भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता
आफ्नै टोलमा
कहाँ राख्ने उनलाई - सकिरहेका छैनन् बुझ्न उनको लज्जित परिवार
छन् उनको शरीरमा पिटाइका स्थायी निशानहरु
र मूहारमा
त्यत्तिकै स्थायी एउटा भाव जसलाई म चाहेर पनि निराशा भन्न सक्दिन
जहाँ फर्किएकी छिन्
यो एउटा गाउँ हो जसलाई अनेकौँ हिन्दुस्तानी गाउँजसरी
शहर बनिने तीव्र इच्छा र छट्पटी छ
जबकी मालिकबाट कुटिएर, रक्सी खाएर घर फकिर्एको एउटा मजदूर पनि
आइमाईको नाममा
पूरा सामन्त हुने गर्दछ यहाँ
तीन वर्ष अरुकै उपनाम र कुल–गोत्रमा जिउने
असफल कोशिशपछि
उनी फर्किएकी छिन्
फेरि आफ्नो नामभित्र खोज्दै
उही पुरानो सुन्दर पहिचान
महान हिन्दु परम्परा अनुसार
आफ्नै गोत्रमा उनको फिर्ती सम्भव छैन
तैपनि अपनाएकी छिन्
फेरि उही उपनाम
जसलाई छोडेर हिँडेकी थिइन्
आफ्ना केही गुमनाम चाहनेहरुका स्मृतिहरुमा कहीं
आज त्यसलाई फेरि पाएकी छिन्
कुनै हराएर गएको महङ्गो गहनाजसरी
जहाँ
डोली चढेर गएकी आइमाईलाई अर्थीमा मात्रै फर्कने विधान छ
त्यहाँ उनी आएकी छिन् फर्किएर
लामो–लामो पाइला चाल्दै
मेटिएर गएपनि
उनका यी साहसी पदचिन्हहरुको साक्षी रहनेछ यो धर्ती
हाम्रोजस्तो देशमा कति आइमाईहरु फर्कने गर्दछन्
यसरी नै
जसरी उनी फर्किएकी छिन् सरम नमानि
आँखाहरु नझुकाई
उनी फर्किएकी छिन्
वर्ष दिन पुगेको आफ्नो बच्चालाई छातीमा च्यापेर
आफ्नै बाल्यकालको घरमा
पहिले पनि घुम्ने गर्दथे फटाहाहरु
हाम्रो गल्लीमा
तर तिनीहरुको हिम्मत यति बढेको थिएन
त्यतिखेर उनी यस टोलको मात्रै हैन
कुनै परीलोककी युवती थिइन्
तर अब कसैले पनि उधार्न सक्दछ सिलाई
उनको जीवनको
कतिले लोभले भरिएर
बाटो हिँड्दै गर्दा कुमले ठक्कर दिन सक्छ उनलाई
प्रतिरोधको कुनै खास चिन्ता नै नगरी
केही उनको मृत पिताको
र केही उनी फर्कनुको शोकमा निरुपाय झैं
प्रायसः धर्धरी रुने गर्दछिन् उनकी आमा
थाहा छैन के भयो
कि टोलमा उनको लागि कोही भाइ रहेन
कोही काका
कोही ठूलोबुवा
या फेरि यस्तै कुनै नाता
एउटा पुरुषलाई छोड्ने बित्तिकै जस्तो कि
थुप्रै–थुप्रै
पुरुषहरुले भरिए उनको दुनियाँ
खेल्ने गर्दछिन् प्राय
सानी बहिनीसँग ब्याडमिन्टन आफ्नो घरको खुल्लै छाडिएको
बिना रेलिङ लगाइएको खतरनाक छतमा
सोच्ने गर्दछु म
कि साथी आखिर कुन चीजले बनिएका हुने गर्दछन् आइमाईहरु?
आगो?
या पानीले?
हुन सक्दछ
उनीहरु बनिएका हुन्छन् आगो र पानीको मिश्रणले
जसरी बन्दछ बाफ
जसलाई एकदम छिट्टै आफूतिर तान्ने गर्दछ
आकाशको खुल्ला हातले
म सोच्दछु जब उनलाई
हातमा रयाकेट समातेर आकाशतर्फ आउँदै गरेको साँझको
रङगीन बादलहरुझैं आफ्नो फरियाको फेर फर्फराउँदै
उड्दै गरेको देख्दछु
यथार्थमा
एउटा अनौठो आत्मसम्मानले भरिएको
जीवनको कति असम्भव पाठ हो यो
जसलाई मेरो कविता
आफ्नो डुब्दै गरेको शिल्पमा
यसरी
फेरि घर फर्किएकी एउटी युवतीसँग सिक्ने गर्दछ!
परिचयः
शिरीष कुमार मौर्यको जन्म सन् १९७३, डिसेम्बर १३ को दिन नागपूरमा भएको हो । उनको सन् १९९४ मा एउटा काव्य–पुस्तिका, सन् २००४ मा एउटा कविता–सङ्ग्रह, सन् २००९ मा ‘पृथ्वी पर एक जगह’ नामको कविता–सङ्ग्रह प्रकाशित भैसकेको छ । र, ‘जैसे कोई सुनता हो मुझे’ नामक कविता–सङ्ग्रह चाँडै नै प्रकाशन हुन गैरहेको छ।