हिजो मध्यराततिर भाइको फोन आएको थियो। ऊ अष्ट्रेलियाको सबैभन्दा उच्च भूभागको यात्रामा रहेछ। भाइबरमा कुरा गर्दागर्दै घरको इन्टरनेट सम्पर्क तोडियो। एकछिनसम्मै राउटरको तेश्रो बत्ती बलेन। कुर्नु बेकार लाग्यो। सुत्ने तरखर गर्दै थिएँ, फेरि मोबाइलको घण्टी बज्यो। यसपाला चाहिँ भाइबरको प्याजी होइन, ‘पैसा पर्ने’ हरियो पर्दामा उसैको नाम देखिँदै थियो।
ऊ आफ्नो ‘एक्साइटमेन्ट’ मसँग बाँड्न खोज्दै रहेछ । तर, यता नेपाल टेलिकमको सेवा न पर्यो । घरि सल्ला सुसाएको जस्तो आवाज आउन थाल्यो त घरि उ बेलाको ‘चक्का क्यासेट’ एक्कासी भोल्टेज घट्दा बजेजस्तो । अरुको फोनमा पनि यस्तै हुन्छ वा मेरो मात्र अनुभव हो, थाहा छैन । पैसा पर्नेभन्दा सित्तैमा सम्पर्क हुने भाइबरले मोबाइलमा दसौं गुणा राम्रोसँग सम्पर्क गराउँछ ।
टेलिकमको यातनादायी सेवा समातेर छिमेक ब्यूँझाउनुभन्दा मोबाइलै बन्द गरेर सुत्नु उपयुक्त लाग्यो । ‘साइलेन्स मोड’ मा राख्दै गर्दा झट्ट दिमागमा आयो, ‘सँधैजस्तै आज पनि फोनलाई अघिनै ‘साइलेन्स’मा राखेर सुतेको भए यति कुरै हुन्थेन ।’
हो, हिजोआज म फोनलाई चुप लगाएर मात्र सुत्ने गर्छुं । त्यसको पनि कारण छ ।
ब्रोडसिटका ब्यस्त न्युजरुममा कार्यरत रहँदा ‘समाचार छपाउनु पर्ने’ वा ‘पब्लिक रिलेशन’का जागिरेहरुको थुप्रै टेलिफोनले दिनभर वाक्क लगाउने गथ्र्यो । यस्ता फोनको मामलामा पनि अन्नपूर्ण पोष्टका सम्पादक एवं अग्रज गुणराज लुइँटेलले एकताका रमाइलो प्रसंग सुनाएका थिए ।
‘काठमाडौंमा एउटा ठूलै जमात छ जसलाई को कतिबेला कुन न्यूजरुममा कस्तो ओहोदामा पुग्यो वा हट्यो भन्ने कुरो विजुलीको गतिमा थाहा हुनेगर्छ,’ लुइँटेलको भनाइ थियो, ‘समाचारकक्ष छाड्न पाएको हुँदैन, ती काम न काजका ‘अत्यन्त घनिष्ट’हरु सहरबाटै बिलाएजस्तो भइदिन्छन् ।’
जे होस्, यसले आफ्नै गतिमा एकोहोरो काम गर्न खोज्नेहरुलाई ठूलो राहत दिने गर्छ । तर, दिनभरि मुक्ति पाएर के गर्ने ? भएभरका विदेशिएका आफन्तले त सम्झना गर्न छाडेका हुँदैनन् ।
कोहि अमेरिका, कोहि अष्ट्रेलिया, कोहि युरोप, कोहि खाडीको तातो मरुभूमि । बाह्र घन्टादेखि घटिमा तीन घन्टाको अन्तर । यि आफन्त फेरि कस्ता ज्याद्रा हुन्छन् भने, जहिल्यै नजिकिएर बस्नु पर्ने ।
एकताका फेसबुकमा कसैले राखेको स्ट्याटस पढेर धेरै दिनसम्म भावुक भइएको थियो । ‘फलानो अमेरिका, फलाना मामाको छोरा अष्ट्रेलिया, फलानो जापान, छिमेकका फलाना काकाको छोरा पनि अरब, हुँदा हुँदा फलानोले पनि युरोपको भिसा लाग्यो भनेर भर्खर सुनायो...मेरा मलामी जति त सबै विदेशिएछन् बाबै ...’
नेपाली समाजको यो आम भोगाइ बन्न थालेको छ । यस्तोमा विदेशिएका दाजुभाईलाई ‘तिम्रो होइन मेरो अनुकुल समयमा फोन गर’ भनेर भन्न पनि नसकिने । त्यसैले राति सुत्ने बेलामा फोनलाई शान्त पार्यो, टन्टै साफ ।
हिजोआज सबैभन्दा ठूलो समस्या यो इन्टरनेटबाट सित्तैमा बग्ने फोनले पनि पारेको छ । पहिले पहिले कुनै जरुरी परेमा मात्रै विदेशबाट फोन सम्पर्क गरिन्थ्यो । अचेल त भान्छामा के पाकेको छ भनेर सोध्न पनि भाइबरको प्रयोग हुनथालेको छ । कस्तरी घटेर गयो, विदेशबाट आउने फोनको महत्व ।
कुनै जमाना थियो, जब वीरगन्जको घरमा जापानबाट फोन आउँदा कुनै सदस्यले होइन, परिवार मात्रले पनि होइन, सिंगो टोलले थाहा पाउने गर्थ्यो । कस्तो महत्व थियो त्यसबेला विदेशबाट आउने फोनको ।
वीरगन्ज घरको फोन नम्बर यतिबेला ५२१०५५ हो । निकै अघि त्यहि फोनको नम्बर २१०५५ हुने गर्थ्यो। र, यहाँ मैले जुन समयको उल्लेख गर्न खोजेको हुँ, त्योताका त झनै त्यो फोन नम्बर १०५५ मात्र थियो । अहिलेको सेटजस्तो शून्य नम्बर थिच्नासाथ काम तमाम होइन, सिंगै गोलो घुमाउनु पर्ने । एकछिनसम्मै ट्वार्रर्रर्र...
‘
ट्रिंङ टिंङ’ बज्ने बित्तिकै ‘हेलो’ गर्नेले उताबाट सुरुमा अलिक अस्वाभाविक आवाज सुन्न थाल्थ्यो । सुँइय्य । यतिन्जेल मनमा हल्का चिसो पसिसक्थ्यो । जसै फुपुको चिर परिचित आवाजले बिस्तारै ‘हेलो’ भनेको सुनिन्थ्यो, एक्कासी शान्त तलाउमा तुफान मच्चिएजस्तो हुन्थ्यो । त्यो फोन उठाउने जो भए पनि उसको अनुहार राताम्मे हुन्थ्यो र चिच्च्याउँथ्यो, ‘ए आयो...जापानबाट...।’
बस्... यति सुन्नु मात्र पथ्र्यो, घरमा जो जो जहाँ जहाँ छन्, सबै तरंगित हुन पुग्थे ।
त्योताका फुपु साँगीतिक टोलीसँग प्रत्येक वर्ष छ महिनाका निम्ति जापान जाने गर्नुभएको थियो । गायिकाका रुपमा । अहिले पनि परिचित बाँसुरीवादक प्रेम राणा ‘औतारि’लगायत त्यस टोलीमा हुने गर्थे ।
नेपालमा रंगीन फोटोको प्रचलन उत्तिको सुरुभइसकेको थिएन । त्यस्तो बेला उहाँले प्लास्टिकका दर्जनौं झोलामा ल्याउने गर्नुभएको रंगीन फोटाहरुले हामीलाई सबैभन्दा बढी हल्लाउँथ्यो । गजब गजबका लुगा र नयाँ प्रविधिहरु जापानबाट आउने क्षणलाई हामी छ महिनैसम्म पर्खेर बसेका हुन्थ्यौं ।
एकपटक उहाँले एउटा ब्लेड भएको काइँयो ल्याउनुभएको थियो । बढेमानको झोला खोल्दैगर्दा चेपबाट त्यो गजबको ‘बस्तु’ निकाल्ने काम मैले नै गरेको थिएँ ।
‘ल्या त्यो यता,’ फुपुले हातबाट खोस्दै हामीलाई अथ्र्याउनुभएको थियो, ‘जापानतिर सबै केटाकेटीले यसैले कपाल काट्छन् ।’
नभन्दै त्यो अजिबोगरिब काइँयोको प्याकेटमा एउटा चिटिक्क परेको बच्चो हाँसिरहेको देखिन्थ्यो । टलक्क टल्केको त्यो कपाल पनि कस्तो मिलाएर काटिएको । हामीभन्दा त कता हो कता सुन्दर ।
अब त्यो काइँयोबाट कपाल काट्ने क्षणको हामीलाई ब्यग्र प्रतिक्षा हुनथाल्यो । दिदीको कपाल त बुवा आमाले काट्नै दिनुहुन्न । मेरो चाहिँ ध्यान त्यो काइँयो कसैगरि भाइले उम्काउला र मभन्दा पहिल्यै आफ्नै कपाल काटिदेला भन्नेमा थियो ।
‘धन्दा नमान्,’ फुपुले हामी दुवै दाजुभाइको छट्पटीलाई शान्त पार्दै भन्नुभयो, ‘यसले तिमीहरु दुवैको कपाल भोली मै काटिदिन्छु ।’
हामीले त्यो ‘भोली’लाई कति सावधानीपूर्वक र ब्यग्रताका साथ पख्र्यौ, भनेर साध्य छैन ।
भोलीपल्ट शनिवार पनि थियो । काइँयो हेर्दै रहरलाग्दो प्याकेटबाट निस्क्यो । सुरुमा ब्लेड राखेर लेभल मिलाउनुपर्ने रहेछ । फुपुले नै त्यो पनि गर्नुभयो । त्यसपछि घर छेउकै हजामले जस्तै हामीलाई एउटा तौलियाले ढाकियो । अब सबै काम फुपुले गर्नुपर्ने थियो । धमाधम उहाँले हाम्रा टाउकामा काइँयो नचाउन थाल्नुभयो । घरि दायाँबाट घरि बायाँबाट । तलबाट माथि लैँजादा भने कञ्चेटका रौं तानिएर दुखेछ । भाइ आमातिर हेर्दै करायो, ‘अइया...।’
‘नकरा,’ फुपुले उसका कपाल झनै च्याप्प समातेर सोध्नुभयो, ‘काट्ने हो कि हैन ?’
म चाहिँ त्यो प्याकेटको सुन्दर जापानी बच्चो सम्झिरहेकै थिएँ । ‘मेरै सिध्याइ दिनुस्,’ मैले मौका छोप्ने कोशिस गरेँ, ‘म तयार छु ।’
त्यत्तिकैमा भाइ पनि सम्हालियो र अत्तो थाप्यो, ‘होइन सँगसँगै नै काटिदिनुस् ।’
कपाल काट्दा काट्दै मैले भाइको तालु निर अन्तभन्दा कपालको मात्रा निकै पातलो भइसकेको देखेको थिएँ । तर, जापानका बच्चाहरुले कपाल काट्ने मेशिनबाट कुनै गल्ती नहुने भएकाले यस्ता कुरामा हामी नेपालका बच्चा प्वाक्क बोल्नु उचित सम्झिँन ।
हामी धमाधम पालैपालो कपाल काट्दै थियौं । अचानक भान्छाबाट आमा निस्केर आउनुभयो । ‘आम्मामा... के गर्नुभएको यस्तो,’ आमा चिच्याउन थाल्नुभयो, ‘बच्चाको टाउको त कतै मुडुलो हुन थालिसक्यो कतै सिंगै कपाल बाँकी छ ।’
भर्खर जापानबाट आउनुभएको फुपुका अघिल्तिर आमाको खासै जोड चल्थेन । त्यसैले कपाल काट्ने ठाउँमा बुवाको पनि उपस्थिती गराइयो ।
‘हो त नि, यसले त कपालै ध्वस्त पारिदिइ,’ बुवा कड्किनु भयो, ‘खुरुक्क बन्द गर र उता हजामकहाँ गएर मिलाउन लगाओ ।’
त्यस जापानी बच्चोको छाप नमेटिएर म चाहिँ अझै पनि फुपुले काटिदिनुभए हुन्थ्यो भन्ने सोच्दै थिएँ । बुवाले नै च्याप्प समातेर हजामकहाँ पुर्याइदिनुभयो । त्यस दिन जापानको बच्चाजस्तो त होइन, भर्खर किरिया बसेको जस्तो मुडुलो टाउको लिएर हामी हजामकहाँबाट फर्किएका थियौं ।
यस्ता प्रसंग पनि छन् फुपुले ल्याएका जापानी प्रविधिका । तर, अधिकांश सामग्री भने साँच्चै नै उत्तेजक हुन्थे । आँखीभौं उचाल्ने ।
एक त त्यस्तो फुपु त्यसमाथि महिनौंपछि जापानबाट आएको उहाँको फोन । घर भरिका मान्छेको कुदाकुद सुरु भइसक्थ्यो । फेरि फोन आउँदा हजुरआमा चाहिँ जहिल्यै बाहिर जानुभएको बेला पथ्र्यो ।
‘फोन आयो, फोन आयो’ को हल्ला बिचबाटै अर्को आवाज पनि सुनिन्थ्यो, ‘ए आमालाई त्यहाँ सप्ताहा लागेको ठाउँबाट बोलाएर ल्या...तुरुन्तै...।’
हामी रकेटको गतिमा कट्टु समात्दै कुद्थ्यौं । बाटोमा खेल्दैगरेका टोलका केटाकेटी हामीलाई रोक्न खोज्थे । हामी भने कुद्दै जवाफ दिन्थ्यौं, ‘जापानबाट फोन आएको छ ।’ उनीहरु ट्वाँ परेर हेरिरहेका बेला यता हामी घमण्डले गजक्क पथ्र्यौं
। मनमनै सोच्थ्यौं, ‘यो बाटोभरिका मान्छेले हामीलाई कता जानलागेको भनेर सोधिदिए पनि हुने...’
यसरी हामी सप्ताहा लागेको स्थानमा हजुरआमालाई नदेखेपछि क्रमशः ‘ममी हजुरआमा’ हुँदै ‘काकी हजुरआमा’को घरसम्मै पुग्थ्यौं । भनिरहनु नपर्ला, बाटोमा कसैले हामीलाई अरु नै कुरा सोधे पनि जवाफ हुन्थ्यो, ‘जापानबाट फोन आएको छ ।’
कुदेर पुग्ने हामी र भेटेपछि हामीलाई पछ्याउने हजुरआमाको हिँडाइमा आकाशजमिनको अन्तर थियो । कोलकाताबाट मद्रास जाने कोरोमण्डल र जनकपुर जयनगरको रेल जत्तिकै । तै पनि हजुरआमा छोरीको फोन राखिएला भन्ने डरले फ्वाँ फ्वाँ गर्दै हामीलाई पछ्याउन खोज्नुहुन्थ्यो ।
त्यो बेलाको कुरागराइ र हिजोआजको फोनका कुरा गराइ त आखिर उस्तै न हुन् । मान्छे उहि भएपछि कुरामा के फरक हुन्छ र ? तर, एकै छिन फुपुसँग बोल्दा पनि उहाँले बोकेर ल्याउने ति हजारौ रंगीन फोटाका दृश्यहरु नाचेका जस्ता लाग्थे । तोला तोलामा नापिएका बोलिजस्ता आवाज । जरुरी कुरा गरेर बुवा अन्तै लाग्नुभएपछि घरका बाँकी सदस्यको फोन खोसाखोस सुरुहुन्थ्यो ।
कहाँ गए ती दिनहरु...
यि हरफ लेख्दा लेख्दै अहिले भर्खर अष्ट्रेलियाबाट फेरि भाइको फोन आइपुग्यो । उ करिब २५ सय मिटरको सबैभन्दा अग्लो भूभागमा उभिएको रहेछ ।
‘यो अष्ट्रेलियाको माउण्ट एभरेष्ट हो दादा...’ उ भनिरहेको थियो ।
‘ए,’ मैले भनेँ र मनमनै सोचेँ, ‘हाम्रो जीवनकालमै कति माउण्ट एभरेष्टहरुका उचाइ लिलिपुटमा रुपान्तरण भएर गए...।’