इन्गेजमेन्ट

चुनाव
  • Get News Alerts

tata

इन्गेजमेन्ट भएको चार महिना पछि उसले मलाई निरास पार्दै विहे गर्दिन भन्यो। होसहवास उड्यो, म निःशब्द बनेँ। एकछिन अकमकिए पनि साहस गर्दै उसलाई सीधा हेरेँ। उ पनि थप बोल्न सकिरहेको थिएन। कोकको सीसी अगाडि हुत्याउँदै, ‘तिमीले के भन्न खोजेको, होसमा त छौ?' भनेँ। उसले पनि झस्केर आँखा फराकिलो पार्‍यो, तर बोलेन।

हामीे खिचापोखरीमा एउटा क्याफेको माथिल्लो तलामा थियौँ। ‘अति जरुरी छ' भनेर उसले बोलाएकाले अफिसबाट हतारिदै त्यता लागेकि थिएँ। म त्यसवेला बैंकको ब्रान्च म्यानेजर भइसकेकि थिएँ। सवैको हिसाव बुझ्दा अलि ढिला भो। रिसाउने होकि भनेर लम्किदै पुगेँ। जाममा परेकाले उ पनि भर्खर पुगेको रहेछ। उ एउटा आइएनजीओमा प्रोग्राम अफिसर थियो।

त्यसवेला दुवैतिर विवाहको कार्ड छाप्ने तयारी हुँदै थियो। मुख्य किनमेल चल्दै गरेकाले हामी निकै व्यस्त थियौँ।

पहिला राती निकैवेर भाइवरमा कुरा हुन्थ्यो। ठट्टा, रोमान्स, विवाह पछिको रमाइलो थुप्रै विषयमा कुरा गर्दागर्दै घण्टौं वितेको पत्तै नहुने। तर केही हप्ता देखि खासै कुरा हुन सकिरहेको थिएन। मलाई पनि व्यस्तताले च्याप्दै लगेकाले अव विवाह पछि नै धक फुकाएर बोलौंला भन्ने भइरहेको थियो। त्यस दिन अचानक उसले बोलायो। उसको बोलीमा सदाझैं मिठास थिएन। अलि खल्लो अनुभव त भयो, मैले नर्मल रुपमै लिएँ।

विवाहकै वारे केही सल्लाह होला भनेर म हौसिदै त्यहाँ पुगेँ, तर त्यो उत्साह पाँच मिनेट पनि टिकेन। उसले हिउँ जस्तै कठोर बनेर मलाई विल्लीबाठ बनाउने कुरा गर्यो। त्यसपछि मेरो पनि रिसको पारो चढ्दै गयो। हाम्रो हाउभाउमा वेटरको ध्यान तानियो, मैले डिस्टर्व फिल गरेँ।

भर्खर साँझ परेकाले माथिको हलमा खासै कस्टमर थिएनन्। एकैछिनमा एक नव दम्पति मस्किदै पल्लो टेबुलमा आएर वसे। रिस माथि इर्ष्याको आगो पनि थपिदै थियो।

उ बोल्न सकेको थिएन, ओठहरु सहज अवस्थामा थिएनन्। मैले आफूलाई भिरबाट खस्न लागेजस्तै पाएँ। हार्ने अवस्थामा कराएर नहुने। मैले कन्ट्रोल गर्दै नरम भएर भनेँ, ‘होइन दीप तिमीले मसँग किन यसरी ठट्टा गरेको? हामी कुन अवस्थामा पुगिसक्याँ याद छ तिमीलाई?'

उसले लामो सुस्केरा तान्यो, तर फेरि पनि बाक्य फुटाएन।

‘तिमीलाई अहिले कस्ले के भन्यो, भन त?' मैले अझै रुन्चे स्वर पार्दै सोधेँ। यसरी सोधिरहँदा मेरो दिमागले विद्युत् गतिमा आफ्नो विगतमा कमजोरी भएकि भनेर नियाल्दै पनि थियो।

म गल्दै थिएँ। ‘प्लिज के भयो भन त?' म हात जोड्दै थिएँ। उसको टसमस थिएन, बरु पसिना फुटाउँदै थियो। उसका ओठहरु थर्थराएझैँ लाग्थ्यो। यति इमान्दार र भलाद्मी मानिस, अपर्झट के पर्यो होला? म छक्क परिरहेको थिएँ।

उसले बल्ल मुख खोल्यो, ‘हेर न, मलाई त साह्रै अप्ठेरो पर्यो, के भनौं के....?' उसले नटुङ्याउँदै सोधेँ, ‘के भयो भन न?' म धैर्य गर्न सक्ने अवस्थामा थिइन। तै पनि मेरो विनम्रताको भाव जारी थियो।

उसले सीधै भन्यो, ‘हेर न मलाई त अफिसकै डाइरेक्टरले मन पराएकि रहिछन्, वन साइड लभ! त्यसैले इन्गेजमेन्ट हुनासाथ हेड अफिस तानेको रैछ। मलाई असाध्य मायाँ गर्छे। मैले विवाह नगरे उ त मर्छे, हेर तिमी त बुझ्ने छौँ.........।'

‘थुक्क तेरो बुद्धि....' भन्न मन लाग्यो। उसको कुराले सम्हालिदै गरेको मेरो होस झन भताभुङ्ग हुनपुग्यो। अव के गरौँ, के भनौँ? तातोपानीको ड्रममा डुवाए झैँ हुँदै गयो।

फेरि पनि मैले आफूलाई सम्हाल्ने प्रयत्न गर्दै भनेँ, ‘ए दीप, तिमीले के भनेको? उ त अर्काकि श्रीमती हो त, थाहा छ तिमीलाई?'

उसले पानी पिउँदै भन्यो, ‘भएर के गर्ने? उसले त्यसलाई छोडेर मसँगै जीवन विताउने निर्णय गरिसकि। मन्दिरमा विवाह गरेर बैंककमा हनिमुन मनाउने तयारी हुँदैछ। होटल, टिकट सव बुक भइसक्यो।' मैले इनारमा खसेजस्तै अनुभव गरेँ।

बोलिरहदा पटकपटक उसका आँखा इन्गेजमेन्टमा लगाइदिएको मेरो हातको औठींतिर परिरहेको थियो। मेरो पनि औँला खसखसाउन थालिसकेको थियो।

अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

उसले एक हात उठाउँदै रुखो पारामा, ‘मेरो चिन्ता नगर, आफ्नो वारेमा सोच, मलाई पनि उ निकै मन पर्छे' भन्दै औंठी निकालेर टेवलमा राख्यो।

अरु टेवलका कष्टमरको ध्यान हामीतिर तानिदै थियो। रिष, इर्ष्या, जलन, उत्तेजना सम्हालनै नसक्ने अवस्थामा पुगिसकेको थियो। उसको कपाल समातेर कोकको सिसीले ड्यामकि ड्याम दिउँ जस्तो त भयो तर पनि हिम्मत्त पुगेन। अझै कुरा मिल्छ कि भन्ने आश पनि जिवितै थियो। म जुरुक्क उठेर कसैको अनुहारै नहेरी ब्याग समातेर हिंडे। संयोगवस त्यसदिन उसैले दिल्लीबाट ल्याइदिएको पञ्जावी सूट लगाएर गएकि थिएँ।

भर्याङ ओर्लदै गर्दा ऐनामा देखियो। फुकालेर त्यहीँ फ्याँकिदिउँ जस्तो भयो।

फटाफट हिडेँ, सोच्नै सकिन, खलखल पसिनाले जिउ भिजिसकेको थियो। धरहराको अँध्यारो कुनामा स्कुटी थियो। चलाउने आँटै आएन, के गरौँ के भयो। पार्किङ एरियामा कोही थिएन। म स्कुटीमा वसेर निकै वेर रोएँ। बुबा र ममीको अनुहार सम्झेँ, सवै तयारी भइसक्यो, बुबाले ल्याउनु भएका कार्डका विभिन्न डिजाइनवारे विहान मात्र छलफल भएको थियो। उहाँहरुको उत्साह र उज्यालो अनुहारले मेरो मन झन फुरुङ्ग परेको थयो। आफ्ना पाहुनाको लिष्ट लिएर दिदि भोलि आउँछु भनेकि थिई। भाईले ‘पर्सी प्लेन चढ्छु, एअरपोर्ट आइज है दि तँलाई हेर्न हतार भो' भनेर हिजो साँझ मात्र अमेरिकाबाट फोन गरेको थियो। अफिसमा विदाको लागि कुरा गरिसकेको थिएँ। दिनैजसो साथीहरुले फोन गरेर तयारी वारे सोध्ने, जिस्क्याउने गर्न थालिसकेका थिए। कस्तो रमाइलो बन्दै गएको थियो, दिपे बौलाएछ, ३२ वर्षको उमेरमा हुन लागेको विहे पनि भताभुङ्ग हुने भो।

शरीर चिसिदै गयो, मनले हरेस खाँदै थियो। मैले मोवाइल निकालेर त्यहीँबाट दिदिलाई फोन गरेँ, ‘दि आजै आइज न जरुरी पर्यो' भनेँ। उसले ‘मिल्दैन नानी भोलि आउँछु, के भयो त्यस्तो जरुरी?' भनी। मैले केही भन्नै सकिन ‘हुन्छ भोलि भेटौंला' भनेर फोन राखेँ। छेउको सेकुवा पसलमा ग्राहकहरु होहल्ला गर्दै खाइरहेका थिए। मलाई नै गिज्याएर हाँसेजस्तो लाग्यो। म जाउँ कि नजाउँ गर्दै अगाडि बढेँ।

घर पुगेर ‘टाउको दुख्यो सुत्छु' भन्दै कोठामा छिरेँ। कोठाभरि विवाहका सामान थिए,जता हेरे पनि त्यही दिपेको कुरुप अनुहार देखिने। त्यसले पनि इरिटेसन गरायो। औँठी निकालेर घुईँक्याइदिउँ जस्तो भो, तै पनि बाँकि रहेको आशा टुट्न दिइन। मुख छोपेर निदाउन खोजेँ, के हुन्थ्यो? रातभर छटपटछटपट। पटकपटक रोएँ तर त्यसको कुनै मुल्य थिएन।

दिदि विहानै आइछ, सवैका अगाडि एकैचोटी कुरा राखेँ। ममी रुनथाल्नु भो, बुबा शुरुमा केही बोल्नु भएन, मुर्मुरिनु भयो। ‘त्यसलाई म ठोकिदिन्छु लु त कसरी गर्दोरछ अर्कोसँग विहे?' भन्न थाल्नु भो। प्रहरीमा एसपीसम्म भएर रिटायर्ड हुनु भएको बुबामा जंगी स्वभाव उस्तै थियो।

एकछिनपछि ममीले, ‘तपाईँ आफैँ फोन गरेर त्यसलाई दपेट्नु न, अहिले आएर उसले के गर्न खोजेको हो?' भन्नु भयो।

एकछिन झोक्राए पछि बुबाले दिपेनको बुबालाई फोन गरेर ‘एक पटक भेट्नु पर्यो कता आउँ हजुर?' भन्नु भयो। ‘होइन म दिउँसोतिर घरमै आइहाल्छु नि हजुरलाई किन कष्ट' भनेर फोन राख्नु भयो। उहाँ मन्त्रालयमा उपसचीव हुनुहुन्थ्यो, साह्रै सोझो। एक बजेतिर उहाँ घरमै आउनु भयो, हामी सवै मूड अफ गरेर बसिरहेका थियौँ।

बुबाले ‘होइन हजुर दीपले त अन्तै विहे गर्न लागेँ भन्नु भएछ, के हो कुरा?‘ भन्नु भयो। यो सुनेर उहाँ पनि छाँगाबाट खसेजस्तै हुनुभयो। केही थाहा रहेनछ।

‘कहाँ यस्तो हुनसक्छ हजुर?' भन्दै प्रतिबाद गर्नुभयो। बुबाले मैले भनेका कुरा सवै बताएपछि उहाँ पनि रन्थनिनु भो। दिदि र म ढोकाको छेउमा वसेर कुरा सुन्दै थियौँ। ‘खै मधु? के भन्यो त्यसले?' भन्दै उहाँले मलाई खोज्नु भयो। मैले भित्र गएर हिजोको घटना सवै वेलिविस्तार लगाएँ। बैंकक जान लागेको कुरा पनि सुनाएँ। उहाँले ‘ए मधु, मैले त्यस्तो हुन कहाँ दिन्छु?' भन्दै आश्वस्त पार्न खोज्नु भयो। तत्कालै श्रीमतीलाई फोन गरेर दीपको कोठामा टिकट, पासपोर्ट केही राखेको छ कि भनेर हेर्न लगाउनु भयो।

वास्तवमा थाइलैण्डको भिसा लागिसकेको रहेछ। एक हप्ता पछिको टिकट पनि आइसकेको रहेछ। यो सुनेर उहाँकै होस हवास उड्यो। उहाँलेे नम्र हुँदै, ‘होइन हजुर, यसवारेमा परिवारमा कसैलाई केही थाहा छैन, ‘म राम्रोसँग बुझ्छु, विग्रन दिन्न' भन्दै निस्कनु भो। समस्या झन गहिरिदै गएजस्तो भो।

बुबाले आफ्नो पुरानो एक स्टाफलाई बोलाएर यथार्थ कुरा पत्ता लगाइदिन आग्रह गर्नुभयो। दीप र उसको डाइरेक्टर एउटै फ्लाइटमा बैंकक जान लागेको सत्य रहेछ। तर डाइरेक्टर र उनको पतिकाबीच कुनै दरार नआएको र दीपसँग पनि कुनै विशेष सम्बन्ध नरहेको उसले जानकारी दिएछ। साथै दीपले अफिसमा राम्रोसँग काम गरिरहेको र अरु कुनै केटीसँगको सम्बन्ध वारे कसैले कुनै छनकसमेत नपाएको रिपोर्ट आएछ।

भोलिपल्ट बुबाले दीपको डाइरेक्टरलाई फोन गरेर बाहिर कतै भेट्ने टाइम लिाउनु भएछ। बुबाले भन्नु भएछ, ‘दीपसँग मेरो छोरीको विवाह हुँदैछ अर्को हप्ता, यही वेला तपाईसँगै बैकक जान लागेको थाहा पाएर छोरीले निकै अप्ठेरो महसुस गरी। के त्यहाँ दीप जानैपर्ने हो कि.....?' भन्नु भएछ। डाइरेक्टरले अति सहज रुपमा भनिछन्, ‘बैककमा कन्फ्रेन्समा भाग लिन जान लागेको हो, उसले राम्रो काम गरिरहेकोले इन्करेज गर्न मैले जाने हो? भनेर सोधेकि थिएँ। उसले म एकदम इच्छिुक छु म्याम, भनेकाले अरु कुरा विचार गरिन। तपाईँहरुलाई अप्ठेरो हुने हो भने सल्लाह गर्नुस् उ नगए नि खासै फरक पर्दैन' भनिछन्। साथै दीपले अफिसम प्रफेक्ट रुपमा काम गरिरहेको भन्दै असल ज्वाईँ पाउनु भएकोमा बधाइ छ' समेत भनिछन्।

घर आउनासाथ बुबाले, कुरा झन रहस्यमय भयो भन्दै दिक्दारी व्यक्त गर्नुभयो। म आफैँ पनि छक्क परेँ। बुबाले तुरुन्तै दीपलाई फोन गरेर ‘मधुलाई सन्चो छैन एक छिन घरमा आउनु न' भन्नु भयो। उसले सहजै मानेछ, अफिस सकेर उ सीधै घरमा आयो। बुबाले पहिले अफिसको गतिविधि, बैंकक जाने कुरा सोध्नु भयो। सवै कुरा सही रुपमा भन्दै गयो। उ पहिला जस्तै नरम र सामान्य छ। यो देखेर मैले पो झुटैझुट बोले जस्तो भयो। मै छक्क परेँ। ममी र बुबा दुवैले मेरो मुख हेर्न थाल्नु भयो। मलाई आफैँ बौलाएँ कि जस्तो लाग्न थाल्यो।

...... ‘अनि तपाईँले इन्गेजमेन्टको औंठी खोलेर टेवुलमा फाल्नु भो रे, किन त्यसो गरेको? मधु रातभरी चित्त दुखाएर रोई' भन्नु भयो।

उसले फेरि सहज पारामै भन्यो, ‘अँ...... हेर्नु न, मलाई त आफ्नै अफिसको डाइरेक्टरले विवाह नगरे आत्महत्या नै गर्छु जस्तो गर्न थाली, विहे त म उसैसँग गर्ने भएँ, अहिले केही विग्रेको छैन, शरी है मधु' भन्यो। सवै छक्क।

बुबा र ममीले निकै वेर सम्झाउनु भयो, केही नलागे पछि बुबाले थर्काउनु पनि भयो। म त्यहीं बसेर रोएँ। अहँ उसले मानेन। जसरी पनि उसैसँग विवाह गर्ने जिद्धि कसेको कस्यै गरेर हिंड्यो। ममीले अनायासै, ‘लौ यो केटो बौलाएछ' भनेर क्रोध व्यक्त गर्नुभयो। ‘अरु सवै कुरा ठीक छ, कसरी बौलायो भन्नु?' बुबाले चिडचिड गर्दै भन्नु भयो।

मलाई चाहिँ उसलाई एड्स, क्यान्सर वा अरु कुनै ठूलो रोग पो लाग्यो कि भनेर उप्रति उल्टो दयाको भाव जाग्न थाल्यो। उसको मलिन अनुहार सम्झेर पीडा बोध हुँदै गयो। तै पनि इन्गेजमेन्टको औँठी मलाई निकै गह्रौ अनुभव भयो, निकालेर ब्याकतिर हुत्याएँ।

बुबालाई के मनमा आयो, भोलिपल्ट परिचित एकजना मानसिक रेागको डाक्टरलाई भेटेर सवै विवरण सुनाउनु भएछ। उनले पनि ‘उसलाई एकपटक ल्याउन सक्नुहुन्छ भने म केही भन्न सक्छु भनेछन्।

उ सजिलै किन जान्थ्यो? दीपको बुबाले, ‘तँ रातभरी निन्द्रामै कराएर, तर्सिने, झस्किने गरिरहेको छस्। अरुको समेत निन्द्रा खलबल भइरहेको छ', भन्दै अनेक बहनाबाजी गरेर चावेलको एक अस्पतालमा लानुभएछ। बुबा पनि त्यही बेला पुग्नु भयो। डाक्टरले विवाह र पर्सनल लाइफवारे धेरै कुरा सोध्न थालेपछि दीप निकै एग्रेसिव भएर कराउँदै ‘तिमीहरु सवै मेरो शत्रु हौ, मलाई मायाँ गर्ने केटीसँग विहे गर्न नदिन लागेका छौ..........' भन्न थालेछ। त्यहीवेला डाक्टरले झ्यापझुप पारेर सुई लगाएछन्। वेहोसीमै उसलाई अस्पतालमा भर्ना गरिएछ। १५ दिनसम्म उसलाई भेट्न कोही गएन भनेको सुन्दा मलाई झन छटपट हुनथाल्यो। शून्यतामा पुगेको उप्रतिको मायाँ विस्तारिदै झांगिदै आयो, उसलाई भेट्न जानपाए पनि हुन्थ्यो भन्ने भयो।

एक महिना जति भए पछि डाक्टरले ‘उ लगभग ठीक छ, पन्ध्र दिन थप वसेर घरमै औषधि खाए हुन्छ' भनेछन्। उताबाट पनि दुई महिना पछि साइत हेरेर दीप र मेरो विवाह गर्ने प्रस्ताव आएको सुनेँ। दीप मसँग भेट्न निकै हतारिएको खवर सुने पछि मेरो मन निकै तुलबुलतुलबुल भयो। तर बुबाले भेट्न जान पर्दैन, भन्नु भयो। बुबाले ममीतिर हेर्दै के अव त्यही केटासँग मधुको विहे गर्न जरुरी छ र? भन्नु भयो। म झसङ्ग भएँ। ममीले ‘इन्गेजमेन्ट नै भइसक्यो अव के गर्ने त?' भन्नुभयो।

म एक दिन दिउँसोतिर कसैलाई नभनी अस्पताल गएँ, उसलाई अस्पतालको बन्द कोठामा भर्ना गरिएको रहेछ। देख्नासाथै छटपटिदै निन्याउरो पाराले मलाई हेरिरह्यो। भित्र देखि मन हुँडलिएर आयो। एकपटक उसको गाला सुमसुम्याउन पाए नि हुन्थ्यो जस्तो भयो। तै पनि म नदेखेजस्तो गर्दै बाहिरै बसेर दिदिलाई फोन गरेँ। उसले ‘भेट न एकपटक के भन्दो रहेछ' भनी। भित्र पस्नासाथ उ निकै भावुक बनेर मेरो छेउमा आएर हात समायो, मैले दंग्याउँदै हात तानेँ र ‘त्यही डाइरेक्टरलाई समाउन जाऊ न' भनेँ। उसले साह्रै लज्जित भाव देखाउँदै भन्यो, ‘वास्तवमा मैले किन त्यसो भनेँ मलाई नै थाह छैन, म अव कहिल्यै त्यसो गर्ने छैन मलाई माफ गर हामी छिट्टै विवाह गर्नुपर्छ' भन्यो। मनभित्र एकातिर खुसी उम्लिदै थियो भने अर्कोतिर आशंकाको बादल पनि हटिसकेको थिएन।

मैले डाक्टरलाई भेटेर आफ्नो व्यथा पोख्दै जिज्ञासा राखेँ। डाक्टरले भने, ‘दिपेनलाई विशेष किसिमको साइकोसिस भएको हो। यस्तो समस्यामा व्यक्तिलाई कुनै एक कुरामा भ्रम हुन्छ र उ त्यसैमा अड्डी कस्न थाल्छ। तर उसका अरु सवै बानी व्यहोरा, कामकारवाही ठीक अवस्थामा हुन्छन्। केही समय औषधि खाए पछि ठीक हुन्छ...............।'

म अस्पताल आएको थाहा पाएर दीपको बुबा ममी पनि आउनु भएछ। मैले ब्यागमा रहेको इन्गेजमेन्टको औँठी निकालेर रुँदै दीपको हातमा थमाएँ। उसले छक्क परेर पालैपालो हाम्रो मुखमा हेर्यो अनि मेरो हात तानेर औंठी लगाइदियो। हुनेवाल सासुले गम्लङ्ग अंगालो मार्नुभयो।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट