मुलुकमा इन्धनको सङ्कट दिनप्रतिदिन बढ्दै गइरहेका बेला सरकारी स्तरबाटै वैकल्पिक ऊर्जाको रुपमा मिथेन ग्यासको उत्पादन सुरु गरिने भएको छ ।
खानी तथा भूगर्भ विभागले ललितपुरको इमाडोलमा मिथेन ग्यासको अनुसन्धान र परीक्षण उत्पादन गर्न लागेको हो ।
मिथेन ग्यासको परीक्षण उत्पादनको लागि प्राविधिक कार्य भइरहेको विभागका योजना, मूल्याङ्कन तथा सूचना शाखाका प्रमुख वरिष्ठ इन्जिनियर कृष्णदेव झाले जानकारी दिए । “इमाडोल क्षेत्रमा ग्यास प्रसस्त रहेको छ, अहिले ३५० मिटर तल गहिराइमा विस्तृत अनुसन्धान भइरहेको छ । त्यहाँ करिब २० वर्षअघि पनि अनुसन्धान भएको थियो । यो वर्षबाट व्यावसायिक उत्पादन गर्नुभन्दा पहिला अनुसन्धान र परीक्षण उत्पादन भइरहेको छ,” उनले भने ।
यसअघि सन् १९९१ मा इमाडोलसहित काठमाडौँ उपत्यकाका १४ स्थानमा मिथेन ग्यासको अनुसन्धान गरिएको थियो । इन्जिनियर झाले बढ्दो इन्धन सङ्कटलाई मध्यनजर गर्दै उपत्यकाका सम्भाव्य स्थानमा मिथेन ग्यासको उत्पादन गर्न जरुरी भएको बताए ।
परीक्षण उत्पादनका रुपमा सुरु गरिएको इमाडोल क्षेत्रमा कति मिथेन ग्यास उत्पादन गर्न सकिन्छ भन्नेबारे पूर्ण अनुसन्धान प्रतिवेदनपछि मात्र थाहा हुने उनले उल्लेख गरे । रासस