हिमाली काग्यु सम्प्रदायका हालै दिवंगत १४ औं अवतारी श्यामार्पा रिम्पोचेेको इच्छा अनुसार उनको अन्त्येष्टि नेपालमै गर्ने वातावरण मिलाउन नागरिक समाजले नेपाल सरकारसँग आग्रह गरेका छ।
मंगलबार एक अपिल प्रकाशित गर्दै समाजले यस्तो आग्रह गरेको हो।
नेपालसँग अवतारी श्यामार्पा गुरुहरूको ऐतिहासिक सम्बन्ध छ। ८ औं श्यामार्पा रिम्पोचेको जन्म नेपालकै हेलम्बुमा भएको थियो भने चौथो र १० औं श्यामार्पालाई काठमाडौं उपत्यकामै समाधिस्थ गरिएको थियो।
हालै जर्मनीमा मृत्यु भएका १४ औं श्यामार्पा गुरुले भारत, भूटान र चीनको स्वशासित क्षेत्र तिब्बतमा धार्मिक–आध्यात्मिक कार्य गरेको भए पनि उहाँको मुख्य कर्मथलो नेपाल भएको अपिलमा भनिएको छ।
'१४ औं अवतारी श्यामार्पा रिम्पोचेेलाई नेपालमा समाधिस्थ गर्ने विषयमा भू–राजनीतिक बखेडा उठाउनु हाम्रो लागि वाञ्छनीय कुरा होइन। श्यामार्पा रिम्पोचेको अन्त्येष्टिको विषयमा नेपालको आफ्नै निर्णय हुनुपर्दछ,'अपिलमा भनिएको छ।
नेपालको हिमाली क्षेत्रका नागरिक, सबै क्षेत्रका बौद्ध धर्माबलम्बी तथा आध्यात्मिक खोजमा रहेका अन्य नागरिकको भावनाप्रति संवेदनशील भई नेपाल सरकारले १४ औं अवतारी श्यामार्पा रिम्पोचेकोे पार्थिव शरीरलाई तत्कालै भारतको कालिम्पोङ्गबाट काठमाडौं ल्याई अन्त्येष्टि गर्ने वातावरण बनाउन आग्रहसमेत गरेको छ।
आजभन्दा चारवर्ष अगाडि काठमाडौंमा सम्पन्न भएको 'विश्वशान्ति महापूजा' को बेलामा नै गुरु श्यामार्पा रिम्पोचेले सम्माननीय राष्ट्रपति, सरकारका मन्त्री र उहाँका हज्जारौं शिष्यमाझ आफ्नो मृत्युपर्यन्त नेपालकै माटोमा समाधिस्थ हुने इच्छा व्यक्त गरेका थिए।
तसर्थ, रिम्पोचेको अन्त्येष्टि नेपालमै हुने वातावरण बनाई देशको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा उँचो राख्ने कार्यमा सरकारले ध्यान देओस् भन्ने उनीहरूले माग गरेका छन्।
यो पनि