प्रेमदासको डायरी

चुनाव
  • Get News Alerts

tata

परेवाले पखेटा फटफट पारेको आवाज मेरो कानमा प¥यो। झ्याल खुलै थियो। मुन्टो निकालेर हेरेँ। एकजोडी परेवा आपसमा प्रेम साटासाट गरिरहेका थिए। जूनको टहकमा मैले परेवाका जोडीको प्रेमको चरम आनन्द देखेँ। यसो मुन्टो बटारेर हेरें छन्दु कोल्टो फर्किएर सुतेका थिए। निदाएजस्तो लाग्यो।

मलाई ती परेवाको जोडीलाई समातेर एकपटक छातीमा टाँस्न मन लाग्यो। तर म कसरी सक्थेँ र समाउँन। समाउन सक्ने नै भए पनि उनीहरूको त्यो गहिरो प्रेमक्रीडामा बाधा पुग्थ्यो। म अपराधी हुन्थें। एकजोडी प्राणीको स्वतन्त्र प्रेममाथि आघात पु¥याउने पापी ठहरिन्थें। मेरो मन त्यसै ठिमुरियो।

फेरि छन्दुलाई हेर्न मन लाग्यो। म ऊ भएतिर फर्किएँ। अझै निदाइरहेझैँ लाग्यो। दाहिने कुहिनो सिरानीमा टेकाएर हत्केला गालामा टाँसेर टाउको अड्याएँ। विस्तारै मुन्टो झुकाएर उसको अनुहार हेरेँ।
विस्तारै सास फेरेर निदाइरहेको थियो। झ्यालबाट छिरेको जूनको टहकमा धमिलो देखिएको उसको निस्कपट चेहराले मलाई सरापेजस्तो लाग्यो। मेरो शरीरमा काँढा उम्रिए। कताकता मुटु ढुकढुक गरेजस्तो पनि भयो। म अलिकति डराएँ। तर किन डर लाग्यो? कारण केही थिएन।

बाहिर टाट्नामा बाख्रा कराए। एउटा थोरे भैंसी थियो त्यो पनि करायो। मेरो ध्यान फेरि गोठतिर गयो। छन्दुको अनुहारबाट आँखा हटाएर जुरुक्क उठेर बसेँ। झ्यालबाट बाहिर मुन्टो निकालेर हेरेँ। निस्तव्ध रातको शून्यता मात्र थियो। टाढा टाढातिर बिजुलीका गुलुपहरूको उज्यालो कीरा फटेङ्ग्राका लागि पनि कति आनन्द? मानिसलाई खै उज्यालो? पूर्णिमाको जुनेली रात पनि मेरा लागि औँसीको रातजस्तै लाग्यो।

मलाई औधि दुःख लागिरहेको थियो। राधेश्यामबा र सरला आमा पूरै फेरिएका थिए। पहिलो आमचुनावमा सांसद भएपछि विस्तारै फेरिँदै गएका ती मेरा रगतविनाका बाआमा उपचुनावमा पनि विजय भएपछि संम्पूर्ण रूपमा फेरिए। हामी एक प्रकारले उहाँहरूको खेतबारीमा बस्ने रैतीजस्ता भयौँ। मेरो सोचाइको तरङ्ग यस्तै कुराहरूमा उडिरहेको थियो।

म आफ्नो बिछ्यौनामा झ्यालतिर फर्किएर बसिरहेकी थिएँ। अचानक छन्दुले जुरुक्क उठ्दै भने, ‘के भो कविता निद्रा परेन?’ उनले मेरो काँधमा हात राखे।

‘हजुर, पटक्कै निद्रा परेन, मनमा नानाथरी कुरा खेलिरहे!’

‘मलाई थाहा छ, तिमीलाई निद्रा परेको छैन। म पनि निदाएको थिइन। तिम्रो उठाइ, बसाइ र झ्यालतिर मात्र होइन मेरो अनुहारतिर हेरेको पनि थाहा छ।’ उनले मलाई विस्तारै अँगालेर भने।

मेरा आँखा किन यति चाँडै रसाउँछन्? कति छ मेरा आँखामा आँसु? मेरो आँखाबाट भल्लै आँसु चुहियो। छन्दुले विस्तारै आँसु पुछ्दै भने, ‘केमा तिमी यति धेरै चिन्तित हुन थाल्यौँ?’

‘के भनूँ खै? राधेश्यामबा र सरला आमामा आएको अनौठो परिवर्तन र हामीलाई विस्तारै आफ्नो कामदारजस्तो व्यवहार गर्न थालेको कुराले औधि दुखी बनायो।’ मैले रुन्चे स्वरमा भनेँ।

‘यस्ता कुरामा चिन्ता मान्ने होइन कविता! यो सम्बन्ध एउटा राजनीतिक कारणले जोडिएको मात्र थियो। त्यतिबेला पार्टी सम्बद्ध कामरेडहरूको सम्बन्ध एउटै परिवारको जस्तो आत्मीय हुन्थ्यो। त्यो आदर्श अब सकियो। यो हाम्रो लागि गुजाराको टेको थियो, विचारको स्थायी टेको थिएन।’ छन्दबहादुरले जोसिलो पारामा सम्झाए।

म चुपचाप बसिरहेकी थिएँ। उनले फेरि भने, ‘मलाई पहिले नै उनले पार्टी बदलेको भित्रदेखि मन परेको थिएन। तर के गर्नु छोरी ज्वाइँको नातामा बाँधिएपछि त्यसको मर्मलाई छाड्न पनि सकिन। र आखिर यो पनि अग्रगामी कम्युनिष्ट पार्टी न हो, के पो फरक पर्ला र भन्ने निष्कर्ष पनि निकालेँ। तर उनीमा आएको परिवर्तन पुँजीवादी सत्ताको सापेक्षताको प्रश्न हो। हामीलाई उनले जति गरे त्यो हाम्रो लागि काफी छ। यहाँभन्दा ज्यादा हामीले अपेक्षा राख्नु पनि हुन्न।’

‘मेरो विश्वास कमजोर रहेछ, जन्मदिने बाबुआमा त दैवले लुट्यो भने अब वनावटी नातामा म किन मग्न भएँ? म आफैँलाई धिक्कार्दै छु। हो तपाईंले भनेको कुरा ठिक हो। सुतौँ अब’ मैले उनलाई पनि विस्तारै बिछ्यौनामा सुताएँ र उनैसँग टाँसिएर सुतेँ।

बिहान ब्युझँदा पूर्वतिर पहेँलो रङ पोतिएको थियो। झ्यालबाटै बूढाबाले गाई भैंसीलाई घाँस पराल दिदै गरेको देखेँ। ज¥याकजुरुक उठेर म पनि सघाउन गएँ। गाई भैँसीको गोबर सोहोरेँ। आमा आँगन पिँढीमा झाडु लगाउँदै हुनुहुन्थ्यो। अचानक भरत अधिकारी टुप्लुक्क आइपुगे। उनले आमासँग ठिङ्ग उभिएरै भने, ‘भाउजू सन्चै हुनुहुन्छ? खै छन्द भाइ सुतिराछन्? कविता खै नि?’

‘ए बाबु नमस्कार! धेरै दिनमा आज कताबाट बाटो बिराउनु भो? खै छन्दे त सुतिराछ क्यारे, कविता गोठतिर छन्’ आमाले हातको झाडु आँगनको छेउमा फाल्दै भन्नु भो।

मेरो मुटु ढुकढुक भयो। ‘वनको बाघले खा कि नखा मनको बाघले खा’ भनेजस्तै उनको आगमन डरलाग्दो भयो। ‘के भन्न आए! कतै हामीलाई यो जग्गा छोड् भन्न त आएनन्?’ मेरो मनमा शङ्का उब्जियो। म हतारहतार गोठको काम सकेर निस्किएँ। गोबरसहितको हातले उनलाई आदरपूर्वक नमस्कार गरेँ। ‘क्या हो कविता तिमी त दुब्लाएजस्ती भइछौ नि! के भो?’ उनले कुर्सीमा बस्दै भने।

‘हैन केही भा’छैन! यस्तै हो अङ्कल’ मैले भनें। छन्दु पनि उठेर बाहिर आए। उनले पनि भरतलाई श्रद्धापूर्वक नमस्कार गरेर कसिलोसँग हात मिलाए।

हामी सबै भित्र पस्यौँ। आमाले हतारहतार चिया बनाउनु भयो। चियाको सुर्की तानेपछि भरतले भने, ‘छन्द भाइ, के छ नयाँ खबर? पार्टीमा के गर्दैछौ? कुन जिम्मेवारी दिएका छन्। माननीयजीसँग कत्तिको सम्पर्क छ?’

‘राधेश्यामबासँग सम्पर्क नभएको धेरै भयो। एक हप्ताअगाडि पार्टी कार्यालयमा फोन आएको थियो। यो वर्षको धान बिक्री गरेर पैसा पठाइदे भन्नुभो। भोलिपल्टै पैसा पठाइदिएँ। पार्टीमा पनि खास केही छैन। मजदूर फाँटको इन्चार्ज भन्या हो, खासै काम गरेको पनि छैन।’ छन्दुले प्रष्टसँग भने।

‘एमाले भएपछि पार्टी पूरै संसदवादी पार्टी भयो। यसबाट अब कुनै नयाँ काम हुँदैन। संसदीय व्यवस्थाले दिनसक्ने केही सुधारवादी काम होला। आफ्नै पार्टी सत्तामा पुग्दा पनि तिमीजस्ताको यही हाल हो? खै त अहिलेसम्म यो जग्गा पनि दर्ता गरिदिएनन्? भरतले प्रश्न गरे।’

‘खै! मलाई केही थाहा छैन। दर्ता भए बसौँला, नभए के गर्नु त? हजुरको कित्ताको जग्गा हजुरलाई नै छोडेर कतै जाउँला। तर अहिलेसम्म हजुरहरू दुवै जनाको गुन हामी मर्दा पनि बिर्सने छैनौँ।’ छन्दुले अँध्यारो अनुहारमा भने।

‘त्यस्तो होइन, यो जग्गा त अब तिमेरु कै हो, कसैको हुन सक्दैन। मैले नै पनि यो हडप्न सक्दिन। सकेपनि म त्यस्तो पापी छैन, हडप्दिन। दर्ता त एकदिन भैहाल्छ। राधे नै चाहिन्छ भन्ने छैन। तिमीहरू आफ्नो विचारबाट विचलित हुनुहुन्न।’ भरतले दयालु पाराबाट उपदेश दिए।

‘खै विचारको धरातल पनि कता भासियो थाहा छैन। इतिहासको ब्याज असुल्ने होड चलेजस्तो छ। त्यो पनि धन भएका, पहुँच भएका र वाक्पटुता भएकाहरूले मात्र उठाउने अवसर पाएजस्तो लाग्छ। हामीले चाहेर पनि सक्दैनौँ।’ छन्दुले नैराश्य भावमा भने।

‘ठिक भन्यौ, तिमी जहाँ छौ त्यो जग भत्किएको घरजस्तो दक्षिणपन्थी संसदवादी पार्टीमा फेरियो। अब त्यसबाट आमूल परिवर्तनको आशा गर्नु आकाशका तारा गनेर बस्नुजस्तै हो।’ भरतले मनोवैज्ञानिक प्रहार गरे।

‘अब के गर्नु त खै? आफ्नो सुतिधन्दा ग¥यो, खायो, जति गर्नु गरियो। पञ्चायत ढालियो, अब बाँकी काम अर्को पिँढीले गर्ला!’ छन्दबहादुरले भने।

भरतको अनुहार उज्यालिँदै गयो। त्यसैपनि जोसिलो पाराका मान्छे त्यसमा पनि छन्दुको नैराश्यतालाई बेलैमा समाउने उनको मनोविज्ञान मैले बुझिरहेकी थिएँ। मलाई लाग्दै थियो, ‘यिनी हामीलाई अब आफूतिर प्रभावित गर्न खोज्दै छन्।’ उनले करिब दश मिनेट जति नेपालको राजनीतिक अवस्थाको बखान गरे। मुलुक स्वाधीन नभएको र भारतीय इशारामा सबै दलहरू चल्ने गरेको थुप्रै दलिल पेश गरे।
अन्तमा उनले आफू पनि मसालको मनोगतवादबाट विरक्तिएको र दीर्घकालीन जनयुद्धको नीति अघि सारेको, पार्टीतिर प्रभावित भएको आफ्नो मनसाय खोले। उनले भने, ‘तिमीहरू पनि अब गम्भीररूपले सोच! अब अन्तिम लडाइँ लड्न पर्ला जस्तो छ। कि वार कि पार अब एकपटक सशस्त्र युद्धमा होमिने हो।’ उनका कुराले हामीलाई पनि गम्भीर बनायो।

उनी करिब दुई घण्टा हामीसँग कुरा गरेर गए। त्यसपछि हाम्रो मनमा पनि छेपारो नाच्न थाल्यो। कम्युनिष्टहरूको राज्यप्रणालीका लागि आधा जिन्दगी गुजारेको र सुरुदेखि आफूले अँगालेको धारले आँटेको सशस्त्र युद्धको साहसलाई किन आत्मसात नगर्ने? यस्ता प्रश्नमा हामी धेरै दिनसम्म रुमल्लियौँ।

हाम्रो घरमा भरतको आगमन जति बाक्लो हुन थाल्यो ठिक त्यसको विपरीत राधेश्याम र सिङ्गै पार्टीको हामीसँगको सम्पर्क पनि पातलो हुन थाल्यो। हामीलाई राधेश्यामको जग्गा कमाई गर्न पनि समस्या पर्दैगयो।

बाआमा घरबाट बाहिर निस्कन पनि नसक्ने भए। मलाई आफ्नै घर, बाबुआमाको सेवा, बस्तुभाउको हेरविचार र थोरै भए पनि खेतीपाती ‘कमिलालाई मूतको पहिरो’ जस्तै भयो। छन्दु राजनीतिको धङधङीमा नै हिँडिरहन्थे। कहिले पार्टी कार्यालय, कहिले जनयुद्धमा होमिएको पार्र्टी नेताहरूको सम्पर्क आदिमा नै व्यस्त रहे।

उनले एकदिन पार्टी जिल्ला कमिटीको बैठकमा पार्टी संसदीय भासमा फसेको भन्दै असन्तुष्टि जाहेर गरेछन्। त्यसपछि पार्टी र राधेश्याम पनि हामीसँग सशङ्कित भए।

विचारको नशा कस्तो हुन्छ? आचारसँग जोडिएको हुन्छ कि हुँदैन? विचार वस्त्र हो? आचारको यससँग कुनै तालमेल हुँदैन? यस्ता प्रश्नमा हामी सधैं सोचमग्न हुन्थ्यौँ। राधेश्यामको हिजोको विचार र आचारको गहकिलो सङ्गम आज दुई भङ्गालो भएर फाटिरहेको दृश्य हामीले नजिकैबाट नियाली रह्यौँ। हामी त धरातलमा बसेर विचार थामिरहेका निष्कपटक प्राणी थियौँ तर हाम्रो विश्वासको जगमा टेकेर माथि पुगेकाहरूको आचारको परिदृश्यले हामीलाई आफ्नो विचारमाथि नै भूकम्पले हल्लाएजस्तो हल्लाउन थाल्यो। तथापि विचारको नशाको धङधङीले आमूल परिवर्तनको सपना देख्न भने छोडेन।

एकदिन अचानक आमा मनकुमारी बेहोस भएर लडिन्।

छन्दु र म भएर उठायौँ। होसमा फर्काउन सकिएन। छरछिमेक गुहारेर नेपालगञ्ज पु¥यायौँ। आमा बिरामी भएर अस्पताल पु¥याएको खबर सुनेर भरत पनि भेट्न आइपुगे। हामीसँग पैसा थिएन। भरतले कतैबाट केही रकम जुटाए। अस्पतालको महँगो खर्चमा हामीलाई आमाको औषधि गर्न अत्यन्त सकस पर्दैगयो। छन्दु र मैले सल्लाह गरेर राधेश्यामबालाई फोन गर्ने निधो ग¥यौँ। म उहाँलाई फोन गर्न पिसिओतिर गएँ।

उहाँसँग सम्पर्क हुनसकेन। सरला आमाले फोन उठाउनु भयो। ‘खै छन्दको चाल पनि के हो? पार्टीमा पनि चाहिँदा नचाहिँदा कुरा मात्र उठाउँछन् रे! आजकल सङ्गत पनि राम्रो छैन भन्ने सुनिएको छ। भरतसँगै साखिल्यै भएर हाम्रो कुरा काटेको खबर पनि आइराछ। के ताल हो कविता तिमेरुको?’ उहाँले फोनमा झर्केर भन्नु भो।

मैले आमा अस्पतालमा बेहोस अवस्थामा रहेको खबर भन्नुभन्दा पहिले नै उहाँका कुरा सुनेर मलाई धिक्कार लाग्यो। तैपनि उहाँका कुरा सकिएपछि आफूलाई परेको समस्या सबै भनें। उहाँले कुनै गम्भीरता देखाउनु भएन। भन्नु भो, ‘भरे फोन गर्नू म उहाँलाई भनिदिउँला। तर साँझ हामीले फोन नगर्ने निर्णय ग¥यौँ। राती दश बजेतिर फेरि भरतले केही रकम लिएर आए।’

बिहानपख आमाको देहान्त भयो। मैले कर्म दिने आमा पनि गुमाएँ।

आमाको अन्तिम संस्कारको लागि निस्किएको शवयात्राले हामीलाई चकित बनायो। नेपालगञ्जबाट शव घरमा ल्याई नपु¥याउँदै मानिसको भीड लागिसकेको रहेछ। लगभग जिल्लाका अधिकांश राजनीतिक मानिसहरूको उपस्थिति थियो। मृत्यु पछिको यो समवेदनालाई मैले विभिन्न अर्थमा परिभाषित गर्न खोजेँ।

मन वेदनाले थिलथिलो भए पनि चेतनाको एउटा हिस्सा यसको परिभाषित अर्थतिर घोत्लिन थाल्यो। छन्दु रोइरहेका थिए, फकाउने फुल्याउने र सान्त्वनाका शब्दका भारी बोकाउनेहरूको लेखाजोखा थिएन। मेरो आँखाबाट आँसु जसरी बगिरहेका थिए ती आँसुका ढिँकासँग लोकाचारका शब्दहरू पनि बगिरहेका थिए। हिजो औषधि गर्न पैसा नपुगेर राधेश्यामबालाई फोन गर्दा सरला आमाका शब्दहरू पनि कानमा बजिरहेका थिए।

बिर्खबहादुरबा आमाको शवमाथि घोप्टिएर रुनु भो। उहाँको जीर्ण शरीर र वेदनाग्रस्त अनुहारले यी सारा दृश्यलाई नियालेर हे¥यो।

शव उठाउने बेलामा सयौँ हातहरू लागे। तर छन्दु र मैले ती सबै हातहरूलाई निषेध ग¥यौँ। शवको शिरतिर छन्दुले र पाउतिर मैले बोकेर उठायौँ। समाजमा एउटा तरङ्ग फैलियो। ‘महिलाले लास बोक्ने?’ मैले यी सब प्रतिक्रियाहरूलाई

बेवास्ता गर्दै शरीरको तागतले भेट्दासम्म आमाको शव बोकेर हिँडिरहेँ।

कर्णालीको किनारमा पनि छन्दु र म दुवैले संयुक्तरूपमा दागबत्ती दियौँ। समाजले फेरि पनि ओठ टोक्यो।

हामीले तेह्र दिने काजकृयालाई पनि निषेध ग¥यौँ। आमाको एउटा तस्विर ठूलो बनाएर ढोकामा राख्यौँ र त्यही फोटोमुनि हामी तीनजना बसेर सातदिनसम्म रोयौँ। न कुनै पुरोहित, न कुनै दान र न कुनै रुढ संस्कारका कर्महरू। कुनै पनि हामीले गरेनौँ।

सातौँ दिन आमाको तस्विरमा फूल चढाएर हामीले मृत्यु संस्कार पूरा ग¥यौँ।

(कवि तथा निबन्धकार रेशम विरहीको पहिलो उपन्यास प्रेमदासको डायरीको अंश। शिखा बुक्सले प्रकाशनमा ल्याएको पुस्तक यसै महिना सार्वजनिक हुनेछ।)

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट