पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमा अवस्थित ‘सिद्ध गुफा’ शायद हिमालय क्षेत्रमा रहेका गुफाहरु मध्ये सबैभन्दा ठुलो गुफा हो । सन् १९८६ मा पत्ता लगाइएको यो गुफा समुन्द्री सतहबाट ६०० मीटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।
वि.सं.२०४४ साल चैत १३ गते शनिबार अर्थात सन् १९८८ मार्च २६ मा स्थानिय चन्द्रबहादुर सम्लिीङ थापा मगर , दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दिपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समुहद्धारा पहिलो पटक यो गुफा पत्ता लगाएका हुन् ।
पुरातत्वविदका अनुसार प्राकृतिक बनावट, भौगोलीक उथलपुथल र जिवन सुरक्षाका लागि प्रागकालिन मानवद्धारा निर्मीत धार्मिक एवम् ऐतीहासीक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ ।
सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचिन वस्तुहरु अक्षर मेटीएको तामाको पैसा, माटोबाट बनेको टुक्रिीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि इ.स १६ /१७औं सताब्धिअघिको अनुमान गरिएको छ ।
उपयुक्त बस्तुहरु मध्ये तामाको पैसा, धुपाउरो र घैटोको टुक्रा तात्कालिन अञ्चलाधिश नरेन्द्रकुमार चौधरी र तनहुँका प्रमुख जिल्ला अधिकारी भगवानदास सिंह मार्फत अनुसन्धानका लागि पुरातात्व विभाग काठमाडौं लगि बेपत्ता पारिएको र अन्य बाँकी चाँही अनुसन्धान र प्रदर्शनको लागि शिद्ध गुफा संरक्षण समितिको सूचना केन्द्र विमलनगरमा सुरक्षीत राखिएको समितिका अध्यक्ष श्रीबेनीबहादुर थापा बताउँछन् ।
पूर्व पश्चिम र दक्षिण मोहडा फैलीएको यो गुफाको प्राकृतिक स्वरूप–प्रवेशद्वार साघुँरो, ढुङ्गेलो अफ्ठेरो र होचो भएतापनि भित्री भागहरु पुरै फराकिलो सम्म, सजिलो र आँखाले नदेखिने उचाई र अन्त्य छ ।
यो गुफाको लम्बाई अन्दाजी ४२५ मिटर, २५ मिटर सम्मको चौडाई सबैभनदा होचो भाग चार तिहाइ मिटर र ५७ मिटर लामो गहिरो सुरुङ ।
यस गुफाको अधिकतम उचाई ५० मिटर र न्यूनतम उचाई ४ मिटर रहेको छ । गुम्पा र लुस्माले यो गुफा भरिपूर्ण छ ।
गुम्पा र लुस्मा बन्न हजारौ वर्ष लाग्छ । र यिनीहरुको संरक्षण हुनु जरुरी छ । लुस्साहरु शिवलिङ्को आकारमा देखिने भएकोले स्थानिय बासीहरु यसलाई शिबलिङ्ग मानि पुजा गर्छन् । विशेष गरेर साउनको सोमबारका दिन यहाँ मेला लाग्दछ । गुफा चमेरा र यस्तै रात्री जिवहरुको वासस्थान हो ।
गुफा प्रबेश गर्नु भन्दा केहि मिटर तल अवस्थित दृश्यावलोकन स्थानबाट समुन्द्री सतहबाट ८ हजार मिटर अग्ला अन्नपूर्ण हिम श्रृखला र मनास्लु हिमालदेखि ५ सय मिटर कम उचाइमा अवस्थित मस्र्याङ्दी उपत्यकाको आकर्शक दृश्य हेर्न सकिन्छ ।
शब्द चन्द्र काफ्ले ,तस्विर क्रान्ति थापा