पुरानो घरको बुइँगलको डोरीमा झुलिरहन्छ
तिमीसँग बिताएको दिन।
चश्मा लगाएको मेरो आँखामा
उही छ त्यसको रङ, उस्तै छ त्यसको सिलाई पनि
खुइलिएको कतै देखिएको छैन अझै पनि
उध्रिएको, च्यातिएको होला र कतै?
आँखामा त आएको छैन
कि फेरि चस्मामा पावर थप्नु पर्ने भएको हो?
खोल्छु उही दिनको भ्यालेन्टाइन स्कार्फ, गर्मीमा
ओढ्छु अनि जान्छु बगैंचामा
जाडोमा बेर्छु गलामा, न्यानो महसुस गर्छु
गिलासमा आइस–गोला पग्लिए जसरी
अक्सर पग्लिन्छ दिन, साँझपख
अनि मिल्न थाल्छ उही नारायणी नदीको पानीमा
साँझको त्यो मिठो अँध्यारोमा
हरेक हत्केलाबाट खस्छन् दकस सुस्त सुस्त
भरिन्छ नारायणी नदी किनारको छेउकुना
भ्यालेन्टाइन जोडी अनि
हराउन थाल्दछन्, छाँया जस्तो छिटो छिटो
जति आउँछ सबै उठाउँछु स्कार्फमा छिटो छिटो
अनि बाँच्दछु फेरि, तिमीसँग बिताएको उही दिन
उही तिमीसँग बिताएको दिनको
उही भ्यालेन्टाइन स्कार्फ गलामा भिरेर
पुग्छु कविकुनामा अक्सर
मित्रहरू अनौठो आँखाले हेर्छन्
जान्दछन् सायद, तिम्रो हातको बुनाई
जुन रहेको छ, मेरो जीवनको हरफ–हरफमा