कुमार राई (६०), वैकल्पिक बासस्थान कहाँ खोज्ने चिन्तामा डुबेर दिन काट्दैछन्। वर्षअघि स्थानीय खोलामा आएको बाढीले घरजग्गा बगाएपछि उनी 'विस्थापित' भए।
मजदुरी नगरी विहान बेलुका टार्न नसक्ने बर्गका राई बस्दै आएको घर र दुई कठ्ठा १५ धुर जग्गा भदौ २१ गते राति सोल्टी खोलाले बगाएको थियो। धनकुटा जिल्लाबाट २०४० सालमा राई तराई आएका रहेछन्।
उनी बस्दै गरेको स्थान सरकारद्वारा 'घोषित' नगरपालिका उर्लाबारीको ६ नम्बर वडामा पर्छ। गरिब हुनुको नियति उनी खोलाकिनारकै जग्गामा बस्न कर लाग्यो। सुरूमा बस्दा ऐलानी रहेको जमिन जोतभोग गर्दै जाँदा पन्ध्र वर्षपछि लालपुर्जा हात लाग्यो। लालपुर्जा हात लागेपछि अलिकति मेहनत गरेरै उनले काठले घेरेर घर बनाए।
पढलेखनगरेका राईले आफ्नो पौरखले जीवनमा आर्जेको यत्ति थियो।
२०७० भदौ महिनाको तेस्रो हप्ता। हप्ताभरि भारी वर्षा हुँदा दिनप्रतिदिन खोलो उग्र बन्दै गइरहेको थियो। राई बसेको जग्गाभन्दा पचास मिटर टाढा थियो खोलो। एक दिन, दुई दिन गर्दैगर्दै खोलो घरको सिमाना आइपुग्दै थियो।
भदौ २१ गते राति पनि पानी दर्किरहेकै थियो।
बाहिर हेर्दै भित्र पस्दै गर्दै थिए राई। दुई बजेर कटेपछि खोलो आँगन आइपुग्यो। अब भने घर बगाउने हो कि भन्ने डर मनमा पसेछ।
रातिको समय फेरि यस्तो विपत्तिमा कहाँ जाने भनेर सोच्ने बेला थिएन। घरनजिकै खालि जमिन थियो। टिम्बर कर्पोरेशन नामक संस्थाको रहेछ।
वरपर साथीभाइ खोजखबर गरे। बेर नलगाइकन घर भत्काएर काठपात, टिन, लत्ताकपडा र खाद्यान्न सारे।
यो गाउँमा सोल्टी खोलाले बगाएर विस्थापित उनैमात्र परेछन्। कर्पोरेशनको त्यो उपयोगविहीन जग्गा बाढीपीडित राईका निम्ति केही समयका लागि परिवार ओताउने उपयुक्त ठाउँ नै भयो।
त्यहीँ खाँबा गाडे। घर ठड्याए।
बाढीपीडितका नाममा जिल्ला दैवी प्रकोप उद्दार समितिबाट ६ हजार पाएका थिए। त्यति पैसोले घर 'दुरुस्त' हुनै कुरै थिएन। बुढेसकालमा दोस्रो घर बनाउन फेरि पाखुरा बजार्नुपर्यो।
एक वर्षसम्म त उनलाई कसैले केही भनेनन्। टिम्बर कर्पोरेशनको जग्गा उपयोगमा आउने छाँटकाँट थिएन। निक्कै वर्षपहिले रुख चिर्न बनाइएको छहारीमात्र थियो।
न घर, न आफ्नो जमिन भएकालाई यो जग्गाको भविष्यबारे सोच्ने मौका मिलेनछ।
दुई तीन महिनायता हो। टिम्बर कर्पोरेशनले उनलाई 'खालि गरिदिए राम्रो हुन्थ्यो' भन्दै सुझाउँदै आएको थियो। उपयोगबिहीन जग्गामा बसेकाले ऊ आफैंले राईलाई त्यहाँबाट हटाउने हिम्मत जुटाउन सकेन छ।
महिनाअघिको कुरा। के गर्ने भन्दै सोच्दै जाँदा गाउँका लब्ध प्रतिष्ठित व्यक्ति फेला परे। उनीहरू थिए – सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका स्थानीय 'नेता'।
एक जना बाढीपीडितलाई हटाउन यी प्रमुख तीन राजनीतिक दलका स्थानीय नेताले मोर्चाबन्दी गरेछन्। राईकै घरमै 'मिटिङ' बसे।
निचोड निकाले – माघ मसान्तसम्ममा त्यहाँबाट हटाउने।
राजनीतिमा दाउपेचका निम्ति खालि जग्गा हडप्न उक्साउने ती पार्टीका नेताले राईलाई भने कुनै विकल्प दिएनन्।
'खोइ उहाँहरू आउनुभो, हट्नुपर्छ भन्नुभो,' राई भन्छन्, 'अर्काको जग्गामा बसेको मैले त केही भन्नै सकिनँ।'
गरिबी उन्मूलनको घोषणा गर्ने सरकारले उनलाई क्षतिपूर्तिबापत दिएको 'भेटी' त्यही ६ हजारमात्र हो। पुस–माघको ठन्डीमा बास उठ्नैपर्ने बाध्यता आइपर्दा बाढीपीडित परिवारमा 'निमुखाका निम्ति राज्य छैन' भन्ने परेको छ।
राई आफैंलाई त्यो जग्गामा बस्न मन छैन। कम्तीमा वैकल्पिक व्यवस्था मिलाइदिएर हटाउने निर्णय गरेको भए कल्याण हुन्थ्यो भन्ने चाहिँ लागेको छ।
'मेरो जाने ठाउँ कहीँ कतै छैन,' उनी भन्छन्, 'गए सडकपेटी हो।'
यो बुढेसकालमा कुमार र उनकी श्रीमती शर्मिलालाई तरुनी भइसकेकी छोरी र एक छोरा लिएर कहाँ जाउँ भन्ने पिरलो बढेर गएको छ।
उनलाई यसरी हटाउन मोर्चाबन्दी गर्ने दलका नेता टंकनाथ दाहाल, इन्द्र माखिम र गंगा बाँस्तोला। दाहाल कांग्रेसका ६ नम्बर वडा समिति सभापति, माखिम एमाओवादी गाविस सचिव र बाँस्तोलाले नगर कमिटीका पूर्वअध्यक्ष हुन्।
राई परिवारलाई हटाउने निर्णय आफैं 'उतारेको' बताउने बाँस्तोला उनीहरूको हितकै लागि यो निचोडमा पुगेको बताउँछन्। 'सरकारले चाहे यो परिवारलाई तु हटाउन सक्थ्यो,' उनी भन्छन्, 'कम्तीमा हामीले समय दियौं।'
वर्षौंसम्म चुप बसेको टिम्बर कर्पोरेशन उक्त जग्गामा वृक्षारोपण गरेर सरकारलाई 'हरियो वन' हस्तान्तरण गर्न कस्सिएको छ। बाढीपीडितले ओगटेको त्यस्तै चार धुर जमिन उसका लागि 'साँघुरो' बनेको थियो।
'वृक्षारोपण गरेर वन सरकारलाई हस्तान्तरण गर्ने मनसायले ती बाढीपीडितलाई जग्गा खालि गरिदिन हामीले अनुरोधमात्र गरेका हौं,' कर्पोरेशनका विराटनगर प्रमुख लक्ष्मी रेग्मीले भने, 'हामी आफैंले हट् भनेको चाहिँ हैन, तर सरकारी जग्गामा बस्न मिल्दैन भनेको चाहिँ हो।'
कर्पोरेशनलाई 'साँघुरो' लागेको यो ठाउँ प्रमुख राजनीतिक दलका निम्ति भने 'टाउको दुखाइ'को विषय बनेछ। 'कर्पोरेशनले खालि गर्न चाहिरहेका बेला हामीले समय दिएका हौं,' कांग्रेसका प्रतिनिधि दाहालले भने, 'विगतमा बाढीपीडितका नाताले हामीले संरक्षण गरेकै हो।'