जलवायु परिवर्तन र अनुकूलन रणनीति बिषयक एक अर्न्तराष्ट्रिय सम्मेलनमा भएको “आग्रह” र “सहमति” बीचको भेट दुईचार पटकको त्यस्तै राष्ट्रिय, अर्न्तराष्ट्रिय सम्मेलन र गोष्ठीपछि अनौपचारिक र निजी बन्दै जान्छ। आग्रह यूवा उद्योगपति जो साना ठूला गरी झण्डै पन्ध्र उद्योगका मालिक अनि सहमति जलवायु परिवर्तन मै विद्यावारधी हाँसिल गरेकी यूवा बैज्ञानिक।
यी दुवै फरक पृष्ठभूमिका तर नेपाली समाजका सफल अनि प्रतिष्ठित यूवाहरु। बलिष्ट अनि आकर्षक आग्रहका हरेक आचरण र स्वभाव पनि कुनै कथाको पात्र जस्तै असल छन् भने विद्या र रुपकी धनी सहमति पनि उस्तै सुसंस्कृत र आदर्श पनि। संयोगको त्थो भेट योजनाबद्ध बन्दै परिपक्क मायामा परिणत हुन्छ र एकदिन वैवाहिक सम्बन्धमा पनि।
साच्चै उदाहरणीय छ, यी सफल व्यक्तित्वका दाम्पत्य जीवन। पारस्परिक प्रेम, समझ्दारी, सम्मान अनि इमानदारिता कुनै घोषित आचारसंहिता भन्दा पनि मजबुत र चरितार्थ छ यी दम्पतीका जीवनमा। यीनका सुखद सम्बन्धप्रति हरेक दम्पतीले ईष्या नै गर्ने गर्छन। पेशागत हिसावले असाध्यै व्यवसायीक र व्यस्त यी जोडी एकअर्का र परिवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार छन्। बिबाहपछि आग्रह चहान्थ्यो सहमतिले उसका केही उद्योग सम्हाली दियोस्। तर सहमतिले आफ्नै विज्ञता र बलवुथाले आफ्नो फरक पहिचान बनाउने बिचार व्यक्त गरेपछि आग्रहले उच्च सम्मानका साथ सधैं सहयोग र समर्थन दिदै जान्छ।
त्यसपछि सहमतिले एक प्रतिष्ठित अन्तराष्ट्रिय गैरसरकारी संस्थामा एकपछि अर्को सफलता हासिल गर्दै जान्छे। उता आग्रह पनि केही नयाँ उद्योगहरु थप्न सफल हुन्छ। अरु अफिसपछि अनेक बहाना गरेर घर बाहिर भुल्ने गर्छन तर यी जोडी भने घर परिवारसंग समय बिताउन साथीसंगीबाट अनेक बहाना गरेर उम्कने गर्छन।
आवधिक मधुमास मनाउन देश बिदेश चाहरिरहने यो जोडीलाई दुई वर्षपछि एउटा पुत्रलाभ हुन्छ। घरभरी खुशीयाली छाउछ र ठूलै उत्सव सम्पन्न हुन्छ। सहमतिलाई अफिसले दुई महिना भन्दा बढि छुट्टी नदिने भएकोले छोराको लागि जागिर छोड्ने निधो गर्छे। स्याहर्नेको कमि त थिएन तर पनि छोराको हेरचाहको लागि विशेष तालिम प्राप्त महिला राखिदिने बताउदै आग्रहले जागिर नछोड्न सुझाउछ। तर सहमति छोराको लागि डेढवर्ष पुरै कन्सल्टेस्सी गरेर घरमै बस्छे।
एक दिन उसको फोनमा एउटा अपरिचित नम्बरबाट फोन आउछ। फोन उठाउदा ”हेलो सहमति चिनिस् मलाई” भन्ने परिचित आवाज सुनिन्छ तर ठमम्याउन नसकेर अलमल पर्छे सहमति। “चिन्ने कोसिस गर न, कस्तो आफ्नो वेष्ट फ्रेण्डलाई पनि भुलेकी?” यस्तै केही संबादपछि सहज हुन्छ सहमतिलाई त्यो आवाज ठमम्याउन र भन्छे “जाश्मिन होइन? कहाँ भुल्न सक्छु र तलाई यार”। उसको आवाजमा भएको पृथक मिठासताले उसंग एक पटक बोल्ने जो कोहीले विरलै विर्सन्छ जाश्मिनलाई। त्यहाँमाथि पनि यी दुई त स्कूलदेखिका सहपाठी। “कहिले आइस अमेरीकाबाट?, के छ तेरो हालखबर अनि कति बस्छेस नेपाल?“ जस्ता प्रश्नका ओहिरो लगाउंछे सहमति एकै सासमा। कति होइन् अव म नेपाल नै बस्ने गरी आएकी, बरु मलाई तेरो सहयोग चाहिएर फोन गरेकी। जाश्मिनले कुरा सक्न नपाउदै सहमति भन्छे “भन्न के सहयोग चाहियो? तेरो लागि त यो ज्यान सधैं हाजिर छ नी”। त्यसपछि जाश्मिनले आफू एक अमेरिकी गैरसरकारी संस्थाको नेपालस्थित कार्यालयमा प्रमुख भएर आएको र आफ्नो संस्थामा सहमतिलाई सेकेण्ड म्यान भएर काम सम्हाल्न आग्रह गर्छे। उसको त्यो आग्रहले धर्मसंकटमा पर्छे छोराको लागि अझै केही समय कुनै जागिर नखाने सोच बनाएकी सहमति। तर आफ्नो वेष्ट फ्रेण्डलाई निरास बनाउन पनि सक्दिन र आफ्ना सबै बृत्तान्त सुनाउदै श्रीमान्संग सल्लाह गरेर जवाफ दिन्छु भन्छे। तर जाश्मिन भन्छे “के कुरा गरेकी तैले आफ्नो करियरको निर्णय तँ आफैले नगरेर श्रीमान्लाई सुम्पने?
तँ जस्तो शिक्षित र सक्षम नारीको त यो हाल छ नेपालमा अनि अरु आम महिलाको के कुरा गर्नु”? सल्लाह र निर्णय फरक कुरा हो। गर्न त आजसम्म मेरो निर्णयमा आग्रहले बिमति राखेकै छैन् तर पनि श्रीमान्संग सल्लाह गर्दैमा के बिग्रन्छ र यार? त्यसरी आफ्ना एक्सटि्रम एण्ड र्याडिकल फेमिनिष्ट प्रस्पेक्टिभबाट नसोच न हाम्रो सम्बन्धलाई। ल ल ठिक छ खवर चाहीं अलि छिटै नै गर ल। भन्दै फोन राख्छे जाश्मिन र सहमतिले उसलाई डिनरको निम्तोसम्म दिन भ्याउदिन। छोरो डेढवर्षको भइसकेकोले सहमतिलाई जाश्मिनको अफर ठिकै जस्तो लाग्छ र साँझ आग्रहले पनि खुशीसाथ सहमति जनाउछ। हुन त जागिर छोड्ने निर्णय पनि त सहमति कै थियो।
एक साँझ जाश्मिन र केही अन्य सहपाठीहरु श्रीमान् सहित आमन्त्रित थिए सहमतिको घरमा। आग्रह पनि समय मै घर पुग्छ। श्रीमान्संग सबैको परिचय गराउँदै आफू पुन जागिर सुरु गर्ने निर्णय सुनाउँछे सहमति। सहमतिको निर्णय सुनेर जाश्मिन अझै हर्षित हुन्छे। बिशेष जाश्मिन कै नेपाल फिर्तीको अवरसमा राखिएको त्यो भेटघाट वर्षौंपछिको आपसी पुर्नमिलनले सबैमा बेग्लै खुशी छाएको छ। खानपान सुरु हुन्छ। वाइनको चुस्कीसंगै कहिले पुराना दिनहरु सम्झेर नोष्टाल्जिक बन्छन्, त कहिले उल्फट्याङ सम्झेर पेट मिचीमिची हास्छन् सबै। साँझ ढल्दै जान्छ, बोत्तल रित्तिदै जान्छ अनि सबै मातिदै पनि।
अरु सबै जोडी नशाको गर्मीले गर्माउदै छन् तर आग्रह र सहमति भने जुस पिएर स्वरमा स्वर मिलाइरहेका छन्। अचानक हाँसोको फोहोरा छुटिरहेको जाश्मिनको अनुहार आक्रोस र आबेसले रक्तिम बन्छ। उसको आवाजको भोलुम बढ्न थाल्छ र उ पुरुषप्रति आगो ओकल्दै नारी बिरुद्धका समग्र पीडा, हिंसा र असमानताको कारक श्रीप पु्रुष हो, श्रीप पुरुष भन्दै नारी स्वतन्त्रता र अस्मिताको लुटेरा पुरुषलाई अव नारीले तह लगाउनु पर्छ भन्न थाल्छे। सबै एकछिन् अवाक बन्छन् र उसको बेहोसीको अशिष्टताप्रति खासै गम्भिर बन्दैनन्। अरुको मौनतापछि जाश्मिन झनझन कुर्लिन थाल्छे। नेपाली र अमेरिकी गरी दुईवटा श्रीमान्संग पारपाचुके गरिसकेकी जाश्मिन घरी आफ्ना विगत सम्झेर बर्बराउछे त घरी अब सहेर बस्ने होइन नारीले, यो संसार नारीले हाँकेर पुरुषलाई दास बनाउनु पर्छ भन्दै झनझन आक्रोस पोखेर बहुलाउंदै भाँढभैलो गर्छे। केही ग्लास र वोतल पनि भुईंमा झरेर फुट्छन्।
रमाइलो माहोल खल्लो बन्दै जान्छ तर उ झनझन पुरुषप्रतिको प्रतिशोधपूर्ण विचार पोख्दै गौतम बुद्ध पनि नारी हिंसक हो, गैरजिम्मेवार पति अनि पिता हो। आफ्नो स्वार्थको लागि आफ्ना श्रीमती र छोरालाई त्याग्ने गौतम बुद्ध बिरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्धा चलाउनु पर्ने तर्क पनि गर्न भ्याउछे। उसको नरोकिदो आबेशबाट सबै खिन्न मान्छन्। उ कुर्लदा कुर्लदै त्यहीं सोफा मै ढल्छे। सबै मिलेर उसलाई गेष्ट रुममा सुताउँछन् र कस्तो बोर गरी यसले भन्दै जुठो मुख मात्र गरेर निस्कन्छन् सबै।
सहमतिले अफिस जोइन गर्छे। पुराना हितैषिहरुबीच सहकार्य र कामको तालमेलले संस्थाले निर्धारित लक्ष्य सहजै हाँसिल गर्दै जान्छ र दुबैको निजी बृत्ति बिकासमा पनि उल्लेख्य प्रगति हुन्छ। यिनीहरुबीच आपसी घनिष्टता र आत्मियता पनि झनै मज्बुद बन्दै जान्छ। अफिसको सुरुवाती दिनमा कार्यालय समयपछि सोझै घर आउने सहमतिको आनीबानीमा भने केही परिवर्तन देखिन्छ र साँझ घर आउने समय पनि बद्लिन्छ। कामको बोझले होला भनेर मिलेसम्म आग्रह आफै समयमै घर आएर बच्चालाई समय दिने गर्छ। सहमति र जाश्मिनले धेरै पटक बिदेश यात्रा पनि संगै गर्छन्।
बिस्तारै सप्ताहान्त साँझ मनाउने बहानामा सहमति प्रत्येक शुक्रवार राती ढिलो घर आउन थाल्छे। कहिले त घर आउदा मातिएर पनि आउछे। यसरी सहमतिको प्रगतिसंगै मनमानी पनि बढ्न थाल्छ तर आग्रहले कहिल्यै कुनै प्रश्न गर्दैन।
राम्रै चलिरहेको आग्रहको उद्योग, व्यवसाय राजनीतिक अस्थितरता, नाकाबन्दी, मधेस आन्दोलन, चन्दा आतंक, उर्जा संकट, मज्दुर हरताल जस्ता समस्याले एकाएक धारासायी बन्दै केही बन्द नै हुन्छन्। आग्रहलाई हम्मेहम्मे पर्छ उद्योगलाई पुरानै अवस्थामा फर्काउन। उता सहमतिको जीवनशैलीमा झनझन बद्लाव आउछ। यता कामको शिलशिलामा नचहादा नचहादै पनि नेता, प्रशासक लगायत बिभिन्न पार्टीसंग उठबस गर्न विवस बन्छ आग्रह र उसको पनि घर फर्कने नियमित समयमा तलमाथि हुन थाल्छ। दुबैको माया र रेखदेखको अभावको प्रत्यक्ष असर छोराको मनोबिज्ञान र स्वास्थमा देखिन्छ। तर त्यति धेरै जवाफदेही र सचेत अबिभावकको ध्यान पुग्न सक्दैन छोराको अवस्थाप्रति। विस्तारै असम्झदारी बढ्दै जांदा आपसी कलह र भनाभन समेत सुरु हुन्छ यी दम्पतिबीच।
एक दिन सहमति र जाश्मिन गोष्ठी सकेर नगरकोटबाट फर्कदै थिए, अचानक आग्रहको गाडी क्रस हुन्छ। ट्रफिक जामका कारण विस्तारै बढेको आग्रहको गाडीमा एउटा यूवती पनि हुन्छे। सहमति र जाश्मिन दुबैले देख्छन् ति युवतीलाई पनि तर आग्रह उनीहरुलाई यादै नगरी पास हुन्छ। त्यो केटीको कारण सहमतिको मनमा अनेक कुरा खेल्न थाल्छ।
त्यहाँमाथि जाश्मिनले अनेक अनुमान र अन्दाज गरेर आगोमा घिउ थप्छे र भन्छे खुब भन्ने गर्थिस नि मेरो आग्रह त्यस्तो छैन् भनेर देखिस सबै पुरुष एकै हुन्। फरक यति हो कोही श्रीमतीको अगाडि इमान्दारको ढोङ गर्छन्। यथार्थमा सबै पुरुष बेमानै हुन्छन्। आँखा झिमिक्कै गर्न हुन्न परस्त्रीसंग रंगरलिया मनाइ हाल्छन्। सहमतिको मन भतभत पोल्न थाल्छ।
उसलाई कुदिरहेको गाडीबाटै हाम्फालौं झै हुन्छ। तर जाश्मिनले उसलाई सम्झाएर सत्य के हो पत्ता लगाउन सल्लाह दिनुको साटो पुरुषको खराव चरित्र र आनिबानीको चर्चा गरेर उसलाई आग्रहप्रति झनझन भड्काउछे।
घर पुगेर आग्रहको मोबाइलमा फोन गर्छे तर फोन उठ्दैन। झन उसको मनको शंकाले लंका पिट्छ। फेरी केही बेरमा फोन ट्राइ गर्छे फोन स्विच अफ हुन्छ। त्यसपछि मनमा झन आगो दन्किन्छ र निभाउन बोतल खोलेर पिउन थाल्छे। नशा र पीडाको मिश्रित मातमा जाश्मिनलाई फोन गर्छे।
जाश्मिनले झन उसलाई उस्काउनसम्म उस्काउछे र आगोको गोला भएर बस्छे। रातको १० बजेतीर घर फर्कन्छ आग्रह। कोठामा पस्न नपाइ कहाँ थियो तिमी, कोसंग थियौ तिमी, किन फोन नउठाको, किन स्विच अफ गरेको?प्रश्नै प्रश्न वर्साउछे। आग्रह नम्र भएर के हाल बनाएको यो तिमीले? सम्हाल आफूलाई म नगरकोटमा मिटि∙मा थिएँ, मोबाइल साइलेन्समा थियो पछि फोन धेरै आएर चार्ज नै सक्किएछ। तर किन यसरी आक्रोशित भएकी तिमी? भनेर प्रश्न गर्छ। मलाई बुद्धु सम्झेका छौ? तरुनीसंग रंगरलिया मनाएर बस्ने अनि मलाई मिटि∙ भनेर ढाट्ने? तिमीप्रति कति भरोसा गरेको थिए, कति अभिमान थियो तिम्रो इमान र विश्वासप्रति मलाई तर तिमीले तोड्यौ आज। अफ्नो असलियत देखायौ तिमीले भनेर खनिन थाल्छे। स
हमतिको कुरो सुनेर अवाक बन्छ आग्रह र आफू त्यति ठूलो लाञ्छनाबाट आरोपित भएकोमा असह्य पीडा बोध गर्छ। त्यस्तो केही होइन कसले सुनायो यो सव? भरोसा गर ममाथि आजसम्म मैले तिम्रो विश्वासमा कुनै आंच समेत आउन दिएको छैन् र दिने पनि छैन्। झुट, झुट सव झुट, मलाई कसैले सुनाएको हैन खुद मैल मेरै आँखाले देखेको तिमीले केटी बोकेर नगरकोट गएको। त्यसपछि सम्झाउदै– हो मसंग एकजना केटी थिइ तर मैले आफ्नो लागि लगेको हैन्। उद्योगमन्त्रीसंग मिटिङ थियो र त्यो केटी पनि उसैको लागि लगेको हुँ। विश्वास गर मेरो काम दिनप्रति दिन विग्रदै गएको छ, म त्यसै पनि टेन्स छु, त्यहाँमाथि मलाई यति ठूलो आरोप नलगाउ।
हेर मलाई तिम्रो सहयोग र साथको खाँचो छ यतिखेर, झन यस्तो संगिन आरोप नलगाउ विनासित्तीमा भनेर सम्झाउछ। तर सहमतिले रतिभर विश्वास गर्दिन र झन उमाथि खनिदै उसको कठालो समाउन पुग्छे। त्यसपछि आग्रहले पनि आफ्नो नियन्त्रण गुमाउंछ र सहमतिलाई एक चट्कन लगाइ दिन्छ। सहमति डाँको छोड्दै गाडी लिएर हुइकिन्छे। आग्रह रोक्न जादैथ्यो उता छोरो रुन थाल्छ र छोरोलाई फुलाएर आमाकोमा छोढेर फोन गर्छ सहमतिलाई तर उसले फोन रिसिभ नै गर्दिन। उ पटक–पटक फोन गर्छ तर उसले फोन काटिदिन्छे। आग्रह पनि गाडी लिएर निस्कन्छ।
सहमति सोझै जाश्मिनको घरमा जान्छे र रुदै आफनो सारा घटना सुनाउछे। जाश्मिन भन्न थाल्छे– खुव घमण्ड थियो नि तलाई आफ्नो आग्रहप्रति देखिस कस्ता हुन्छन् लोग्नेमान्छे? ल भो रोयर केही हुदैन, म त यस्ता परिस्थिती भोग्दाभोग्दा पत्थर भइसके, अब तँ पनि आँसुले आफ्नो घाउ सञ्चो पार्ने कोसिस गरेर आफै माथि अन्याय नगर।
बरु इटको जवाफ पत्थरले दिन आफ्नो मन बलियो बना। रुन छाड अनि हिड ठमेलतीर मूड फ्रेस गरौं भनेर निस्कन्छन दुबै। आग्रह केही वेरमा जाश्मिनको घर पुग्छ तर उनीहरु पहिले नै निस्की सकेका हुन्छन्। रातको समयमा कहाँ खोज्ने घर फर्कन्छ आग्रह र निरन्तर फोन गर्छ तर फोन पटक्कै उठाउन्न सहमतिले।
उनीहरु सोझै ठमेलको एउटा डिस्कोको वारमा गएर पिउन थाल्छन्। म्यूजिकको चर्को आवाजले एक अर्काको कुरो बुझ्न सम्भव नभएको वारमा एकपछि अर्को पेग स्वाठ–स्वाठ पार्न थाल्छे सहमति। जाश्मिन पनि साथ दिदै जान्छे। सहमति जति मातिदै जान्छे उसको पिउने रफ्तार झन बढ्दै जान्छ।
उता आग्रह लगायत सवै परिवारका सदस्य चिन्ताले व्याकुल हुन्छन्। भनौ कसलाई भनौ, चुप बसौ केही भई हाल्ने पो हो कि? उ रातभर सुत्न सक्दैन।
बिहान बजारमा सुरु भएको गाडी र मान्छेको हल्लाले मिरमिरे मै सहमतिको आँखा खुल्छ। उ सुतेकै ओछ्यानमा करिव २०–२१ वर्षको कुनै झाडीबाट बिरालोले चिहाएको जस्तो कपाल र अनुहार भएको एउटा सुकेनास केटो नाङ्गै आफ्नो नाडीमा सिरिन्ज घोपिरहेको धमिलो दृश्य विस्तारै छर्लङ् हुन्छ उसलाई।
उसका आँखा खुले पनि उ अझै अर्ध बेहोसी मै हुन्छे। उ यताउति कोठाको सबै दृश्य नियाल्छे, सवै नयाँ र नौलो लाग्छ। उ आत्तिएर जुरुक्क उठ्न खोज्छे र आफू निर्वस्त्र भएको चाल पाउंछे। त्यसपछि बाँकी सबै नशा उत्रिन्छ र जिन्दगीमा ठूलै दुर्घटनाको पीडावोध गर्न थाल्छे। उसको मनमा पश्चातापको डढेलो सल्किन्छ। जाश्मिनलाई फोन गर्न खोज्छे तर उसको सेल फोनको कुनै अत्तोपत्तो हुदैन्।
अब कहाँ जाने, कसो गर्ने बढो अन्यौलमा पर्छे उ। आग्रहको सामु जाने सहास थिएन उसमा, अन्त जादा किन, कसो? तर पनि विवस वनेर उ माइत हानिन्छे। एक विहानै मलिन अनुहार बोकेर छोरी आउँदा आमा, बा सशंकित हुन्छन्। दाजु भाउजू दुवै घर बाहिर हुन्छन्। उसले घटनाको मुख्य अंश लुकाएर अरु सबै कुरा आफ्नी आमालाई सविस्तार सुनाउछे र आफू हिजो राती जश्मिनकोमा बसे भनेर ढाँट्छे। उसकी आमाले आग्रहलाई बोलाएर हप्काउदै सहमतिलाई मानसिक रुपमा गहिरो आघात पुगेकोले एक हप्तापछि मात्र लिन आउन अहर्याछिन्। बिचरा आग्रह सर्हर्ष स्विकार्दै माफी मागेर फर्किन्छ।
माइती बसाइको क्रममा सहमति पटक्कै खुशी हुन सकिन। अरुलाई त ढाटी उसले तर आफूलाई कसरी ढाट्न सक्थी र? एक्लै बस्यो की, उसको मन भतभती पोलेर आउंछ र डाह छाट्पट हुन्छ उसलाई त्यो बाटो बिराएको रातको सम्झनाले। उ निन्द्र न भोककी हुन्छे र दुव्लाउंदै पनि जान्छे। अफिसमा पनि राजिनामा गरिदिन्छे। त्यति हसिली र फरासिली मान्छेमा आएको अनौठो परिवर्तनले दाजुभाउजू पनि आश्चर्यमा पर्छन्। तर जुवाइसंगको झगडाले दुखी भएको होली, ठिक भइहाल्छ भन्ने सोच्छन्। आग्रहले पनि फोन गर्दा सोधेको कुराको मात्र उत्तर दिन्छे ऊ, त्यति धेरै कुरै गर्दिन। र, आग्रहलाई पनि लाग्छ– उ अझै उसंग रिसाएकी छे।
एक हप्ता बित्छ र छोरीलाई घर जाने तयारी गर नानी भनेर सम्भा्कउँछिन उसकी आमा तर उ अर्को एक हप्ता भन्दाभन्दै महिना दिन माइतीमा बिताउँछे। पुरै महिना बितेपछि उसकी आमाले नै भोली साँझ लिन आउंनु, सहमति तयार भएर बस्छे भनेर जुवाइलाई फोन गर्छिन र छोरीलाई सोही अनुसार तयारी गर्न अहर्याउँछिन्। त्यो सुनेर सहमतिको मुहारमा एक्कासी औंसीको रात छाउँछ र अरु बहानाको अभावमा चुपचाप कोठामा पस्छे। भोलिपल्ट साँझ भाउजु र आमा जुवाइ छोरीलाई साँझको खाना यतै खुवाउने तयारीमा जुट्छन्।
सहमति कोठामै बसिरहन्छे। उ तयार हुदै होली भनेर आफ्नै कामधन्दामा व्यस्त हुन्छन् आमा, भाउजू । साँझ हसिलो मुहार लिएर आइपुग्छ आग्रह। भाउजू आग्रहलाई चिया दिएर भान्सामै लाग्छिन निरन्तर। आमा सहमतिको ढोका ढकढक्याउन थाल्छिन्। निकै बेर बोलाउदा पनि ढोका खोल्दिन सहमति, न त कुनै प्रतिउत्तर नै दिन्छे। आमाको मनमा डर र शंका मडारिन थाल्छ र अतालिदै घरका सबैलाई बोलाउछिन्।
दौडादौड गरेर सबै आएर ढोका ढ्याङ ढ्याङ गर्दै जोडजोडले सहमतिलाई बोलाउछन्। तर सहमतिको कुनै चांकचुंक सुनिन्न। आग्रह हड्बडाउदै ढोका फोरौं भन्न थाल्छ। सहमतिको दाजु घरमा भएका औजार ल्याएर ढोका फोर्न थाल्छन्। झण्डै आधा घण्टाको प्रयासपछि बल्लबल्ल ढोका फोर्न सफल हुन्छन्। ढोका खुल्नासाथ रुवाबासी सुरु हुन्छ। सहमतिकी आमा बेहोस भएर भुइमा लड्छिन। बाबा त्यहीं थचक्क बसेर रुन थाल्छन्। भाउजू पनि उसै गरी डाँको छोड्दै सासूलाई सम्हाल्न थाल्छिन्।
दाजु र आग्रह निःशव्द सिलि∙मा पासो लगाएर झुण्डिरहेकी सहमतिलाई हेरेर बरबर आसु खसाल्न थाल्छन्। प्रहरी आएर शवलाई तल झारेर कोठाको सबैतीर खानतलासी गर्छ। कोठामा सुसाइड नोट त होइन सहमतिको एउटा ल्याव रिपोर्ट फेला पर्छ। जुन रिपोर्र्ट हेरेपछि प्रहरीलाई कति नि गाह्रो हुन्न सहमतिको आत्महत्यको कारण अनुमान गर्न किन की सहमतिको रक्त परिक्षणमा एचआइभी–पोजेटिभ देखिएको हुन्छ।