मध्यरात हङकङमा हराउँदा

चुनाव
  • Get News Alerts

यात्रा वर्णन
tata

एक महिनाअघि अर्थात् मार्च ११ तारिख शनिबार। दिनभरि स्टारफेरीमा समुद्रको भंगालो छेडेर हुइँकिएका जहाज र पारितिरका गगनचुम्बी महल हेरिसकेपछि हङकङलाई अझ भित्र पसेर भोग्ने इच्छा तीव्र भयो। यस्तोमा म छेवैको भव्य साँस्कृतिक केन्द्रमा पसेँ। त्यसै दिन तोकिएको ‘इन्काउन्टर विथ मेस्ट्रोः हङकङ अर्केष्ट्रा’ को आनन्द लिन लालायित थिएँ।

बक्स अफिसले मलाई ‘हाउसफुल’ को जवाफले निराश बनायो। अर्को एउटाको चाहिँ टिकट थियो। ‘हङकङ जक्की क्लब कन्टेम्पररी डान्स’ जसमा मेरो कुनै रुचि थिएन।

स्टिमर चढेर पारि गएपछि सिटी हलमा अस्ट्रेलिया र ताइवानबाट आएको टोलीले सामूहिक ‘रे चेन भायोलिन रिसाइटल’ आयोजना गरेका थिए। त्यो पनि ‘हाउसफुल’।

विकसित ठाउँको एउटा गजब विशेषता हुन्छ। सहरको जुनसुकै कुनाकाप्चामा कार्यक्रम भइरहेको छ भने पनि त्यसको टिकट बक्स अफिसबाट काट्न सकिने। यस्तोमा मैले अघिल्लो दिन बाटोमा हिँड्दै गर्दा एउटा थिएटरबाट ‘क्यान्टोनिज ओपेरा’को ‘ब्रोसर’ लिएको थिएँ।

पश्चिमाहरूले सुरु गरेको ओपेरालाई संसारले आफ्नै ढंगले अपनाएका छन्। हामीले पनि यता महाकविको ‘मुनामदन’ र राष्ट्रकविको ‘मालतीमंगले’ हेर्दै आएका हौं। चीनमा चाहिँ मन्डारियन क्षेत्रमा पेकिङ र हङकङजस्ता क्यान्टोनिज क्षेत्रमा क्यान्टोनिज ओपेराको समृद्ध इतिहास छ। केही वर्षअघि बेइजिङ पुगेको बेला पेकिङ ओपेराको घटेको साख देख्दा भने दिक्क लागेको थियो।

राज्यले त्यत्रो लगानी गरेर बेइजिङको केन्द्रमै यसको एकेडेमी नै बनाइदिएको छ। त्यहीँ मैले ओपेरा हेरेको थिएँ। तर पनि त्यस प्रदर्शनीमा न कथाको तारतम्य थियो न त प्रस्तुतिमा गहिराई। ठूलो आशा राखेर हेर्न गएको कार्यक्रम असाध्यै फितलो प्रस्तुतिले निराश बनाएको थियो। यसको रहस्य बुझ्न पनि गाह्रो थिएन। विख्यात चिनियाँ फिल्म ‘फेयरवेल माई कन्क्युवाइन’ ले त्यसको जवाफ दिएको थियो।

घरि दोश्रो सिनो जापान युद्धले त घरि मुलुकभित्रकै साँस्कृतिक क्रान्तिले आफ्ना आफ्नै ‘एजेन्डा’हरू पेकिङ ओपेरामा लाद्दै गएको त्यस सिनेमामा देखाइएको थियो। आम मानिसमा जे कुराले प्रभाव जमाएको हुन्छ त्यसै कुरालाई प्रोपोगन्डाको माध्यम बनाउने नवशासकहरूको प्रवृत्ति सर्वत्र छ।

चीनका नवशासकहरू पेकिङ ओपेराको दुरुपयोग गर्न किन चुक्थे?

त्यस्ता अनेकन परिवर्तनको प्रहार र घात पेकिङ ओपेराले भोग्दै आएपछि नै आज यो विचित्रको अवस्थामा पुगेको निश्कर्षमा म पुगेको थिएँ। किनभने, त्यही चीनमा मैले हेरेका अन्य कलात्मक प्रस्तुतिको अनुभूति मेरोनिम्ति कुनै समय आम्स्टर्डमको ‘फिलहार्मोनिक’ वा सानफ्रान्सिस्कोको ‘गाला ब्याले’ भन्दा कम्ता थिएन।

चीनको परम्परागत ओपेराले यसरी प्रहार खेपिरहेको बेला लामो समयदेखि एकसरो बेलायतीहरूको प्रभाव मात्र भोगेको हङकङमा ‘क्यान्टोनिज ओपेरा’ चाहिँ कसरी बाँचेको रहेछ? मेरो जिज्ञासा थियो।

‘बधाइ छ, यसमा थोरै टिकट बचेको रहेछ,’ बक्स अफिसकी युवतीले मलाई भनिन्, ‘तर, तपाईं पर्यटकजस्तो देखिनुहुन्छ। यो निकै परको हलसम्म कसरी पुग्नुहोला?’

मैले उनीसँगै सहयोग मागेपछि मेट्रोमा सहरकै अन्तिम रेलवे स्टेसन ‘होङहाम’ पुग्ने र त्यहाँबाट ट्याक्सी चढ्ने सुझाव दिइन्।

होङहाम स्टेसन पुगेपछि मैले कोसान थिएटरको ब्रोसर देखाउँदै त्यहाँ जाने सार्वजनिक बसको जानकारी मागेँ। मलाई छ नम्बरको बस चढ्न भनियो।
हरे भगवान्... माथि उक्लेर बस टर्मिनल पुग्दा त त्यहाँ गुड्ने जुन बसमा पनि छ नम्बर नै लेखिएको छ। बाँकी चिनियाँ भाषा त कस्ले बुझ्नु? अनि चढिसकेपछि थिएटरको ब्रोसर देखाउँदा जुन पनि चालकले ‘होइन होइन’ इशारा गर्दै अर्कोतिर देखाएर ओर्लन लगाउने।

त्यति लामो समय बेलायतीहरूले शासन गरेको ठाउँ भनेर हङकङ पुग्ने मानिसहरू सबैभन्दा पहिले त त्यहाँ अंग्रेजी भाषाको अत्यन्त न्यून प्रयोग देखेरै चकित खान्छन्। बेलायतकै प्रभाव परेको भारतको छिमेकमै जन्मेका मजस्ता मानिसको निम्ति त यो दृश्य अनौठै थियो। किनभने अघिल्लो दिन मात्रै यिङलुङको एउटा भव्य रेस्टुरेन्टमा हामीले खाना अर्डर गर्दा ‘फिस’ भनेको नबुझेपछि चित्र देखाउनुपरेको थियो।

जबकि वीरगन्ज छेवैको रक्सोलमा पनि ठेला रेस्टुरेन्ट चलाउनेले धरि माछालाई ‘फिस’ र मासुलाई ‘मटन’ वा ‘चिकेन’ भन्छन्। ‘राइस’ र ‘चावल’ त बराबरी नै चल्छ। जाबो रक्सोल त यस्तो छ भने दिल्लीको त झन् के कुरा?

होङहामको बस टर्मिनलमा मंगलग्रहबाट आएको यात्रीजस्तै धेरैपटक चढ्दै र ओर्लदै गर्नुपरेपछि अन्ततः म ट्याक्सीको शरण लिने निधोमा पुगेँ। तर, वरपर त कतै पनि थिएनन्। अलिक परै गएपछि फ्लाइवेहरू थिए जसमा ट्याक्सी हुइँकिइरहेको देखिन्थ्यो। त्यही पनि खाली पाउनै मुश्किल।

बल्लतल्ल एउटालाई रोकेँ। ढोका खोलेर चढ्नै लाग्दा एउटी महिला दुई छोरी लिएर त्यही ट्याक्सीमा दाबी गर्न आइपुगिन्। चालकले मतिर देखाउँदै उसको भाषामा ‘यो ट्याक्सी त उसले रोकेको’ भने। काखे नानीसमेत बोकेकी ती महिलालाई देखेपछि चालकलाई उनीहरूलाई नै लगिदिन इशारा गरेँ।

अलिक अगाडि हिँडेपछि मनमा लाग्यो यी चालकले मलाई कमसेकम थिएटरको ठेगाना बताइदेलान् कि? डिक्कीमा ती महिलाको लगेज हाल्दै गरेका चालकले मलाई सोझै जाने जानकारी दिए। म ठम्ठमी हिँड्दै थिएँ। त्यो सवारी मात्र चलिरहेको फराकिलो फ्लाइवेको पेटीमा म मात्रै थिएँ। तै पनि किन कसैले चिच्याएजस्तै लाग्दैछ? यसो फर्केर हेरेको ती चालक त कुद्दै पछिपछि आएर मलाई पो बोलाइरहेका थिए। उनले इशारा गर्दै ट्याक्सीतर्फ लगे र अगाडिको ढोका खोलेर चढाए।

उनीहरू आफ्ना भाषामा कुरा गरिरहेका छन्, म के बोल्नु? मुसुमुसु हाँसिरहेँ।

एउटा सुरुङसमेत गरेर झन्डै १५ मिनेटको यात्रापछि ट्याक्सी अडियो।

अगाडि ढिस्कोमा उभिएको भवनतर्फ देखाउँदै चालकले मलाई ओर्लने इशारा गरे। मैले गोजीबाट डलर निकालेर उनीतर्फ बढाएँ। चालकले लिन मानेनन्। मैले पनि जिद्दी छाडिनँ। त्यसैबेला चालकले इशारा गर्दै पछाडि बसेकी महिलाले नै मलाई मेरो गन्तव्यसम्म उनकै खर्चमा पुर्याइदिन लगाएको जानकारी दिए। म निःशब्द भएँ। कुनै पनि ठाउँ त्यसै विकसित हुँदैन। विकास भनेको त सबैभन्दा पहिले त्यहाँ बस्ने मानिसको सोच न हो! बाँकी कुरा त आफसेआफ अघि बढ्ने प्रक्रिया हुन्।

कृतज्ञता प्रकट गरौं भाषै चल्दैन। मैले एकपटक आफ्नै शैलीमा नमस्ते र दुईपटक टोकियोका बासिन्दाले जस्तै झुकेर अभिवादन गरेँ। उनीहरू पनि मुसुक्क हाँस्दै बढे।

अब मेरो अगाडि चिटिक्क सजाइएको कोसाङ थिएटर थियो, जहाँ केही समयमै ‘दाङ फुङ क्यान्टोनिज ओपेरा’ चल्नेवाला छ। मैले सोधपुछ काउन्टरमा लगेर टिकट घुसारेँ।

‘तिमीले जानेरै त यो टिकट काटेका हौ?’ ती अंग्रेजी बोल्ने कर्मचारीले भने, ‘यसमा त क्यान्टोनिज भाषाबाहेक अंग्रेजी सबटाइटलधरि छैन।’

मैले बेइजिङमा जस्तै हलको दुई छेउमा ठूला ठूला अंग्रेजी अक्षर पनि कुद्लान् भन्ठानेको थिएँ। यहाँ त त्यो पनि रहेनछ।

‘म यसको फर्म मात्रै हेरेर पनि इन्जोय गर्छु,’ मैले भनेँ, ‘बरु यसको अंग्रेजीमा सिनोप्सिस भइदिए पाउँ न।’

उनले एउटा प्रिन्ट निकालेर दिए जसको शीर्षमा लेखिएको थियो– ‘रोमान्स अफ दी आइरन बव’।

एउटा सामान्य दर्शकको आँखाले हेर्दा ओपेराका पात्र, तिनको सजावट र कथा भन्ने शैलीमा पेकिङ र क्यान्टोनिज ओपेराका बीच खासै भिन्नता थिएन। तर, यसको प्रस्तुतिमा मिहिनतादेखि लिएर मञ्चको साजसज्जा अनि परम्परागत शैलीको आस्वादनमा क्यान्टोनिज ओपेरा अत्यन्त स्तरीय देखिन्थ्यो। बेइजिङको पेकिङ ओपेरासँग तुलनै नहुने गरी।

एउटा दिवंगत सैनिकको सामान्य परिवार चियापसल चलाएर बाँचेका हुन्छन्। छोरी असाध्यै सुन्दरी छिन्। ती छोरीको बिहे जसले परिवारको परम्परागत तीरधनुष कुशलतापूर्वक चलाउन सक्छ त्यसैसँग गरिदिने बचन दिएर पिता मरेका छन्। नगरप्रमुखका छोरा यसका निम्ति अघि बढ्छन् तर युवतीको आमालाई उनी मनपर्दैन। मनपर्ने केटो त अर्कै छ, जसले तीरधनुष चलाएर आफूलाई साबित पनि गरिदिन्छ। त्यसपछि छोरोले रोजेको युवती नपाउँदा यो मामला अहंकारी नगरप्रमुखको हातमा पुग्छ। रोमान्स र हिंसा बढ्दै जान्छन्। मामला अझ माथि उठेर गभर्नरको तहमा पुग्छ।

कथा एकपछि अर्को रोचक घटनाहरूमा प्रवेश गर्दै थियो। हरेकपटक फेरिने मञ्चको दृश्यले फरक स्थान र मौसमको झल्को दिने गरी ‘थ्रिडी’ प्रभाव झल्काएको थियो। मानौं त्यस्तो रमाइलो दृश्य आफ्नै अगाडि साक्षात् उभिएको छ। अघि पर्दा नखुल्दै मोबाइलले खिच्न खोज्दा परिचारिका आएर तस्बिर खिच्न निषेध रहेको जानकारी नगराएको भए यस्ता दृश्य खिँचेर नेपाली नाट्यकर्मीहरूलाई देखाउन पाए कति मजा आउँदो हो? यो सबै सोच्दासोच्दै र नाटक हेर्दाहेर्दै घडीमा त एघार बजिसकेछ।

‘लौ मा¥यो,’ मैले मनमनै सोचेँ, ‘होङहाम स्टेसनबाटै मेट्रोले झन्डै एक घन्टा लगाएपछि त मेरो वासस्थानभन्दा झन्डै सात किलोमिटर वर पुगिन्छ। यस्तोमा अब म आज होटलमा बास बस्न पुगुँला त?’

मैले परिचारिकालाई इशारा गर्दै यो ओपेराको बाँकी अवधिबारे सोधेँ। तीन घन्टा देखाइसकेको यो त अझै एक घन्टाभन्दा लामो छ भनेर उनले सुनाइन्।

म चल्दाचल्दैको ओपेरा छाडेर तिलमिलाउँदै निस्केँ। हिँड्नु होइन, कुद्नुको रफ्तारमा अघि ट्याक्सीले ल्याएको बाटो पछ्याउँदै होङहाम स्टेसन पुगेँ। तै मेट्रो पाइयो। लामो स्वास फेरेँ। मेट्रोले यिङलुङ पुर्याउँदा रातको बाह्र पनि नाघिसकेको थियो। हामी बसेको होटल नजिकैको ठूलो बजार यिङलुङमै खाना खाइएन भने बिचल्ली पर्ला भन्ने डर भयो। १८ नम्बरको बस चल्ने टर्मिनल भएकाले स्थानीय नेपालीहरूले ‘अठारे’ नाम दिएको स्थानमा चौबिस घन्टै भीडभाडका साथ चल्ने लोकल पाराका रमाइला रेस्टुरेन्टहरू छन्। दुई दिनअघि त्यहाँ खाँदाको चस्का छँदै थियो। त्यस रात एक्लै खाँदा चाहिँ त्यही ठाउँ ढाडै सेक्नेगरी महँगो प¥यो।

मसँग अब केही खुद्राखाद्री पैसा मात्र बचेका थिए। तर, होटलसम्म पुर्याउने ट्राम चढ्न चाहिँ यो पैसा पर्याप्त थियो।

ट्रामको टिकट काट्ने खुत्रुकेमा पाँच डलर हालेपछि मेरो टिकट निस्कियो। म दुई दिनअघि चढेको नम्बरकै ट्राममा सवार भएँ। एक स्टेसन अगाडि पुगेपछि कुनै कारखानाबाट फर्केको हुलजस्तै लाग्ने मानिसहरूले ट्राम भरियो। ३५ वर्ष हाराहारीकी एक सुन्दर चिनियाँ महिला मेरो छेउमा आइन् र मुसुक्क हाँसिन्। उनले केही भनेजस्तो लागेपछि मैले पनि जवाफमा ‘गिन्जा’ भनेर सुनाएँ।

म बसेको पाँचतारे (सायद) होटल गिन्जामै पर्थ्यो। मेरो कुरा सुन्नेबित्तिकै ती महिलाले उनको छेउको अर्को चिनियाँ तन्नेरीलाई कोट्याए। मलाई देखाउँदै उनले केही भनिन्।

‘ओ गिन्जा...गिन्जा...,’ ती तन्नेरी उत्साहित हुँदै भन्न थाले, ‘आइ गिन्जा...।’

एउटा स्टेसन आयो जहाँबाट अघिल्लोपटक मैले ट्राम परिवर्तन गरेको थिएँ कि भन्ने भान भयो र उठ्न खोजेँ।

‘नो नो गिन्जा...गिन्जा...,’ ती चिनियाँ तन्नेरीले मलाई त्यहाँ ओर्लने होइन भन्ने इशारा गर्दै भने, ‘वि गिन्जा...’

के गरौं र कसो गरौंको सोचमा अलमलकै बीच ट्राम बढिहाल्यो। मलाई त्यहाँका अन्य यात्रुले पनि सान्त्वना दिँदै ती युवक सही रहेको बताएपछि धैर्य गर्न थालेँ। त्यसमाथि अघि अठारेमा पिएको बियर र यी छेउकी सहयात्रीको लगातारको मुस्कान छँदै थियो। अलिक पर पुगेपछि ती सहयात्री पनि ती युवकलाई नै पछ्याउने इशारा गर्दै फेरि मुसुक्क हाँसेर ओर्लिइन्।

ट्राममा अब यात्रीहरू निकै घटिसकेका थिए। एउटा स्टेसनमा रोकिएपछि ती चिनियाँ युवकले मलाई ‘गिन्जा... गिन्जा...’ भन्दै ओर्लने इशारा गरे।

अघिल्लोपटक यस्तै ट्रामबाट गिन्जामै ओर्लँदा म बसेको होटल सामुन्नेमै झलमल्ल देखिएको थियो। आज त केही छैन। बरु अग्ला घरै घरको जंगलजस्तो पो देख्छु।

‘नो दिस इन नट गिन्जा,’ म त्यस युवकसँग रिसाउँदै अडिएँ।

युवक उत्तिकै रसिला थिए। ‘यस गिन्जा...,’ उनी आफ्नो अडानमा यथावतै रहेर पछ्याउने इशारा गरिरहेका थिए, ‘देयर देयर पुलिस।’

यो ‘पुलिस’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो मन हरियो भएर आयो। त्यसपछि बल्ल ट्राम स्टेसनबाट बाहिर निस्कने निधो गरेँ।

रातको डेढ बजिसकेको छ। एउटा पुलिस बिटमा पुगेको छु। बिटमा बसेकी बर्दीधारी पनि उस्तै। अंग्रेजीमा मठ्ठु। तैपनि ‘दिस इज गिन्जा’ भनेर एकोहोरो रट लगाइरहेकी छिन्। म चाहिँ चारैतिर हेर्छु, कतै आफू बसेकोजस्तो ठाउँ देख्दिनँ।

‘फोन फोन...,’ ती प्रहरीले मोबाइल देखाउदै भनिन्, ‘फ्रेन्ड फोन...’

अब गाह्रो के भने मसँग गएका पनि सबै नेपाली नै छन्। क्यान्टोनिज बोल्न कसैलाई नआउने। झट्ट सम्झिएँ, त्यस विहान होटलमा हामीसँगै ब्रेकफास्ट गर्न आएका पुस्कल गुरुङ दाइले कसैसँग क्यान्टोनिजमा कुरा गरेका थिए। उनको नम्बर पनि मसँग थियो।

रातको झन्डै दुई बज्न लाग्दा यसरी फोन गर्नु कति गलत हो भन्ने जान्दा जान्दै पनि मैले लगातार उनको नम्बरमा घन्टी लगाइरहेँ। फोन उठेन। म झनै बिचल्लीमा परेँ।

ती महिला प्रहरीले अन्तिममा त्यो स्थान नै गिन्जा रहेको दाबी गर्दै मलाई ती चिनियाँ युवकलाई नै पछ्याउने आदेश दिइन्।

‘के ठेगान्, अलिक पर गएपछि देखि पो हाल्छु कि?’ भन्ने अनुमानमै मैले त्यस युवकलाई पछ्याउँदै जान थालेँ। तर, जति अगाडि गयो उति झनै अर्कै पो देख्छु।

त्यो युवकले आफू बस्ने घर त्यता छ भनेर अघि नै इशारा गरिसकेको थियो। तै पनि उ मलाई सहयोग गर्न सक्छु कि भनेर यता र उता देखाउँदै थियो। त्यतिबेला राति, यता म परेशान, उता त्यो चाइनिज परेशान।

अलिक पर पुगेपछि एक ठाउँमा एउटा भारतीयजस्तै अनुहार भएका किशोर देखिए। चिनियाँले राहतको स्वास फेर्दै ‘आस्क आस्क... गिन्जा...’ भन्न थाल्यो।

इन्डोनेसियाका पिता र कुनचाहिँ आइल्यान्डतिरका आमाका सन्तान त्यस हङकङगेली किशोरको अंग्रेजी चाहिँ राम्रो थियो।

‘ओह माइगड,’ र्याप गायकले लगाउनेजस्तो टोपी घुमाउँदै किशोरले भन्यो, ‘यु केम टु एनोदर वर्ल्ड ... ओह माइगड।’

उसले त्यस स्थानको नाम पनि मिल्दोजुल्दो रहेको खुलासा गर्दै तुरुन्तै समस्याको जरो पनि सुनाइहाल्यो, ‘यी चिनियाँहरुको विचित्रको उच्चारणले धेरैलाई अप्ठेरो पार्छ।’

यतिन्जेल पछाडि फर्केर हेर्दा त्यस चीनियाँ युवक कतातिर बेपत्ता भइसकेको थियो।

‘अब के हुन्छ त?’ मैले भने, ‘लामो ठाउँको यात्रा गर्न मसँग ट्याक्सीलाई तिर्ने पर्याप्त पैसा पनि छैन।’

ती किशोरले हतार हतार पाइला चाल्दै मलाई पछ्याउन लगाए। उनले अघिकै ट्राम स्टेशनमा पुगेपछि एकछिनमै परबाट बत्ती बलेको देखियो।

‘तिम्रो भाग्य बलियो रहेछ,’ उसले मलाई अब कहाँ र कसरी अर्को ट्राम फेर्ने वा नभेटिए केही मिनेट कतातिर पैदल हिँड्ने भनेर जानकारी दिँदै थप्यो, ‘बाँकी कसैको कुरा पनि नसुन्नु...’

मैले ती किशोरकै आदेश पछ्याएँ। अन्त्यमा गिन्जा स्टेशन देखियो र देखियो अस्तिनै देखिएजस्तै म बसेको झलमल्ल होटल पनि। कोठामा गएर सुत्दा बिहान हुनै लागिसकेको थियो।

‘गिन्जा, यस यस गिन्जा...’ मलाई त्यस चिनियाँ युवक र मेरी सहयात्री चिनियाँ युवतीको अनुहार सम्झेर फेरि एकपटक हाँसो उठ्यो।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट