एकजना पिता आफ्ना छोराको 'लास वा सास'का निम्ति निरन्तर संघर्षरत रहे। अन्त्यमा कुनै खबरैबिना सदाका निम्ति विदा भए। उनी बितेको चार वर्षपछि परिवारले छोराको कंकाल सरकारबाट लिएर बुधबार अन्त्येष्टि गरेको छ।
ती पिताले जेका निम्ति संघर्ष गरे, त्यो भने पूरा भएको छ। सेना, प्रहरी र प्रशासनमा रहेका राज्यका कर्मचारीहरूले अन्याय गरेको पुष्टि भएको छ। ती पिताको संघर्ष खेर गएन।
जनकपुरका जयकिशोर लाभ निष्ठुर समयसँग संघर्ष गर्दागर्दै विदा भएका एकजना अभागी पिता हुन्। यिनलाई दैव लागेको होइन, राज्यका जिम्मेवार प्रहरी र कर्मचारीको क्रूर व्यवहारको शिकार भए यिनी। जनकपुरमा हत्या गरिएका पाँच युवामध्ये सञ्जीवकुमार कर्ण उनका छोरा हुन्।
माथिको तस्विरःजनकपुरस्थित घरमा उनको जयकिशोरको पोट्रेट। तस्विर नयनतारा कक्षपति गुरूङ
राज्यले हत्या गरेको १० वर्षपछि उनीहरूको कंकाल आनुवंशिक (डिएनए) परीक्षणबाट ठहर गरी सम्बन्धित परिवारलाई बुझाइएको हो। शोकमग्न जनकपुर उनीहरूको शवयात्रामा सामेल भइरहेका बेला म भने जयकिशोरलाई भेटेका प्रत्येक क्षणलाई सम्झेर यी पंक्ति कोरिरहेको छु।
जयकिशोर लाभले गरेको यो संघर्षको सम्झना गर्ने योभन्दा अर्को उपयुक्त अवसर हुन सक्दैन।
पेशाले कानुन व्यवसायी र मानव अधिकारकर्मीसमेत नभएका भए उनीमा त्यति धेरै संघर्षका निम्ति साहस र संकल्प हुने थिएन।
उनी १७ अप्रिल २०१० मा बिते। मैले यो घटनाबारे पटकपटक आफूसम्बद्ध सञ्चारमाध्यममा लेखेको थिएँ। जनकपुरमै पनि पीडित परिवारलाई मैले भेटेको थिएँ। जयकिशोरको घरमा उनीसहितका परिवारलाई भेटेको थिएँ। उनको परिवारमा राज्यले छोरो बेपत्ता पारेको क्षणले गहिरो चोट पारेको थियो।
न्यायका निम्ति जयकिशोरले गरेको संघर्षको समर्थन गर्दै पठाइएको पोष्टकार्ड
उनीहरूलाई सान्त्वना दिन संसारभरिबाट सहानुभूति प्रकट गर्दै आएका पोस्ट्कार्ड र पत्रहरूको चाङ थियो। तिनलाई हेरेर यो परिवारले शक्ति आर्जन गर्थ्यो। र, फेरि न्यायका निम्ति अविराम संघर्षमा लाग्थ्यो।
आफ्नै आँखा अगाडि सेनाले छोरा सञ्जीवलाई पक्राउ गरेर लगेको देख्ने व्यक्तिहरू थिए त्यहाँ। पक्राउ गरेर बेपत्ता पारिएका यी युवाका परिवार त्यसपछि क्षणक्षणमा मरिरहेका थिए।
घटना भएका बेला अञ्चल प्रहरी प्रमुख चूडाबहादुर श्रेष्ठ र प्रहरी प्रमुख कुवेरसिंह राना (पछि प्रहरी महानिरीक्षक) थिए। यही घटनाका कारण उनलाई महानिरीक्षक बनाउन नहुने दबाब पनि आएको थियो। तर, उनी संगठनको सर्वोच्च स्थानमा पुगे।
अहिले आएर ती युवाहरूविरुद्ध भएका अपराध पुष्टि भएको छ। ती किशोरहरूलाई अञ्चल प्रहरी कार्यालयमा हाफ पाइन्ट लगाएर उभ्याइएको धेरैले देखेका थिए। गोली हानेर हत्या गरिएको यी युवाको मृत्युमा कसैलाई कुनै कारबाही भएन। बरु उनीहरूको लास सम्भावित ठाउँमा उत्खनन् गरी आनुवांशिक परीक्षणका निम्ति नपठाइएको भए तिनीहरूको अन्तिम सदगत समेत हुने थिएन।
यस्तै घटनाका निम्ति सत्य निरुपण आयोग स्थापना गर्नुपर्छ भन्ने आवाज उठेको हो। तर, आयोग गठन गरेमा कहिले राज्यका जिम्मेवार र कहिले विद्रोहीतर्फका जिम्मेवारमाथि कारवाही होला भन्ने डरले पनि आयोग बनाउने आवश्यकता महसुस गरिएन।
जनकपुर घटनामा मारिएका पाँच युवाहरू। एडिङ इन्सल्ट टु इन्जुरी नामक हुमन राइट वाच र एड्बोकेसी फोरमद्वारा प्रकाशित प्रतिवेदनबाट
२१ असोज २०६० मा जनकपुर– १० का सञ्जीवकुमार कर्ण (२४), दुर्गेश लाभ (२३), जनकपुर–४ का मछलीसमेत भनिने जितेन्द्र झा (२१), कुर्था–१ का प्रमोदनारायण मण्डल (१७) र दुहबी–७ का शैलेन्द्र यादव (१७) लाई पक्राउ गरिएको थियो। उनीहरूको त्यही दिन गोदारस्थित कमला नदी किनारमा गोली हानी हत्या गरिएको थियो।
सशस्त्र द्वन्द्व चलिरहेको त्यो बेला उनीहरूलाई माओवादी 'जनयुद्ध'मा लागेको ठहर गर्दै पक्राउ गरिएको थियो। मारेर परिवारलाई लाससमेत नदिई थाहा नपाउने गरी गाडियो। 'जनयुद्ध'कालीन नेपालमा भएका अमानवीय अनेकन घटनामध्ये यो पनि एउटा थियो।
राष्ट्रिय मानव अधिकार आयोगले ती युवाहरूलाई गोली हानेर हत्या गरेको ठहर गरी अञ्चल प्रहरी प्रमुख श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख राना, प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्ले, धनुषा धारापानीस्थित सैनिक व्यारेक श्री नं. ९ बाहिनी फिल्डका तत्कालीन मेजर अनुप अधिकारीसमेतलाई कारवाही गर्न र पीडितलाई राहत दिन सिफारिश गरेको थियो।
आयोगले सिफारिश गरे पनि कसैमाथि कारवाही भएन। सशस्त्र द्वन्द्व समाप्त भयो। एमाओवादीले सरकार बनायो। पीडित परिवारको न्यायको याचना हावामै उड्यो।
शान्ति प्रक्रियामा आइसकेपछिको २०६३ को फागुन १ गते 'जनयुद्ध' दिवस मनाउने क्रममा चूडाबहादुरलाई मानव अधिकारवादीका रूपमा प्रस्तुत गर्दै माओवादीकै मुखपत्र जनादेशले प्रतिक्रिया छापेको थियो।
शव उत्खननस्थल।तस्विर नयनतारा कक्षपति गुरूङ
त्यो देखेर जयकिशोर निकै दुःखी भएका थिए। त्यो बेला उनले मलाई पठाएको प्रतिक्रियामा भनिएको थियो, 'जनयुद्धको वार्षिकोत्सवले जनयुद्धका अपराधीहरुलाई चोख्याउँदै छ?'
आफ्नो छोराको हत्यामा संलग्न भएको थाहा हुँदाहुँदै माओवादीले नै उनलाई मानव अधिकारवादी बनाएर प्रस्तुत गरेको घटनाले उनलाई निकै पीडा दिएको बताएका थिए। उनले चूडाबहादुरलाई पटकपटक एसएमएसबाट आफूमाथि गरेको अन्यायबारे प्रश्न गरी पठाउने गरेका थिए। उनले कैयनपटक तिनले मलाई ती एसएमएसको कपी पठाउने वा देखाउने गरेका थिए।
जयकिशोरलाई मैले घटनाको तीन वर्षपछि २०६३ असोजमा भेटेको थिएँ। उनी सम्पूर्णरूपमा दोषीहरूमाथि कारबाही गराउन दत्तचित्त थिए। उनले यस अभियानमा सक्रिय हुनेदेखि खोजी कार्यलाई तीव्र पार्नेसम्मका काम गरेका थिए।
त्यो बेला उनी भर्खर जेनेभामा छोराका बारेमा संयुक्त राष्ट्रसंघीय निकायलाई जानकारी गराएर फर्केका थिए। उनले आफ्नो छोरा सञ्जीवसहितका पाँच युवासहित ११ जनालाई कटैया चौरीबाट पक्राउ गरी सुरक्षाकर्मीले बेपत्ता पारेको किटानी सहित निवेदन दिएका थिए।
तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापाले यो मुद्दालाई गम्भीरतापूर्वक लिएको र छानबिन भइरहेको लिखित जवाफ दिएका थिए। र, छानबिन पूरा भएपछि जानकारी गराउने आश्वासनसमेत दिएका थिए। 'मैले यसलाई मेरो जीवनको बाँच्ने आधार 'नोट अफ सर्भाइभल'को रूपमा लिएको छु,' जयकिशोरले त्यो बेला मलाई भनेका थिए।
नेपाली सेनाले राष्ट्रिय मानव अधिकार आयोगलाई २४ माघ २०६४ मा पत्र लेखी २१ असोज २०६० को प्रहरी कारवाहीमा मारिएको जानकारी दिएको थियो। यो जानकारी आयोगले लाभलाई दिएको थियो। क्षेत्रीय प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले भने उनीहरूलाई प्रहरीले पक्राउ नगरेको जवाफ दिएर घटनालाई थप जटिल बनाएका थिए।
जयकिशोरलाई भेट्न गएको बेला देवीचोकका पानवाला शशिनाथ झाले ती युवाहरूलाई पक्राउ गरी आँखामा कालोपट्टी र हात पछाडि बाँधेर राखेको अवस्थामा प्रहरी कार्यालयको आँगनमा देखेको बताएका थिए। जनआन्दोलन सफल भएका कारण विस्तारै स्थानीय प्रहरी र प्रशासनले पीडित परिवारलाई सहयोग गर्यो।
सम्भावित ठाउँलाई सुरक्षासाथ राखेर पछि त्यसको उत्खनन् भई कंकालहरू निकालिए। त्यो बेला अहिलेका डिआइजी विज्ञानराज शर्मा जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर गएपछि स्थानीय पीडितहरूले सहयोग पाएको महसुस गरेका थिए।
राज्यको आडमा स्थानीय प्रहरी कर्मचारीले गरेको यो अपराध लुकाउन खोजे पनि लुकेन। उनी एम्नेष्टी इन्टरन्याशनल, ह्युमन राइटस वाचलगायत स्वदेशी तथा विदेशी अधिकारवादी संस्थाहरूसँग निरन्तर सम्पर्कमा रहन्थे। यी सबै पत्राचार र घटनाबारे उनी निरन्तर बताउँथे। आवश्यकताअनुसार तिनलाई इमेल गरेर पठाउँथे।
पाँच युवाहरूको गिरफ्तारिपछि भारतबाट प्रकाशित हुने दैनिक जागरणमा प्रकाशति समाचार।
जयकिशोरले त्यो बेलामा भनेअनुसार नै राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा ती मारिएका युवाहरूका आँखा छोपिएका थिए। शव उत्खनन्पछि विशेषज्ञले तयार पारेको फोरेन्सिक एन्थ्रोपोलोजी रिपोर्टमा पीडितहरूको मृत्युको कारण करङ र टाउकोमा लगातार गोली प्रहारबाट भएको उल्लेख छ। आयोगले यसलाई 'गैरन्यायिक हत्या' भनेको छ।
के सरकारले यी न्यायको प्रतिक्षा गर्दागर्दै मृत्युको मुखमा पुगेका पिताको संघर्षलाई सम्झना गरेर दोषीहरूलाई कारवाही गर्ला?
यिनले गरेको संघर्षको अनुपम नमूनालाई सम्झना गर्दै मानव अधिकारकर्मी मन्दिरा शर्माले उनको मृत्युको एक दिनपछि ५ वैशाख २०६७ मा इमेलमा जानकारी दिएकी थिइन्, 'सत्य र न्यायका निम्ति अन्तिम स्वासम्म संघर्ष गर्ने पिताहरूमध्ये उनी एक थिए। पछिल्लो समय उनी आफ्ना जबर्जस्ती बेपत्ता पारिएका छोराको न्यायका निम्ति साहसिक र निरन्तर प्रयासका कारण अत्यन्तै भावनात्मक दबाबमा थिए।'
प्रष्ट छ, उनी जुन न्याय र सत्यका निम्ति संघर्षरत थिए, त्यो अगाडि आएको छ। लाग्छ, उनको आत्माले थोरै भए पनि शान्ति महसुस गरिरहेको छ।