जाजरकोटका अधिकांश स्थानीय बासिन्दा डोल्पामा पाइने यार्सागुम्बाबाट कमाइ नभएपछि भारततिर जान थालेका छन् ।
यार्सागुम्बा टिपेर घरको दैनिक खर्च टार्ने उद्देश्यले डोल्पाका विभिन्न पाटन गएका जिल्लाका अधिकांश स्थानीय बासिन्दा रित्तो हात फर्केपछि घर छोडी भारत जान लागेको खगेनकोट–५ का इन्द्रबहादुर खत्रीले बताए ।
खगेनकोट गाविसबाट मात्र २०० भन्दा बढी स्थानीय भारतका विभिन्न ठाउँमा कमाइ गर्न गएको खत्रीको भनाइ छ । अहिले दैनिक जाजरकोट सदरमुकाम भएर ग्रामीणस्तरका एकसयभन्दा बढी स्थानीय भारततिर पलायन भइरहेका छन् ।
डोल्पा गएर लगाएको ऋण तिर्न र दसँै, तिहारको खर्च टार्नका लागि जिल्लाका खगेनकोट, रग्दा, भगवती, लहाँ, डाडाँगाउ, नायकवाडा, रोकायगाउँ, जगतिपुरलगायत दर्जनभन्दा बढी गाविसका स्थानीय भारत गएका हुन् ।
छोराछोरी र श्रीमतीलाई घरमा छोडेर आवश्यक खाद्यान्नको जोहो गरी दसँै, तिहारमा घर फर्कने योजनाअनुसार भारततिर लागेको भगवती–५ का कालीबहादुर विकले बताए । भारत नगए कमाइ हुँदैन, कमाइ नभए घरको समस्या कसरी टार्ने र साहूको ऋण कसरी तिर्ने, समस्याको पर्खालैपर्खाल भएकै कारण छोराछोरी, श्रीमती, आमाबुबा छोडेर कमाइ गर्न हिँडेको नायकवाडाका रणबहादुर दमाईको भनाइ छ ।
भारत जानेहरूमा अधिकांश एसएलसीमा फेल भएका विद्यार्थी छन् । “पास भइहाल्ला भनेर डोल्पा यार्सागुम्बा टिप्न पैसा सापटी काडेर गएको यार्सा पनि पाइएन, पास पनि भइएन अब घरमा के गर्नु भारत जाँनै प¥यो जगतीपुरका प्रदीप सुनारले दुखेसो पोखे ।
अहिले जाजरकोटको धान खेती गरिसकेको छ । यहाँका किसानले उत्पादन गरेको अन्नले ६ महिना पनि खाना पुग्दैन । भिरालो जमिन, समयमा पानी नपर्नु अनि सिँचाइको सुविधा नभएका कारण यहाँका किसानको जग्गाबाट उत्पादित अन्नले ६ महिना पनि पुग्दैन । यहाँको खेतीयोग्य जमिन ४० प्रतिशत रहेको छ ।
सिँचाइबिनाको यो जमिनमा आकाशेपानीको भरमा लगाइने मकैबाली मात्र जाजरकोटको ग्रामीणस्तरमा उत्पादन हुने गर्दछ । एक वर्षमा एउटा बाली मात्र उत्पादन हुने भएका कारण जाजरकोटको अधिकांश रकम खाद्यान्नको जोहोमै हुने गरेको छ । दुःख धेरै गरेर पनि उत्पादन कम हुँदा यहाँका किसान डोल्पाको यार्सागुम्बा र भारतको आश्रित हुनुपर्ने बाध्यता छ । रासस