वर्षाका कारण पृथ्वीराजमार्गको ठाउँठाउँमा आज यातायात अवरुद्ध भएको छ ।
वर्षापछि सडकमाथिबाट आएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत बैरेनी गाविसको मछेडीखोलामा बाढी आई बालुवा माटोसहितको लेदो आएर सडक अवरुद्ध भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । अहिले पहिरो हटाउने कार्य भइरहेको र छिट्टै आवागमन सुचारु हुने प्रहरीले जानकारी दिएको छ ।
सडकमा कतिपय यात्रुबाहक तथा मालबाहक गाडीहरु हिलोमा फसेका छन् । जोगिमारामा समेत सडकमाथिबाट आएको हिलोका कारण राजमार्ग अवरुद्ध भएको छ । डोजरले सडकको हिलो पन्छाएपछि राजमार्गमा यातायात सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
राति लगातारको वर्षापछि आएको बाढीका कारण धादिङ सेर्तुङ हिन्दुङका ३५ घर जोखिममा परेका छन् । अविरल वर्षापछि सेर्तुङ गाविस वडा नं ९ हिन्दुङमा आएको पहिरोका कारण त्यस क्षेत्रका ३५ घर जोखिममा परेका हुन् ।
पहिरोका कारण एकजना घाइते भएका छन् भने दुई पानीघट्ट बगाएको सेर्तुङ हिन्दुङका चलमान तामाङले जानकारी दिए । पहिरोका कारण गाउँमा रहेको हिन्दुङ प्राथमिक विद्यालय पनि जोखिममा परेको बताइएको छ ।
विद्यालय जोखिममा परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । पहिरोका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी रातको समयमा पारी गाउँमा जाने गरेका छन् । घटनास्थलमा सेर्तुङबाट प्रहरी टोली पुगेर सदरमुकाममा जानकारी गराएको छ । सो स्थान सदरमुकामबाट तीन दिनको पैदलदूरीमा पर्दछ । रासस