चितवन, चैत २८ (सेतोपाटी)– चितवनको टिकौलीस्थित प्रस्तावित रंगशालास्थल अहिले करिब साढे तीन सय पाल र झन्डै ५ हजार किशोरकिशोरीले भरिएको छ । सामान्यतयाः महोत्सव र विभिन्न मेला आयोजना हुने टिकौलीको चौरमा २६ वर्षपछि नेपाल स्काउटको ज्याम्बोरी सुरु भएको छ ।
बुधबार अनौैपचारिक रूपले सुरु भएको ज्याम्बोरीको उद्घाटन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बिहीबार गर्नेछन् । छ दिने ज्याम्बोरीको समापन वैशाख २ गते हुनेछ । बुधबार रातिसम्म ज्याम्बोरी आयोजनास्थलमा मार्चपास, विभिन्न तालिम र छलफलका कार्यक्रम चलिरहेका छन् ।
नेपालभरिका सयौं परम्पराको सामूहिक रङ बोकेको चितवनमा आयोजना हुने ज्याम्बोरीले देशविदेशबाट आउने स्काउटका अधिकारी र मुलुकका विभिन्न ठाउँबाट आउने स्काउट किशोरकिशोरीलाई नेपालको संस्कृति बुझाउन मद्दत पुग्ने आयोजकले जनाएका छन् । २०४३ सालमा नेपाल स्काउटको पहिलो ज्याम्बोरी कीर्तिपुरमा भएको थियो । ज्याम्बोरीमा सहभागी हुन पाकिस्तान, बंगलादेश, सिंगापुर, मलेसियालगायत थुप्रै देशबाट समेत स्काउट स्वयम्सेवक टिकौली आइपुगेका छन् ।
बिहीबार ज्याम्बोरीको उद्घाटन अध्यक्ष रेग्मीले गरेपछि देशविदेशबाट आएका पाहुना र नेपालभरिबाट उपस्थित स्काउट किशोरकिशोरीका लागि विशेष साँझ आयोजना गरिनेसमेत आयोजकले जनाएका छन् । विशेष साँझमा चितवनका विशेष परिकार, परम्परागत सिप र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । नेपाल स्काउटको स्थापना २००९ सालमा भएको हो । ज्याम्बोरीका अवसरमा हुने कार्यक्रमहरुमा देशविदेशका स्काउट प्रतिनिधिबीच छलफल, अन्तक्र्रिया, समन्वय, प्रतिभा प्रस्तुति र विभिन्न विषयमा सेसनहरूसमेत हुनेछ । स्काउटले अन्तर्राष्ट्रिय रुपमा बालबालिकाको व्यक्तित्व विकास, स्वयम्सेवा र समन्वयमा सघाउँछ ।
प्रकाशित मिति: 2013-04-10 20:07:50