ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठले कमलरी सिर्जना चौधरीले आत्महत्या गरेको पुष्टि भएको जानकारी दिएका छन् । कमलरी सिर्जना चौधरीको शंकास्पद मृत्युपछि अहिले मुक्त कमलरी देशव्यापी आन्दोलनमा छन् ।
ललितपुर चाकुपाटमा डेरा गरी बस्ने इन्जिनियर युवराज पौडेलकहाँ काम गर्ने १२ वर्षीया सिर्जनाले उनकै डेरामा शरीरमा मट्टीतेल खन्याई आगो लगाएर आत्महत्या गरेको देखिएको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए ।
प्रहरीका अनुसार घटना भएको दिन २०६९ चैत १४ गते पौडेलको डेरामा उनी, उनका साला शंकर अधिकारी र उनका छोरा थिए । उनकी पत्नी चार दिनअघि माइत दाङ गएकी थिइन् । सिर्जना पनि दाङकी स्थानीय हुन् ।
उक्त दिन बिहानको खाना खाएर पौडेल छोरालाई स्कुल छाडी कार्यालय गएका थिए । उनका साला अधिकारी पनि उनले पढाउने गरेको अनामनगरस्थित कलेज साइपाल एकेडेमी गएका थिए । ‘सिर्जना एक्लै घरमा भएपछि पनि झोला सिलाउन बाहिर गएको देखिन्छ,’ श्रेष्ठले भने ।
प्रहरीको बयानमा घटनाका साक्षी छिमेकीहरूले भनेअनुसार साढे ११ बजेतिर पौडेल बस्ने दुईतल्ले घरको कौशीमा आगोले लपेटिरहेको अवस्थामा उनीहरूले सिर्जनालाई देखेका थिए । आगोले जलेकी सिर्जना बाहिर रेलिङमा निस्किएर ‘ऐया... आत्थु’ गर्दै चिच्याएको छिमेकीले जानकारी दिएको एसएसपी श्रेष्ठ बताउँछन् ।
तीन जना छिमेकीले घरमा चढेर सिर्जनाको शरीरमा लागेको आगो निभाएका थिए ।
‘कौशीभित्रको सानो कोठामा एक ग्यालिन भरि मट्टितेल र अर्को मट्टितेलको खाली ग्यालिन थियो । बरन्डामा सलाईको एउटा बट्टा पनि थियो,’ श्रेष्ठले भने, ‘सिर्जनालाई कसैले आगो लगाएको भए त्यसबिरुद्ध उनले प्रतिरोध गरेको केही न केही प्रमाण घटनास्थलमा देखिनुपर्ने हो तर, त्यस्तो केही देखिएन ।’
छिमेकीहरूले पनि घटना भएको समयमा अरू कोही घरमा नभएको बयान दिएका छन् । ‘हामीले अरु कसैलाई देखेका थिएनौं,’ छिमेकीको बयान उद्धृत गर्दै एसएसपी श्रेष्ठले जानकारी दिए ।
छिमेकीहरूले फोन गरेर बोलाएपछि पौडेल डेरामा आएको प्रहरी अनुसन्धानमा देखिन्छ । छिमेकीको सहयोगमा पौडेलले सिर्जनालाई वीर अस्पताल लगेको, वीरले महाराजगंजस्थित टिचिङ अस्पताल रिफर गरेको र अन्त्यमा उनलाई कान्ति अस्पताल पु¥याइएको देखिन्छ । कान्ति अस्पतालमा त्यही दिन साँझ ६ बजे सिर्जनाको मृत्यु भएको थियो ।
‘हामीले यौनजन्य घटना भएको छ कि भनेर त्यसको पनि मेडिकल गरेका थियौं, पौडेलका साला अधिकारीको पनि मेडिकल परीक्षण गरेका थियौं तर त्यस्तो केही देखिएन,’ एसएसपी श्रेष्ठले भने, ‘टिचिङ अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि आगोले जलेर मृत्यु भएको देखाउँछ । अन्त्यमा हामी कर्तव्य ज्यान नभएर सिर्जनाको मृत्यु आत्महत्या भएको निष्कर्षमा पुग्यौ ।’
उनले के कारणले आत्महत्या गरिन् त ? यसको यकिन कारण प्रहरीले प्रष्ट्याउन सकेको छैन । पढाइसम्बन्धी मानसिक तनाव एक कारण हुनसक्ने उसको ठम्याइ छ । सिर्जना दाङमा चार कक्षामा पढ्थिन् । पढाइ कमजोर भएकाले उनलाई ललितपुर, चाकुपाटस्थित कुम्भेश्वर निमाविमा तीन कक्षामा भर्ना गराइएको थियो ।
पहिलो वर्ष उनी कक्षामा फेल भएपछि दोहो¥याएर तीनमा पढ्दै थिइन् । ‘घटनाको भोलिपल्ट उनको जाँच थियो,’ श्रेष्ठले भने, ‘तनावका कारण सिर्जनाले आत्महत्या गरेको हुनसक्छ ।’
घटनाको भोलिपल्ट दाङबाट राजधानी आएका चौधरीका पिता गंगु चौधरीले घटनाको प्रकृति हेरी छोरीले आत्महत्या नै गरेको निष्कर्ष निकालेका थिए । उनले छोरीले आत्महत्या गरेको भन्दै सद्गत गर्न लास पाऊँ भनी प्रहरीमा जाहेरी दिएका थिए ।
घटनाको ६ दिनपछि चैत २० गते चौधरीकी आमा द्रौपदी चौधरीले ललितपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिन् । जाहेरीमा भनिएको छ, ‘मेरी छोरीले आत्महत्या गर्न सक्दिन, कसैले कर्तव्य गरी मारेको हुनसक्छ । सुक्ष्म अनुसन्धान गरी पाऊँ ।’
त्यसको एक महिनापछि द्रौपदीले ललितपुर जिल्ला कार्यालयमै दोस्रो किटानी जाहेरी दिइन् । उक्त जाहेरीमा उनले युवराज पौडेल र शंकर अधिकारीले मट्टितेल खन्याएर आफ्नी छोरीको हत्या गरेको दाबी गरेकी छन् । दोस्रो जाहेरी दिन आउँँदा चौधरी विभिन्न संघ–संस्थाका १५–२० जना मानिसहरूसहित आएको प्रहरीले बतायो ।
सिर्जनाको मृत्युको पुनः अनुसन्धान हुनुपर्ने माग उठेको छ । यदि सरकारले छानबिन आयोग बनायो भने प्रहरीले कसरी अनुसन्धान अगाडि बढाउँछ ? ‘घटनाका प्रत्यक्षदर्शीहरूको फेरि बयान लिने, चौधरीले काम गर्ने घरका मानिसहरूको बयान लिनेबाहेक अनुसन्धान गर्ने धेरै ठाउँ छैन,’ श्रेष्ठले भने ।