खिलानाथ ढकाल, काठमाडौं, चैत २६– मोरङको इटहरा गाविसमा सोमबार बिहान एक महिला जलेको अवस्थामा मृत भेटिएकी छिन् । उनलाई कुटपिटपछि आगो लगाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले दाबी गरेको छ ।
इटहरा–७ कट्नुकी २२ वर्षीया मैना भित्रिकोटी बिहान ७ बजे घरनजिकै मृत फेला परेकी थिइन् । घटनास्थल घरबाट दुई सय पचास मिटर पूर्व रहेको प्रहरीले जनाएको छ ।
परालको कुन्यू छेउमा जलेको अवस्थामा उनको लाश भेटिएको थियो । इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार उनको शरीर आगोले जलेर नचिनिने भएको छ । उनको खुट्टामात्र सद्दे पाइएको प्रहरी नायब निरीक्षक राजेन्द्र चँुडालले बताए ।
‘घटनाको प्रकृति हेर्दा जलाएर हत्या गरेजस्तो देखिन्छ,’ चुँडालले सेतोपाटीसँग भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, केही समयपछि सत्यतथ्य बाहिर ल्याउनेछौं ।’
मैनाको मृत लाशको मुचुल्का उठाइसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले मैनाका श्रीमानसहित छ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अधिकृत मनोजित कुँवरलाई त्यसतर्फ खटाएको छ ।
प्रकाशित मिति: 2013-04-08 12:46:19