(अँग्रेजी साहित्यकार जेफरी आर्चर को कथा सँग्रह ‘ए ट्वीस्ट इन द टेल’ मा सँग्रहित कथा ‘ल्कीन स्वीप इग्नसियस’ को भावानुवाद)
इग्नसियस अगर्बी नाइजेरियाको अर्थमन्त्रीमा नियुक्त हुँदा थोरै मानिसहरुले मात्र त्यसमा चासो देखाएका थिए । बिगत सत्र बर्षमा सत्रजना अर्थमन्त्री नियुक्त भइसकेका हुनाले आलोचकहरु लाई पनि कुरा काट्न सजिलो भएको थियो । सँसदमा मन्त्रीजीले दिएको पहिलो नीतिगत भाषणमा उनले देशमा ब्याप्त घूसखोरी तथा भ्रष्टाचारको अन्त्य गर्ने प्रतिज्ञा गरे । यसको साथै उनले सार्वजनिक पदमा बहाल कसैले पनि यदि स्वच्छ छवि कायम गर्न नसकेमा उनीहरुले आफूलाई सुरक्षित छु भन्ने नठाने हुन्छ भनेर चेतावनी समेत दिए । आफ्नो भाषणको अन्त्यमा उनले भने, “म यस देशमा रहेको कुडा-कर्कट सफा गर्न चाहन्छु ।”
मन्त्रीजीको भाषण निकै प्रभावकारी भएता पनि यस बिषयले देशका कुनै पनि दैनिक अखबारहरुमा स्थान पाउन सकेन । शायद यस अघीका सोह्रजना मन्त्रीहरुको भाषणको पुरा पाठ प्रकाशित गरिसकेका अखबारका सम्पादकहरुले सोचे होलान् कि पाठकवर्गले यसप्रकारका भाषणहरु धेरै सुनेकोले यसप्रति उनीहरुले कुनै चासो लिने छैनन् । आफ्नो भाषणलाई कुनै महत्व नदिएको भएता पनि मन्त्रीजीले कुनै दुःख मानेनन् । आफ्नो नयाँ काम सम्पन्न गर्न थप जाँगरका साथ लागि परे ।
आफू मन्त्री भएको केही दिनमै उनले आफ्नो मन्त्रायल अन्तर्गतको विभागका एकजना साधारण कर्मचारीलाई दाल चामल आयात सम्बन्धी नक्कली कागजात बनाउन सघाएको आरोपमा जेल चलान गरे । त्यसपछि उनले नाम चलेका एकजना विदेशि व्यापारीलाई कारवाही गर्न प्रकृया अगाडि बढाए । यी व्यापारी अध्यागमन नियमको उलँघन गरी देशबाट बाहिर गएका थिए ।
एक महिना पछि उनले प्रहरी महानिरीक्षकलाई घुस लिएको आरोपमा गिरफ्तार गर्न लगाए । यो सामान्य घटना थिएन । यसबाट मन्त्रीजी लाई सरकार विरुद्ध विद्रोह गरेको आरोप पनि लाग्न सक्थ्यो ।
जब चार महिना पछि प्रहरी महानिरीक्षकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइयो उनको यस कदमले देशको सबैभन्दा ठूलो दैनिक पत्रिकाको मुखपृष्ठमा स्थान पायो । एकजना ठूलै नेताले उनलाई “स्वच्छ छवी मन्त्री” को उपाधि दिँदै “नयाँ अवतार जो सँग सबै भ्रष्टहरु थर थर हुन्छन्” भनेर मध्यपृष्ठमा सम्बोधन गरेको समेत पाइयो ।
त्यसपछिका धमाधम गिरफ्तारीले उनको “स्वच्छ छवि” दिन प्रतिदिन लोकप्रिय हुँदै गयो । ‘स्वच्छ छवि भएका अर्थमन्त्रीले आफ्ना प्रधानमन्त्री समेतलाई अनुसन्धानको दायरा भित्र ल्याएका छन्’ भन्ने जस्ता हल्ला समेत बजारमा चल्न थाले ।
अब मन्त्रीजी आँफैले एक अर्ब भन्दा माथिका सबै बिदेशि ठेक्काको चेकजाँच गर्ने र स्वीकृती दिने सम्मको काम गर्न थाले । उनका सबै निर्णयहरु र अन्य काम कारवाहीहरुमा विपक्षीहरुले गहिरो चासो नराखेका हैनन् तर उनीहरुले मन्त्रीजीबाट कुनै अनियमित कार्य भएको फेला पार्न सकेका थिएनन् ।
जब मन्त्रीजीको कार्यकालको दोस्रो बर्ष शुरु भयो तब उनका कुरा काट्नेहरुले समेत उनको यस कामको सह्राना गर्न थालिसकेका थिए । उनको चर्चा चुलिँदै थियो । यही समयमा प्रधान मन्त्रीले उनलाई एउटा गोप्य सल्लाहका लागि बोलाए ।
प्रधानमन्त्रीले उनलाई आफ्नो गोप्य बैठक कक्षमा लगे र एउटा आराम कुर्सीमा बस्न भने ।
प्रधानमन्त्रीले भने, “मिनिष्टर, अहिले पनि देशको राजस्वबाट करोडौँको रकम बिदेशि कम्पनीहरुका बिचौलियाहरुलाई घुस दिँदैमा सकिन्छ भनेर तिमीले बजेट रिपोर्टमा लेखेको कुरा पढेर चिन्तित भएँ । यो रकम कस्को पकेटमा जान्छ भन्ने कुनै अनुमान लगाउन सक्छौ ? मलाई यही कुरा बुझ्नु छ ।”
प्रधानमन्त्रीका कुरा सुनेपछि मन्त्री आफ्नो कुर्सीमा सीधा भएर बसे । उनका आँखाले प्रधानमन्त्रीलाई निरन्तर हेरिरहेका थिए ।
उनले भने, “प्रधानमन्त्री ज्यू, यो कुरो मैले अहिलै प्रमाणित त गर्न सक्दिन तर राजस्वको ठूलो हिस्सा स्वीस बैँकका निजी खातामा जम्मा भएको छ कि भनेर मलाई शँका लागेको छ।”
प्रधानमन्त्रीले भने, “त्यसो हो भने मैले तिमीलाई के के थप अधिकार दिनु पर्छ भन अनि यस्ता खलनायकहरुको नकाब उतार्न के के गर्नु पर्छ गर । तिम्रो पहिलो अनुसन्धान मेरो क्याविनेट का पहिलेका र अहिलेका सबै सदस्यहरुबाट शुरु गर । चाहे तिनीहरु कुनै पनि पदका होउन् वा तिनीहरुको पहुँच जहाँसम्म पनि होस्, तिमी कसैसँग डराउनु पर्दैन, तिमीले कसैलाई ‘फेभर’ गर्नु पनि पर्दैन।”
मन्त्रीले भने, “प्रधानमन्त्री ज्यू, यति ठूलो कामको सफलताको लागि हजुरले मलाई असाधारण अधिकार भएको एउटा पत्र दिनु पर्छ……..।”
प्रधानमन्त्रीले बीचैमा भने, “त्यसो हो भने आज बेलुकि छ बजे भित्रमा त्यस्तो पत्र तिम्रो हातमा आइपुग्नेछ ।”
मन्त्रीले भने, “म जुन जुन देशको भ्रमण गर्छु त्यस देशको सर्वाधिकार सम्पन्न राजदूतको अधिकार पनि चाहिन्छ प्रधानमन्त्री ज्यू ।”
“अवश्य पाउने छौ ।”
भेटघाट सकिएको अनुमान गर्दै मन्त्रीले कुर्सीबाट उठ्दै भने, “धन्यवाद प्रधान मन्त्रीज्यू ।”
दुवैजना बाहिर निस्कने ढोका तर्फ जाँदै थिए प्रधान मन्त्रीले भने, “तिमीलाई यो पनि चाहिन सक्छ किनकि अहिले तिमीले पनि मेरा जत्तिनै शत्रु कमाइ सकेका छौ।”
यति भन्दै प्रधान मन्त्रीले मन्त्रीजी लाई एउटा स्वचालित पेस्तोल दिए ।
डराउँदै डराउँदै मन्त्रीले त्यो पेस्तोल हातमा लिए, जतन साथ त्यसलाई आफ्नो पकेटमा राखे अनि प्रधानमन्त्रीलाई पुनः धन्यवाद दिए ।
मन्त्रीजी त्यहाँबाट सोझै अर्थ मन्त्रालय तर्फ लागे । राष्ट्र बैँकका गभर्नरको जानकारी बिना र कुनै पनि सरकारी कर्मचारीहरुको रोकावट बिना मन्त्रीले आफ्नो काम शुरु गरे । उनले रातभर एक्लै बसेर विभिन्न बिषयहरुमा अनुसन्धान गर्थे तर कार्यालय समयमा कसैसँग पनि त्यस बारेमा छलफल गर्दैनथे ।
तीन महिना पछि मन्त्रीजी एउटा ठूलो कारवाहीका लागि तयार भए । उनले कसैलाई पनि थाहा नदिइ एउटा विदेश भ्रमणको कार्यक्रम बनाए । यसबेला सबै जना छुट्टीमा बस्ने भएकोले उनको अनुपस्थितीको त्यति टिका टिप्पणी हुने कुरो पनि थिएन ।
उनले आफ्नो लागि, श्रीमतीका लागि तथा आफ्ना दुइ छोराछोरीहरु समेतका लागि ओर्ल्यान्डो भ्रमणको हवाइ टिकट बुक गर्न आफ्नो निजी सचिवलाई अह्राए । यस भ्रमणको सम्पूर्ण खर्च उनको निजी बैँक खाताबाट मात्र गर्नुपर्ने कुरा पनि निजी सचिवलाई अह्राए ।
ल्फोरिडा पुगेपछि उनीहरु त्यहाँको एउटा स्थानीय मेरियट होटलमा मा बास बसे । त्यसपछि मन्त्रीजीले आफू केही दिन ब्यापारको सिलसिलामा न्यूयोर्क जानुपर्ने र त्यहाँबाट फर्केपछि बाँकी दिन परिवारका साथ रहेर छुट्टी मनाउने कुरा आफ्नी श्रीमतीसँग भने । आफ्नो परिवारलाई उनले यस्को कुनै कारण चाँही बताएनन् ।
भोलिपल्ट बिहानै मन्त्रीजी ले आफ्नो परिवारलाई डिस्नी वर्डमा छोडे अनि आफू चाहीँ न्यूयोर्क का लागि उडे । न्यूयोर्क पुगेपछि एउटा ट्याक्सीमा ‘ला गार्डिया’ बाट केनेडी सम्मको छोटो यात्रा गरे । त्यहाँ पुगेपछि कपडा फेरे अनि नगद पैसा तिरेर स्वीस एअर को ‘टु वे’ टिकट काटे । कसैले पनि थाहा नपाउने गरी मन्त्रीजी जेनेभा का लागि उडे ।
स्वीजरलेण्ड को राजधानी पुगेपछि मन्त्रीजी ले एउटा साधारण होटल ‘बुक’ गरे । त्यहाँ उनी करीब आठ घण्टा सुते । भोलिपल्ट बिहानको नास्ता पछि उनले आफ्नो देशमा रहँदा सूचिकृत गरेका स्वीजरलेण्डका केही बैँकहरु को बारेमा अध्ययन गरे । यी बैँकहरुको नाम उनको हृदयमै लेखिएको थियो।
मन्त्रीजी ले आफु बसेको होटलको बेडरुमबाट देखिने एउटा बैँकबाट पहिलो शुरुवात गर्ने बिचार गरे । बैँकको टेलिफोन नम्बर चेक गरे पछि उक्त बैँकमा कल गरे । बैँक मेनेजरले उनलाई बाह्र बजे भेट्न सक्ने कुरा बतायो ।
साथमा एउटा पुरानो ब्रीफकेश मात्र लिएर मन्त्रीजी मेनेजरले दिएको समय भन्दा केही पहिले बैँकमा पुगे । सेतो सर्ट, टाइ र कालो सुट लगाएको एकजना युवक उनलाई पर्खिरहेको थियो । उसले मन्त्रीजी लाई स्वागत गर्यो । उसले आफूलाई बैँक मेनेजरको निजी सहायक भनेर परिचय दियो । त्यस युवकले मन्त्रीजीलाई नजिकैको लिफ्टमा लिएर गयो । मेनेजरको अफिस रहेको एघारौँ तल्लामा पुग्दासम्म पनि दुवैजना एक अर्कासँग बोलेका थिएनन् । युवकले मेनेजरको अफिसको ढोका विस्तारै ढकढकायो । मेनेजरले भित्र आउन भने । दुवैजना मेनेजरको अफिस भित्र पसे ।
“म नाइजेरियाको अर्थ मन्त्री, सर”, मन्त्रीजी ले आफ्नो परिचय दिँदै भने ।
मेनेजर आफ्नो कुर्सीबाट उठेर उनको स्वागत गर्न केही अगाडि आए । मन्त्रीजी लाई अहिले आएर थाहा भयो कि उनले पनि मेनेजरको निजी सहायकले जस्तै सेतो सर्ट, टाइ र कालो कोट नै लगाएका थिए ।
“गुड मर्निङ मिनिस्टर, वोन्ट यु ह्याभ ए सीट ?” मेनेजरले उनलाई वरिपरी आराम कुर्सीहरु भएको एउटा सीसाको टेबल तर्फ प्रस्थान गर्न अनुरोध गर्दै भने ।
“मैले हामी दुवैजनाको लागि कफी मगाएको छु, तपाईँ कफी त लिनु हुन्छ नी?”, मेनेजरले सोधे ।
मन्त्रीजी ले ‘हुन्छ’ भन्ने हिसाबले टाउको हल्लाए, त्यो पुरानो ब्रीफकेस कुर्सीको छेउमा भूँइमा राखे अनि छेउको ठूलो सीसाको झ्यालबाट एकफेर बाहिर चिहाए । बैँकको बगैँचामा रहेको पानीको फोहराको बर्णन गर्दै उनले कुरा शुरु गरे । यतिकैमा एकजना केटीले उनीहरुका लागि कफी लिएर आई । उसले तीनै जनालाई कफी सर्भ गरेर बाहिर गई ।
कफी सर्भ गर्ने केटी बाहिरिए पछि मन्त्रीजीले आफ्नो कुरा शुरु गरे ।
“हाम्रो देशका प्रधानमन्त्री ज्यू ले मलाई तपाइको बैँकमा अलि अप्ठेरो काममा सहयोगका लागि अनुरोध गर्न पठाउनु भएको हो”, उनले कुराको शुरुवात यसरी गरे ।
मन्त्रीजीको यस भनाइबाट मेनेजर तथा उनको निजी सहायकको अनुहारमा कुनै प्रकारको परिवर्तन देखा परेन ।
“वहाँले मलाई तपाइको बैकमा रहेका हाम्रो देशका ब्यक्तिहरुको बैँक खाताको बारेमा अनुसन्धान गर्न खटाउनु भएको हो”, कुरा प्रष्ट पार्दै उनले भने ।
यो कुरा सुनेपछि मेनेजरले भने, “ माफ गर्नुहोला, मलाई यस्तो कुरा भन्ने अधिकार छैन… ।”
मेनेजरका कुरा नसकिँदै आफ्ना हातको पन्जा उठाउँदै मन्त्रीजीले बीचमै भने, “मेनेजर सा’ब मलाई मेरो कुरा पुरा गर्न दिनुस् । पहिलो कुरा त म आफ्नो देशको प्रधानमन्त्रीबाट पूर्ण अधिकार लिएर आएको छु ।”
यति भन्दै उनले गर्वका साथ आफ्नो भित्री पकेटबाट एउटा खाम बाहिर निकालेर मेनेजरलाई दिए । मेनेजरले खाम भित्रको पत्र निकाले र ध्यानपूर्वक पढे । पत्र पढिसकेपछि मेनेजरले आफ्नो गला सफा गर्दै भने, “तर मन्त्रीज्यू, हाम्रो देशमा यस पत्रको कुनै बैधानिकता छैन ।”
उनले त्यस पत्रलाई पुनः खाम भित्र राखेर मन्त्रीजीलाई फिर्ता दिए र भने, “यस कुरामा मलाई रत्तिभर पनि शँका छैन कि एक मन्त्री तथा राजदूतको नाताले तपाईँका प्रधानमन्त्रीको तपाईँ प्रति पूर्ण विश्वास छ तर यस्ता कुराहरुमा गोपनियता सम्बन्धी हाम्रो बैँकको नियममा कुनै परिवर्तन हुन सक्दैन । हामी ग्राहकहरुको अनुमति बेगर उनीहरुको बारेमा कुनैपनि जानकारी कसैलाई पनि उपलब्ध गराउन सक्दैनौँ । माफ गर्नुहोला मन्त्रीज्यू, यस बिषयमा मैले तपाईँलाई कुनै सहयोग गर्न सक्दिन । बैँकका नियमहरु यही हुन र यही रहनेछन् ।”
कुराको बीट मार्दै मेनेजर आफ्नो स्थानबाट उठे तर उनले स्वच्छ छवीका ती मन्त्रीलाई चिनेकै थिएनन् ।
मन्त्रीजीले गम्भीर हुँदै भने, “सुन्नुस मेनेजर सा’ब, हाम्रा प्रधानमन्त्रीज्यूले हाम्रो देश र स्वीजरलेण्डका बीच भविष्यमा हुने सबै आर्थिक कारोबारहरु तपाईको बैँक मार्फत होस् भन्ने चाहना राख्नु भएको छ । मेरो भ्रमणको अर्को उद्देश्य त्यही सम्बन्धी छलफल गर्नु पनि हो।”
“तपाईले हामी प्रति देखाउनु भएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु । तर मन्त्रीज्यू हजुरले बुझ्नु भएकै होला कि यसले हाम्रा ग्राहकहरुको गोपनियता सम्बन्धमा बैँकका नियमहरुमा कुनै परिवर्तन सम्भव छैन”, मेनेजरले भने ।
मेनेजरका कुरा सुनेर पनि मन्त्रीजी विचलित भएनन् ।
“त्यसो हो भने मेनेजर सा’ब, तपाईको बैँकले हाम्रा मानिसहरुको बारेमा सूचना नदिएर हामीलाई असहयोग गरेको भनेर स्वीजरलेण्ड स्थित हाम्रो राजदूतावास मार्फत तपाईको परराष्ट्र मन्त्रालयलाई चिठी लेख्न लगाउँछु”, मन्त्रीजीले भने ।
एकछिन रोकिएर उनले पुनः भने, “तर तपाईँको बैँकमा रहेको हाम्रो देशका ब्यक्तिहरुको बैँक खाताको विवरण उपलब्ध गराइ सहयोग गरेको खण्डमा यस प्रकारको असहज परिस्थिती उत्पन्न नहुन पनि सक्छ । म तपाईँलाई आश्वस्त पार्न चाहन्छु कि यस सूचनाको स्रोत मैले कतै पनि भन्ने छैन ।”
“मन्त्रीज्यूलाई यस प्रकारको गुनासो गर्न पाउने अधिकार छ तर मलाई विश्वास छ कि हाम्रा मन्त्रीले तपाईको राजदूतलाई स्वीस कानून बमोजिम परराष्ट्र मन्त्रालयले यस प्रकारको विवरण दिन नमिल्ने कुरा कुटनैतिक भाषामा बताउने नै छन् ।”
“यदि त्यस्तो कुरो हो भने हाम्रो देशका नागरिकहरुको बैँक खाताको बारेमा सूचना नदिए सम्म भविष्यमा कुनैपनि स्वीस नागरिक सँग कुनै प्रकारको कारोवार नगर्नु भनेर मैले मेरो मन्त्रालयमा निर्देशन दिनेछु ।”
मेनेजरले दृढ हुँदै भने, “त्यो तपाईँको अधिकारको कुरा हो मन्त्रीज्यू, यसमा मेरो भन्नु केही छैन।”
मन्त्रीजीले भने, “अनि स्वीस नागरिकहरुले हाल हाम्रो देशमा काम गरिरहेको ठेक्काहरुको बारेमा पनि पुनर्विचार गर्न सकिन्छ । तपाईँले सहयोग गरेको खण्डमा उनीहरुलाई लगाइने जरिवाना सम्बन्धी दफाहरुमा कुनै कारवाही नगर्नु भनेर मैले आदेश दिनेछु ।”
मेनेजरले भने, “यसरी हतारमा नियमहरु परिवर्तन गर्न सम्भव छ र मन्त्रीज्यू ?”
मन्त्रीजीले भने, “विश्वास गर्नुस् मेनेजर साहेब, मैले दिन रात एक गरेर भए पनि यो निर्णय गराउने छु । यी नामहरु उपलब्ध गराउनका लागि आवश्यक भएमा म तपाईको देशलाई घुँडा टेकाउन पनि पछि पर्ने छैन ।”
मेनेजरले भने, “त्यस्तै हो भने पनि गोपनियताका सम्बन्धमा हाम्रो बैँकको नीति तथा धारणामा कुनै परिवर्तन हुने छैन ।”
मन्त्रीजीले भने, “उसोभए मैले जेनेभा स्थित हाम्रो राजदूतावास आजैका दिन देखि बन्द गर्ने निर्देशन दिनेछु साथै हाम्रो देशका लागि तपाईँको राजदूतलाई ‘पर्सोना नन ग्राटा’ घोषित गरि फिर्ता पठाउने छु , दुई देश बीचको कुटनीतिक सम्बन्ध बिग्रनुमा तपाईँ जिम्मेवार हुनु हुनेछ।”
मन्त्रीजीले यस्तो भनेपछि मेनेजर केही हच्किए ।
मन्त्रीजीको कुरा यतिमै सकिएको थिएन, औँला ठड्याउँदै उनले भने, “मैले यस सम्बन्धमा लन्डनमा पत्रकार सम्मेलन गरी हाम्रो भ्रष्टाचार विरुद्धको अभियानमा तपाईको बैँकले असहयोग गरेको भनी विश्वलाई बताउने छु । यस प्रकारको प्रचारबाट तपाईको बैँकको बदनामी हुनेछ र तपाईँका हालका ग्राहकहरुले खाता बन्द गर्नेछन् र तपाईँको बैँकलाई सुरक्षित ठानेका ग्राहकहरुले समेत तपाईहरुलाई विश्वास गर्न छोड्ने छन्। ”
मन्त्रीजीको चेतावनी सुनेर पनि मेनेजरले कुनै प्रतिकृया दिएनन् ।
अन्ततः आफ्नो सीटबाट उठ्दै मन्त्रीजीले भने, “हेर्नुस मेनेजर सा’ब, मैले तपाईँसँग सहयोगको ठूलो अपेक्षा राखेको थिएँ तर तपाईले मेरो लागि कुनै विकल्प बाँकी छोड्नु भएन ।”
यति भन्दै मन्त्रीजीले अचानक आफ्नो कोटको खल्तीबाट एउटा पेस्तोल निकालेर मेनेजर तर्फ सोझ्याए । मन्त्रीजीको यस्तो अनपेक्षित व्यवहारबाट मेनेजर तथा उनको निजी सहायक हक्क न बक्क भए ।
अगाडि बढ्दै मन्त्रीजीले त्यो पेस्तोल मेनेजरको कन्चटमा राखे र विस्तारै भने, “मेनेजर सा’ब, मलाई कुनै पनि हालतमा ती नामहरु चाहिन्छन् । अब त तपाईले बुझिसक्नु भयो होला कि ती नामहरु प्राप्त गर्न म कुनै पनि हदसम्म पुग्न सक्छु । तपाईले दश सेकेण्ड भित्रमा मलाई ती नामहरु भन्नु भएन भने दुवैजना लाई गोलीले उडाइदिने छु, बुझ्नु भो ?”
यति भनेर मेनेजरका निजी सहायक तिर फर्कँदै मन्त्रीजी कड्किए, “यस बैँकमा खाता भएका हाम्रो देशका सबै व्यक्तिहरुको विवरण लिएर खुरुक्क आउ नत्र अहिले तिम्रो हाकिमलाई गोलीले उडाईदिन्छु, बुझ्यौ ?”
निजी सहायकले मेनेजर तर्फ हेर्यो । थरथर काम्दै मेनेजरले भने, “मलाई जे सुकै होस् तर सो विवरण कदापि नदिनु ।”
“हस् सर” मसिनो आवाजमा सहायकले उत्तर दिए ।
पेस्तोललाई ‘ककिङ’ गर्दै मन्त्रीजीले भने, “मलाई माफ गर्नु होला मनेजर सा’ब, यो अवस्था तपाईकै कारणले आएको हो । यसमा मलाई दोष दिन पाउनु हुने छैन।”
मेनेजरको निधारबाट पसीनाका धारा बगिरहेका थिए उनको सहायकले डरले आँखा चिम्लेर पेस्तोल पड्किएको आवाजको प्रतिक्षा गर्दै थियो ।
“क्या बात !”, मन्त्रीजीले मेनेजरको टाउकोमा राखेको पेस्तोल हटाउँदै भने र आफ्नो सीटमा गएर बसे ।
मेनेजर र उनको सहायक अझै सम्म पनि डरले थरथर कामीरहेका थिए । डरले गर्दा उनीहरु केही बोल्न समेत सकिरहेका थिएनन् ।
मन्त्रीजीले पेस्तोल पकेटमा राखे र आफ्नो साथमा ल्याएको ब्रीफकेश उठाएर टेबुल माथी राखेर खोले ।
मेनेजर र उनको सहायकले देखे कि सो ब्रीफकेश एक सय डलर का नोटका गड्डीहरुले भरिएको थियो । मेनेजरले त्यहाँ लगभग पचास लाख डलर रहेको अनुमान लगाए ।
मेनेजरले परिस्थितीमा अचानक आएको यस्तो परिवर्तनको अर्थ लगाइरहेकै थिए कि मन्त्रीजीले मेनेजर तर्फ पुलुक्क हेरे अनि मुस्कुराउँदै भने, “उसो भए मेनेजर सा’ब, मैले तपाईको बैँकमा नयाँ खाता खोल्नका लागि के गर्नु पर्ला त ?”
(यस कथाका भावानुवादक सिँचाइ विभागका सिनीयर डिभिजनल इन्जिनीयर हुन् )