम्पनी ट्रान्स एसियाले घाइते भएका प्रति व्यक्ति यात्रुलाई दुई लाख न्यु ताइवान डलर (करिब ६ हजार सात अमेरिकी डलर) तथा मृतकका परिवारलाई प्रति यात्रु आठ लाख न्यु ताइवानी डलर तत्कालको क्षतिपूर्तिबापत दिने भएको छ।
विमानका दुई वटा ब्ल्याक बक्समध्ये एउटा फेला परेको जानकारी ताइवानी हवाई विभागका अधिकारीले जानकारी दिएका छन्। दुईवटै ब्ल्याक बक्स फेला परेपछि दुर्घटनाको छानबिन गरी कारण सार्वजनिक गरिने समेत जनाइएको छ। रासस/सिन्ह्वा