चोट के हो, व्यथा के हो
मजस्तो घाइतेलाई सोध
खुसी के हो, मिलन के हो ?
मसँग कहिल्यै सोध्दै नसोध
एचआइभी संक्रमितहरूको बीचमा काम गर्ने राजु थापा अलिक पहिलेकै समयतिर फर्कंदै छन् र सम्झँदै छन्, ‘चोट के हो व्यथा के हो’का गायक अरुण थापालाई । २० वर्षसम्म गायक थापासँग संगत गरे राजुले । नमस्ते ब्यान्डको कन्सर्टमा साउन्ड टेक्निसियनको रूपमा उनले सात वर्षसम्म काम गरे । अरुण थापा ड्रग्सको कुलतमा यसरी फसेका थिए कि त्यहाँबाट बाहिर निस्कने कुनै ढोका खुला थिएन । ड्रग्सको बन्द कोठाभित्र उनी मस्त थिए । ड्रग्स लिन सिक्दासिक्दै अरुणसँग राजुको बाक्लो संगत बनेको थियो । उनी अरुणका गायकीको फ्यान थिए । तर, एउटै कुरा चित्त बुझ्दैनथ्यो । ‘त्यो के भने अरुणदाइ ड्रग्स खान नपाएर छट्पटिएको वेला कसैले १५/२० रुपैयाँ दियो भने पनि गीत गाइदिनुहुन्थ्यो,’ राजु भन्छन्, ‘र, पाएको पैसा रक्सी, ट्याब्लेट, हेरोइनमा सक्नुहुन्थ्यो ।’ अरुण नसाले झुम्म भएर राजुसँगै सुत्थे । उनको पिसाब खुस्किने रोग थियो । र, कैैयौँपटक अरुणले राजुको ढाडमा पिसाब फेरेका छन् । ‘अरुणदाइ बिरामी भएर सुतेको वेला उहाँलाई सिरिन्ज मै हानिदिन्थेँ,’ राजु भन्छन् ।
मृत्युको दिन अरुणले राजुलाई बोलाएका रहेछन् । राजुले ढिलो खबर पाए । राजु पुग्दा अरुणको शरीर चिसो भइसकेको रहेछ । ती कालजयी गायक भगवान्को काखमा पुगिसकेका थिए, हातमा फेन्सिडिल भरिएको सिरिन्ज थियो । त्यस रात ड्रग्स पार्टनर सबै एकैथलो भेला भए र शोक मनाए रक्सी पिएर । ‘सिरिन्ज, टिडिजेसिक र रक्सी मेरो चितामा राखिदेऊ है भुन्टे,’ थापाले एक दिन राजुलाई अन्तिम इच्छा भनेका थिए, ‘मेरो चिता तैंले नै जलाउनू ।’ अन्तिम संस्कार राजुले नै गरे । ‘माफ गर्नुहोला दाइ,’ आफूसँग सिरिन्ज, टिडिजेसिक हुदाहुँदै पनि नसामै रहेका राजुले ती सबै चिज आफैंलाई चाहिन्छ भनेर ओभरकोटको भित्री खल्तिमा राखेछन् र अरुणको चितामा रक्सी मात्र राखिदिएछन् ।
हिप्पी राजु
.JPG)
राजुको घर झोंछेनजिकैको ओमबहालमा हिप्पी कल्चर (हिप्पिज्म) सुरु हुँदा राजु पाँच वर्षका थिए । त्यसवेला पश्चिमी पुँजी, व्यापार, यान्त्रिक समय र युद्धको विरोधमा देश छोडेर हिँडेका केटा–केटीको ठुलै भिड थियो काठमाडौंमा । उनीहरू आफूलाई स्वतन्त्र र शान्ति पक्षधर युवापुस्ता मान्थे । ती केही खोजेर नभेटिएझैं झोंछे, वसन्तपुरका ओसिला, अँध्यारा गल्लीहरू, पशुपतिमाथि वनकाली छेउछाउका डाँडाहरूमा छरिएका हुन्थे साँझतिर हातमा बियरका सिसी लिएर ।
राजु हुर्कंदै जाँदा हिप्पीहरू पनि थपिँदै गए । भियतनाम युद्ध र तनावले नेपाल पसेका फ्रस्टेटेड हिप्पीहरू ‘वि वान्ट फ्रिडम’ भन्दै ह्यासिस र बियरले लठ्ठ भएका हुन्थे, लामा र वर्षौं ननुहाएजस्ता देखिने गरि जगल्टा पालेका हुन्थे र हातमा गितार बोकेर शान्त शैलीमा साधना गरिरहेका जोगीझै अंग्रेजी गीत गुनगुनाउँदै, सहरका भित्तामा अनेक कलरफुल पेन्टिङ गर्दै डुलिहिँड्थे । राजुको मनको भित्री कुनामा हिप्पीहरू मन पर्न थालिसकेको थियो । अब उनी स्कुल ‘बंक’ गर्न थाले । ह्यासिसको सर्को तान्न थाले । ८० को दशकमा ‘हिप्पिज्म’ अन्त्य भयो र ‘पंक फेसन’ भित्रियो । जिन्दगीको डार्क साइडलाई नियाल्न थाले । त्यतिवेलासम्म राजुको जीवनमा ट्याब्लेट हुँदै हेरोइन, फेन्सिडिलसम्मले प्रवेश पाइसकेको थियो । ‘म त्यसवेला त नसाको फूल स्विङमा रमाउँथेँ,’ राजु भन्छन् । ड्रग्स जीवनमा के भित्रियो राजुको पढाइ छुट्यो । आठ कक्षामै पढाइ छाडेपछि त उनको जीवनको ‘मक्सत’ नै ड्रग्स प्राप्ति बन्यो ।
ती दिन...
सानोमा राजुलाई आमाले ‘भुन्टे’ भन्थिन् । उनी यही नामले चिनिए । ‘भुन्टे’लाई नसाको भयानक प्यास लाग्न थालपछि उनी जे गर्न पनि तम्सिए । एकजना साथीको घर पसेर दराज फुटाए र ३० हजार रुपैयाँ चोरे । साथीहरू स्टोभ बालेर डाडुमा ‘ब्राउनसुगर’ उमालिरहेका थिए । तीनजना साथी मिलेर सुई हाने । तर, राजु मात्र बेहोस भए । साथीहरूले होसमा त ल्याए । तर, गोजीको पैसा सबै गायब ।
रत्नपार्कमा सार्वजनिक ट्वाइलेट थियो लस्करै । राजु अर्को साथीसँग ट्वाइलेट छिरे । खल्तीबाट ब्राउनसुगर निकालेर भोड्काको बिर्कोमा राखे । बिर्कोलाई तारले बाँधेपछि मैनबत्ती बालेर तताए । ‘माल’ सिरिन्जमा तानेपछि साथी अर्को ट्वाइलेट छि¥यो । नाडीमा सुई घोच्नेबित्तिकै राजु झ्याप भए । टाउको निहुराएर बसिरहे । २५ मिनेटपछि बल्लतल्ल उठेर बाहिर निस्कँदा साथी पसेको ट्वाइलेटको ढोका नै खुलेन । ढोका फुटाएर हेर्दा साथी त ढलेको ढल्यै भएछन् । हातको नाडी चलिरहेको थिएन र अनुहार नीलो भइसकेको थियो । ड्रग्सको ओभरडोजले साथी परमधाम भएछ । ‘ला साथी त सुइँकेछ भन्दै त्यहाँबाट भागेँ,’ उनी सम्झन्छन् ।
जापानी युवती ‘मियाको नोडा’सँग राजुको ‘लभ अफेयर्स’ चल्यो । एक दिन नोडाले राजुको चुरोटले डढेको कालो ओठ हेर्दै अचानक सोधिन्, ‘तिमी चेन स्मोकर हो ?’
‘हो ।’
‘रक्सीविना बाँच्न सक्दैनौ ?’
‘अँ हँ सक्दिनँ ।’
ज्याकेटको खल्तीमा हात हालिन्, सिरिन्ज र ब्राउनसुगर निकाल्दै नोडाले सोधिन्, ‘यो के हो नि ? तिमी जंकी हौ ?’
‘हो,’ राजु अत्तालिएर यति मात्रै बेल्न सके । त्यस साँझको जाडोमा राजुको ज्याकेट नोडाले लगाएकी थिइन् । मियाको नोडा त्यस रात अबेरसम्म रोइरहिन् । दुई महिना नेपाल बसेर मियाको नोडा जापान फर्किने अघिल्लो साँझ यो घटना घटेको थियो । भोलिपल्ट जापान उड्नु केही घन्टाअघि नोडाले दुई कार्टुन चुरोट र तीन बोतल खुकुरी रम राजुलाई ‘गिफ्ट’ दिइन् । अनि भनिन्, ‘तेरो जिन्दगी यत्ति हो । लौ मोज गर ।’ केही समय दुःख लाग्यो । पछि नसाको सुरमा मियाको नोडाको स्मृति धुमिल हुँदै गयो । ‘अहिले उनलाई चिठी पठाएको छु, लागुपदार्थको नसा छोडेँ भनेर,’ राजुले भने, ‘पर्खौँ केही जवाफ आउँछ कि ?’
राजु उच्च घरानाका छोरा । उनकी एकजना नेपाली प्रेमिका उनलाई भेट्न आउँदा फलफूल र हर्लिक्स ल्याइदिन्थिन् । उनी हर्लिक्स बेचिदिन्थे र लागुऔधष जोहो गर्थे । प्रेमिकासँग पैसा, सुन माग्थे र ड्रग्समा खर्चन्थे । नसा छुटाउन प्रेमिकाले निकै कोसिस गरिन् । पैसाको साह्रै अभाव भएपछि राजु आफैं ड्रग्स बेच्न थाले । डेढ वर्षपछि उनी प्रहरी खोरमा पुगे । १५ महिनाको जेल बसाइपछि छुटे । छुटेकै दिन टिडिजेसिक एम्पल खाइदिए । राजु जेलमा भएका वेला उनकी प्रेमिकाले एकजना जर्मन केटासँग बिहे गरिन् र उतै बसिन् ।
एकजना फ्रान्सेली युवतीसँग पनि राजुको अफेयर्स थियो । त्यो सम्बन्ध निकै कसिलो छ भन्ने लाग्थ्यो उनलाई । दुई वर्ष लामो प्रेमसम्बन्धपछि प्रेमिकाले राजुलाई फ्रान्स जाने प्रस्ताव राखिन् । त्यसवेला उनी नसामा झ्याप थिए । त्यसैले ‘जान्न’ भनिदिए । मगजमा पत्रे चट्टान जसरी बसेका ड्रग्सकालीन दिनको सम्झना गर्दा राजुका आँखा चम्किला देखिएका थिए ।
र...एचआइभी संक्रमण
लागुऔषधको लतमा फसेका राजुका सबै साथीलाई एचआइभी संक्रमण देखियो । राजु पनि निराश भए र रगत जाँच्न काठमाडौंको एउटा निजी क्लिनिक पुगे । रिपोर्टले एचआइभी पोजेटिभ देखायो । ‘त्यसवेला म निकै रोएको थिएँ र मेरो अघिल्तिर अँध्यारो मात्र देखेको थिएँ,’ राजु भन्छन् । त्यसपछिको चार वर्षसम्म राजुले सहरमा नयाँ एचआइभी संक्रमितको परिचय पाए । फेरि परीक्षण गराउँदा उनमा एचआइभी नेगेटिभ देखियो । ‘पहिलेको क्लिनिकले संक्रमित भन्दै झुटो रिपोर्ट दिएछ,’ राजुले भने । नेगेटिभ देखिएपछि उनी झन् डिप्रेस्ड भए । उनी संक्रमितहरूको भीडमा रम्न थालिसकेका थिए । र, अब ‘म एचआइभी संक्रमित होइन’ भनेर जोडले चिच्याए पनि सहरले पत्याउनेवाला थिएन । लगत्तै उनी काठमाडौंको ‘युथ भिजन पुनस्र्थापना केन्द्र’ पुगे र लागुपदार्थ छोडे । उनले सम्पूर्ण जीवन एचआइभी संक्रमितहरूकै लागि बिताउने निधो गरे । र, अहिले उनी काभ्रे बनेपाको सक्रिय प्लस नेपालको ड्रप इन सेन्टरका इन्चार्ज बनेका छन् । एचआइभी संक्रमित र लागुपदार्थ दुव्र्यसनीलाई परामर्श दिन्छन् । र, एउटा लयमा आफूलाई हिँडाइरहेका छन् ।
ती दिनहरू सम्झिरहँदा राजु भावुक बनेका थिए । अन्तर्वार्तापछिको लघुसन्नाटामा उनले शिखर चुरोट सल्काए । उनको औंलाको कापबाट निस्केको एक मुस्लो धुवाँले कोठा धुवाँमय भयो । धुँवाका झुप्पामाझ अरूण थापाको पोट्रेट घुमिरहेझैं लाग्यो । ड्रग्स प्रयोगको अवस्था अहिले पनि उस्तै भयावह छ । ‘के अहिलेको युवा पनि आउने युगको संक्रमणको संघारमा उभिएको छ ?’ राजु आफैंलाई प्रश्न गर्छन्, ‘युवाको यात्रा अहिले समयको कुन मोडतिर जाँदै छ ?’ उनीसँग ड्रग्स खाने थुप्रै समकालीन साथी परलोक भइसके । कहिलेकाहीँ चुरोटको धुवाँमाझ राजु ती साथीहरूबारे सोचिबस्छन् रे । र, हरेक साँझ अरुण थापाको ‘चोट के हो व्यथा के हो’ सुनिरहँदा आँसु त्यसै–त्यसै छचल्किन्छ रे ।

टिभीले बजाएको मसिनो मुरलीको धुन कानमा गुन्जिन्छ । ड्रग्स र अरूण सोचिरहँदा मुरलीको धुनले मनको शान्त तलाउमा छ्प्ल्याक्क ढुंगा हानेझैैं लाग्छ । सिग्रेटको धुवाँको स्वेत झुप्पामाझ अरूण थापाको पोट्रेट नाचिरहेझैं लाग्छ । सहरमा हिप्पी हिँडेका गल्लि डुलिहिँड्दा अरूण थापा याद आउँछ । राजु थापाको आँखाबाट ड्रग्सकालीन दिनमा चियाउने रहर लाग्छ । निबन्धकार शेखर खरेलले भनेझैं ‘मैले नदेखेको हिप्पी’लाई देख्ने प्यास लागेर आउँछ ।
spkt.deepak@gmail.com