यौन दुर्व्यवहार र अपहरणको अभियोग लागेर १४ वर्षअघि अमेरिकाको न्यू मेक्सिकोबाट भागेका एक अमेरिकी नेपालमा पक्राउ परेका छन्।
४७ वर्षीय निल स्ट्यामरलाई काठमाडौँबाट आइतबार दिउँसो न्यु मेक्सिको पुर्याइएको एफबीआईका प्रवक्ता फ्रान्स फिसरले जानकारी दिएका छन्।
स्ट्यामरलाई बर्नालिलो काउन्टी नगरपालिका हिरासत केन्द्रमा थुनिने स्थानीय प्रहरीले जानकारी दिएको एपीले जनाएको छ।
स्थानीय व्यापारी स्ट्यामरलाई सन् १९९९ मा एकजना बालिकामाथि यौन दुर्व्यवहार गरेको र साक्षीलाई अपहरण गरेको आरोपमा समातिएको थियो। उनलाई धरौटीमा रिहा गरिएको थियो। अभियोगको बहसका बेला अदालतमा उपस्थित नभएपछि जुन २००० मा उनलाई संघीय पक्राउ पूर्जी जारी गरिएको थियो।
एफबिआईले फर्जी पासपोर्टमा स्ट्यामर नेपाल छिरेको पत्ता लगाएको फिसरले बताए। उनी काठमाडौँको जेलबाट पनि भागेका तर पछि फेरि नेपाल प्रहरीद्वारा समातिएका थिए। सन् २००६ देखि स्ट्यामर विभिन्न नाममा नेपाल बसिरहेका थिए।