दुःख बिर्साउन विदेशिएकी श्रीमती

चुनाव
  • Get News Alerts

tata

‘यो जिन्दगी खै के जिन्दगी!
भित्र—भित्रै खोक्रिएर बाहिर—बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी!

रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी
बाटामा हिँड्दा हिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी!’
यो जिन्दगी, खै के जिन्दगी!


ट्याकट्याक, ट्याकट्याक। फेरि, ट्याकट्याक।

अरु धेरै पटक यो दोहोर्यायो उसले। तर चुलो मरिकाटे बलेन। स्कुल जानेबेला नजिकिँदै थियो। भात त राइसकुकरमा पाक्दै थियो। तर दाल र तरकारी पकाउन नपाउने भो उसले चुलो नबलेर।
ऊ एउटा निजी स्कुलमा मास्टरी गरिरहेको छ। उसकी श्रीमती र ६ वर्षे छोरी पनि छन्। तर उनीहरु सँगै छैनन्। र, उसले पनि एक्लै डेरामा जीवन घिसारिरहेको छ। यौवनकालमै फूलसरी छोरी र मायालु पत्नीसँग बिछोडिएर एउटा उजाड जिन्दगी बाँच्न विवश छ ऊ।

स्कुल नगई भएको छैन। नगई मात्रै हैन, १०, १५ मिनेटै पनि ढिलो हुनहुन्न। नत्र प्रिन्सिपल म्यामको वचनवाण खेप्नुपर्छ। यसै पनि दुखिरहेको मनमाथि उनको प्रहार थपियो भने के होला? अर्को कुरो, ५ वर्षे अध्यापन अनुभव त्यही स्कुलमा सँगालेको छ उसले। शैक्षिक योग्यता बढेपछि स्कुल व्यवस्थापनबाट पदोन्नती पाउने आश्वासन पनि पाएको छ। त्यसैले पनि इमान्दारिता र नियमिततामा कुनै कमी आउन दिन नहुनेमा ऊ सचेत छ।

उसले हिजो मात्रै ग्यास चुल्हो मर्मत गरेर ल्याएको थियो। टेक्निसियनले बालेर देखाएपछि खुसीसाथ उसले शुल्क बुझाएको थियो। ‘तर आज मरिकाटे बल्दैन, असत्ती! ऊ मुर्मुरियो।

भोकै दिनभरी विद्यार्थीहरुसँग बोलिरहन सकिन्न। होटलको खाना त उसको स्वास्थ्यको लागि दुश्मनै हो। भात मात्रै बुक्याउन मिल्ने पनि हैन। ‘अक्करमा पो परेँ गाँठे’, छेवैको खाटमा पल्टिँदै खुइय गर्यो उसले। उसको शरीर त स्थिर थियो, तर मन दौडिरहेको थियो समस्याको समाधान खोज्न।
‘के गर्ने होला?’ धेरैपटक दोहोर्यायो।
...
अनायास केही वर्ष पहिलेको कलेजकालीन अतीतमा पुग्यो ऊ।

प्लस टुको ‘व्यावसायिक सिद्धान्तहरु’को कक्षा चलिरहेको छ। विजयगोपाल सरले संयुक्त पुँजी कम्पनीका विशेषताहरु व्याख्या गरिरहनुभएको छ। विशेषताको एक बुँदा ‘कृत्रिम व्यक्ति’ उसले बुझ्न सक्दैन। तीन पटक दोहोर्याउँदा पनि सरअगाडि बढ्न नसक्नुभएपछि झोक्किँदै भन्नुहुन्छ, ‘जाउ बाथरुममा गएर चिसो पानीले नुहाएर आउ।’ कक्षा हाँसोमा गुन्जिँदा उसको मन अमिलो बन्छ।
...
उसलाई सरको जुक्ती ठीकै लाग्यो। नुहाएपछिको ठन्डा दिमागले कुनै उपाय निकाल्छ कि! बाथरुम जान पछ्यौरा खोज्दै गरेको बेला मोबाइल फोन बज्यो। प्रिन्सिपल म्याम रहिछन्। म्यामले भनिन्, ‘सर तपाईंले चार कक्षाको आजको पहिलो पिरियड पनि पढाउनुपर्ने भयो, तयारी गरेर आउनुहोला बेलैमा।’

‘किन, गोविन्द सर कता जानुभयो र?’

‘उहाँ त सुत्केरी व्यथा लागेर अस्पातल जानुभएछ।’ गोविन्द सरलाई सुत्केरी व्यथा! ऊ छक्क पर्यो। म्यामले सच्याइहालिन्, ‘उहाँकी म्यामलाई हो व्यथा लागेको।’
उसले पढाउनुपर्ने पहिलो कक्षा दोस्रो पिरियडमा थियो। कहिलेकाहीँ स्कुल पुग्न केही समय ढिलै भए पनि आफ्नो कक्षा बेलैमा पुग्न सकेको तर्क गर्दै ढिलाई प्रति त्यती धेरै पश्चात्ताप गर्दैनथ्यो। ‘तर आज पहिलो पिरियडमै पुग्नुपर्ने भयो।’ हतारिँदो मनस्थितीमा सोच्यो उसले।

अनि ‘हस्’ भन्नैपर्यो।

फटाफट काम सक्ने गरी बाल्टीमा पानी लिएर बाथरुम तिर गयो ऊ। बाथरुम बन्द थियो। ‘कोही होला भित्र, तर छिटो गरिदिए हुन्थ्यो नि।’ उसले कामना गर्यो। एकैछिन पछि पल्लो कोठामा बस्ने सानी फुच्ची आइपुगी र भनी, ‘ममी हुनुहुन्छ भित्र।’

‘ओहो तिम्री ममिले त बिहानै पानी माग्दै थिइन त यहीँ भित्रैबाट।’

‘पखालाले हैरान पार्या छ क्या।’

‘पखाला लागेको बेला त झन् छिट्टै निस्कनुपर्ने, सलल पानी बगाएपछि त काम सकिइहाल्यो नि।’

‘घरिघरि जानु नपरोस् भनेर अली बढी समय बस्ने रे क्या।’

‘हे दैव!’ उसले निधार ठोक्यो।

केही बेर कुरेपछि मन थाम्न सकेन र ढोका ढक्ढक्याउन बाध्य भयो, ‘म्याम मलाई स्कुल चाँडै जानु छ, अलि छिटो गरीदिनुहुन्छ कि!’

उनी निस्केपछि हतारिँदै भित्र पस्यो। जगले बाल्टीबाट टाउकोमा पानी खन्याएपछि उसले सोच्यो, ‘उपाय सोच्दै गर है केटा, नुहाइसकेपछि नै भन्ने केही छैन।’ फेरि उसले आफैंलाई हकार्यो, ‘उपाय सोच्दा सोच्दै साबुनै पखाल्न बिर्सेंलास् र दिउँसो कक्षामा बोर्डमा खेल्नुपर्ने हात शरीर कन्याउँदैमा व्यस्त होलान् र लज्जित हुनुपर्ला विद्यार्थीको अघिल्तिर।’

जसै ऊ ढोकाबाहिर निस्क्यो, दिमागमा क्लिक भयो। उपाय फुर्यो।

शरीर पुछेर लुगा लगाइसकेपछि उपाय बमोजिम गर्न ऊ माथिल्लो तल्लामा उक्ल्यो र सुन्तली दिदीको ढोका ढक्ढक्यायो। सुन्तलीलाई उसले ‘दिदी’ सम्बोधन गर्छ, कारण सुन्तलीको माइती र उसको थर एकै हो। अनि पाको उमेरकी उनीसँग उसले पहिला १, २ पटक गार्होसार्हो परेको बखत दुःख बिसाएको पनि थियो। सुन्तली दिदीका लोग्ने रोजगारीको सिलसिलामा विदेशमा छन्। एउटा छोरी र छोरोको लेखपढका लागि शहरमा बसेकी छिन्।

उनकी छोरीले ढोका खोली। दिदी भेटीइनन्। छोराछोरीको ट्युसनको लागि शिक्षक खोज्न उनी केही समयको लागि बाहिर निस्केकी रहिछन्। परिस्थिती अनुकुल नभएर केही निराश बनेको ऊ आफ्नो कोठातिर फर्कंदै गर्दा भर्याङमा भेटिइन् दिदी। बाहिर सबैले सुन्ने गरी भन्नु भन्दा भित्र कोठामा गोप्य रुपले कुरा गर्न उचित ठानेर ऊ उनकै पछि लाग्यो।

‘दिदी मलाई एउटा समस्या पर्यो। सहयोग गरिदिनुहुन्छ कि भनेर आएको,’ उसले विनम्रता देखायो। ‘हुन्छ, के गर्नुपर्यो मैले, भनन,’ दिदी हलुका बनिदिइन्।

विहानदेखिको घटना बेलिविस्तार लगाउँदै उसले भन्यो, ‘मलाई एक एक कचौरा दाल र तरकारी चाहियो।’

‘ओहो यस्तो पो सहयोग, भइहाल्छ नि!’ मज्जाले हाँसिन् उनी, ‘म त पैसाको सहयोग होला भन्ठानेकी!’

‘पैसा नै भए पनि धेरै माग्दिन म, अनि नतिर्ने बेइमान पनि छैन। किन डराउनुभएको?’

‘ओहो भाइ कुरै नगर। लोग्नेले विदेशबाट पैसा पठाइरहन्छ। योसँग पैसा जत्ति पनि हुन्छ भने जसो गरेर केही नजिककै आफन्तले कुरै नबुझी पैसा मागे। अनि दिन नसकेपछि रिसाएका छन् अहिले। युरोप अमेरिका हो र, कतारको घाममा डढिरहेका छन् मेरा बुढा। के कुरा गर्नु र!’
...
दिदीको सदासयताले राहत महसुस गर्यो उसले। आफ्नो कोठामा आयो। सानो इलेक्ट्रिक केट्लीमा थोरै पानी उमाल्यो र कालो चिया बनायो। खाटमा बसेर चुस्की लिँदै गर्दा केही पहिलेको एउटा पारिवारिक छलफल सम्झनामा आयो।

बेलुकीको खाना खाइसकेर सुत्ने तरखरमा छन् उनीहरु। तीन वर्षे छोरी आफ्नी आमाको न्यानो काखमा मस्त निदाइरहेकी छ। विगतमा प्रेममय भइरहने दाम्पत्य गफ हिजोआज ‘कठोर व्यवहारिकता’मा बदलिएको छ। एक अर्काको विचारमा पहिले हुने गरेको आपसी स्वीकृतीको संस्कार केही कमजोर बनेको छ अहिले।

गफ सुरु गरी उसकी जहानले, ‘उमेर छँदै अलिकति दुःख गरे पो बुढेसकालमा सुख पाइन्छ।’ ‘सहन सक्नेसम्म पो हो त दुःख गर्ने। भविष्यमा पाइने भनिएको त्यो अनिश्चित सुखले अहिले भोगिएको दुःख बिर्साउन सक्ला?’

आफन्त, इष्टमित्रहरु धनसम्पत्ति भएकालाई मात्रै आफ्नो ठान्छन्। कागजपत्र र अरु तयारीमा निकै मेहनत गरिसकेँ। भिसा पाइने निश्चित जस्तै छ। त्यसैले मेरो बाटो नछेक अब।’

‘बाटो लाग्ने कुरो नगर। हाम्रो सोचाइ फराकिलो र मन दरिलो बनाऔँ। यसो भयो भने धनसम्पत्तिकै कारणले कसैले हामीलाई हेप्न सक्दैन।’

‘नेपालीहरु नपुगेको ठाउँँ हैन। म एक्लै जान लागेकी पनि हैन। कामको प्रकृति महिलामैत्री छ। तलबभत्ता पनि चित्तबुझ्दो छ। मभन्दा पाकी भाउजु पनि साथमै हुनुहुनेछ। चिन्ता नलेउ, दिनहरु सहज नै हुनेछन्।’

‘मैले नि मास्टर डिग्री उत्तिर्ण गर्दैछु चाँडै। त्यसपछि माध्यमिक स्तरसम्मको क्षमता बन्नेछ। धेरथोर तलब बढिहाल्छ। अब एकै वर्ष एकाग्र भयौ भने तिमीले पनि स्नातक उत्तिर्ण गर्नेछ्यौ। त्यसपछि एउटा खास क्षमता बन्नेछ। मेरै स्कुलमा पनि तिम्रो लागि केही जोडबल गर्नसक्छु मैले। त्यो नभए अरु विकल्पहरु पनि नभएका हैनन्। तालिम लिएकै छौ, ब्युटी पार्लर खोलौली। मेरै स्कुल अगाडि स्टेशनरी पसल पनि नचल्ने हैन। परिस्थिती सुहाउँदो अन्य व्यवसाय पनि गर्न सकिन्छ। हातपाखुरा छँदैछन। आकांक्षा ठूलो नपाल्ने हो भने यहीँ साधारण तर पूर्ण पारिवारीक वातावरणसहितको सुखमय जीवनयापन गर्न हामीलाई के कुराको कमी छ र? अनि यति सानैमा आमासँग छुट्टीनु पर्दाको छोरीको मनोभावको कठोर सामना म कसरी गर्न सकुँला।’

‘तर आदर्शले मात्रै पेट भरिन्न नि।’

‘मैले कल्पेको हाम्रो घरसंसारमा कहाँँनेर आफु भोको रहने ठाउँँ भेट्यौ र तिमीले?’

ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’

अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई, छोरीलाई आफ्ना बाआमाको संरक्षणमा छोडेर। सहरको पल्लो छेउमा छ उसका बा आमाको डेरा।
...
सुन्तली दिदीको सदासयताबाट आभारी बन्दै खाना खाएर ऊ स्कुल तिर हिँड्यो। स्कुल पुग्न आधा घण्टाजति पैदल हिँड्नुपर्छ।

डेरादेखि अली परको चोकमा ऊ पुग्दा अरु केही विद्यार्थीहरुलाई कुरिरहेको एउटा भ्यानमा स्कुल जान ठीक्क परेका स्कुले केटाकेटीहरु हल्ला गरीरहेका थिए। सुन्तली दिदीको छोराले सँगै बसेका आफ्ना साथीहरुलाई ऊतिर औँल्याउँदै भन्यो, ‘सरस्वती स्कुलको त्यो सरले आज हाम्रो ममीसँग मागेको तरकारी र दालसँग भात खाएर हिँड्यो।’

अघि भर्खर खाएको दालभात पुरै उल्टिन्छ कि जस्तो भो उसलाई।

खाटा बस्न लागेको घाऊ उकल्चियो। दुःखी मन केही दिन पहिलेको दाम्पत्य फोनवार्तामा गएर ठोक्कियो।

‘के गर्दैहुनुहुन्छ?’ उसकी जहान बोली इजरायलबाट।

‘कापी जाँच्दैछु।’

‘किन यती अबेरसम्म बस्नुभएको?’ भित्तेघडिले रातको १२ः१५ देखाएको थियो।

‘पर्सी नै रिजल्ट निकाल्ने रे। स्कुलले चाँडै रिपोर्ट निकाल्न भनेको छ। अनि मलाई अबेरसम्म बसेको भन्नेले किन अबेर गरेको त फोन गर्न?’

‘बज्यैका लागि डाक्टरले हरेक चार घण्टामा खानुपर्ने अर्को औषधी थपिदिएका छन्। औषधीको तालिका बमोजिम भर्खरै त्यो खुवाएँ उनलाई। फोन बेलैमा भोलि पनि गर्न सक्थेँ। तर त्यताको न्यास्रो खप्न सकिन। तिम्रो निद्रा चोरेरै भएपनि एकछिन मन शीतल पार्छु भनेर फोन गरेकी।’

नरम बोलीवचन र दयालु व्यवहार भएकी घरबेटी बुढीलाई सम्मानपुर्वक उसले ‘बज्यै’ सम्बोधन गर्छे।

‘धेरै न्यास्रो नमान, बिरामी परौली।’

‘म त चाँडै ओछ्यान पर्छु होला। हिजोआज त तिम्रो र छोरीको यादमा एकोहोरिँदा काम पनि बिग्रेला कि भन्ने डर लाग्छ।’

‘काम चैं नबिगार। नियम कडा छ होला त्यहाँको।’

‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

बक बस्यो उसको, सुँक्क सुँक्कले एकछिन वातचित रोकियो।

‘यो कुरो पहिले नै संकेत गरेको थिएँ मैले, तिमीले बुझिनौ। अहिले नचाहिँदो भावनामा बग्छ्यौ। मलाई पनि रुवाउन आँट्यौ तिमीले।’

ऊ पनि बोल्न सकेन केही बेर।

छोरीतिर पुग्यो मन।

आफ्नी जहान विदेशिएको करिब तीन महिनापछि एकदिन शुक्रबार साँझ त्यो रात डेरामै राख्ने गरी उसले ससुरालीघरबाट छोरीलाई ल्याएको थियो। ऊ टुकु टुकु हिँड्न सक्ने भएकी थिई। बाटोभरि बालसुलभ गफ गरेर उसले आफ्नो बाउलाई भुलाएकी थिई।

डेराको ढोका खोल्ने बेला उसले सोधी, ‘ममी हुनुन्थ भित्ल?’ अवाक बन्यो ऊ, बरर आँशु झरे। सन्नाटा चिर्दै उसले भन्यो, ‘ल फोन राखौँ अब।’
‘हस्।’

हिँड्दै गर्दा मनमा तर्कनाहरु सल्बलाए, बिरामी पर्दा, गार्होसार्हो पर्दा उता उसले कसैसँग सहयोग माग्न परिरहेको छ। यता म दाल, तरकारी मागिरहेको छु। छोरीले पनि वात्सल्य प्रेम खोई भनिरहेकी छे। आफैंमा पूर्ण हुने क्षमता भएर पनि असत्ती धनपैसोको नचाहिँदो मोहजालमा फसेर एक अपूर्ण र टुहुरो जीवन बाँचिरहेका छौँ हामी।

दानवीर बन्ने अवसर पाउँदा पनि मगन्ते बन्न राजी छ मान्छे।
...
‘गुड मर्निङ सर।’ स्कुलका पालेदाइ मुस्कुराइरहेका थिए।उसले राम्ररी अभिवादन फर्काउन पनि सकेन। लाज, धक नमानी माथि छतमा पुगेर कवि हरिभक्त कटुवालको गुनगुनाउँदा गुनगुनाउँदै मुखाग्र भइसकेको कविता पीडा मिश्रित चर्को स्वरमा यसरी सुनायो,

यो जिन्दगी खै के जिन्दगी!
भित्र—भित्रै खोक्रिएर बाहिर—बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी!

रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी
बाटामा हिँड्दा हिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी!

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट