काठमाडौं- आन्दोलन दुई खालको हुन्छ । एउटा, हुरीबतासजस्तो आउँछ, बढारेर लग्छ । अर्को, परालको आगोसरी ह्वारह्वार्ती सल्कन्छ, सामसुम निभिहाल्छ ।
‘अकुपाई बालुवाटार’ तेस्रो खालको आन्दोलन हो । मन्दिरको दियोजस्तो । निरन्तर बलिरहन्छ । उज्यालो छरिरहन्छ ।
कहिलेकाहीँ निभ्न निभ्न खोज्छ ।
धिपधिप ... धिपधिप ... ।
एउटा आउँछ, तेल थप्छ । अर्को आउँछ, इता हाल्छ ।
दियो फेरि चम्कन्छ ।
प्रनिका कोयु सय दिनदेखि यही दियोरूपी आन्दोलनमा निरन्तर तेल थपिरहेकी छन् । इता हालिरहेकी छन् ।
...
‘तिम्रो नाम के हो ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीको प्रश्नले सीता राई (परिवर्तित नाम) को जिन्दगी नै बर्बाद पारिदियो ।
तीन वर्ष साउदी अरब बसेर फर्किएकी उनको पासपोर्ट विमला केसीको नाउँमा थियो । केरकार सुरु भयो । पोखराका एक दलालले नक्कली पासपोर्ट बनाएर दिल्ली हुँदै साउदी पुर्याएका रहेछन् ।
उनी जति खुल्दै गइन्, अध्यागमन कर्मचारीका आँखाकान उति चनाखा हुँदै गए ।
नक्कली पासपोर्ट बोकेको आरोपमा उनलाई पक्राउ गरियो । साउदीबाट कमाएर ल्याएको ९ हजार ५ सय रियाल (२ लाख २२ हजार रुपैयाँ) तिनै कर्मचारीले तर्साएर, धम्काएर लुटे । त्यतिले उनीहरूको भोक मरेन । सरकारी ओहोदाका ‘जिम्मेवार’ कर्मचारीहरू ब्वाँसोको रूप लिँदै गइरहेका थिए, जो असहाय आहारा देखेर र्याल काढेपछि अस्थिपञ्जरसम्म ननिखारी चुप बस्दैन ।
अनि यस्तो घटना भयो, जुन सुन्दै जीउमा काँडा उम्रन्छ ।
रक्षकको स्वाङ पार्दै आएका अध्यागमन प्रहरी पर्शुराम बस्नेतले सीतालाई पुरानो बसपार्कको एउटा होटलमा लगे र रातभरि पटकपटक बलात्कार गरे ।
भोजपुरकी २० वर्षे सीता डर र सरमले केही समय चुप्पै बसिन् । भित्रभित्र आक्रोशको ज्वाला दन्किरहेको थियो ।
उनले धेरै दिन त्यो ज्वाला थाम्न सकिनन् ।
...
पोखरा लेकसाइडबाट झन्डै तीन किलोमिटर उत्तर ।
फेवातालको मुहानतिर जाँदा बाटोमा पर्ने यो इलाका लेकसाइडभन्दा शान्त छ । त्यसमाथि पुसको जाडो र बिहानै भएकोले होला, सडकमा खासै ओहोरदोहोर छैन ।
उनको रेस्टुरेन्ट अघिल्लो रातको रमझमबाट भर्खर ब्युँझेर आङ तन्काउँदै मात्र छ । झिसमिसेमै लेकसाइड तिरबाट कुद्दै आइपुगेका एकाध पर्यटक पसिना सुकाउन सुस्ताइरहेका छन् ।
सबै स्टाफ नआइपुगेकाले प्रनिका आफैं अघि सर्छिन्, मेनु लिएर ।
यो रेस्टुरेन्ट प्रनिकाकै हो ।
ब्रेकफास्ट अर्डर लिएर उनी भान्छामा छिर्छिन् । आफैं ब्रेकफास्ट तयार पार्छिन् । सर्भ गर्छिन् । मानवअधिकारसम्बन्धी उच्च आयुक्त कार्यालय (ओएचसिएचआर) को जागिर छाडेदेखि उनी ‘फुल टाइम’ रेस्टुरेन्टमै व्यस्त छिन् ।
आज भने बिहानैदेखि उनको चित्त ठेगानमा छैन ।
‘द काठमाडौं पोस्ट’मा काम गर्ने साथी देवान राईको फेसबुक ‘स्ट्याटस’ले उनको मन नराम्ररी बिथोलिएको छ ।
देवानले आफ्नो स्ट्याटसमा एउटा खबरको ‘लिंक’ नत्थी गरेका थिए । एकाबिहान त्यसलाई पछ्याउँदै पोस्टमा छापिएको समाचार पढेदेखि घरिघरि उनको आङ सिरिंग–सिरिंग भइरहेको छ । साहसी र हक्की स्वभावकी भए पनि किन हो उनी आफूलाई निकै असुरक्षित ठानिरहेकी छन् । थुप्रै भोकाएका गिद्ध एकैचोटि चिथोर्न आएजस्तो ।
मन अँठ्याएर रेस्टुरेन्टका काममा अल्झाउन खोज्छिन् । घरिघरि फुत्किहाल्छ । आँखा अगाडि झल्याँस्स–झल्याँस्स उही समाचार आइरहन्छ । अनेक तर्कना खेल्न थाल्छन् । पेट हुँडलिएर घाँटीसम्मै आएझैं लाग्छ । मुटु थरथर काम्छ । मन भित्रैदेखि चिसो हुन्छ ।
उनी आफूलाई थाम्न सक्दिनन् । देवानको नम्बर डायल गर्छिन् । बिहानैदेखि उम्लिएका सारा आक्रोश खन्याउँछिन् ।
‘इफ यु फिलिङ लाइक द्याट, राइट योअर ओन आर्टिकल (तिमीलाई त्यस्तो अप्ठ्यारो भइरहेको छ भने आफैं लेख न),’ देवानको सल्लाह छ ।
उनको लेख छापिन्छ । केही दिन मन शान्त हुन्छ । फेरि उही ।
यो मनको घाउ भनेको पिलोभन्दा भयंकर हुँदो रहेछ । खिल निचोरेर नफालेसम्म भत्भती पोलिरहने ।
चार महिना बितिसक्यो । प्रनिकालाई आज पनि सीता राईको समाचारले पछ्याउन छोडेको छैन ।
...
प्रनिका एक्ली थिइनन् ।
यता काठमाडौंमा थुप्रै प्रनिकाहरू थिए । दण्डहीनता र महिला हिंसाजस्ता दीर्घरोगले थलिएर बसेका । उनीहरू चैत–वैशाखमा सुकेका पातजस्ता थिए, जो डढेलो लाग्न तयार हुन्छन् । मात्र आगोको सानो झिल्का चाहिन्छ ।
सीता राईको लुटपाट र बलात्कारको खबर त्यही झिल्का बनेर आयो, जुन असन्तोषले सुकेर कक्रिएका युवा जमातमा आगो लगाउन पर्याप्त थियो ।
त्यो जमातमा थिए, काठमाडौं पोस्टका देवान । मानसिक रोगविरुद्धको अभियानमा सक्रिय जगन्नाथ लामिछाने । हालसालै पोस्टको जागिर छाडेर बसेकी विदुषी ढुंगेल । पत्रकार अर्पण श्रेष्ठ, कशिसदास श्रेष्ठ, स्तुति बस्न्यात, ईशान अधिकारी, कुन्दन काफ्ले, उज्जवल थापा, सौविध्य खड्का । र, अरू पनि थुप्रै ।
उनीहरूले एक महिलामाथि अध्यागमन अधिकृत र प्रहरीबाट भएको अपराधविरुद्ध आक्रोश पोख्दै आपसमा इमेल लेखे । ट्विट गरे । छिनछिनमा फेसबुक स्ट्याटस अपडेट गरे ।
हेर्दाहेर्दै महिला हिंसा र दण्डहीनताविरुद्ध कानुनी लडाइँ लड्न युवा पुस्ताको एउटा सञ्जाल बन्यो ।
यही बेला राजधानीको अनामनगरमा ‘शंकास्पद ढंगले’ मृत फेला परेकी घरेलु कामदार सरस्वती सुवेदीको घटना जोडिन आइपुग्यो । सुवेदीका आमाबा जति धाउँदा पनि प्रहरीले छानबिन अघि बढाइरहेको थिएन । उता उत्तिकै शंकास्पद ढंगले मारिएका विन्दु ठाकुर र शिवा हासमीले न्याय पाउन सकिरहेका थिएनन् । एक वर्षदेखि हराइरहेकी छोरीमाया महर्जनको खोजीमा पनि प्रहरी नाजवाफ थियो । सुनुवाइ नभएपछि उनका दुई छोरी वसन्तपुर डबलीमा अनसन बसे । साथीभाइ, इष्टमित्र बटुलेर नारा लगाए । बाटोमा हिँड्ने बटुवाहरूको संवेदना त खुबै पाए, साथ कसैको पाएनन् ।
सीताको पक्षमा जुर्मुराएको समूहले सरस्वती, छोरीमाया, विन्दु र शिवाको घटनालाई पनि आफ्नो बनायो ।
११ पुस, २०६९ । दिउँसो १२ बजे ।
फेसबुक र ट्विटरमा भाइरलजस्तै फैलिएको सन्देशका भरमा ५० जनाभन्दा बढी सिंहदरबार दक्षिण ढोकामा भेला भए । महिला हिंसा र दण्डहीनता अन्त्यको पक्षमा उर्लिएको यो समर्थनले युवा अभियन्ताहरूको उत्साहमा प्राण भर्ने काम गर्यो । उनीहरूले ठाउँको ठाउँ अर्को निर्णय लिइहाले– महिला हिंसाका सबै घटना समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने ।
निमेषभरमै फेसबुक र ट्विटरमा सन्देश फैलियो ।
भोलिपल्ट बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तीन नम्बर ढोकाअगाडि मान्छेहरू भर्खरभर्खर जम्मा हुन थालेका थिए । प्रहरीले प्रधानमन्त्रीसँग भेट्न त के, त्यहाँ भीड लाग्नधरी दिएन । हिंसाविरुद्ध शान्तिपूर्ण ढंगमा ज्ञापनपत्र बुझाउन गएकाहरूलाई प्रहरीले लाठी तेस्र्याउँदै लखेट्न थाल्यो । भागदौड मच्चियो । कतिलाई लछा¥यो । केहीलाई पछार्यो ।
बालुवाटारको शान्त बिहानी कोलाहलमय भयो ।
उनीहरू भागेर राष्ट्र बैंकको ढोकासम्म आइपुगे । प्रहरीले ‘त्यहाँबाट अगाडि नबढ्नू’ भन्ने उर्दी जारी गर्यो । उनीहरू सडकमै धर्ना बसे ।
त्यसै दिन बेलुकी ६ बजेतिर प्रधानमन्त्रीले ज्ञापनपत्र बुझाउन आएका केही प्रतिनिधिसँग भेट गरे । राति मोबाइलको टर्च बालेर ६० भन्दा बढीको हस्ताक्षर संकलन गरी ज्ञापनपत्र बुझाइयो । सरकारले भोलिपल्टै महिला हिंसाका घटनामा छानबिन बढाउन एउटा अनुगमन समिति गठन गर्यो । त्यसपछि एकथरिले भने, अब धर्ना रोक्नुपर्छ । अर्काथरिले भने ‘समितिलाई दबाब दिन कम्तिमा १५ दिने कार्यावधिसम्म सांकेतिक धर्ना कायम राख्ने’ प्रस्ताव गरे ।
दोस्रो मतमा सबैको सहमति भयो ।
र, यहीँबाट सुरु भयो एउटा शान्तिपूर्ण नागरिक आन्दोलन, जसले ‘अकुपाई बालुवाटार’को नाममा आज एक सय चार दिन पूरा गरिसकेको छ ।
...
पुस ११ र १२ का घटना अकुपाई बालुवाटारलाई जगाउने ‘टर्निङ प्वाइन्ट’हरू हुन् ।
प्रनिका यी दुवै दिन काठमाडौंमा थिइनन् । तेस्रो दिन मात्र आइपुगिन् । र, आजसम्म रेस्टुरेन्टका सारा काम ‘सुपरभाइजर’को जिम्मा छाडेर यही आन्दोलनमा भिडिरहेकी छन् ।
हरेक दिन बिहान ९ नबज्दै बालुवाटारस्थित राष्ट्र बैंकको मूलढोका सामुन्ने पुगिसकेकी हुन्छिन् । ११ बजेसम्म त्यहीँ मोर्चा कस्छिन् । त्यसपछि अन्य अभियन्ताहरूसँग छलफल हुन्छ । कहिलेकाहिँ पीडितका आफन्तलाई भेट्छिन् । पूरा दिन अकुपाई बालुवाटारकै वरिपरि घुमिरहन्छ ।
यो आन्दोलनमा दिनको औसत ३० जनाजति सहभागी हुँदै आएका छन् । करिब १५ जना अभियन्ता यस्ता छन्, जसको दैनिकी प्रनिकाको भन्दा फरक छैन । कथा पनि लगभग उस्तै छ । सबै आ–आफ्नै पेसामा छन् । व्यस्तै रहन्छन् । बिहानको समय भने अकुपाई बालुवाटारकै नाममा समर्पित छ ।
यसबीच तोकेको अवधिभन्दा केही ढिलो गरी प्रतिवेदन आएको थियो । घटनाहरूको फेहरिस्त मात्रै वर्णन गरिएको त्यस प्रतिवेदनलाई अभियन्ताहरूले स्वीकार गरेनन् । सडकमै जलाए ।
अकुपाई बालुवाटारले नयाँ गति समात्यो ।
हेर्दाहेर्दै थुप्रै १५ दिन बिते ।
‘माग पूरा हुन २४ घन्टा पनि लाग्दैन भन्ने सोचेका थियौं,’ केही दिनअघि सयदिने कार्यक्रमको तयारीमा व्यस्त प्रनिका र विदुषीले यस संवाददातासँग भनिन्, ‘आज आयो केही हुन्न, भोलि आयो केही हुन्न । हाम्रो राजनीतिक संयन्त्र र प्रशासन हामीले सोचेभन्दा निकै खराब भइसकेको रहेछ ।’
उनीहरूले बालुवाटारको निषेधित क्षेत्र पनि नतोडेका होइनन् । राष्ट्र बैंकको मूलढोकाबाट कराउँदा ‘प्रधानमन्त्रीको कानसम्म आवाज पुगेन’ भन्ठानेर प्रधानमन्त्री निवासको ढोकासम्मै पुगे । सरकारले त्यस दिन अकुपाई बालुवाटारको शान्त जुलुसमाथि निर्मम बल प्रयोग गर्यो । महिला अभियन्ताहरू भुत्लाइए । ह्विलचेयरमा आएका शारीरिक अपांगहरूमाथि प्रहरीको लाठी बर्सियो । केहीलाई अस्पतालै लानुपर्यो ।
माओवादी नेता बालकृष्ण ढुंगेलको मुद्दा उठाएपछि त अकुपाई बालुवाटार आन्दोलन पार्टीकै तारो बन्न पुगेको छ । माओवादी कार्यकर्ताहरूले एकदिन बिहानै आएर आन्दोलन स्थल कब्जा गरेका थिए । पोस्टर र ब्यानरहरू च्यातेर फ्याले । कति जलाइदिए । केही दिन त्यही ठाउँमा बालकृष्णको विरोधमा एउटा प्रदर्शन, समर्थनमा अर्को प्रदर्शन भयो ।
हत्या अभियोगमा सर्वोच्च अदालतले नै सजाय सुनाइसकेका ढुंगेल निर्वाध खुला हिँडिरहेका छन् । प्रहरीले ढुंगेललाई पक्राउ त गरेन गरेन, अकुपाई बालुवाटार भाँड्न आएका माओवादी कार्यकर्तालाई धरी रोकेन । उल्टै ‘भिडन्त हुनसक्ने’ डर देखाउँदै शान्तिपूर्ण आन्दोलन सधैंको निम्ति दबाउन खोजियो ।
‘दण्डहीनताको योभन्दा ठूलो उदाहरण अर्को के हुन्छ,’ अभियन्ता जगन्नाथ भन्छन् ।
...
अकुपाई बालुवाटार केही दिन हंगामा गर्ने र झोलातुम्ला बोकेर घर–घर फर्कने मनस्थितिबाट माथि उठिसकेको छ ।
यसो भन्दैमा शान्तिपूर्ण बाटोबाट विचलित भएर राजनीतिक दलहरूले जस्तो सडक जाम गर्ने, टायर बाल्ने मनस्थितिमा उनीहरू छैनन् । बरु दिनहुँ त्यही ठाउँमा खटिएका प्रहरीहरूले नै आत्मीय हुँदै भनेका थिए, ‘यसरी पनि कहीँ आन्दोलन हुन्छ, अलि दबाब दिनुपर्यो ।’
आफ्नो आन्दोलनलाई ‘सत्याग्रह’ को नाम दिएका यी अभियन्ता भने यसमा सहमत छैनन् । यहाँसम्म कि, सय दिनदेखि सडकमा उभिएर प्रदर्शन गर्दा एक दिन पनि आवागमन प्रभावित हुन दिएका छैनन् । उनीहरू गाडी आवागमन निम्ति ठाउँ निकालेर सडकमा पिठोको धर्का तान्छन् र त्यही परिधिभित्र प्रदर्शन गर्छन् । व्यक्तिगत स्वार्थ नराखी बृहत उद्देश्यका लागि शान्तिपूर्ण रूपमा गोलबद्ध हुने हो भने दायरा स्वस्फुर्त फराकिँदै जान्छ भन्ने उदाहरण अकुपाई बालुवाटारले देखाएको छ ।
यो सञ्जालमा गाँसिएकाहरूको व्यक्तिगत स्वार्थ केही छैन । यो मजदुर आन्दोलनजस्तो होइन, जसमा माग पूरा हुनु भनेको तलब बढ्नु हो । ग्रेड थपिनु हो । स्थायी हुनु हो । माग पूरा भएको अवस्थामा पनि यी अभियन्ताले व्यक्तिगत रूपमा पाउने केही होइन ।
त्यसो भए उनीहरूलाई के ले बाँधेको छ ? दिनहुँ ३० जनाको दरले उभिएर के परिवर्तन ल्याउन खोजिरहेका छन् यिनीहरू ?
‘हामीकहाँ राजनीतिक आन्दोलन त थुप्रै भए, सामाजिक लडाइँ लड्ने कोही भएन,’ प्रनिका भन्छिन्, ‘राजनीतिक एजेन्डा छोडेर सामाजिक परिवर्तनको एजेन्ट बन्न कोही तयार हुँदैन । किनकि यसमा कसैको व्यक्तिगत लाभै छैन । म सबैले छोडेको त्यही भूमिका खेल्न चाहन्छु ।’ धेरै मान्छे एकै ठाउँ उभिएर एउटै आवाज निकाल्दा के प्रभाव पर्दो रहेछ भनेर हेर्ने इच्छा छ प्रनिकालाई ।
विदुषीले भने यो आन्दोलनमा लागेर देशको राजनीतिक व्यवस्था, प्रशासन र न्याय प्रणालीलाई नजिकबाट चिन्ने मौका पाइन् ।
‘हाम्रो सिस्टम कसरी चलिरहेको छ भन्ने बुझेका थिएनौं,’ उनी भन्छिन्, ‘जनसरोकारप्रति देशको राजनीति र प्रशासन कत्तिको गम्भीर छ भन्ने ‘रियालिटी चेक’ गर्ने माध्यम बन्यो यो आन्दोलन । जति दिन सरकार मौन बस्छ वा हामीमाथि दमन गर्न खोज्छ, उति ऊ नांगिदै जानेछ ।’
जगन्नाथले यसलाई राजनीतिक दलहरू र महिला हिंसाको नाममा कमाइ गरिरहेका गैरसरकारी संस्थाहरूको वास्तविक चेहरा उदांगो पार्ने माध्यम मानेका छन् ।
‘महिला हिंसा अन्त्य हुनुपर्छ, दण्डहीनता रोकिनुपर्छ भन्नेमा कसको विमति होला ? तर, राजनीतिक दलहरू र यही मुद्दामा काम गरिरहेका संघसंस्थाले हामीलाई समर्थन गरिरहेका छैनन्,’ उनको भनाइ छ, ‘समर्थन गर्नेहरूकै मत पनि विभाजित देखियो, फलानो मान्छे आउने भए म आउँदिन भनेर तर्किनेहरू भेट्यौं ।’ महिला नेतृहरू समेत पार्टी राजनीतिबाट माथि उठ्न नसकेकोमा उनको गुनासो छ ।
‘अभिव्यक्ति स्वतन्त्रताको नारा दिएर नथाक्ने दलहरू अकुपाई बालुवाटारमाथि आक्रमण हुँदा पनि मौन बसिरहेका छन्,’ उनी भन्छन्, ‘यसले आफैंमा दलहरूको नियत खुलाउँदैन र ?’
सौविध्यले नागरिक समाजमै गम्भीर सैद्धान्तिक विचलन रहेको औंल्याए । ‘कम्युनिस्ट र गैरकम्युनिस्टमा विभाजित रहेछन् सबै,’ उनी भन्छन्, ‘सामाजिक न्यायको एजेन्डा बोकेर हिँड्ने कोही छैन ।’
अभियन्ताहरूका यस्ता सोच र सपना एकातिर छ भने सँगसँगै केही चुनौती पनि छन् ।
मुख्य चुनौती यसको ‘सुरक्षित अवतरण’ हो । सय दिनको बीचमा केही कारबाही भएका छन् । सीता राईलाई लुट्ने अध्यागमन अधिकृतमाथि मुद्दा दायर गरिएको छ । उनलाई बलात्कार गर्ने प्रहरी थुनामा छन् । ठोस नतिजा नआए पनि छोरीमायाको मुद्दामा छानबिन चल्दैछ भनिएको छ । तर, अभियन्ताहरू आफूले खोजेजस्तो परिणामको नजिकसम्म पनि पुगेका छैनन् । महिला आयोगलाई संवैधानिक अंग बनाउने, जाहेरी दर्ता सहज गराउने, महिला हिंसासम्बन्धी मुद्दामा ‘फास्ट ट्र्याक’ इजलास व्यवस्था गर्ने लगायतका मागमा सिन्को भाँचिएको छैन ।
सबभन्दा ठूलो कुरा, दण्डहीनताको प्रत्याभूति शून्य छ । त्यसको उदाहरण, बालकृष्ण ढुंगेल र त्यस्तै अरू अभियुक्तलाई सरकारले दिरहेको संरक्षण हो । त्यसमाथि खिलराज रेग्मीले मन्त्रिपरिषद्को अध्यक्षता लिएयता अकुपाई बालुवाटारमाथि सरकार अलि बढी नै असहिष्णु बन्दै गएको देखिन्छ । केही दिनदेखि अभियन्ताहरूलाई पक्राउ गर्ने क्रम जारी छ । उनीहरूलाई सडकबाट हटाएर पेटीमा सीमित गर्न खोजिएको छ ।
यस्तोमा कहाँ पुगेर कसरी टुंगिएला यो आन्दोलन ? जति चिच्याउँदा पनि सरकारले टेरपुच्छर नलाए जीविका गर्नुपर्ने यी पेशाकर्मीहरू कति दिन बालुवाटार धाइरहन सक्छन् ? दिन लम्बिँदै गएपछि सहभागीहरू पातलिँदै जाने खतरा छैन र ?
अनि कसरी चल्छ अकुपाई बालुवाटार ?
यसमा अभियन्ताहरूको विमति छैन । तर, कतिसम्मलाई सुरक्षित अवतरण मान्ने ? उनीहरूको स्पष्ट सोच देखिँदैन ।
‘यो विस्तारै खारिँदै जाने प्रक्रिया हो,’ सौविध्य भन्छन्, ‘पहिले हामी व्यक्तिगत आक्रोशले लाग्यौं, पछि सामूहिक भयौं, फेरि व्यक्तिगत हुन सक्छौं, तर डर छैन, यो त कहिल्यै ननिभ्ने आगोको झिल्का हो, आज हामी बालिरहेका छौं, भोलि अरू कसैले बाल्छन् ।’
प्रनिकाको भनाइमा अकुपाई बालुवाटारले एउटा साझा मञ्चको रूप लिइसकेको छ, जहाँ राज्यबाट ठगिएका वा राज्यको राडारभित्र पर्न नसकेका समूहहरू भेला भएर आफ्नो आवाज राख्नेछन् । त्यतिखेर महिला हिंसा मात्र होइन, आमसरोकारका जुनसुकै मुद्दा अकुपाइ बालुवाटारले उठाउनेछ ।
‘अहिलेसम्म जुन एजेन्डा ठुल्ठूला होटलका सेमिनारहरूमा सीमित थियो, हामीले त्यसलाई सडकमा उठाएर यतिका दिन जीवित राख्यौं,’ उनी भन्छिन्, ‘आज म छु, भोलि अरू आउँछन्, अब यस्ता जनसरोकारका एजेन्डाहरू फेरि होटलका सेमिनारमा सीमित हुन पाउँदैनन् ।’
बालुवाटारमा जम्मा भएर मात्र प्रभावकारी रूपमा सन्देश फिँजाउन नसकेको हो कि भन्ने महसुस पनि उनीहरूलाई भइरहेको देखिन्छ । त्यही भएर अबको एक महिना विभिन्न राजनीतिक दल, कलेजका विद्यार्थी, संघ/संस्थाका प्रतिनिधिलाई भेटेर सन्देश पुर्याउने सोचमा छन् ।
फरकफरक पेसाका अभियन्ताबीच एकता कायम राख्नु र खर्चको प्रबन्ध आन्दोलनका थप चुनौती हुन् । अहिलेसम्म उनीहरूले आफैं खर्च जोहो गर्दै आएका छन् । आन्दोलन लम्बिँदै जाँदा यो सम्भव नहुनसक्छ । त्यो अवस्थामा आर्थिक स्रोत जुटाउन गाह्रो हुनसक्ने अभियन्ताहरू आफैं बताउँछन् । ‘कुनै संस्था विशेषसँग आर्थिक सहयोग लिने हो भने उसको स्वार्थबाट आफूलाई कसरी अलग राख्ने ?’ एक अभियन्ताले भने ।
त्यसमाथि यो आन्दोलनमा अहिल्यै केही महिला अधिकारवादी गैरसरकारी संस्थाको लेबल लागेको छ, जसले केही अभियन्ता असन्तुष्ट बनेका छन् । ‘ती संस्थाका प्रतिनिधि व्यक्तिगत रूपमा आउनसक्छन्, तर संस्थागत रूपमै क्रेडिट लिन खोजे निःस्वार्थ भावले स्वस्फुर्त उठेको आन्दोलनको मर्म मर्छ,’ ती अभियन्ताले टिप्पणी गरिन् ।
जे भए पनि यो आगो निभ्न दिन्नौं भनेर उनीहरू अहिलेसम्म दृढ छन् । यसमा केही आशाका किरण पनि देखिएका छन् ।
उदयपुर, धनगढी, नेपालगन्ज लगायत ठाउँबाट अकुपाई बालुवाटार आन्दोलनलाई तारन्तार निम्ता आइरहेको छ ।
...
नेता दुई खालको हुन्छ । एउटा, पिपलजस्तो फैलिन्छ, मजबुत जरो गाड्छ । अर्को, नरिवलको बोटजस्तो, एकैचोटि टुप्पोमा पलाउँछ ।
अकुपाई बालुवाटारले तेस्रो खालका नेताहरू जन्माइरहेको छ, । दूबोजस्तो । मसिनो भुइँझार, जो सतहमै उम्रन्छ । एकनासले फैलिन्छ ।
प्रनिका, देवान, विदुषी, जगन्नाथ, अर्पण, कशिस, स्तुति, ईशान, कुन्दन, उज्जवल, सौविध्य तेस्रो खालका नेता हुन् ।
र, अकुपाई बालुवाटारका अरू पनि थुप्रै ।
आवरण तस्बिरः प्रनिका कोयु र जगन्नाथ लामिछाने
(अन्य तस्बिर सौजन्यः अर्पण श्रेष्ठ)
(कार्टुनिस्ट राजेश केसी अकुपाई बालुवाटारमा कार्टुन बनाएर ऐक्यबद्धता जनाउँदै)