हुम्लाबाट ललाइफकाइ ल्याएर चर्चभित्र बन्धक राखेका बखत एक महिनाअघि उद्धार गरिएका १३ जना बालबालिकालाई उनीहरूको आफ्नै घरमा पुनःर्स्थापनाका लागि प्रक्रिया थालिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले ती बालबालिकालाई आमाबाबुकहाँ पठाउन आवश्यक कानुनी प्रबन्ध मिलेको जानकारी दिएको छ।
उद्धार गरिएकामध्ये दुई जना मोरङ खोर्साने गाविसका छन्। अन्य सबै हुम्ला जिल्लाका रहेका छन्। मोरङ सोराभाग गाविस–३ स्थित इमान्युएल चर्चबाट जेठ ३० गते मोरङ प्रशासनले बालबालिका उद्धार गरेको थियो।
चर्चका सञ्चालक जोसेफ मरण्डीले 'गैरकानुनी' तरिकाले बालबालिका ल्याएर चर्चभित्र बन्धक राखेको अवस्थामा बालबालिका फेला परेका थिए। चारदेखि १२ वर्ष उमेर समूहका ती बालबालिका कुपोषणयुक्त र शरीरभरि खटिरा निस्केर दयनीय बनेका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार दुई दिनभित्रैमा बालबालिकालाई हुम्ला पठाउने तयारी भइरहेको छ। उनका अनुसार यसका लागि हुम्ला जिल्ला प्रशासनसँग कुरा भइसकेको छ।
'मोरङ प्रशासनले नेपालगञ्जसम्म पुर्याउने र हुम्ला प्रशासन त्यहाँसम्म आउनेगरी तयारी थालिएको छ,' लुइँटेलले भने। लुइँटेलका अनुसार बालबालिका कोहीका आमा र कसैका बाबु छैनन्। 'आमाबाबु नै नभएका असहाय नभएकाले पुनःस्थापना गर्न गाह्रो भएन,' लुइँटेलले भने।
चर्चका सञ्चालक जोसेफ र उनकी श्रीमती लौलमा मरण्डीलाई प्रहरीले हिरासत लिइ शरीरबन्धक मुद्दा चलाएको थियो। उनीहरू दुबै जिल्ला अदालत मोरङमा एक/एक लाख धरौटी बुझाएर छुटेका छन्। उद्धार बालबालिकालाई सिविन हेल्पलाइनमा राखिएको छ।
'धर्म परिवर्तन'का लागि त्यसरी बालबालिका टाढा–टाढाबाट ओसारपसार गरिने गरिएको आशंका गरिए पनि प्रहरी र प्रशासनले जानकारी नभएको दाबी गरेको छ। त्यसरी धर्म परिवर्तन गराएबापत 'अनुदान' आउने गरेको दाबी स्रोतले गरेको भए पनि प्रहरीले त्यतापट्टिबाट अनुसन्धान गरेको छैन।