झण्डै तीन वर्षअघि एउटा साँझ इटहरीस्थित इलाका प्रहरी कार्यालयमा एक जना व्यक्ति हस्याङफस्याङ गर्ने पुगे। अनि कार्यालयका प्रमुख रहेका प्रहरी निरिक्षकसँग गुनासो गरे, 'सर, मेरो घर न त कुनै होटल हो, न त कुनै गेष्ट हाउस, यौटा मानिस सिधै आएर यहाँ केटी पाइन्छ भनेर सोध्यो। म के गरुँ?'
सिंगो नेपालले पर्यटन वर्ष २०११ मनाइरहेको बेला होटल व्यवशायको आवरणमा यौन व्यवशाय फस्टाउन थालेपछि इटहरीको बसपार्क क्षेत्रका घरधनीहरु यस्ता गुनासाहरु लिएर प्रहरी कार्यालय धाइरहन्थे। कहिले यौनकर्मी महिलाहरुले अर्धनग्न भएर चर्तिकला देखाए भन्ने गुनासो गर्थे त कहिले आफ्ना श्रीमान र छोराहरु बिग्रन थालेको गुनासोसमेत इलाका प्रहरी कार्यालयमै ठोक्किन्थे। इटहरीवासीको आक्रोश सार्वजनिक कार्यक्रममा पनि सुनिन्थ्यो।
होटल व्यवशायी संघले आयोजना गरेको अन्तर्क्रियामा इटहरी बसपार्क क्षेत्रमा गठित आमा समूहकी निरू भारतीले व्यवशायीहरुलाई सोधिन्, 'प्रहरीको समेत खिल्लि उडाइएको छ, एउटाले गरेको कामको असर अर्कोलाई परेको छ, यो कस्तो समाज हो?'
यौन विकृतीको प्रतिकार गर्न स्थानीयले के मात्र गरेनन्? सार्वजनिक सुनुवाईमा यौन व्यवशाय रोक्ने प्रतिबद्धता गराएनन् कि, होटल व्यवशायीलाई नियम बनाएर लागू गर्न लगाएनन् कि, होटलहरुमा आफै छापा मार्न हिडेनन् कि? गर्न सक्ने सबै गरे।
यौन व्यवशायीको अर्को एरिया बनेको थियो, इटहरीदेखि पश्चिममा पर्ने पकली। त्यहाँ पनि विकृतीदेखि असह्य स्थानीयले खुलेरै प्रतिकार गरे। स्थानिय नयाँ प्रगतिशिल आमा समूहले सामाजिक असभ्यता बढेको भन्दै आन्दोलित भएका। लगत्तै डीआइजी भीष्म प्रसाई इटहरी आए अनि शान्ति सुरक्षा कायम गर्ने र इटहरीमा यौन विकृती हटाउने प्रतिबद्धतापत्रमा नगरबासीलाई हस्ताक्षर गर्न लगाए। तर, त्यो कागजमा मात्र सिमित भयो।
संघसंस्थाले समस्याको दस्तावेज पेश गरेर बजेट ल्याए। लाखौ खर्च गरेपनि समस्या समाधान हुन सकेन। उनीहरुले गर्ने अन्तर्क्रियाहरुमा सामाजिक संस्थाका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि भन्ने गर्थे, 'यो स्वभाविक प्रक्रिया हो, इटहरीको बसपार्क क्षेत्रलाई रेडलाइट घोषणा गर्नुको विकल्प छैन।'
समस्या यति जटिल थियो कि, कहिलेकाहिँ यौन व्यवशायमा संलग्न किशोरीहरु अत्याधिक रक्सी र शारीरिक पीडाको कारण ज्यान गुमाउँथे। इटहरीका होटल रेष्टुरेन्टमा यौन व्यवशाय गर्ने चार जना किशोरीहरुले ज्यान गुमाएको घटना सार्वजनिक भइसकेका थिए भने युवतीहरु अर्धनग्न मातेको अवस्थामा झाडी, बाटोमा भेटिनु सामान्य झै थियो। यो सबका बिच प्रहरी रमिते मात्र बन्यो।
तर, आज त्यहीँ प्रहरीले इटहरीको सम्पूर्ण यौन व्यवशाय निमिट्यान्न झै पारेको छ। इलाका प्रहरी कार्यालय इटहरी आएका डीएसपी विनोद शर्माको योजना र प्रयासले १० वर्षदेखि धुमिल इटहरीको छविलाई सफा बनाउने काम गरेको छ।
उनले आफू अघिका अधिकृतले भन्दा ठूलो काम केही गरेनन्। उनी पनि अरु अधिकृत जस्तै होटल गए, छापा मारे। तर, आफ्नो जिउ बेचेर कमाउनेहरुको साटो अरुलाई जिउ बेचाउने व्यवशायीहरुलाई समातेर कारबाही चलाए। यत्ती कामले नै इटहरीको यौन व्यवशायको सञ्जाल भताभुङ्ग भएको छ।
यौनकर्मीहरुको भागाभाग छ भने यौनकर्मी राखेकै भरमा होटल चलाउनेहरु होटल बन्द गरेर अन्तै हिँडेका छन्। कुनै समय गुल्जार हुने बसपार्क र पकलीका राजमार्ग किनारका होटलहरु अहिले प्रायः बन्द छन्।
डीएसपी शर्माकै शब्दमा 'इटहरीको वेश्यावृत्तीलाई यहाँसम्म ल्याइपुर्याउन योगदान दिनुहुने' डन व्यवशायीलाई समातेर मुद्दा चलाए। किशोरी तथा युवतीहरुलाई वेश्यावृत्ती गराउने व्यवशायीमा महिलाहरु नै बढी छ। इटहरीमा यौन व्यवशाय गराउने राहुल होटलका मनोज चौधरी, भेटघाटकी राधा आचार्य, सपनाकी सपना श्रेष्ठ, पारिजातकी ज्ञानु राई, बागमारेकी सरु भण्डारी, ओम गजल रेष्टुरेन्टकी राधा तामाङ, उनकी बहिनी रुपा तामाङ, रोजमेरीकी रमा निरौला र शुभप्रभात होटलकी सुशीला विष्ट विरुद्ध प्रहरीले मद्दा चलाएको छ।
लगत्तै उनीहरुले हेटौंडा, काठमाडौं, इटहरी रुटमा चलाउँदै आएको यौन व्यवशायको जालो भत्केको छ। उनीहरुको सम्पर्कमा रहेका पाँच सय बढी यौनकर्मीहरु अहिले इटहरीमा देखिँदैनन्। प्रहरीको सम्पर्कमा रहेका १० जनालाई प्रहरीले पहुँच नामक संस्थाको सहयोगमा सिलाइकटाइ तालिम दिइरहेको छ। उनीहरुलाई सिलाइमेसिन दिएर घर परिवारलाई जिम्मा लगाउने डिएसपी शर्माको योजना छ।
यौन व्यवशायको आरोपमा पक्राउ पर्नेमध्येकी राधा तामाङ गत संविधानसभाको चुनावमा जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सबाट सुनसरी क्षेत्र नं. २ की प्रत्यक्ष उम्मेदवार पनि हुन्। प्रहरीका अनुसार १० वर्षअघिसम्म पनि उनी आफै यौन व्यवशायी थिइन्। आज उनको तीन वटा घरसहित करोडौंको सम्पत्ति छ। 'धेरै सम्पत्ति देखिएकाहरुको सम्पत्ति शुद्धिकरणमा पठाएको छु,' डिएसपी शर्माले भने। एकल महिला भएको सहानुभुती बटुलेर चोखिँदै आएकी उनले जोगिनकै लागि राजनीतिको आड लिएको उनीसम्बद्ध स्रोतले बताएको छ।
पक्राउ परेकाहरुलाई जिउ मास्ने बेच्ने अन्तर्गत चलाइएको मुद्धामा आरोप प्रमाणित भए १० देखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ। यसभन्दा अघि प्रहरीले समातेका जोडीहरुलाई सबैभन्दा फितलो मुद्दा मानिएको सार्वजनिक ऐन अन्तर्गतको मुद्दा चलाएर सामान्य कारवाही गरेर छाडिदिन्थ्यो भने व्यवशाय गराउनेलाई पक्राउ गर्ने नामै लिँदैनथ्यो।
प्रहरीले छापामार्दा विरोध गर्ने होटल व्यवशायीहरु अहिले होटल व्यवशायीलाई नै समात्दा राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका छन्। होटल व्यवशायी संघ इटहरीका अध्यक्ष अनुरोध थापा भन्छन्, 'खराब काम गर्ने, गराउनेलाई कारबाही गर्दा हामी सकारात्मक छौं।'
एक महिनाअघिसम्म पनि इटहरीको अवस्था यस्तो थियो :
लाचार होटल व्यवशायी :
यौन विकृती बढेको भन्दै विरोध हुन र प्रहरीले अन्धाधुन्दा छापा मार्न थालेपछि इटहरीका राम्रा होटलमा पनि ग्राहकहरु बस्न छाडे। सुतिरहेका श्रीमान् श्रीमतीलाई समेत प्रहरीले समातेर लान थालेपछि व्यापार चौपट भयो भन्दै थालेपछि होटल व्यवशायीहरुले २०६८ सालको सुरुवातमा आफ्नो लागि आफैले आचार संहिता निर्माण गरे। आचार संहितामा राती १० बजेभित्र होटल तथा रेष्टुरेन्ट बन्द गर्ने, कार्यरत् महिलाहरुको पुरा विवरण खुल्ने प्रमाण राखेर मात्र काममा राख्ने, काममा राख्दा ड्रेस अनिवार्य गर्ने, ग्राहकको समेत परिचय खुल्ने तथ्यांक राख्ने, अनुगमनकर्तालाई सहयोग गर्ने, होटलका क्याबिन पारदर्शी बनाउने लगायतका नियम थिए। तर, न नियम कार्यान्वयन भयो, न त यौन विकृति नै घट्यो। आफ्नै सहकर्मीलाई कारबाही गर्ने उनीहरुसँग आँट थिएन।
गन्येमान्ये नै ग्राहक :
यौन विकृति समाधानको लागि इटहरीमा पटक पटक विभिन्न संस्था तथा समुहले छलफल समेत आयोजना गर्थे। तर, त्यसरी हुने छलफलमा होटल व्यवशायीको आमनेसामने हुन इटहरीका नेता र लब्धप्रतिष्ठीत भनीने व्यक्तिहरु नै तयार हुँदैनथे। 'दिउँसोे कार्यक्रममा भलाद्मी भएर भाषण दिने नेताहरु रात परेपछि हाम्रो क्याबिनमा केटीहरुसँग जिस्किन आइपुग्छन्,' होटल व्यवशायी खुलेआम चेतावनी दिन्थे, 'नेता र प्रहरीले हाम्रो विरुद्ध बोलुन् त, सबको रेकर्ड राखेका छौं।' यसरी हाँक दिनेमा पक्राउ परेकी तिनै राधा तामाङ पनि थिइन्।
क्याबिन रेष्टुरेन्टमा पुग्ने ग्राहकमा सेना तथा सशस्त्रका जवान र अधिकारीहरु पनि हुन्थे। प्रहरीले छापा मारेर ल्याइएका जोडीहरुमा पटक पटक सेना तथा सशस्त्रका जवानहरु समातिएका थिए। त्यस्तै भारतीय नागरिकहरु प्राइभेट गाडीमा आएर युवतीहरु लिएर घुम्थे। भारतीयहरुको लागि युवती पाइने पसलको रुपमा इटहरी, पकली तथा दुहबी क्षेत्र परिचित थियो।
बालिकाहरुको किनबेच :
होटलमा यौनकर्मीहरु महिलामात्र थिएनन्। ग्राहकको माग अनुसार पारिवारिक द्वन्द तथा हेलाँ, दुर्व्यवहारका कारण घर छोडेका बालिकाहरुलाई होटलले किनेरै राख्ने गर्थे। सुनसरीमा कार्यरत् उप्का नेपाल नामक संस्थाले इटहरीका क्याबिनमा कार्यरत् किशोरीहरुको लागि सञ्चालन गरेको होप परियोजनाले समेत क्याबिन तथा रेष्टुरेन्टमा बालिकाहरुको किनबेच हुने गरेको तथ्य बाहिर ल्याएको थियो।
गाउँ गाउँबाट दलालले ललाइ फकाइ ल्याएका बालिकाहरुलाई होटल व्यवशायीलाई बेच्थे। होटलले सामान्य कामबाट सुरु गरेर उनीहरुलाई देह व्यापारमा लगाउँथ्यो।
कुकुरझै मर्थे यौनकर्मी युवती :
२०६६ चैतमा सुनसरीको हाँसपोसास्थित राष्ट्रिय निमावि पछाडिको बाँसझाङमा मारेर फालिएको अवस्थामा १५ वर्षीया बालिका भेटिइन्। लामो समयसम्म पनि उनको सनाखत हुन सकेन। न त दोषीहरु नै समातिए। घटनाको केहीदिन अघिमात्र इटहरीका क्याबिन रेष्टुरेन्टमा देखिएको भनिएकी उक्त बालिकाको लासको प्रकृती तथा होटल सञ्चालकहरुको सूचनाका आधारमा सामुहिक बलात्कारपछि बालिकालाई मारेर फालिएको हुन सक्ने बताइयो।
तत्कालिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाले बालिकाको सनाखतका लागि इटहरीको क्याबिन रेष्टुरेन्टहरुदेखि झापाका शरणार्थी शिविरहरुसम्म पुगे पनि लासको दाबी गर्ने मानिस नहुँदा समस्या भएको बताएका थिए।
त्यसको केही महिनाअघि पनि इटहरी र धरानबिचको जंगल क्षेत्रमा क्याबिनमा कार्यरत् एक किशोरीलाई अर्धचेत भेटेर प्रहरीले उद्धार गरेको थियो। तीन–चार जनाको संख्यामा रहेका युवाहरुले लिएर गइ यौनसम्पर्कपछि जंगलमै रक्सी खुवाएर अर्धचेत अवस्थामा छाडेको खुलेको थियो। त्यसकै सेरोफेरोमा इटहरीकै बसपार्क क्षेत्रमा पनि एक जना तीन बच्चाकी आमा अर्धचेत भेटिएकी थिइन्। तर, कुनै होटल सञ्चालक पहिचान गरेर कारबाही चलाएन।
प्रहरी, आफै बोक्सी, आफै धामी :
प्रहरीहरुप्रति इटहरीवासीको आशा लगभग शून्यमा झरीसकेको थियो। नयाँ प्रहरी निरीक्षकको दुई दिने छापा मार्ने योजना व्यवशायीलाई त्रसित बनाएसँगै नजरानासँग साटिन्थ्यो। अनि नजराना नबुझाउने होटलहरुमा छापा मार्नु, नग्न अवस्थामा जोडी समात्नु र थुन्नु प्रहरीको लागि मनोरञ्जक खेल झै बनेको थियो।
जोडी समातिएपछि होटल सञ्चालक लुरुलुरु प्रहरी कार्यालय आइपुग्थे। प्रहरीले यौनकर्मीलाई लगत्तै छाडिदिन्थ्यो। प्रहरीले छापा मार्न लागेको खबर सुराकीहरुबाटै होटल सञ्चालकसम्म पुग्थ्यो। घुमुवाहरुले साप्ताहिक, मासिक नजराना असुल्थे भने। बसपार्कमै रहेको सीआरभीको टोली सहयोगी र साक्षी बनिरहन्थ्यो।