सधैझैं प्रशूति कक्षको अगाडि आज पनि उस्तै भिडभाड थियो। नौ बज्न केही समय बाँकी थियो, प्रशूति वार्डमा हिजो भर्ना भएका बिरामीको अवस्था सरसर्ती हेरेर भ्याएँ।
सवा नौ बजेतिर बिहानको राउण्ड भयो। विरामीहरुको अवस्था हेरेर कसैलाई कुनै औषधि चलाउने, कसैलाई डिस्चार्ज गरेर घर पठाउने, कसैलाई भिडियो एक्स रे पठाउने निर्णय भयो। राउण्ड सकिएपछि म फेरि एकपटक सबै विरामीको फाइल हेर्न थालेँ।
प्रशूति वार्डमा सबैलाई सधै हतार भइरहेको हुन्छ। सुत्केरी भर्ना हुने, बच्चा जन्माउने र अर्को वार्डमा सरिहाल्ने भएर विरामीहरुको आउने जाने भईरहन्छ। पेटमा बच्चा रहेको आमाहरुलाई बच्चा जन्माउनको हतार, बुबाहरुलाई आफ्नो छोराछोरीको हाँसो देख्न हतार भने हजुरआमाहरुलाई नाति नातिनाको अनुहार कोसँग मेल खाने पत्ता लगाउनको हतार।
अनि डाक्टर-नर्सलाई विरामीको अवस्था ठीक भए नभएको जाँचिरहन हतार र कुनै समस्या देखिए वा तुरून्त अपरेसन गर्नुपर्ने भए त्यसको तयारीको हतार।
‘सिस्टर, बेड नम्बर ६ को विरामीको आज फेरि सिन्टो स्टार्ट छ है’ मैले जानकारी गराएँ ।
“हवस्, डाक्टर” उताबाट जवाफ आयो ।
बेड नम्बर ६ को विरामीलाई हिजो बिहान व्यथा बढाउने औसधी सुरु गरेर बेलुका रोकिएको थियो । बिहान जाँच गरेपछि म्याडमले आज फेरि त्यो औसधी सुरु गर्ने भन्नुभएको थियो । म त्यहि बेडतिर लागेँ ।
“दीदी, अहिले कस्तो छ तपाइँलाई ?”
“ठिकै छ”, उहाँले सानो आवाजले मलिनो स्वरमा जवाफ फर्काउनुभयो, “पेट अच्चकाली दुखिरहेको छ ।”
सिक्लेस नजिकैको गुरुङ गाँउबाट आउनुभएको उहाँको अनुहारमा त्यति चमक थिएन । हिजो देखिको पेट दुखाइले उहाँको मुहारको कान्ति हराएको थियो । रगतको कमी भएर होला, अनुहार पनि सेतो थियो ।
प्रसवको दुखाइ हामीलाई अनुभव हुने असह्य दुखाइहरू मध्यको एक हो । नौ महिनासम्म गर्भमा राखेर असह्य पिडापछि जन्म दिएको बच्चाको मुहार देखेपछि हरेक आमाहरु खुसीले भावविह्वल हुन्छन । अघिसम्म झरेको पीडाको आँशु त्यतिबेला खुसीको आँशुमा बदलिन्छ । त्यसैले हरेक आमाहरु महान छन, जसले सृष्टिको यस शास्वत सत्यलाई आदिम कालदेखि सहर्ष शिरोपर गरिरहेका छन् ।
म त्यहि बेड नम्बर ६ को विरामीको फाईल पल्टाएर हिस्ट्री हेर्न थालें । ३५ वर्ष हुनुभएको उहाँको घरमा तीनओटी छोरी रहेछन, पहिलो दश, दोश्रो सात र तेस्रो चार वर्षको ।
घरमा तीनबटा छोरीहरु हुँदाहुँदै फेरि चौथो बच्चा जन्माउन खोज्नु हाम्रो जस्तो समाजमा अझै पनि त्यति अनौठो कुरा भएन । चार वर्षपछि फेरि प्रसव पिडामा जानुभएकी उहाँको मुहारमा एउटा वेग्लै थकान प्रष्ट झल्किन्थ्यो ।
दिउसो खाना खाइओरी फर्किएँ । मेरो आँखा सोझै बेड नम्बर ६ तिर गयो । बेड खाली थियो । विरामीलाई प्रसुती गराउने कोठामा भर्खरै लगिएको रहेछ । हतार हतार म पनि कोठाभित्र छिरें ।
प्रसुति कक्षमा हुने चिच्चाहट र त्यो भिन्दै माहोलसंग म अभ्यस्त हुन थालीसकेको थिएँ । प्रसवको एउटा स्थितिमा पुगेपछि कतिपयले हार मान्छन र अपरेसनमा लैजान अनुनय गर्छन । तर सृष्टिको अनुपम खेल भन्ने कि प्रकृतिको नियम यहि स्थितिलाई चिरेर प्राय नारीहरु अघि बढेका हुन्छन ।
नजिकै उभिरहेको मलाई उनले बेस्सरी समातिन र अन्तिम चोटि बल गरिन ।
“च्याssssssssss…….”
एउटा नयाँ जीवनको सुरुवात भयो । यहि पहिलो सास र अन्तिम सास विचको त्यो उतारचढाव नै त जीन्दगी हो ।
“बधाई छ दीदी” मैले उनीतिर हेर्दै भनें, “अव त सकिहाल्यो नि, अघि त्यसै आत्तिनुभएर”
उनले जवाफ फर्काइनन ।
“के भयो?” उनको प्रश्नले मेरो मन झसङ्ग बनायो ।
मेरो भन्दा पहिल्यै उनको आँखा हिटरको न्यानोमा रोइरहेको बच्चातिर गइसकेको थियो ।
“बधाई छ दिदि, तपाइको छोरी भएको छ” उताबाट सिस्टरको आवाज आयो ।
यो वाक्यभन्दा पहिले नै उनले त्यो सत्य थाहा पाइसकेकी थिइन् । कुनै प्रतिक्रिया नजनाई उनि उता फर्केर आँखा टिलपिल पार्न थालिन ।
म अवाक भएँ । प्रसुति कक्षमा रहेका हामी सबै चुप भयौं । आफूजस्तै अर्को छोरीलाई जन्म दिँदा कुनै आमा यतिसम्म दुखी भएको पहिलोपल्ट देख्दैथिएँ ।
हामी त्यहाँ रहेका सबैले उनलाई सम्झाउन लाग्यौं । तर उनि आँखाबाट आँशु झार्दै रुन थालिन् । त्यो खुसीको आँशु थिएन । नौ महिना सम्म आफूभित्र रहेर भर्खरै संसार देखेको आफ्नै छोरीसंग उनि खुसी हुन सकिनन् । समाज र परिवारको बन्धनले बाधिएकी उनको यो बाध्यता थियो वा आफ्नै कुनै रहर, मैले ठम्याउन सकिन ।
म भाउन्न भएर बाहिर निस्किएँ । बाहिर कुरिरहेका उनको श्रीमान र सासुले एकै सासमा सोधे, “ डाक्टरसाब, के भयो?”
म अचम्मित भएँ । आमा र बच्चाको स्थिति भन्दा पनि छोरा वा छोरी के भयो भनेर चिन्तित रहेका उनीहरुलाई फर्काउने जवाफ मसंग केहि थिएन ।
“आमा र बच्चा दुबैलाई ठिक छ, छोरा वा छोरी हुनु अहिलेको महत्वपूर्ण कुरा हैन”
यति भनेर म प्रसुति कक्षबाट बाहिर निस्किएँ ।
बाहिर निस्कदै गर्दा मनमा धेरै कुरा खेल्न थाल्यो । जीन्दगीको पहिलो सासमै आफ्नै परिवारबाट तिरस्कृत ति छोरीको भविष्य के होला । अझै पनि समाजमा छोरा र छोरीबीच रहेको त्यो सामजिक कुरीतिको पर्खाल भत्काउन उनले जीवनमा कति संघर्स गर्नुपर्ला ।
पोखरा जस्तो शहरको अस्पतालमा त यस्ता घटना देखिन्छन भने दुरदराजका गाउँमा स्थिति कस्तो होला । कति छोरीहरुको जीन्दगी भर्खर मुटुको धड्कन सुरु नहुदै गर्भमै अन्त्य हुन्छ होला ।
आफ्नो रोग देखाउन र जाँच गराउन महिला डाक्टर खोज्ने नारी जातिले जन्मिने छोरीको अस्तित्व स्वीकार गर्न अझै कति समय लाग्ला ?
यी यस्तै कुराहरु लामो समयसम्म मनमा खेल्दै रह्यो ।
Twitter: @puruad
(लेखक गण्डकी मेडिकल कजेल पोखरामा इन्टर्नसिप गर्दैछन। )