एउटा बहुलठ्ठी यात्रा

yamaha
  • Get News Alerts

united
tata

मलाई थाहा छ, यत्तिखेर घन्टाघरको घडीले रातको १० बजाएको छ। मेरो घडी र घन्टाघरको घडीको समय ठ्याक्कै मिल्छ। तर, जिन्दगीको समय कुनै घडीसँग कहिल्यै मिलेन।

फाट्टफुट्ट चलेका ट्याक्सी र मोटरसाइकल बाहेक सडक सुनसान छ। सहीदगेटमा सहीदहरु दिनरात एकतमासले के नियाल्छन् कुन्नि मलाई थाहा छैन।

हातमा पेप्सीको एउटा जम्बो बोत्तल छ। बोतलभित्र भने पेप्सीको साटो पानी र भोड्काको कम्बिनेसन छ।

अक्सर म यसरी ठेगानाबिनाको यात्रा हिँडिरहन्छु। तर, मलाई प्रष्ट थाहा छ कि अन्तिम ठेगाना भनेको आर्यघाट नै हो। यसर्थ मलाई आर्यघाटसँगको लगाव बहुत ज्यादा छ।
...

नगरकोटी भन्थे, ‘डेथ इज अ टोटल वेस्ट अफ टाइम।’

तर, म मान्दिनँ। जन्म र मृत्यु दुई शाश्वत सत्य हुन्। कुनै पनि सत्य समयको बर्वादी हुनै सक्तैन। समयको बर्वादी त भ्रमित जीवन हो। हामी फगत आशाहरुमा जेलिएर भ्रमित जीवन बाँच्न अभिशप्त छौं। आजभन्दा भोलि केही नौलो र सुन्दर होला कि भन्ने आशा। हरेक दिन मानिस नयाँ आशा जन्माउँछ। जुन दिन मानिससँग आशा हुँदैन, ऊ बाँच्नुको सार हुन्न। नमर्नकै खातिर मानिस आशा सँगालिरहन्छ। मलाई थाहा छैन, कुमार दाइ मेरो कुरा मान्छन् कि नाइँ?

एनिवे, उनको कुरा म ‘केयर’ गर्दिन। मेरो कुरा उनी केयर गर्दैनन्। मजा यसैमा छ।

मेरो मोबाइलमा नुसरत एकसुरमा कवाली गाइरहेछन्–

‘दिल लेके मेरे हातमे केहेते हे मुझ्से ओ
क्या लोगे इस्के दाम बताना सही सही।’

यस्तो लाग्छ नुसरतले गाइरहँदा दर्शकभन्दा बढी मज्जा उनी आफैं लुट्छन्।
...

जिन्दगीमा धेरै कुरा एक्कासी हुन्छ। जस्तो कि, अहिले मलाई एक्कासी भाउन्न भएर आयो। आँखै अगाडि हुनुपर्ने थियो धरहरा। तर, मैले धरहरा देखिनँ। मन अमिलो भयो।

मलाई आफू हिँडेको बाटोमाथि शंका लाग्यो। वरिपरि हेरे। टुँडिखेल, सहीदगेट, सहीदगेट पछाडिको भद्रकाली मन्दिर, नेपाल टेलिकमकोे ठूलो कार्यालय, रत्नपार्क र त्रिपुरेश्वरतिर जाने दुवैपट्टि आकाशे पुल ... सब्बै त छ। अनि, पर कतै दोहोरी रेष्टुरेन्टमा दोहोरी घन्किरहेछ। तर, धरहरा छैन।

कुद्दै गएँ त्रिपुरेश्वरपट्टिको आकाशे पुलमाथि। तर, मैले अझै धरहरा देखिन। कतै म ‘एम्लोफोबिया’को शिकार त भइन? बेतोडले कतै कुद्ने मन भयो। चुपचाप त्यहीँ ठिंग उभिने मन पनि भयो। म किंकर्तव्यबिमूढ भएँ। के गर्ने/के नगर्ने पहिल्याउन सकिन। मलाई वान्ता आउलाजस्तो भयो। आकाशे पुलबाट निस्फिक्री छाद्न पनि सकिन। म ठूलो स्वरले चिच्याउँदै कराएँ, कहाँ गयो धरहरा?’छेउमा एउटा जँड्याहा सुतेको रहेछ। लड्खडाउँदै उठ्यो।

‘को हो मु...?’

आफूलाई सुनिदिने कोही भयो भने मानिस बोलिरहन्छ। म हड्बडाउँदै के–के बोलिरहेँ।

‘यत्तिखेर यहाँ आएर किन चिच्याउँदैछस् ए जाँ...? के भो भन्छस् कि डुक्राउँ तँलाई लात्तीले?’ ऊ चिच्यायो।

म अचाक्ली कष्ट महसुस गरिरहेछु। मलाई धरहरा हराएको भन्दा पनि आफ्नो दृष्य कमजोर भएकोमा बहुत पीडा भइरहेछ। यस्तो लागिरहेछ कि, म निरीह भइसकेको छु। मसँग तागत छैन। हिम्मत पनि छैन। मैले चिच्याउँदै सोधेँ धरहरा खोई?’

‘यी याँ छ धररा।’ उसले आफ्नो दुवै हात सोरेर आफ्नो कम्मरमुन्तिर देखायो। र, बेतोडले हाँस्यो। म के भन्ने, के नभन्ने दोधारमा परेँ।

जँड्याहाले मेरो हातबाट बोत्तल थुत्यो र तनतनी पियो।

‘आईज मुत्न जाम्। म देखाउँछु धरहरा तँलाई।’ हामी लड्खडाउँदै सिँढी ओर्लियौँ। र, रोडको बीचमा सहीदगेटपट्टि फर्किएर पिसाब फेर्न लाग्यौँ।

सिंगो सहरको चकमन्नताले मैले फेरेको पिसाबको आवाज सुन्यो। जून र ताराहरुले मैले पिसाब फेरेको हेरे। सहीदहरुले हेरे। स्व. त्रिभुवनले पनि हेरे। मलाई यसरी रातमा आकाशका ताराहरु हेर्दै पिसाब फेर्न बहुत टेस पर्छ।

प्यान्टको जिप्पर लगाउन खोज्दा आँखामुनि अचानक धरहरा ठिंग उभियो। तर, मभन्दा निकै होचो, निकै सानो। जसको फेद मेरो पिसाबले निथ्रुक्क भिजेको थियो। अब झनै रिंगटा लागेर आयो। आकाश सिंगै घुमेजस्तो लाग्यो। सहीदहरु हाँसिरहेझैँ देखिए। र, देखिए स्व. त्रिभुवन पनि त्यही हाँसोमा हाँसो मिलाइरहेको।

म एकदमै जोडले चिच्चाएँ, ‘धरहरा कसरी सानो भयो?’

तर मलाई उत्तर दिन त्यो अघिको जँड्याहा मेरो छेउमा थिएन। म बेतोडले कुदेँ। कता? मलाई थाहा छैन तर, मैले कुदुन्जेल पछाडि फर्किएर हेरिनँ।
...

वसन्तपुर आइपुगेको रहेछु।

लगभग रातको ११/१२ सम्म जाग्ने वसन्तपुरमा मैले ६–७ वर्षअघि एउटी फुच्चीलाई थर्मसमा चिया बेचिरहेको देख्थँे। त्यो बेला म कलेज पढ्थेँ र साँझपख प्रायः वसन्तपुर आउँथेँ।

‘दिप्ती।’ उसले आफ्नो नाम लजाउँदै मुस्कुराएर भनेकी थिई। त्यसबेला उसको लज्जामा सिंगो वसन्तपुर शान्त भएझैँ लागेथ्यो। सिंगो वसन्तपुर उसको मुस्कानमा हराएझैँ लागेथ्यो।

म धेरैपटक त्यो निश्चल हाँसो हेर्न वसन्तपुर पुगेको छु। मलाई कताबाट देख्थी कुन्नी, ऊ हुर्रिएर म भए ठाउँ आउँथी। मलाई चिया दिन्थी। म उसलाई १० रुपियाँ दिन्थेँ। ऊ उसैगरी मुस्काउँथी अनि, म उसको मुस्कानमा हराउँथेँ।

एकदिन सोचेँ, दुईचार दिन आएर दिप्तीसँग गफिनेछु। तर, केही समयपछि दिप्ती एक्कासी हराएकी थिई। म पनि जागिर खान झापातिर गएँ।

र, यसबेला वसन्तपुरमा जोडीहरु छैनन्। टुँडालमुनि कोही बसिरहेका छैनन्। परेवाहरु सायद निदाइसकेका छन्। कतै कुनै कन्सर्ट भइरहेको छैन। दरबारहरु कुरुप देखिएका छन्। वसन्तपुर फलामको जेलभित्र राखिएझैँ देखिन्छ। आज पूर्णिमाको दिन जूनले आफ्नो धर्म छाडेको छ।

हो, वसन्तपुरमा चुक पोखिएको अँध्यारो छ।

...

कान फुट्नेगरी हनि सिंह ‘लभ डोज’ भन्दै चिच्चाइरहेछन्। स्टेजजस्तो ठाउँमा एक हुल अर्धनग्न युवतीहरु केटाहरुको हात समातेर नाचिरहेका देखिन्छन्। कोही मस्त रक्सी पिइरहेका छन्। कोही हाँसिरहेका छन्। अनि मेरो अगाडि भने एउटा काल्सबर्ग बियर छ।

‘के म यहाँ बियर पिउँदैछु?’ मलाई बेहद अचम्म लाग्छ।

म कसरी यहाँ आइपुगेँ मलाई केही थाहा छैन। मैले आफ्नो झोला र ज्याकेट कतै फालिसकेको रहेछु। मेरो टिसर्ट पसिनाले पुरै भिजेको थियो। हत्तपत्त पर्स छामेँ। धन्न! पर्स मैसँग रहेछ। मोबाइल पनि। मोबाइल झिकेर कसैलाई फोन गर्न मन लाग्यो। तर कसलाई गर्ने निक्र्यौल काट्न सकिन।

म चुपचाप उठेर काउन्टरतिर गएँ।

सोधेँ, ‘मेरो टेबलमा बियर कसले राखिदियो?’ काउन्टरको मान्छे केही बोलेन। मैले फेरि नम्र भएर सोही प्रश्न सोधेँ।

उसले भन्यो, ‘तपाईंलाई अलि बढी नै लागेजस्तो छ। अघि नै तपार्इं आफैंले यहाँबाट लिएर जानुभएको हो।’

‘अनि पैसा?’

‘बिल त तपाईंले तिरिसक्नुभयो।’ ऊ फिस्स हाँस्यो।

म हाँसिन। चुपचाप बाहिर निस्किएँ। गेटको पालेले मलाई केही भनेन। मैले पनि भनिन। छेवैको एउटा झिलिमिली बोर्डमा लेखेको देखियो, नासा डान्स बार, ठमेल।

...

अब भने म पुरा होसमा ट्याक्सीभित्र थिएँ। मेरो छेउमा एउटी केटी मलाई सुम्सुम्याउँदै थिई।

उसले नीलो खालको वान पिस लगाएकी थिई र उसका स्तन ...! उसका तिघ्रा अचाक्ली सेता थिए जो ट्याक्सीभित्र सडक बत्तीको मन्द प्रकाशमा पनि टल्किरहेको थियो। उसले आफ्नो शरीरमा यत्ति धेरै पफ्र्युम छर्केकी रहिछ कि, मलाई त्यसको गन्धले दुई पटक हाच्छिउँ आयो!

‘यो ट्याक्सी कता जाँदैछ?’ सोधेँ।

‘मेरो कोठामा।’ बडो अजिवको केटाको स्वर थियो उसकोे। मलाई भने आफैंदेखि उदेक लाग्यो।

...

दिमागको मेमोरी ‘रिवाइन्ड’ गरेँ। म नासा डान्स बारमा थिएँ।

त्यसपछि म बाहिर निस्केको थिएँ। ठमेल एक चौथाई निदाइसकेको थियो। केही डान्स बार र होटेल खुलेका थिए। मानिसहरु प्रायः ग्रुपमा ओहोर–दोहोर गरिरहेका थिए। परबाट आएको ट्याक्सीको प्रकाश एउटी केटीको सेतो खैरो स्ट्राइपवाला वानपिसभित्र छिरेको थियो। बत्तीले पारदर्शी बनेको कपडाभित्र मैले आँखा घुसाउने प्रयास गरेको थिएँ।

त्यसपछि म त्यहाँबाट हिँड्दै दरबारमार्गमा पुगेर ८० प्रतिशत डिस्काउन्टमा रु. १४० रुपियाँ प्लेटको मःम खाएको थिए। त्यहीँ बसेर एउटा क्यान बियर पनि खाएको थिएँ। र, त्यसपछि अर्को क्यान बियर बोकेर म कता जाने भन्ने असमन्जसमा हिँडेको थिएँ। एउटी केटी फटाफट पाइला चालेर मेरो अगाडि हिँड्न थाली।

‘कहाँ जान लागेको?’ के सुर चलेर हो कुन्नी मैले जिस्काएथेँ।

‘घर।’ छोटो उत्तर दिँदै उसले छिटो–छिटो पाइला चालेकी थिई।

‘पख म पु¥याइदिउँला नि।’ ऊ केही बोलिन। उसको फोन आयो र गफ गर्न थाली।

‘तपाईं चिन्ता नगर्नु के, म ट्याक्सीमा छु। ... । म भ्याउदिनँ। कस्तो नबुझ्नुभएको मेरो भोलीको लागि प्याकिङ गर्नु छ। .... । म घर पुगेर कल गर्छु। म साथीहरुसँग छु।’ ...। ‘ह्या अत्ति त नगर्नु के।’ यसो भन्दै उसले फोन राखेकी थिई।

‘प्याकिङ गर्न म सघाउँला नि।’ मैले यसो भनिसकेपछि उसले मतिर एक नजर फ्याँकेकी थिई।

‘भोली कहाँ जाने हो र?,’ मैले फेरि कोट्याएँ।

‘पोखरा,’ उसले भनी।

विस्तारै कुरा लम्बिएको थियो। उसले आफ्नो ठेगाना पोखराको गोलढुङ्गा बताएकी थिई। पोखरामा आफू पढ्ने कलेजको नाम पनि भनेकी थिई। हामी सञ्चय कोष भवन अगाडि आइपुगेका थियौँ।

मैले उसको फोन नम्बर मागे र सेभ गर्न उसको नाम सोधेको थिएँ।

‘दिप्ती,’ उसले मुस्कुराउँदै नाम भनेकी थिई।

आहा! उसको मुस्कान। मैले आफू कहाँ छु, बिर्सिदिएँ। उसको नाम सुनेपछि, चलिरहेका गाडीहरु एकपटक रोकिए। हिँडिरहेको भीड रोकियो। यस्तो लाग्यो सिंगो ठमेल उसको मुस्कानमा हरायो। म फेरि एकपटक नमज्जाले रन्थनिएँ। उसको हाँसोबाट मुच्र्छित मैले आफूलाई सम्हाल्दा उ त्यहाँ थिइन। प्रहरीहरु सिठ्ठी बजाउँदै लठ्ठी बोकेर आउँदै थिए। सिंगै हुल भागिरहेको थियो। म पनि भागेँ र एउटा ट्याक्सीभित्र छिरेँ। किन भागे त्योचाहिँ मलाई थाहा छैन।

...

मैले दिप्तीको फोन नम्बर खोजेँ। तर, भेटिन। आँखा तिर्मिराइरहेथ्यो। अँ, मैले उसलाई उसको घरसम्म पो छोडेँ कि छोडिन? मैले बिर्सेँ।

घर भन्दा याद आयो, अहिले म जोसँग थिएँ म उसको कोठामा छु। किन म चुपचाप उसको पछिपछि लागेर आएँ, मैलाई थाहा छैन। कोठा बहुत सुसज्जित छ। एउटा लो बेड। दराज अनि कपडा राख्ने ¥याक। एउटा डेक्सटप कम्प्युटर। टी टेबलमा पल्टिएको छ, ओह्रान पामुकको स्नो। यस्तो लागिरहेछ मसँग आश्चर्यका सेरिजहरु घटित भइरहेछन्।

उसले मेरो गालामा चुमी। म हच्किएर पछाडि सरेँ।

‘म जान्छु,’ मैले भनेँ।

‘लौ किन यहाँ आएको त?’ सोधी।

‘मलाई थाहा छैन।’ म जुरुक्क उठेँ अनि हिँडेँ।

ऊ ट्वाँ परी।

केही कुरा सम्झिएर म फेरि फर्किएँ।

‘कति रुपियाँ हो तिम्रो?,’ सोधेँ।

‘१५००’

म हाँस्न सकिन। खोकी लागेझैँ भयो।

‘त्यत्रो महङ्गो?’

‘मैले त झन् स्टुडेन्ट भनेर डिस्काउन्ट दिएको।’

मेरो पातलो सानो काँठीको शरीरलाई उसले नमज्जाले गिज्याई। म चुप लागेँ। मसँग बोल्न केही शब्द थिएनन्। खुरुक्क पैसा निकालेर दिएँ।

अनि म हिँड्नै लाग्दा ऊ बोली, ‘केही नगर्ने ?’ मैले सोधे ‘के ?’

उसले ५०० आफूसँग राख्दै भनी, ‘केही नगर्ने भए यो पैसा फिर्ता लेऊ। ५०० चैं ट्याक्सी भाडा लिएँ मैले।’

अनि ऊ एक्लै फत्फताई, ‘क्या अचम्मका मान्छेहरु आउछन् यार!’ मलाई भने आफूभन्दा बढी ऊ अचम्मकी लागी। म फेरि हिँड्दै आएँ। पुनः ठमेल नै आइपुगेछु।

...

गोजी छामे। चुरोट रहेनछ। छेउको नाङ्लो पसलमा एक बट्टा चुरोट किनेँ। सल्काएँ र हिँड्न थालेँ। थाहा भयो ठमेल यौवन मात्र किनबेच नगर्दो रहेछ, साना पसलेहरुको खुसी पनि संगाल्न प्रयासरत रहेछ।

नारायणहिटी अगाडि आएपछि राजा ज्ञानेन्द्रको ‘कु’ सम्झिँदै नारायणहिटी फर्केर पिसाब फेर्ने मन भयो। ऊ बेला हिम्मत गर्न सकिनँ। आज भए पनि पिसाब फेरौं भन्ने लाग्यो। प्यान्टको जिप्पर खोल्न मात्रै आँटेथेँ, तल्लोपट्टि सुरक्षागार्ड बसिरहेको पुलिसले सिठ्ठी बजायो। बजाइरहोस। मैले आफ्नो कर्म सकेर मात्र त्यहाँबाट हिँडेँ।

...

म हिँड्दै–हिँड्दै आर्यघाट आइपुगेको छु। एउटा लास जलिरहेको छ। केही मानिस त्यो निस्पट्ट अँध्यारोमा पनि लासको फोटो खिच्दैछन्। मोबाइलको फ्ल्यास झिलिकझिलिक गर्यो अनि सकियो। सोचेर ताज्जुब लाग्यो, ‘मृत्युको क्याप्सन के हुँदो हो कुन्नी?’

माथि ग्रीन बेन्चमा गएर बसेँ। बाँदरहरुको हो–हल्ला थिएन। गाडीको चर्को आवाज थिएन। चराहरुको सुसेली पनि सुन्दिन। बरु दिउँसो कहिल्यै नसुनिने बाग्मतीको सुसाई सुनिरहेछु। एकान्तलाई महसुस गर्न र एकान्तको आवाज सुन्न पनि त एकान्त नै चाहिने रहेछ। मोबाइलमा अघिदेखि गीत बजिरहेकै थियो। संयोग भनौँ वा के? मोबाइलमा कवीरको दोहा बज्न लाग्यो–

‘जिए भी लकडी, मोहे भि लकडी, देख तमासा लकडीका
क्या जीवन क्या मरण कवीर, खेल रचाया लकडीका।’

तल घाटमा देखिरहेछु, ९ जना जति मलामीले ब्रह्मनालमा ल्याएर बाग्मतीतिर खुट्टा फर्काएर एउटा लास राखे। एउटा मानिस चिता तयार गर्न दाउराहरु मिलाउँदै छ। अर्को मानिस माथिपट्टि पुलमा बसेर सो चिता तयार गरिरहेको हेर्दै छ। दिमाग चिलायो, ‘त्यो चिता तयार गर्ने मानिस, त्यो माथिपट्टि पुलमा बस्ने मानिस र लास बोकेर आएका मलामीहरु के सोच्दा हुन् कुन्नी?’

सायद, म बकवास कुरा सोचिरहेछु। धेरै पटक सोचेको छु कि, अब सोच्नै छाडिदिनेछु। तर, लुतो लागेको छ मेरो मगजमा। बेला न कुबेला चिलाइरहन्छ। मैले नसोच्न कहिल्यै सकिनँ।

...

चुरोट तान्ने मन भयो। गोजीमा हात हालेर चुरोटको बट्टा निकाल्न खोज्दा चुरोटसँगै एउटा कागजको खोस्टो निस्क्यो। हेरँे– केरकार गरेर कविता लेख्न खोजेको रहेछु।

मेरो पर्समा प्रायः अपुरा कविताका टुक्राहरु हुन्छन्। पर्स खोतलेँ। दुईवटा अपुरा कविताहरु भेटेँ। एउटा सानो कविताको खेस्रोचाहिँ एटिएमको रिसिप्ट पछाडि लेखेको रहेछु। अर्कोचाहिँ ए फोर साइजको कागजमै लेखेको रहेछु।

खिस्रिङ्गमिस्रिङ्ग अक्षरहरु पढ्ने मन भयो। पशुपतिपारि बलेको बत्तीको उज्यालोले कविता पढ्न सकिन। मोबाईलको लाइट बालेर पढ्न थालँे। कोटेश्वरको जाममा अड्किएपछि घर गएर कविता लेख्न खोजेको रहेछु। अर्को त्यो एटिएमको रिसिप्ट पछाडिचाहिँ झापाबाट काठमाडौं आउने बेलामा कोरेको खेस्रा रहेछ।

मलाई मेरो आफ्नै कविताले म बाँचेको समय ‘टाइम ट्राभल’ गराइदियो। यी मेरा कविताहरु थिए, जसले मलाई म त्यो समय कसरी बाँचेको रहेछु, मैले के देखेको रहेछु र मैले कस्तो भोगाई भोगेको रहेछु पुनश्चः याद दिलाएको छ। म पुगेका ठाउँहरुको याद दिलाएको छ।

अरुले लेखेको कविता पढ्दा म उनीहरुको समय पढ्छु।

सायद मलाई लाग्दो हो, मैले बाँचेको यो समय नै मेरो आफ्नो हो।

समयलाई कैद गर्न त नसकिँदो हो। तर कवितामा त्यो बेलाको समयचाहिँ कैद भएर बस्दो रहेछ। त्यो बेलाका दृष्यहरु आँखाअगाडि सल्बलाउन थालेका छन्। रिल घुमेजस्तै फनफन्ती आँखाअगाडि त्यो बेलाका दृष्यहरु घुम्न थाले।

फेरि चिलाउन थाल्यो मगज। मलाई अब त्यहाँ पनि बसिरहन मन भएन।

...

झिसमिसे उज्यालो हुन लागेको थियो। पानी पर्न आँटेझँै लाग्दै थियो तर, परिसकेको थिएन। मलाई हिजोको जाँडले पुरै छोडिसकेको थियो। चिया पिउन मन लाग्यो। कुनै पसल खुलेका छन् कि भनेर पशुपतिको पश्चिमगेटतर्फ आएँ। कसैले भन्यो, ‘बेलपत्र पनि कत्ति महँगो भएको? एक भारीको तीन हजार अरे।’

मीठो स्वरले छेवैमा एउटी केटी बोली, ‘दाई मन्दिर दर्शन गरेर जानुन। यी हेर्नुस् त कस्तो ताजा फूल ल्याएकी छु।’

सायद, मलाई भनेको हुनुपर्छ। फर्केर हेरँे। ऊ फूलजस्तै सुन्दर थिर्ई। मैले उसलाई देखे देखेजस्तै लाग्यो। आफ्नो भुलक्कड बानी सम्झेर आफंैलाई रिस उठ्यो।

छेउमै पुगेर सोधेँ, ‘मैले तिमीलाई यहाँभन्दा अगाडि कतै देखेको छु?’

‘म सधैं यही फूल बेचिरहेकी हुन्छु। तपाईं पशुपति आइरहनुहुन्छ भने यतै देख्नुभएको होला।’

म अझै आफ्नो सम्झनामा विश्वस्त हुन सकिन।

सोधेँ, ‘तिम्रो नाम के हो?’

‘दिप्ती।’

उसले लजाउँदै मुस्कुराएर बोली। ऊ यसरी मुस्कुराई कि फूलहरु पनि लाजले मूर्झाए। बास बसेका चराहरु ब्युँतिएर पनि चिर्बिराएनन्। एक क्षण बाग्मतीले पनि बग्न बिर्सियो सायद र सायद बिर्सियो हावाले बहन। यस्तो लाग्यो कि, पशुपति दर्शन गर्न आएका भक्तजनहरु एकटक उसले लजाउँदै आफ्नो नाम भनेको सुनिरहे र पशुपतिनाथले पनि उसको हाँसोको डाह गरे।

कसैले झस्काउँदै मलाई फेरि सोध्यो, ‘भाइ, फूल नलाने?’

म चुपचाप हिँडेँ। मसँग फर्काउनका लागि कुनै उत्तर थिएन। अलिकति पर पुगेपछि कोही बोलिरहेझैँ सुनियो, ‘बिहानैको बोहनी खराब गर्दियो। नकिन्नेले त नसोध्नु नि।’ फूलको व्यापार गर्नेको कस्तो काँडाजस्तो रुखो बोली। सम्झिएरै नराम्रो लाग्यो।

मागेर गुजारा चलाउनेहरु पनि खाली थाल लाइन लागेर बस्न थालेका देखिए। विस्तारै ठेलाहरुको बाक्लो उपस्थिति देखिन लागेको थियो। फूलको व्यापार गर्नेहरु थपिँदै थिए।
म भने आर्यघाटबाट फर्किँदै छु। यसैगरी धेरैपटक फर्किएको छु, आर्यघाटबाट। तर, कुनै एकदिन मलाई आर्यघाट ल्याइनेछ र म कहिल्यै फर्कने छैन।

पर कतै मन्दिरभित्रबाट कोही ठूलो स्वरले चिच्यायो, ‘जय शम्भो।'

twitter: @canvassss

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट