फोटो पत्रकार क्लवको आयोजनामा बुधबार सुरु आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७१ को उपाधि नागरिक दैनिकका फोटो पत्रकार विजय गजमेरले जितेका छन्। आफ्नै पतिद्धारा जलाईएकी रिहाना शेख काठमाडौंमा ४० दिनको विशेष उपचारपछि नेपालगञ्जस्थित माइति फर्किदा गजमेरको लेन्सले क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भयो।
दोहोरो उपाधि जितेका गजमेरले फोटो स्टोरीको प्रतिस्पर्धा पनि आफ्नै नाम लेखाए। रिहानाको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरु समावेश उनको स्टोरीले बाजी मारेको थियो। यसैगरी नागरिककै दीपेश श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने गतवर्षका ग्राण्ड विजेता सैलेन्द्र खरेलले 'सामसुङ के जुम डेली लाइफ' विधामा बाजी मारे। त्यस्तै कान्तिपुरका किरण पाण्डेले नेपाल टेलिकम न्युज विधाको उपाधि जित्दा नेचर एण्ड वाइल्डलाइफमा गोरखापत्रका विकास द्धारे तथा कल्चर एण्ड टुरिजममा कान्तिपुरका निमेशजंग राईले बाजी मारे। त्यस्तै आरजे स्पोर्टस विधाको उपाधि एमेच्योर फोटोग्राफर मनोज पौडेलले जिते।
डेली लाइफमा नभेष चित्रकारको फोटो दोस्रो तथा गणेशबहादुर मगरको फोटो तेस्रो भयो। यो बिधामा सम्पूर्णलाल मानन्धरको फोटोले अनरेबल मेन्सन अवार्ड जित्यो। नेपाल टेलिकम न्युज बिधामा विजय राईको फोटो दोस्रो तथा नभेष चित्रकार तेस्रो भए। चित्रकारकै फोटोले सोही बिधामा अनरेबल मेन्सन अवार्ड पायो। नेचर एण्ड वाइल्ड लाइफमा'मा सुरेश कुमार राईको फोटो उपविजेता बन्दा सन्तोष मानन्धरको फोटो तेस्रो भयो। 'कल्चर एण्ड टुरिजम'मा गोपेन राई उपविजेता तथा छिमीदोर्जे लामाको फोटो तेस्रो भयो। 'आरजे स्पोर्टस'मा सञ्जिवकुमार मोक्तानको फोटो दोस्रो तथा अंगद ढकालको फोटो तेस्रो भयो। 'शिखर इन्स्योरेन्स नेपाल स्माईल'मा विजय गजमेरको फोटो दोस्रो तथा भरत गुरुगंको फोटो तेस्रो भयो। त्यस्तै 'फोटो स्टोरी'मा मनिष पौडेलको फोटा उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण बेलायतका वरिष्ठ फोटो पत्रकार जर्ज जर्जिउको उपस्थितिमा .असार २७ २०७१ काठमाडौंमा सम्पन्न भएको थियो। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए। तीन दिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६५. फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक 'फोटो अफ दी इयर' चयन गरिएको छ।
देशभरबाट यसपालीको प्रतियोगितालाई ९ सय व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ५ सय ४९ फोटो पठाएका थिए। बेलायती फोटो पत्रकार जर्ज जर्जिउको अध्यक्षताको निर्णायक मण्डलमा बरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा सदस्य थिए।
निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने पिजे क्लबले जनाएको छ।
'आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर' विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन् प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेलेे नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन्। काठमाडौंमा बुधबारबाट प्रदर्शनी सुरु भइसकेको छ। नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शनी साउन १२ सम्म चल्नेछ।