काठमाडौं, चैत १९ (सेतोपाटी)– विश्वकप नेपाली क्रिकेटले लामो समयदेखि देखेको सपना हो । थुप्रैपटक नजिक पुगेर पनि विश्वकप खेल्ने लक्ष्यबाट टाढिनुको पीडा नेपाली क्रिकेटले भोगिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसोसिएट राष्ट्रमा प्रचुर सम्भावना बोकेको नेपाल फेरि एकपटक विश्वकप नजिक पुगेको छ ।
घरमै भइरहेको एसिसी ट्वान्टी–२० कपमा आइतबार सिंगापुरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेर नेपालले सम्भावनाको ढोका खोलेको छ । एसिया क्षेत्रबाट दुई टोली ट्वान्टी–२० विश्वकपको अन्तिम चरणको छनोटका लागि लायक हुने व्यवस्था छ । एसिसी ट्वान्टी–२० मा सहभागीमध्ये एकदिवसीय मान्यता भएको अफगानिस्तान र आयोजकको नाताले युएई सोझै छनोट भइसकेकाले अन्य दुई टोलीलाई छनोट चरणको यात्रा गर्ने मौका थियो । त्यसमा नेपालले एसिसीको सेमिफाइनल पुगेर हङकङसँगै नोभेम्बरमा युएईमा हुने ट्वान्टी–२० विश्वकप छनोटका लागि स्थान पक्का ग¥यो । आफूले विजय हासिल गर्दा अफगानिस्तान पनि बहराइनलाई हराएर सेमिफाइनल प्रवेश गरेपछि नेपाल युएई यात्राका लागि छानिएको थियो । आइतबारका नतिजापछि सेमिफाइनल पुग्ने चार टोलीमध्ये दुई विश्व ट्वान्टी–२० छनोटमा पुगिसकेकाले बाँकी दुई नेपाल र हङकङ एसियाको कोटामा छानिए ।
एकदिवसीय विश्वकप खेल्ने सपना बारम्बार तुहिँदै आए पनि नयाँ स्वरुपमा नेपाल सम्भावनाको नजिक पुगेको हो । तथापि डिभिजन ३ मा पुगेर नेपालले २०१५ मा एकदिवसिय विश्वकप खेल्ने सम्भावना पनि जीवित राखेको छ । नोभेम्बरमा युएईमा हुने छनोट प्रतियोगिताबाट शीर्ष ६ टोली ट्वान्टी–२० विश्वकपका लागि छानिनेछन् । जहाँ एकदिवसिय मान्यताप्राप्त ६ टोली र आयोजक युएईसँगै अन्य ९ टोलीको सहभागिता रहनेछ । अन्तिम चरणको छनोटलाई स्थान पक्का गरिसकेका टोलीमा अफगानिस्तान र युएईसँगै क्यानाडा, आयरल्यान्ड, नामिबिया, नेदरल्यान्डस, स्कटल्यान्ड, पपुवा न्युगिनी, नेपाल र हङकङ छन् ।
युरोप, अमेरिका तथा अफ्रिकी क्षेत्रबाट बाँकी टोली छनोट भएर आउनेछन् । २०१२ मा सम्पन्न पछिल्लो संस्करणबाट अफगानिस्तान र आयरल्यान्ड विश्वकपका लागि छानिएका थिए । त्यतिखेर शीर्ष दुई टोलीमात्र विश्वकपका लागि छानिने व्यवस्था थियो । नेपाल सहभागी १६ टोलीमध्ये सातौं स्थानमा सीमित भएको थियो । यसपालि १६ टोलीबाट शीर्ष ६ विश्वकपलाई छानिने व्यवस्था हुनुले नेपालको सम्भावना बढाएको नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास बताउँछन् ।
‘पछिल्लो समय नयाँ प्रशिक्षक (पुबुदु दासानायके) को आगमनपछि नेपालको खेल्ने शैली धेरै फेरिएको छ । अहिले हाम्रो क्रिकेट ट्वान्टी–२० शैलीमा राम्रो भएको छ,’ विनोद भन्छन्, ‘त्यसैले ट्वान्टी–२० को स्वरुपबाट नेपाली क्रिकेटको विश्वकप खेल्ने सपना पूरा हुने सम्भावना छ । अघिल्लो पटक हामी सातौं भएका थियौं । अहिले हाम्रो खेल झन सुधारिएको छ र छैटौंसम्म भए पनि विश्वकप खेल्न पाइन्छ ।’
युएईमै गतवर्ष सम्पन्न विश्वकप छनोटको समूह ‘ए’ मा रहँदा नेपालले समूह चरणका सातमध्ये तीन खेलमा विजय हासिल गरेको थियो भने चार खेलमा हार भोगेको थियो । एसियाली प्रतिद्वन्द्वी हङकङलाई २८ रनले हराएर यात्रा सुरु गरेको नेपालले दोस्रो खेलमा डेनमार्कमाथि ९ विकेटको फराकिलो जित दर्ता गराएको थियो । त्यसपछि लगातार हार बेहोर्ने क्रममा पपुवा न्युगिनीलाई ३५ रनले नतिजा सुम्पेपछि अफगानिस्तानसँग ३४ रनको हार बेहो¥यो । यसैगरी नेदरल्यान्डससँग ६ विकेट तथा क्यानाडासँग १८ रनले पराजित भएपछि नेपालले केन्यामाथि ५ विकेटको जित दर्ता गराएको थियो । सातौं स्थानको प्लेअफमा पपुवा न्युगिनीलाई हराएर नेपालले समुह चरणमा भोगेको हारको बदला लियो । प्लेअफमा १ बल बाँकी रहदै ६ विकेटको जित हासिल गरेपनि त्यो नेपालको विश्वकप महत्वाकाँक्षाका लागि अर्थहिन थियो ।
कुनैबेला ब्याटिङमा कमजोर छवि भएपनि अहिले नेपाली खेलाडीको ब्याट मजाले घुम्न थालिसकेको छ । बलिङ सधै नेपालको बलियो पक्ष हो । नेपालका प्रशिक्षक श्रीलंकाली मुलका क्यानाडेली नागरिक दासानायकेको भनाई मान्ने हो भने नेपालका सबै ११ खेलाडी जुनसुकै नम्बरमा पनि ब्याटिङ गर्न लायक छन् । ‘अहिले हाम्रो टोलीमा सबै खेलाडी उत्तिकै भरपर्दा छन्, एउटा नचले अर्कोले इनिङ सम्हाल्छ,’ दासानायके भन्छन्, ‘यो प्रतियोगितामा जित हाम्रो वर्तमान लक्ष्य हो । त्यसपछि विश्व ट्वान्टी–२० लाई छानिन हाम्रो सबै मेहनत केन्द्रित हुनेछ ।’
नेपालका कप्तान पारस खड्कालाई पनि सेमिफाइनल प्रवेश र विश्वकप छनोटमा स्थान बनाउनुले मात्र खुसी बनाउन सकेको छैन । प्रतियोगिता जितेपछि मात्र खुसी मनाउने योजनामा रहेका उनी टोलीको अर्को लक्ष्य विश्वकपलाई छानिनु भएको बताउछन् । भन्छन्, ‘हामीले सेमिफाइनल पुगेर पक्कै ठूलो उपलब्धि हासिल गरेका छौं । तर म अहिल्यै खुसी मनाउने छैन । हामी यहाँ समुह चरणका खेल जित्नका लागि मात्र खेलेका होइनौ । प्रतियोगिता जितेपछि खुसी मनाउछु । अझ हाम्रो मुख्य लक्ष्य विश्व ट्वान्टी–२० कपका लागि छानिनु हो ।’
अन्य विपक्षीको तुलनामा नेपाली टोली युवा खेलाडीले भरिएको हुनुलाई पारशले राम्रो सम्भावनाका रुपमा लिएका छन् । आफ्नै ब्याट गर्जिदा विभिन्न खेलमा प्रदीप ऐरी, सुभास खकुरेल, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, सरद भेषावकरहरुले पनि ब्याटिङमा राम्रो गर्नुबाट भविश्यका लागि ठूला आशा गर्न सकिने पारसको बुझाई छ ।
‘विनोदले निकै उत्कृष्ट खेले । उनी हेर्न लायक खेलाडीका रुपमा पहिलैदेखि अपेक्षा गरिएका थिए । भविष्यमा उनले नेपाललाई अझ धेरै खेल जिताउने छन्,’ समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १ सय २१ रनले हराउँदा सानदार ब्याटिङ गर्दै ३४ बलमा ५४ रन बनाएका विनोद भण्डारीको प्रशंसामा पारसले भने, ‘नेपाली टोलीमा विनोद जस्ता धेरै खेलाडी छन् । सागर पुनले यही खेलमार्फत राष्ट्रिय टोलीबाट डेब्यु जनाए । अन्य टोलीसँग तुलना गर्ने हो भने हामी युवा टोली छौं, त्यसैले हाम्रो सम्भावना पनि बडि छ ।’
सेमिफाइनल यात्राको संक्षेप
हङकङसँग समूहको दोस्रो खेलमा ६ विकेटको पराजय भोगेपछि थोरैले मात्र नेपाल सेमिफाइनल पुग्ने सम्भावना देखेका थिए । व्यवहारिक रुपमा नेपालको सम्भावना बलियो भएपनि हङकङसँगको कमजोर ब्याटिङले क्रिकेटकर्मी निराश थिए । अघिल्लो दिन कमजोर माल्दिभ्सलाई ७६ रनले हराएर प्रतियोगिता सुरु गरेको नेपाल भोलीपल्ट बुधबार हङकङसँग पहिला ब्याटिङ गर्दा ११५–९ मा सीमित भएको थियो । हङकङले सहज लक्ष्य १६.३ ओभरमै पूरा ग¥यो । नेपालका तर्फबाट उक्त खेलमा कप्तान पारश ४, ओपनर प्रदीप ऐरी २१, अर्का ओपनर सुवास खकुरेल ६, विनोद भण्डारी १५ तथा सरद भेषावकर ५ रनमा सीमित भएका थिए । शक्ति गौचनले ११ रन बनाएको खेलमा वशन्त रेग्मीले ५, मन्जित श्रेष्ठले ७ तथा उपकप्तान ज्ञानेन्द्रले ३८ बनाएपछि नेपालको स्कोर लाजमर्दो हुनबाट जोगिएको थियो ।
हङकङले यसअघि मलेसियालाई हराइसकेकाले उसको सेमिफाइनल यात्रा पक्काझै भइसकेको थियो । त्यसैले नेपाललाई बाँकी दुई खेलमा मलेसिया र सिंगापुलाई हराउनुको विकल्प थिएन । सही समयमा नचल्ने परम्परा भएपनि यसपाली नेपाली खेलाडीले समर्थकलाई निराश पारेनन् । शनिबार मलेसियाविरुद्ध अनौपचारिक ‘क्वाटर फाइनल’ को हैसियत बोकेको खेलमा कप्तान पारसले सनसनीपूर्ण ब्याटिङ गरेपछि नेपाल १९ रनको जितलायक भयो ।
टस हारेर ब्याटिङ गरेको नेपालका कप्तानले ८७ रन बनाएपछि टोली १६३–८ मा इनिङ टुंगाउन सफल भएको थियो । बलिङ पनि कसिलो हुँदा मलेसिया १४४–९ मा समेटियो । हङकङलेसबै चार खेल जितेर समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल स्थान पक्का गरिसकेको थियो । नेपाल पनि यो जितपछि सेमिफाइनलको नजिक पुग्यो । अव नेपालले सेमिफाइनलको औपचारिकता पूरा गर्न आइतबार कमजोर सिंगापुरलाई हराए पर्याप्त हुने थियो ।
नेपाललाई सिंगापुरले र मलेसियाले माल्दिभ्सलाई निकै ठूलो अन्तरमा हराएमात्र नेपालको सेमिफाइनल यात्रामा तगारो लाग्ने थियो । तर, आइतबार त्यस्तो भएन । नेपालका सबै ब्याट्सम्यानले सनसनी मच्चाए । ट्वान्टी–२० मा अहिलेसम्मकै सबभन्दा ठूलो स्कोर बनाउन र सबभन्दा ठूलो अन्तरको जित हासिल गर्न नेपाल लायक भयो । विनोद भण्डारीको ब्याटबाट ५४ रन बन्दा नेपालले ५ विकेट गुमाई २ सय १० रनको योगफल तयार गरेको थियो । ओपनर सुवास खकुरेल ५ रनमै आउट भएपनि कप्तान पारश खडकाले ४४ रन बनाए भने अर्का ओपनर प्रदीपले ३० रन बनाए । यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाउँदा सरद भेषावकर २६ तथा पृथु बास्कोटा ९ रनमा अविजित रहे ।
बलिङमा वसन्त रेग्मीको स्पिनले तीन विकेट लिँदा सिंगापुरको इनिङ १५.१ ओभरमा ८९ रनमा समेटियो । नेपालका लागि शक्तिले तीन ओभर बलिङ गर्दा १३ रन खर्चिए भने चन्द्र साउद, पारश, सागर पुन र पृथुले एक÷एक विकेट लिए ।
सिंगापुरलाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको नेपालले मंगलबार हुने सेमिफाइनलमा समुह ‘ए’ को विजेता युएईसँग खेल्नेछ । अर्को सेमिफाइनल हङकङ र अफगानिस्तानबीच हुनेछ ।
विश्वकप सपनाको यात्रा
क्यानाडामा २००१ मा आइसिसी छनोट खेलेर नेपालले औपचारिक रुपमा विश्वकपलाई छानिने यात्रा सुरु गरेको थियो । क्यानाडामा भएको प्रतियोगिताबाट ६ टोली विश्वकपका लागि छानिदा नेपालले भने समूह चरणबाटै बिदा लिएको थियो । नेपालकै समुहमा रहेको नामिबियाले त्यो प्रतियोगिताबाट विश्व क्रिकेटमा उचाई दिन सुरु गरेको थियो । त्यहीबाट अन्तर्राष्ट्रिय क्रिकेटको उडान सुरु गरेको नामिबिया अहिले डिभिजन २ मा छ । त्यसपछि जर्सीमा पाँच वर्षअघि डिभिजन ५ खेल्दा सेमिफाइनलमा अफगानिस्तानसँग हार्नु नेपालको यात्रामा अर्को तगारो थियो । त्यही हारले नेपाल केही वर्षका लागि अडकियो भने अफगानिस्तानले लगातार जित्दै जाँदा अहिले एकदिवसियको मान्यता पाइसकेको छ । नेपालले पनि यसबीचमा डिभिजन ५ र ४ हुँदै डिभिजन ३ मा स्थान पक्का गरिसकेको छ । यसैमहिना बर्मुडामा हुने डिभिजन ३ को शीर्ष २ भित्र पर्न सके नेपाल डिभिजन २ का साथै यही वर्ष न्युजिल्यान्डमा हुने विश्वकप छनोटका लागि छानिनेछ ।
डिभिजन वानमा एकदिवसिय मान्यता पाएका ६ र डिभिजन २ का शीर्ष दुई टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्छन् । तीन वर्ष चल्ने प्रतियोगिताबाट दुई टोली सोझै विश्वकपलाई छानिने प्रावधान छ भने बाँकी रहेका ६ टोलीले डिभिजन ३ का शीर्ष दुई र अन्य दुई टोलीसँग न्युजिल्यान्डमा विश्वकप छनोट खेल्नेछन् । बर्मुडामा अप्रिलमा हुने डिभिजन ३ बाट शीर्ष २ मा परेर डिभिजन २ मा बढुवा भए नेपालको एकदिवसिय विश्वकप सपना पनि कायम रहन्छ ।
प्रकाशित मिति: 2013-04-01 10:26:46