जबरर्जस्ती मुस्काुन निकाल्दै ओठबाट
तिम्रो यादका राजमार्गमा दौडिँदै–रोकिँदै
पर्खाईका एक–एक पलहरु
फेरि गन्नुछ मलाई
बाँधर आफ्नै मुटु विवशताले
छुट्टिएँ जब म तिमीबाट
यस्तो लाग्यो कि
मेरो जीवनको घाममाथि
तुषारो चलाएर गयौ तिमी
फेरि एकपटक म
रित्तो–रित्तो बगर भएकी छु।
जब हुन्छ बिहान
तिम्रै मुहार भएर झुल्कन्छ घाम
जब पर्छ रात
तिम्रै चन्चल आँखाजस्तै देखिन्छ जून
जब मुस्किलले खुल्छ
हुस्सु निलेर आकाश
तिम्रै सिंगो रुप बनाउँछन्
आकाशका ताराह
रातले चकमन्नतासँग खेल्दै लुकामारी
अर्कै प्रभात जन्माउँछ समय।
यी पट्यार लाग्दा मौसमहरु चिर्दै
मेरै मुटुमा क्यानभास बनाएर
समयका रंगीन कुचीहरुले
कोरिरहन्छन् तिमीजस्तै आकृतिहरु
ठोक्किएर जान्छ तिम्रो तस्बिर
मेरा आँखाहरुमा जब
वर्षौंजस्तो लाग्ने यो रात
आँखा खोलेरै निदाउँछु म
जस्तो कि
एक सेकेण्ड तिमी
मबाट टाढा हुनु पनि
पृथ्वी एकपटक घुम्न बिर्सिएझैं लाग्छ मलाई।
तिमीबिनाका पलहरु
कस्तो–कस्तो शुन्यता बोकेर आउँछ
फूलहरु हाँस्नै बिर्सेका छन्
नदीहरु बग्दा–बग्दै रोकिएका छन्
ती सडक उचाल्ने जुलुसहरुले
छुनै सक्दैनन् मलाई
फिक्का–फिक्का लाग्छ
त्यो साँझको मेहफिल पनि
जहाँ तिम्रो उपस्थिति हुँदैन।
मलाई यो पनि थाहा छ
तिमी एकदिन जरुर आउनेछौ
मेरो प्रेमको बाटो भएर
म खनिरहेछु विश्वासको बाटो
तिम्रो मनसम्म पुग्नुछ मलाई
शालिन भएर आउनु तिमी
आवाजहरुको ख्यालै नगरी आउनु
बनाउँ एउटा प्रेमको अन्तरिक्षयान
अनि, उडान भरौं हामी
प्रेमको अन्तरिक्षमा
जहाँ तिमी र मबाहेक
अझ कोही पनि नहोस्।