बैंस

  • Get News Alerts

united
tata

आकाशले आँसु पुछ्यो।

त्यै मौकामा गाौंथली मेलापात गर्न निक्लिए, चिर्बिर सङ्गीतको तालमा।

हेर्छु— आकाशले बादलको पातलो खास्टो नफालेकाले घाम घामजस्तो छैन।

भेरी बगिरहेछ, उसैगरी। सायद आज पनि उसैगरी बगे, धेरैका मनबारी र घरबारी।

छाप्रोभित्र पस्छु।

अस्ति साँझ पारेको रक्सी आठबोतले जर्किनमा उसै छ। बिक्री भएको छैन। खाना पकाउने भाँडाकुँडा यसैयसै टोलाइरहेछन्।

घरी वर सार्छु, घरी पर सार्छु, रक्सी राखेको जर्किनलाई। टोलाउँछु हेरेर, घरी रक्सी त घरी बैंसलाई।

‘बिकेको त बैंस रहेछ!’

आएका ती अनुहार सम्झेर हिसाबकिताब गर्न पनि मन छैन।

पुलिस/कर्मचारी र ‘हुनेखाने’ बाउसा’ब सब आए। बाउ बनेर गए।

आफैं हिँडेको बाटो पनि आमाले सुनाएको ‘सिलोक’ लाग्छ।

नजानिँदो हररर तिर्खा लागेजस्तो हुन्छ।

‘पानी ले लाली!’

दोपहरमा धापिएका बेलाजस्तो अम्खोरा रित्याउँछु। तैपनि प्यास मेटिन्न- एकबारको चोलामा सोची-सम्झी जोरम्ला भन्ने घरबारजस्तो।

दायाँ हत्केलामा च्युँडो अड्याएर गम्छु।

‘कम्लीहरूसित लुगा धुन जान्छु है आमा?’

झस्कन्छु, लालीको स्वरले।

हेर्छु- लाली परातमा लुगा राखेर उभिएकी छे, मात्रै ‘सोधम्’ भनी औपचारिकता पूरा गर्न।

‘हुन्छ’ भन्ने अर्थमा मन्टो हल्लाइदिन्छु।

लाली मैले टाउको हल्लाएको पर पुगेर हेर्छे। अनि, बाटो लाग्छे।

हिँडे पनि नजर भने अडिइरहन्छ लालीमा, पहलोपालि देखेजसरी।

एकैछिनमा मन कहाँ हो कहाँबाट भरिएजस्तो हुन्छ। त्यसपछि लाग्छ, बाली भित्र्याउने बेला हुन थाल्यो।

‘यत्तिकी थिएँ कि!’

आफै‌ंले आफ्नो अनुमानलाई काट्छु, ‘अलि ठूली थिएँ।’

मैले त आमालाई छिटै ताल छोपेकी थिएँ। त्यसैले होला, यसले ‘भोको रहन दिइनँ’ भन्थिन्। त्यसपछि मलाई भने ‘पहिले छोरा पाइस्, दुःख पाउने भइस्’ भन्थिन्।

आमाले भनेका कुरा मेरै वरपर घुम्न थाल्छ। बिहानै खलंगा आएकाले हिजो साँझ पिपेगाउँतिर ‘बम पड्केको’ सुनिएको थियो।

बर्खामासको भेरीजस्तै मन बग्न थाल्छ।

उठ्छु। अस्ति धोएको लुगा लगाउँछु।

ऐना हेर्छु- बजार निस्कने मन अनायास ढल्छ। तर, जबर्जस्त उठाउने कोसिस गर्छु।

भन्छु- सास अल्झाउने जोवनले नेटो काटेछ बरै नि ! एकमुठी सास फालेर (आफैंलाई विश्वास नलागे पनि) झिने आस बोकेर बजार निस्कन्छु।

घडी हेर्छु- बाठाबाराबाट निस्कँदा ११ बजिसकेछ।

गम्छु, ‘कति पो ठूलो छ र खलङ्गा बजार!’

‘खलङ्गा त ठूलाठाली, ‘ठूला’ जात, कर्मचारी, पुलिस र बाउसा’बको पो त!’ अर्को मनले बुझाउँछु।

पिपलचौतारी जान्छु।

केही युवा तासमा नारिएका छन् भने केही क्यारेमबोर्डमा।

थाप्लेचौर झर्छु- क्याम्पसमा नजर डुलाउँछु।

माथ्लोथाप्ले उक्लन्छु। हेर्छु, खानेपानी कार्यालय।

आज पनि कार्यालयमा पार्टी रहेछ क्यार। कार्यालय सहयोगीले खसी काट्दै छन्।

फनन्न एक फन्को मार्छु, बोहरागाउँ, काजीबारा, बाहुनबारा...।

हिजोअस्तिजस्तै बाटोमा भेटिए : 

रक्सीले झुलेका पुलिस, कर्मचारी र ‘हुनेखाने खलक’का बाउसा’ब।

शिक्षा शाखा र मालपोतमा कर्मचारी ढोका थुनेर तासमा नारिएका छन् भने गाउँबाट आएका गाउँलेले झिँगा धपाइरहेछन्।

गैरीखाली जान्छु। मलाई देखेर पुलिससमेत छिल्लिएनन्।

‘होइन, दिनदिनै भाषण फल्ने गैरीखालीमा आज के भएछ?’

अनुमान पनि लगाउन नसकी झिँगा मात्र भन्किरहेको चौर नियाल्छु।

अस्ति बाउसा’बको रेडियोले फुकेको सम्झन्छु, ‘शेरबहादुर देउवा बर्खास्त। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त।’

उसैघरी ‘तल्लो बाटो पनि मेरै, माथ्लो बाटो पनि मेरै’ गर्दै हिँडिरहेका रवीन्द्रविक्रम बाउसा’बलाई बिन्ती बिसाउँछु, ‘राजा, आज किन भाषण छैन?’

‘यी (गुप्ताङ्गतिर इसारा गरेर) भाषण’ भने।

‘हजुरहरूकै त थियो नि हिजो पनि’ भन्नलाई आधा बाटो झरिसकेको बोली दुई हातले थाम्छु।

खलङ्गाका सरकारी कार्यालयमा हाकिमहरू वर्षको दुई–चार महिना आक्कलझुक्कल देखिन्छन्। काम गर्न भन्दा पनि कागजात मिलाउन झुल्कन्छन्।

गैरीखाली स्कुलछेउको ढुङ्गामा टुसुक्क बस्छु।

शोकमग्न भेरी छेउमै सुसाएजस्तो लाग्छ। रक्सीले धङ्धङि“दै हि“डिरहेका ठूलाठालीका पदचाप झन् टाठिँन थाल्छ।

...

घोडाको कोलो र टाप बजेको आवाजले झस्कन्छु। देख्छु, कालो कोट, प्याजी रङको पाइन्ट, कालो चस्मामा ठाँटिएका नरेशजंग राजा मेरै छाप्रोतिर आइरहेछन्।

आश्चर्य र हर्षबीच आँखामा फरक्क फर्कन्छ, राजा र मेरा दिन। छिटोछिटो नजर झुकाएर भन्छु, ‘दर्शन राजा, कताबाट आज बाटो बिराएर दर्शन दिइसियो?’

अनुहारमा रक्सी फुलेका बाउसा’ब घोडाबाट ओर्लन्छन्।

(गर्मीयाम सुरु भएपछि यसरी नै खलङ्गा आउँछन् बाउसा’बहरू काठमाडौं, बर्दिया या नेपालगन्जबाट)

‘कहिले सवारी होइसियो ?’

वरपर नजर डुलाइरहेका बाउसा’बले उत्तरै नदिई सोध्छन्, ‘लाली खै?’

लाली!

लालीलाई खोजेपछि मभित्रको ‘आइमाई’ एकाएक झस्कन्छे।

जबर्जस्त थामेर हातले सानो गिलास बनाउँछु अनि सोध्छु, ‘अलिकति घाँटी भिजाउने...!’

लालीबारे केही नभनी उही आठबोतले जर्किनबाट गिलासमा रक्सी खन्याउँछु। तर, नखाने इसारा गर्दै बाउसा’ब भन्छन्, ‘लाली ले!’

‘नुहाउन कोटखोला,’ मेरो मुखबाट अनायास बोली फुस्केर झर्छ।

बोली भुइँ नझर्दै बाउसा’ब घोडा चढ्छन्।

घोडाको टाप बजेको आवाजसँगै मन फेरि फाट्न थाल्छ, ‘यै हातले दिएको रक्सी पिउँथे। ‘माया गरेको’ भन्थे। मेरो हातको पानी मात्र नचल्ने हो भन्थे। अब त रक्सी पनि नचल्ने भयो?’

एकाएक पहिलोपालि अर्को मन पलाउँछ, ‘लाली!’

औँला गन्छु, कति चाँडै बगेछ समय!

कताकता बारीमा पाक्न थालेको बालीझैं लाग्न थाल्छ आफ्नै छोरी। सोच्छु, यस्तै भयो होला मेरी आमालाई नि म तरुनी हुन थालेपछि!

छोरीको आशमा पालेको आशा एक्कासि तन्नेरी भएझैं लाग्छ। तर, किन–किन हिजैजस्तो लाग्छ। आमालाई आफ्ना बच्चाबच्ची सधैं बच्चा नै लाग्छ भन्छन्! त्यसैले पो हो कि?

‘कति चाँडै बाली लाउने भइसकिछ लाली। होइन भने किन खोज्थे राजाले?’

हेर्छु, जर्किन र बाउसा’बलाई भनी सारेको एक गिलास रक्सी।

फेरि हरर तिर्खा लाग्छ।

लाली छैन भन्ने थाहा पाएर पनि अनायास भनेछु, ‘लाली, पानी ले!’

...

‘ट्याङ्¥याङ टुङरुङ टङ टङ...’

आवाज आएतिर हेर्छु, लुगा धुन लगेको परातको आवाज रहेछ। बिल्कुल हतास र आतङ्कित लालीभित्र पस्छे।

साउने आकाशझैं उसको अनुहार देखेर झस्कन्छु।

सरासर कुनामा जान्छे र भित्तामा मुख जोतेर रुन थाल्छे। आश्चर्यको आँखा र मुखले एकैचोटि सोध्छु, ‘के भो?’

‘केही नभएजसरी’ बाहिरिन्छु। हेर्छु, छरपस्ट छन् लुगा। छाम्छु, लुगा नधोएका तर भिजेका छन्।

भित्र पस्छु।

‘ती लुगा नसम्हाली किन रोएकी?’

भित्तामा मुख जोतेर उसैगरी रोइरहिछ लाली।

‘भन न छोरी, म छु नि!’

समस्या समाधान आफैंले गर्छुझैं गरी भन्छु।

सम्झन्छु, म पनि यसैगरी रोएथेँ, ‘दिलको खसमलाई साँचेको जोवन यिनै बाउसा’बलाई सुम्पँदा।

उसको अनुहार हेरेर जान्दछु।

भन्छु, ‘सब ठीक हुन्छ, नआत्तिई।’

लाली त नजानिँदोगरी मेरो छातीमा छाँद हालेर रुन थाल्छे।

ओठ फर्फराइरहेछन्। तर, बोली फुटेको छैन। लालीको गालामा भय र सन्त्रास अनि आँसु एकसाथ दौडिरहेछन्।

आमाछोरीका निरीह अनुहार एकापसमा हेराहेर गर्छन्। त्यसपछि बेसरी रुन्छौं, एकअर्कालाई अँगालोमा कसेर।

एक, दुई गर्दै सायद १५–२० मिनेट बितिसक्छ। उसैगरी रुन्छौँ।

उसको जिउबाट रक्सीको गन्ध आउँछ र बाउसा’बको पनि। जोवनमै पहिलोपालि मन हिउँमा टेकेजस्तै हुन्छ।

‘गल्ती त गरिनँ?’

जीवनमा पहिलोपालि एउटी नालायक आमाको अनुभूतिले मन चसक्क गर्छ।

पत्याइनसक्नु गरी मन थिलथिलो हुन्छ।

आफ्नो जिउमा परेको कसरी सम्हालेँ कुन्नि ! तर, आज? सम्हाल्न सकिनँ आफूलाई, जोवनमै पहिलोपालि भक्कानिन्छु।

‘यति टाढा पुगेर मात्र कसरी फर्की हेरेँ हँ आफू हिँडेको बाटोलाई?’

यसरी कहिल्यै फर्केर हेरेको थिइनँ।

‘आमा!’

लाली सानो छँदाजसरी आँसुले भन्छे।

छातीमा कस्छु।

रोइरहन्छौं।

‘रुनबाहेक अरू के पो सिकेकी छु र!’

तर, आज रुँदारुँदै कहिल्यै नचिताएको प्रश्न आउँछ, ‘आफू हिँडेको बाटोमा छोरीलाई हिँडाएर के गर्न खोजेकी?’

‘कहाँबाट आए यस्ता प्रश्न,’ आफैँ आश्चर्यमा पर्छु, ‘यी प्रश्न किन उहिले आएनन्? उहिल्यै आएका भए कहाँ हुन्थें म यतिबेला? कहाँ हुन्थी लाली?’

तर्कनासँगै टोलाउँछु।

‘यस्तो याद किन आएन उहिले?’

लाचार आँखाले हेरिरहन्छु, लालीलाई।

‘नरेशजंग राजा... !’

हिक्कासँगै लालीको बोली झर्छ। तर, अपुरै। लालीको अपुरो वाक्य नै बुझ्नलाई काफी भइदिन्छ।

लालीले सताइरहने प्रश्न फेरि फर्केर आउन थाल्छ, ‘मेरो बाबा खै?’

लाली मुख जोतेर रुँदारुँदै उनै कलेजी कटाउने प्रश्न आए। सपनामा समेत टिमुरको काँडाझैं बिझिरहने प्रश्नको जवाफ भक्कानोसँगै झर्छ, ‘तिनै हुन् तेरो बा!’

...

‘राजा दर्शन!’

पल्लो घर आएका उनै बाउसा‘बलाई चिठी हात पार्छु।

किन–किन मौसम पनि कस्तो–कस्तो छ। बाठाबारा उसैगरी रक्सीको कोलाहलले छोपिएको छ। धेरै भयो, गैरीखालीमा माइक नबजेको।

आज शनिबार हो क्यार!

कोही होलु, कोही कोटखोला, कोही भेरीमा नुहाउन जानेको लर्को छ।

मेरो मन लालीसँगै बेखबर छ।

‘हजुरलाई कष्ट ...!’

शिर झुकाएर राजालाई चिठी हात पार्छु।

राजाले चिठी खोल्न थाल्छन्।

‘कमलीहरूसित भेरीपारि काफल खान गएकी लाली उनीहरूसितै...!’

घाँटीसम्म आएको बोली पनि दुई हातले थाम्छु।

चिठी खोल्छन्। बाउसा’बका आँखा चिठीमा के परेका थिए एकाएक उनको अनुहार बादलले छोप्न थालेको आकाश बन्छ। त्यसपछि क्रमशः अनुहार रातोपिरो...। हेर्दाहेर्दै राजाको अनुहार पसिनाले भिज्छ।

डराएजस्तो न आक्रोशितजस्तो देखिन्छन् बाउसा’ब।

चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ।

घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर।

‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु।

बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’

चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’

जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

(पत्रकार तथा लेखक नवीन विभासको कथा संग्रह 'रोल्पा सुइना'बाट)

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट