साइकल यात्रालाई प्रोत्साहन दिने नीति ल्याउँदै प्रत्येक शनिबार 'काररहीत दिन' का रुपमा मनाउनुपर्नेमा आइतबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिए।
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आयोजना गरेकोे कार्यशालामा सरोकारवालाले विश्वका धेरै स्थानमा हप्तामा एक दिन बिदाको दिन कार नचलाएर साइकल चलाउने प्रचलन रहेको उदाहरण दिँदै नेपालमा पनि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए।
पेट्रोलियम पदार्थको आपूर्तिमा नेपालले बर्सेनि अरबौँ रुपैयाँ विदेश पठाउने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सहभागीहरुले साइकल यात्रालाई प्रोत्साहन दिन रकमको बचतका साथै वातावरणमा स्वच्छता आउन सक्ने धारणा राखे।
सडक विस्तार गर्दा साइकलका लागि छुट्टै बाटोको व्यवस्था गरिनुपर्ने माग गर्दै त्यसो गर्न सकिए साइकलयात्रीको सङ्ख्या स्वतः वृद्धि हुने उनीहरुको भनाइ थियो।
साइकलको प्रयोग व्यक्तिको स्वास्थ्यका लागि लाभदायक हुनुका साथै वातावरणको लागि पनि लाभदायक भएकाले यसलाई प्रोत्साहन गर्न सरकारले नीति नै बनाउनुपर्ने उनीहरुको माग थियो।
विश्वका धेरै देशमा साइकल यात्राका लागि सडकमा छुट्टै बाटोको व्यवस्था गरिए पनि नेपालमा भने त्यो भर्खरै सुरुआतको चरणमा छ।
काठमाडौँमा कोटेश्वरदेखि कलङ्कीसम्म १० किमी, माइतीघरदेखि तीनकुनेसम्म ३ किमी, कालीमाटीदेखि बल्खु १ किमी, प्रहरी प्रधान कार्यालय नक्सालदेखि बालुवाटारसम्म ३ किमी, बालाजुदेखि बाइपास १ किमी र माइतीघरदेखि भद्रकालीसम्मको ६०० मिटर गरी करिब १८ किलोमिटर सडक साइकल बाटोका रुपमा सडक विस्तार गरिँदैछ।
तिलगङ्गादेखि एअरपोर्ट सिनामङ्गलसम्मको डेढ किलोमिटर साइकल बाटो भने निर्माण भइसकेको छ।
कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्यालले हप्तामा एक दिन भए पनि समाजका लब्धप्रतिष्ठित व्यक्ति र कलाकारले साइकल चढेर यात्रा गरेर समाजमा साइकल निम्न वर्गको व्यक्तिले मात्रै चढ्ने होइन भनेर सन्देश दिन सकिए साइकलयात्रामा सबैको आकर्षण बढ्ने बताए।
उनले उपत्यकाको सडक विस्तारको क्रममा १८ किलोमिटर सडकखण्ड साइकल बाटोका लागि छुट्याइएको जानकारी दिँदै त्यसलाई थप विस्तार गर्न तथा साइकल यात्रालाई प्रोत्साहन दिने नीति बनाउन सरकार अग्रसर हुने घोषणा गरे।
वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईले युवाहरुलाई मोटरसाइकल नभइ साइकल चढ्न प्रोत्साहन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भइसकेको धारणा राखेका थिए। रासस