काठमाडौं, चैत १९ (सेतोपाटी)– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीमा आइतबार केन्द्रीय तहमा भएका केही नियुक्ति र अझ खासगरी गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको संसदीय बोर्डमा प्रवेशले भाजपा आक्रामक शैली र ‘हिन्दूत्व’को नारासहित एक वर्षभित्र हुने आम निर्वाचनमा जाइलाग्ने संकेत दिएको छ ।
चारपटक लगातार मुख्यमन्त्री रहेका मोदीलाई भाजपाका अध्यक्ष राजनाथ सिंहले १२–सदस्यीय संसदीय बोर्डमा सामेलमात्र गरेनन्, चुनावी रणनीति अन्तर्गत मोदी समर्थक र अन्य उग्र हिन्दूत्व समर्थकहरूलाई समेत पार्टी महासचिव र केन्द्रीय निर्वाचन आयोगको सदस्य बनाएका छन् । नयाँ फेरबदल तथा नियुक्तिले एकातिर सन् १९६७ यता नेतृत्वमा वर्चस्व राख्दै आएका अटलबिहारी–लालकृष्ण युग समाप्त हुन पुगेको छ भने अर्कातिर २०१४ को आम निर्वाचनमा भाजपाका तर्फबाट मोदी प्रधानमन्त्रीका प्रवल दावेदार हुने सम्भावना त्यत्तिकै बढेको छ ।
८८ वर्षीय वाजपेयी स्मरणशक्ति क्षिण भई राजनीतिबाट बाहिर छन् भने स्वस्थ भए पनि ८५ वर्षीय आडवाणीले संस्थामा सेरेमोनियल अभिभावकको भूमिकामा सीमित हुनुपर्नेछ ।
भारतीय जनता पार्टीलगायत करिब सयभन्दा बढी संस्थाहरूको मातृ संगठन मानिने राष्ट्रिय संगठनले तत्काल राम जन्मभूमि अयोध्यामा भव्य मन्दिर निर्माणको अभियान सुरु गर्ने उद्घोष गरेको छ । शनिबार गुजरातमा मन्दिर निर्माण अभियानमा जुटेको संघआबद्ध संस्था विश्व हिन्दु परिषद्ले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिँदै संघ प्रमुख (सर संघ चालक) मोहन भागवतले मन्दिर निर्माण अभियानको कुरा गरेका थिए । स्पष्ट छ, त्यो राजनाथ सिंह–मोदी नेतृत्वका लागि चुनावी निर्देशन थियो ।
आडवाणीको नेतृत्वमा सन् १९८९ मा अयोध्यामा राम मन्दिर निर्माणका लागि देशव्यापी रथयात्रा सुरु भएको थियो र तत्पश्चात् भाजपाको चुनावी र राजनीतिक एजेन्डा बन्न पुगेको थियो । सन् १९९२ डिसेम्बर ६ का दिन विश्व हिन्दु परिषद्को अगुवाईमा ‘राम जन्मस्थलमा निर्मित मानिएको’ ४६४ वर्ष पुरानो बाबरी मस्जिद ध्वस्त पारिएको थियो । त्यो बेलादेखि उक्त स्थल कडा सुरक्षा घेरामा छ । तर, कच्ची मन्दिरमा राम पूजा नियमित रूपमा भइरहेको छ ।
राजनाथ सिंह आन्तरिक राजनीतिमा मात्र हैन, हिन्दुत्व भारतीय विदेश नीतिको एउटा अभिन्न हिस्सा हुनुपर्ने मान्यता पनि राख्छन् । नेपाललाई धर्म निरपेक्ष हैन, पहिलाजस्तै हिन्दु राष्ट्र घोषणा गर्न उनले सन् २००६ यता दिल्ली गएका नेपालका सबै प्रधानमन्त्री र राष्ट्रपतिसँग आग्रह गर्दै आएका छन् । त्यस्तै डिसेम्बर १४ मा दिल्लीमा भएको एउटा गोष्ठीमा सिंहले ‘भारतको नेपाल नीति पूर्णतः असफल’ भएको घोषणा गरेका थिए । मोदी गुजरातमा सीमित भए पनि भारतको नेपाल नीतिबारे उनको मान्यता राजनाथ सिंहसँग मेल खान्छ भन्ने विश्लेषण बिजेपी भित्र छ ।
अहिलेको परिवर्तनमा संघलाई प्रमुखता दिनुका साथै प्रतिद्वन्द्वी कांग्रेस पार्टीलाई विविध किसिमले चुनौती दिइएको छ । नयाँ थपिएका चारजना महासचिवमध्ये राजीव प्रताप रुढी पार्टी अध्यक्ष राजनाथ सिंहका निकटवर्ती मानिन्छन् भने अमीत शाह मोदीका । इन्दिरा गान्धीका नाति तथा सञ्जय–मेनका गान्धीका ३४ वर्षीया छोरा वरुण गान्धीलाई समेत उक्त पदमा नियुक्त गरेर सोनिया–राहुल गान्धीका विरुद्ध पारिवारिक चक्रव्युह रच्ने रणनीति पनि भाजपाले अपनाएको छ ।
संसदीय बोर्डले निर्वाचनमा पार्टी उम्मेदवारहरू चयन गर्न महत्वपूर्ण भूमिका खेल्ने र बोर्डमा मोदीको प्रवेशमा राष्ट्रिय स्वयंसेवक संघ पनि अप्रत्यक्ष रूपमा संलग्न देखिएकाले यसलाई मोदीको प्रधानमन्त्रीय सपनामाथि महत्वपूर्ण निकायको अनौपचारिक अनुमोदन मानिनुपर्छ ।
प्रकाशित मिति: 2013-04-01 13:26:01