काठमान्डु कलिङ

चुनाव
  • Get News Alerts

दुध चिया– ३
tata

बांगाटिंगा। केटाकेटीले कागजमा नजानेरै कोरेजस्ता। दाँया बाँया दुबै हातमा हुन्छन्, धर्साहरु। मान्छेहरु भन्छन्, यिनैमा हुन्छ– हाम्रो भाग्य, भविष्य, मायाप्रेम अनि सबै थोक। एकदिन हातका यिनै धर्साबाट भाग्य, भविष्य र मायाप्रेमबारे जान्न रत्नपार्क पुगें। विश्वास त थिएन तर पनि केभन्दा रैछन् भनेर सडक पेटीमा बसेका एक ज्योतिषलाई हात देखाएँ।

‘अर्को वर्षसम्म विदेश जाने योग छ बाबु’, उनले भने।

‘बाजे, विदेश÷सिदेश छोड्नुस् मेरो बिहे कहिले हुन्छ हेरिदिनुस्’, मैले हाँस्दै भने। उनी फेरि मेरा हत्केलाका धर्सा नियाल्न थाले।

छेउमा बेस्सरी हर्न बज्यो। कानै खाने गरी हर्न बजाउने को हो? मैले फर्केर हेरें। शिखा शर्मा पौडेल स्कुटीबाट ओर्ली। मुखमा लगाएको निलो माक्स निकाली।

‘भैगो बाजे’ मैले हात तानें। उनी अलमलिए।

हामी सामुन्ने आएर उसले भनी – हेर्नु हेर्नु बाजे, उसको सबथोक हेर्नू, इडियट कहिँको।

मैले हात दिएँ। उनले केहीबेर त्यसमा हेरेर भने– रेखाले त बाबुका दुईटा बिहे हुने देखाउँछ।
‘हँ।’
उसले मलाई आँखा तरेर हेरी। कलेज पढ्दा एउटी भन्थी, तिम्रा दुईटा चिउडी छन्, दुई चिउडी हुनेका दुईटा ब्या हुन्छन्। म खुब दंग पर्थें– एउटीसँग झगडा परे अर्कीले भात पकाएर खुवाउँछे। कति आनन्द। तर अहिले चिटचिट पसिना आउलाजस्तो भयो।

उसले ज्योतिषले समातेको मेरो हात तानी र भनी– बाजे, पर्दैन भो, अब कहिलेसम्म यहाँ बस्नु पर्ने हो आफ्नै हात हेरेर पत्ता लगाउनु।

मलाई स्कुटीमा बस्न संकेत गरी। नाइँ भन्न सकिनँ। स्कुटी भृकुटीमण्डपतिर बढाई। एउटा चिया पसल नजिक रोकी र भनी– दिदी, हामीलाई दुई कप दुध चिया बनाइदिनु।

म बेन्चमा बसें। केही बोल्नै मन थिएन। ‘भाग्य भन्ने कुरा हत्केलाका रेखामा हुन्न। पसिनाका दानामा हुन्छ’, बेन्चको अर्कोपट्टि बसेकी उसले भनी।

‘तिमीले कसरी थाहा पायौ, ज्योतिष हौ र?’
‘ल, यत्ति जाबो थाहा पाउन ज्योतिष हुनुपर्छ त, बाले बच्चै हुँदादेखि भन्नुहुन्थ्यो,’ उसले चुरोट सल्काउँदै भनी, ‘भाग्य भन्ने कुरा बनेर आएको हुँदैन बनाउनुपर्छ रे।’

‘हावा कुरा नगर। पसिनाका दानामा भाग्य हुने भए गिट्टी कुट्ने, भारी बोक्नेहरु महलमा हुन्थें। भाषणमात्र ठोक्नेहरु सडकमा भेटिन्थे।’

मेरो कुरा सुनेर उसले टाउको हल्लाई। एक दुई सर्को तानीसकेपछि भनी– यो भाग्य बनेर आएको हुन्छ कि बनाउनु पर्छ। खै के हो के हो? बेकारको कुरामा किन टाउको दुखाउनु। लेटस् चेन्ज द टपिक।

‘बाबा के गर्नुहुन्छ?’

‘ब्रतबन्ध, श्राद्धे।’

‘पण्डितकी छोरी, यस्ती।’

‘पण्डितका छोराले बफ मःम खाँदा केही नहुने मैले चुरोट खाँदा के आकाशै खस्छ त?’
‘तैपनि।’
‘केटाकेटीको कुरा मैले अस्ति नै तिमीलाई भनीसकें’, उसले भनी ‘एकचोटी भनिसकेको कुरा तिम्रो दिमागमा घुस्दैन कि क्या हो।’

म ज्ञानी बालक झैं चुपचाप बनें।

न्युरोडमा अफिसको काम सकेर फर्केको बताएकी उसले मलाई अफिससम्मै ल्याइदिई। जाने बेला एउटा निमन्त्रणा कार्ड दिई र भनी– जसरी पनि आउनु नि फेरि।
***
ऊ मलाई अघिदेखि नै रक्सी खाउ कि खाउ भनेर कर गरिरहेकी थिई– हेर लाइफमा धेरै सिरियस हुनुहुन्न। मन लागेको चिज गर्नुपर्छ। सिरियस त जसले सृष्टि चलाइरहेको छ उही हुन्छ।

‘शास्त्रमा मदिरा सेवन वर्जित गरिएको छ,’ मैले भने, ‘मदिरापान गर्नेको नर्कको बास हुन्छ रे।’

अफिसको वार्षिक उत्सवको पार्टीमा सुरुमा पाहुनालाई स्वागत गरिरहेकी ऊ पछि आफैं मात्तिएकी थिई।

‘त्यस्ता शास्त्र शास्त्रका कुरा छोड मान्छे त के भगवान पनि सुरा र सुन्दरी भनेपछि हुरुक्कै हुन्छन्। अलिकति लेऊ,’ उसले मलाई बहकाउन खोजी।

मैले नाइँ भनिरहें। बाटोमा मापसे चेकिङ हुन्छ। बेकारमा एकदिन किन बग्गी खानामा बिताउनु। अचेल मजस्ता रक्सी खान मन नहुनेलाई प्रहरीले राम्रो बाहना बनाइदिएको छ, मापसे चेकिङ हुन्छ भन्यो, कर गर्नेहरु पनि धेरै कर गर्दैनन्।

ऊ केही सीप नलागेपछि अरुहरुसँग कुरा गर्न गई। नचिनेका मान्छेसँग बोल्न मन नलाग्ने मलाई उकुसमुकुस भइरहेको थियो।

‘म तिमीसँगै घर जान्छु ल?’ रक्सीको नसामा मात्तिएकी उसले मेरो कानैमा आएर भनी।

‘मलाई तिम्रो घर जाने बाटो थाहा छैन।’

उसले लरबरिएको स्वरमा भनी – मेरो होइन, तिम्रो घर जाउँ भनेको।’

उसको प्रस्ताव सुनेर म आश्चार्यमा परें – म त डेरामा बस्छु, बेडरुम एउटा मात्र छ। हुँदैन। तिम्रै घर छोडिदिन्छु बरु।

‘मेरो घर गए त बाउले आफ्नो बिहे देखाइहाल्छन् नि’, उसले भनी ‘एउटै कोठा भए के फरक भयो त, मलाई थाहा छ तिमीले मलाई बलात्कार गर्दैनौं, गरे पनि के नै फरक पर्छ र, हिँड।’

राती साढे ११ बजे हामी होटलबाट निस्कियौं।

बाटोमा उसले मलाई कहिलेकाहिँ रक्सी खानुका फाइदा बताई। ‘रक्सी र चुरोट नखाने मान्छेले जिन्दगीलाई गहिराईमा बुझ्नै सक्दैन, सोसोलाइजेसन हुन पनि खानुपर्छ के कहिलेकाहिँ,’ उसले एक्लै तर्क दिइरही।

कोठामा पुगुञ्जेल हिँड्न सक्ने अवस्थामा थिइन। मोटरसाइकलबाट झरेर डो¥याउँदै उसलाई कोठासम्म ल्याएँ। भ¥याङमा वमिट गरिदेली भन्ने कत्रो पीर। के आपत आइलाग्यो। यस्तैमा काम लाग्छ भनेर यसले मलाई साथी बनाएकी होली।

लठ्ठीएकी उसलाई देखेर मेरो मनमा काउकुती नलागेको होइन। रक्सी खाएर तिम्रो कोठामा जाउँ भन्नुको आशय के होला, भोलि फेरि मेरो मर्दपन माथि शंका गरी भने। म दोधारमा परें। ओछ्यानमा पल्टिएकी उसलाई हल्लाएँ। ऊ त बेहोसजस्तै बनेकी थिई। जता पल्टायो त्यतै पल्टिने।

मनको काउकुती हराएर गयो। उसलाई तलदेखिमाथिसम्म सिरक ओढाइदिएर अर्को पलङमा सुतें।

एउटै कोठामा केटीसँग सुतेको सम्झेर मन कस्तो कस्तो भइरह्यो। फेरि उसले भनेको सम्झिएँ– एउटै कोठा भए के फरक भयो त, मलाई थाहा छ तिमीले मलाई बलात्कार गर्दैनौं, गरे पनि के नै फरक पर्छ र। छेउको दराजमा उसले ल्याइदिएको छुर्पी अलिकति बाँकी नै थियो।
...
‘ढकढक, ढकढक’ ढोकामा आएको आवाजले म ब्यूझिएँ। उसले पनि शरीर तानी। आफूलाई मेरो कोठामा देखेर एकछिन हाँसी। ढोकामा निरन्तर आवाज आइरह्यो।

ऊ उठेर ढोका खोल्न खोजी। मैले चोर औंला मुखमा लिएर उसलाई चुप लाग्न र नउठ्न संकेत गरें। ढोका ढकढक भइरहेको थियो मुटु ढुकढुक।

टाबेल बेरेर आधा ढोका खोलें। चियाको गिलास समातेर ढोका लाइदिएँ।

‘ल, चिया खाऊ’ उसको बेड नजिकको टी टेबलमा चिया राखेर भनें।

‘एउटा मात्र, तिमी खाँदैनौं मलाई त कागती पानी खान मन छ,’ एकछिनमा उसले सोधी ‘यति बिहानै चिया कसले पकायो?’
‘आमाले।’
‘तिम्री आमा यहीँ हुनुहुन्छ?’ उसले ओढिरहेको सिरक हटाई र हतपत उठी, ‘अहिलेसम्म मलाई किन भनेनौं?’
‘कहिले सोधेकी थियौ र को को बस्छौ भनेर’ मैले भनें, ‘धेरै नबोल थाहा पाउनुभयो भने मार्नुहुन्छ, चिया खाऊ, आमा मन्दिरतिर जानुहुन्छ, हामी निस्कनुपर्छ। आमालाई म बाहिरै खाना खान्छु भन्दिन्छु।’

‘घरमा आएका साथीलाई खाना नखुवाएर पठाउने कस्तो चलन हो तिम्रो?’ उसले भनी, ‘म जान्नँ, खाना खाएर जाने हो टाउको पनि दुख्लाजस्तो भइरहेको छ।’

यो के आपत आइलाग्यो? केही दिनदेखि बिहेसिहे भन्ने कुरा गर्न हुन्न आमा बेकारमा दुःख पाइन्छ। बरु धर्मकर्ममा लाग्नुपर्छ भनेर पुरै धर्मशास्त्रका कुरा सुनाइरहेको थिएँ। आज राती एउटै कोठामा सुतेकी केटीलाई मेरी साथी हो भनेर कसरी परिचय गराउने होला। तनावले टाउको भारी भयो।

‘के भो?’ उसले मलाई आँखा झिम्काई।
‘प्लिज जाऊँ’ मैले आग्रह गरें।

‘जाने हो खानासाना खाएर,’ उसले भनी।
उठेर ओछ्यान मिलाई। बाथरुम गई। आएर ऐना हेरी। कपडा र कपाल मिलाई। छेउमा झोला राखेर बसी।

ढोका फेरि ढकढक भयो। ‘अहिलेसम्म उठेको छैन कि क्या हो? चिया सेलाइसक्यो होला, ढोका खोल त टीका लगाइदिउँ।’

उसले मलाई चुप लाग्न संकेत गरी आफैं ढोका खोली। मेरो मुटुले ठाउँ छोडेको थियो।

आमा कोठामा उसलाई देखेर आश्चार्यचकित हुनुभयो। छेउमा उभिएकी उसले भनी– नमस्ते आन्टी, म शिखा, उसकी साथी। अर्जेन्ट कामले उसलाई भेट्नै पर्ने भएर बिहानै आएँ। हेर्नु न यो त उठेकै रहनेछ।

आमाले नमस्ते फर्काउनुभयो र मेरो मुखमा हेर्नुभयो। म भाइ सुत्ने पलङमा थिएँ।

‘हो, ऊ भर्खर आइपुगी, एक्लै के चिया खानु भनेर नखाई बसेको’ मैले भनें।

‘बाबुसाब त घाम चर्केपछि मात्र उठ्नुहुन्छ’, आमाले पत्याउनुभयो या पत्याउनुभएन तर पत्याएजस्तो गर्नुभो। मैले हातमुख धोएकै थिएन। उसलाई मात्र टीका लगाइदिनु भयो।

‘नानी बस्दै गर, म अर्को चिया ल्याइदिन्छु,’ आमाले अघिको चिया पनि लिनु भयो तताउन।

‘आन्टी, मलाई कागती हालेको चिया बनाइदिनु’ उसले फर्माइस सुनाई।

आमा निस्कनभयो। पलङमा बसेर उसले मलाई बाँया आँखा झिम्काई र भनी– देख्यौ, म कति स्मार्ट छु। तिमीले मलाई राम्ररी चिनेकै छैनौं।

मैले तल्लो ओठ लेब्राएँ। सिरक फालेर ट्राउजर लाएँ। अनि बाथरुमतिर गएँ।

फर्केर कोठामा पस्दा ऊ चिया समाएर हाँसीरहेकी थिई। उसको छेउमा मेरो पुरानो डायरी थियो।

नाउ तराउनी -५
टफी -३
गाडी भाडा- ३०
फोन- १२
मकै -५
आँखा जँचाएको -१००
औषधि -४०
डटपेन -१५
कटहर -५
घडी- ५०
नास्ता- १८
चुइगम २
बिस्कुट -१०
फोन -५७
जरकिन -३०
फोटो -४०
नुन- १४४
कट्टा- १०
फट्टा- २०
मट्टितेल -२४०
चुडी -२०
रेडियो सपारेको -१५
खाना खाएको -३०
चाउचाउ -२०
चिउरा -३६
बिस्कुट -१०
गाडी भाडा -२०
बरफ -४
चप्पल -१७५
रफ र वर्ड मिनिंग -१७५
चुइगम -२
खाम -१२
रेडियोको सेल -१५
‘दुई पेजको यो विवरण के को हो?’ उसले सोधी।

‘खर्चको?’

‘तिमी चुइगम खाएको पनि खर्चको विवरण डायरीमा लेख्थ्यौ।’

‘चुइगमको मात्रै छ र?’

‘अरु पनि छ तर मलाई यो रमाइलो लाग्यो,’ ऊ फेरि बेस्सरी हाँसी।

‘तिमीलाई पो मजाक लाग्यो, मेरो त यो जिन्दगी हो’ मैले डायरी समाउँदै भनें।

‘यसमा त्यस्तो के जिन्दगीको कथा छ र, इडियट कहिँको। बच्चैदेखि यस्तै सिरियस थियौ कि क्या हो, चुइगम खाएको पनि हिसाब राख्ने।’ उसले मेरो हातबाट डायरी तानी।

मैले केही बोलिनँ।

ऊ फेरि डायरी पल्टाउन थाली।

दुई चार पाना पल्टाएपछि बुवाको ढाका टोपी लगाएको श्यामश्वेत फोटो टाँसेको पाना आयो। मुनि लेखिएको थियो– बुवा, कहिले आउनुहुन्छ, हामी कुरिरहेका छौं।

उसको अनुहारको भाव बदलियो। गम्भीर बनेर उसले मलाई पुलुक्क हेरी।

मैले उसको हातबाट डायरी तान्दै भने– बुवा नभएको जिन्दगीमा एक एक पैसाको हिसाब राख्नुपर्छ। (क्रमशः)

यी पनि पढ्नुस् 

१. दुध चिया

२.छुर्पी

@bhanubhakta567

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट