एक रातको प्रस्ताव

  • Get News Alerts

united
tata

एक तमासले ल्यापटपमा काम गरिरहेकी सजनीलाई कुकुरको ङयारङयार-ङुरङुर आवाजले काम गर्नै दिएन। यो नौलो घटना थिएन। ऊ बसेको घरअगाडि कुकुरहरुको उछलकुद दिक्कलाग्दो हुन्छ। खैरे डाँगो सधैं आफूलाई अगुवा ठान्छ। उस्को काली कुकुर्नी छे। साह्रै माया गर्छ। कालीलाई देखेपछि अरु लुते कुकुर पनि उसैको पछि लाग्छन्। अनि त के चाहियो? उनीहरुमाझ प्रतिस्पर्धा सुरु भइहाल्छ। खैरे सधैं 'काली त मेरै हो' भनेझैं कसैलाई उसको छेउमै ढिम्कीन दिँदैन। 

खैरेको सुरक्षा र माया पाएकी कालीलाई सजनी भाग्यमानी ठान्छे। हरेक दिन घट्ने यी घटनाहरुसँग चिरपरिचत छे ऊ। सुरु-सुरुमा उसलाई कुकुरको आवाजले दिक्क बनाउँथ्यो तर हिजो आज भने ऊ यसैमा अभ्यस्त भएकीले स्वाभाविक मान्न थालेकी छे। आज पनि खैरेले नै जित्यो।

श्रावण महिनाको उखरमाउलो गर्मीमा परेर रोकिएको पानीले बाहिर शीतलता छाएझैं सजनीले आफ्नो मनभित्र पनि शीतलता महशुस गरी। बलेसीमा अझै तप्प तप्प तपको आवाज निरन्तर आइरहेको थियो। त्यही आवाजमा रोमाञ्चित हुँदै पुनः ल्यापटप निकालेर पुराना फोटाहरु नियाली र ‘नोस्टाल्जिक’ हुन थाली ऊ।

मोबाइलको घण्टीले सजनी झसङ्ग भई। उसलाई मोबाइल उठाउने जाँगरै चलेन। आँखा एउटा फोटोमा गएर टक्क अडियो, जुन ६ महिना अगाडि खिचिएको थियो। घरबाट जे लुगामा हिँडेकी थिई, त्यही लुगामा विनयले भद्रकाली मन्दिरमा टीका लगाइदिएको थियो उसलाई। आमाबाबुले घोर विरोध गर्दा गर्दै पनि डाक्टर भैसकेको व्यक्तिसँग सौहार्द किसिमले जीवन अगाडि बढ्छ भनेर भागेकी थिई विनयसँग। भद्रकाली देवीलाई साक्षी राखी सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए दुवैले।

'पक्कै त्यो विनयकै फोन हुनुपर्छ', अडकल काटी। 'जिस्किनुको पनि हद हुन्छ नि....।' अब जे भयो भयो, यसरी त कति दिन चल्छ र? आज चाहिँ ‘सरप्राइज’ दिन्छु्ु', मसक्क मस्किई। ठूला-ठूला आँखा, हिु्स्सी परेको बाटुलो मुहार, सुडोल शरीर कलिलै उमेरमा साह्रै लोभलाग्दी थिई सजनी। आफ्नो घरनजिकै फ्ल्याटमा बस्न आएको विनयसँग आँखा जुध्दा जुध्दै प्रेम बसेको थियो। सजनीको रुप र यौवनमा आकर्षित भएर बिबिए पढ्दै गरेकी सजनीलाई माग्न गएको थियो उसका बाबुआमासँग। जात र खान्दानको कुराले दिन नमाने पछि भगाएको थियो सजनीलाई विनयले। त्यसपछि दुवै बानेश्वर भीमसेन गोलामा फ्ल्याटमा बस्थे। सजनीले आफ्नो पढाइलाई निरन्तरता दिई। विहान कलेज जान्थी। दिउँसो घरमै रहन्थी ऊ।

पाँच दिन भइसकेको थियो विनयसँग बोलचाल बन्द भएको। विनयले कत्ति फकाउँदा पनि बोल्न मानेकी थिइन सजनी। त्यसैले आज ऊ बोल्ने मुडमा थिई। किचेनमा गई भटमास र बदाम साँधी। विहानको काउली आलुको तरकारी बेलुकालाई समेत हुने गरी बनाएकी थिई। प्राउन र पापड तारी खाजा ठीक्क बनाई। कोठामा गई श्रृंगार पारी। चिटिक्क भई। ल्यापटप खोलेर कलेजमा प्रस्तुत गर्नुपर्ने ‘प्रिजेन्टेसन’ बनाउन तल्लिन भई। साँझ ६ बजिसकेछ पत्तै पाइन। ढोकाको घण्टी ट्याँ गरेपछि पो थाहा पाई। 'विनय आएको होला,' मुस्काउँदै ढोका खोल्न गई।

'लौन त्यही साथी पो बोकेर आएछ।'

झसंग भई।

'पाँच दिन अगाडि जुन मान्छेको विषयमा झगडा भएको थियो, उसैलाई बोकेर आएछ। जिस्केको भनेको थियो। साँच्चै नै ल्याएछ।' ओठ-मुख-तालु सुके। डर र रिसले भाउन्न भई सजनी। 'नमस्ते भाउजु' भन्दै सत्तीश भित्र छिर्यो। रिसले गाला रगत चुहिएलाझैं भयो सजनीको। आफूलाई सम्हाली।

'ल यो मासु लेराएको छु। यसलाई राम्ररी फ्राइ गर। थोरै स्न्याक्स पनि बनाउ है। तिमीलाई मन पर्ने वाइन ल्याएको छु। आज सँगै बसेर खाने अनि अस्ति राती भनेजस्तो मोज गर्नुपर्छ के काली', लाडिँदै बोल्यो विनय।

ङिच्च हाँस्दै खाऊँलाझैं हेर्यो सत्तीशले।

'ल ल भाउजु आज चैं रमाइलो हुने भो। म सघाउन आउँछु नि।' बोल्यो सत्तीश। चड्याम्म चड्काउन हात उठेका थिए, विस्तारै सम्हालिई। दुई-दुई जनासँग केही लाग्दैन भन्ने सोची। 'हैन हैन पर्दैन यत्ति त हो म गरिहाल्छु नि', मन लागि-नलागि बोली, 'हजुरहरु रमाइलो गर्दै गर्नु म बनाएर ल्याउँछु।'

किचेनमा गई। 'मान्छे भएर मेरो जुनी त कुकुरको भन्दा नि गैबार भो। त्यो पसलअगाडि बस्ने काली कुकुर्नीेले कति सुरक्षा पाएकी छे त्यो खैरेको।' मनमनै दाँजी। के गर्ने, के नगर्ने। मर्ने कि बाँच्ने असमञ्जस्यतामा परी। स्टाण्डबाट चक्कु निकाली। 'छप्काइदिन्छु दुवैलाई। कि म छैन कि तिनीहरु छैनन्', सोची, 'दुई दुई जना मुस्तन्ड भुसतिघ्रेहरुको अगाडि मेरो के लाग्ला?'

निकालेको चक्कु स्टाण्डमै घुसारी। पाँच दिन अगाडिको रातमा विनयले बेडमा पुगेपछि जिस्किँदा-जिस्किँदै एउटा प्रस्ताव गरेको थियो सजनीसँग। उस्को साथी सत्तीशसँगै एक रातका लागि तीनैजना एउटै बेडमा सँगै सुत्ने। सुन्नै नसक्ने विनयको प्रस्ताव सुनेपछि आगो भएकी थिई सजनी।

हात हालाहाल हुन लागेपछि 'जिस्केको, तिम्रो मन चोरेको के काली' भनेर सजनीलाई फकाएको थियो। उसको रिस राम्ररी मरेकै थिएन। यसरी कति दिन चल्छ र भनेर आज ऊ बोल्ने मुडमा थिई तर साथी नै लिएर आएपछि त जिल्लै परी।

हरेक रात विनयले चाहेको समयमा, चाहेअनुरुप सधै तयार हुन्थी सजनी। विनयको कामुकता उग्र नै हुन्थ्यो। तर यतिसम्म उग्र होला भनेर सपनामा पनि सोचेकी थिइन। आफ्नै श्रीमतीलाई परपुरुषसँग सुत भनेर आजसम्म कसैले भन्ने हिम्मतसम्म गरेको सुनेकी थिइन। तर, छ-छ महिना श्रीमती भनेर सँगै उठबस गरेको मान्छेलाई आफ्नै उपस्थितिमा परपुरुषसमेत सँगै राखेर कामुकता मेटाउने प्रस्ताव राख्नु कस्तो मानसिकता होला? छक्कै परी। डर, त्रास, उकुस-मुकुसले मर्नु न बाँच्नुको दोसाँधमा पुगी।

विनय र सत्तीश घनिष्ट साथी हुन् भन्ने राम्ररी बुझेकी सजनी कल्पनै नगरेको घनिष्टता देख्दा अवाक भई। दुवै कहिले पोखरा कहिले चितवन भनेर एक दुई दिन हराउँथे। हराउनुको रहस्य पनि बुझी। यहाँबाट अब कसरी उम्कने? कसरी छुटकारा पाउने भन्ने सोचमा तल्लिन भई। विनय र सत्तीशको चियर्सको आवाजसँगै चर्को हाँसोको फोहरा किचेन हुँदै उसको कानसम्म बज्रिरहेको थियो।

'अरे यार कसरी मनाइस्? मान्ने खालकी मान्छे त होइन। तँलाइ त मान्नै पर्छ। असम्भव काम पनि फत्ते गरी छाड्ने', लरबरिएको स्वरमा सत्तीश बोल्यो।

'चुप-चुप विस्तारै बोल। काँ मान्नु नि, मान्ने खालको हो र, छक्काएर जबरजस्ती ट्रापमा पारेको नि, तेरो पैंचो तिर्नु परेन मैले?' साउती गर्दै बोल्यो विनय ।

'क्या मोज गरियो है पोखरामा? मान्छे त हो के त्यो श्वेता मोटी, पुरै खेलाडी! केही दिनअघि मात्र पोखरामा आफ्नी गलफ्रेण्डसँग दुवैले गरेको 'मोज'को संस्मरण गराउँदै बोल्यो सत्तीश। हातका चोर औंलालाई ओठसम्म पुर्याउँदै चुप लाग्ने इशारा गर्यो विनयले सत्तीशलाई।

सजनीले भाग्ने योजना बनाई। लगभग आधा घण्टा जतिलाई काम पुग्ने गरी दिउँसै बनाएको स्न्याक्सहरु लगिदिई। 'मासु तार्न लाको प्याज त सकिएको रहेछ म पसल गएर आउँछु', सजनी बोली।

'बसौं न भाउजु, एक घुट्को पिइहाल्नुस् न। तपैंबिना त रौनक नै आएन', आफ्नो जुठो रक्सीको गिलास सजनीको अगाडि तेस्र्यायो।'

'जुठो खाए माया बढ्छ रे क्या', गिद्धेनजर लगाउँदै बोल्यो सत्तीश।

'त्यति त मान्देउ न यार', ङिच्च ङिच्चियो विनय।

त्यही सीसाको गिलासले दुवैको टाउको फुटाउन मन लागेको थियो सजनीलाई, सम्हालिई। केही पैसासहितको पर्स बोकेर बाहिर निस्कीई। आफ्नो फ्ल्याट छिर्ने च्यानल गेटमा बाहिरबाट ताल्चा मारिदिई र ढुक्क हुँदै निस्कीई। ती अघिका खैरे र काली कुकुर सँगै टासिएर बसिरहेका थिए। सजनीलाई देखेपछि पुच्छर हल्लाउँदै पछि लागे। अरु दिन त उसले त्यही पसलबाट बिस्कुट किनेर दिने गर्थी। आज भने वास्तै नगरी हिँडी।

के गर्ने? कसो गर्ने? कहाँ जाने? असमन्जसमा परी सजनी। जिन्दगीमा जसलाई आफ्नो भनेर जन्म दिने आमाबाबु समेत त्यागी, त्यही मान्छेबाट यत्रो ठूलो धोका पाएपछि कहाँ जानु? धेरै सोची। आफ्नी साथी दीपालाई सम्झीई। 'विनयले सम्बन्ध गाँसेको सिर्फ स्वार्थका लागि मात्र थियो त? उसले गरेको माया कामुकता मेटाउन मात्र थियो त? भगवानको मन्दिरअगाडि सँगै बाँच्ने सँगै मर्ने भनी खाएको कसम नाटक थियो त? मलाई सिर्फ 'युज' मात्र गरेको हो त?' मनमनै यस्तै तर्क-वितर्क गर्दै थिई। चक्रपथ पुगेको त होसै भएन। कसरी टयाक्सी चढी? कसरी लोकेसन भनी केही याद भएन उसलाई। दीपाको कोठा जाने मुल गेट देखेपछि पो झल्याँस्स भई। उसले दीपालाई आफू आउँदै गरेको कुरा बताएकी थिई तर कतिबेला बताई त्यो पनि याद पाइन। बेला बेलामा सुखदु:ख बिसाउने साथी दीपा नै थिई। दुवै कलेजमा साह्रै मिल्थे। जहाँ बसे पनि जता गए पनि सँगसँगै हुन्थे। दुईमध्ये एकलाई नदेखे 'खोई त आज गलफ्रेन्ड' भनी साथीहरु गिज्याउँथे। विनयसँग भाग्दा पनि दिपाले नै सहयोग गरेकी थिई।

साँझमा सजनी आएको देखेर दिपा छक्क परी। 'सजनी?' गेटबाट बाहिर निस्केर परसम्म हेर्दै बाेली, 'ओइ विनय पनि आको हो? यतिबेला किन?'

दीपालाई ग्लाम्लांग अँगालो हाल्दै रुन थाली सजनी। अघिदेखि उकुसमुकुस भएको पीडा निकाली। घुँक्क-घुक्कको आवाजले केही बोल्न सकिरहेकी थिइन।

'के भयो? यहाँ सोफामा बस त। ल यो पानी पी,' हातको गिलास सजनीतिर तेर्स्याउँदै दीपाले भनी, 'ल नरो। म छु नि। भन् के भयो?' टाउको मुसारी।

रुँदै सबै बेलिविस्तार लगाई सजनीले, 'दीपा मेरो जिन्दगी सकियो अब। आमाबुवालाई म कसरी मुख देखाउँ? आफ्नो दु:ख बेसाउन म कहाँ जाऊँ?' भक्कानिई सजनी।

कुरा सुनेर छाँगाबाट खसेझैं भई दीपा। 'डाक्टरजस्तो पढे-लेखेको मान्छे पनि त्यस्तो? कसरी सकेको होला? अधर्मी पापी! विकृत यौनपिपासु। हैन मर्न पर्दैन कि के हो त्यसलाई? कस्तो भोक यौनको?' त्यसको त्यो यौन भोक जगाउने चिजलाई त छ्याक्कै काटेर नुन खोर्सानी दल्नुपर्ने,' चिच्याई दीपा। कैलाली टीकापुरबाट बिबिए पढ्नका लागि काठमाडौं पसेकी थिई दीपा। चक्रपथमा डेरा गरी बस्थी।

'अहिले रोएर काम छैन। जे गर्नु छ म गर्छु। तैंले चिन्ता लिनु पर्दैन। म अहिले रुपा दिदीसँग फोनमा कुरा गर्छु। यहाँ बस्यो भने विनय तँलाई खोज्दै आइहाल्छ। मेरो गाउँको बैनी यहीँ नजिकै बस्छे। हामी दुवै त्यही बस्ने आज', सान्त्वना दिँदै दीपाले भनी। फोनबाट रुपा दिदीलाई घटनाको सबै बेलिविस्तार लगाई दीपाले।

'ल सजनी, मैले रुपा दिदीसँग कुरा गरें। अहिले राती भइसक्यो। भोलि बिहानै दिदीलाई भेट्न जाने।'

दीपाले रुपा दिदीसँग के भनी कसो भनी सजनीले खासै चासो देखाइन। 'जुन मान्छेसँग जिन्दगी बिताउँछु भनेर परिवार त्यागेर आएँ, त्यही मान्छे नै आफ्नो नभएपछि अब के नै बाँकी रह्यो र? कुन दिनमा कस्तो मान्छेको फेला परिएछ। धिक्कार छ मेरो जीन्दगी।'

भोलिपल्ट बिहान सबेरै दुवै रुपा दिदीलाई भेट्न गए। रुपा दिदीले घटनाको सबै बेलिविस्तार बुझेपछि सहयोग गर्ने वचन दिइन्। केही प्रक्रिया र उपायहरु बताइन्। सजनी असुरक्षित अवस्थामा भएकोले उनकै कार्यालय अन्तर्गतको सेफ हाउसमा बस्ने सल्लाह दिइन्। बल्ल दीपाले लामो सास फेरी। समस्या समाधानका बाटाहरु खुल्न थालेकाले हलुंगो महसुस गरी। रुपा दिदीलाई धन्यवाद दिई।

पुलिसमा मुद्दा दर्ता भयो। मुद्दाको दौरानमा भएका भेटघाटहरुमा विनयले सजनीसँग धेरै अनुनय-विनय गर्यो। आफ्नो मनसाय त्यस्तो नभएको भनेर धेरै पटक माफी माग्यो। रुपा दिदी र दीपासँग भेटेर धेरै पटक कुरा प्रष्ट्याउन खोज्यो। आफ्नो ‘प्रोफेसनल’ करिअरमा धब्बा नलगाइदिनु भनेर गिडगिडायो। तर, विनयको वास्तविकता बुझिसकेकी सजनीले माफी दिन मानिन। रुपा दिदी र दीपाले विनयसँग पुनः जीन्दगी सुरुवात गर्न सकिन्छ कि भनेर धेरै पटक सोधेर सजनीको वास्तविक मनसाय बुझ्न खोजेका थिए? तर, विनयको कारण आफूले हरेक लोग्ने मान्छेलाई घृणा गर्न थालेको र कुनै जुनीमा पनि आफूसँगै बस्न नसक्ने कुरा बताएकी थिई सजनीले।

घटना बाहिर आएलगतै विनय काम गरिरहेको हस्पिटलबाट निकालियो। पुलिस चौकी, अड्डा, अदालत धाइ रहनुपर्दा र पुलिसको केरकार, सवाल-जवाफबाट सजनी दिक्क भई। के-के जवाफ दिनु? कति दिनु। विनयले पनि मुद्दा मिलेमतोमै टुङ्गयाउन जोड गरिरहेको थियो। अन्ततः रुपा दिदीलगायत सबैको सल्लाहमा मुद्दा मिलोमतो मै टुङ्गियो। सजनीले क्षतिपूर्ति वापत एघार लाख रुपैयाँ पाउने फैसला भयो।

मुद्दाको फैसलापछि घरबाट विद्रोह गरेर निस्किएकी सजनी सिधै आमा बुवाको शरणमा जान सकिन। डेरा लिएर एक्लै बस्न थाली। रुपा दिदीले आफ्नै कार्यालयमा सजनीलाई कार्यक्रम अधिकृतको रुपमा काम दिइन्। दीपा र सजनी अब १०–५ एउटै कार्यालयमा भए। दुबै बेलुका कार्यालयबाट सँगै निस्कन्थे र आ-आफ्ना गन्तव्यतिर लाग्थे। सजनीले आफ्नै कार्यालय पायककै डेरा रोजेकी थिई।

सजनीको हिसाब-कितावको काम बाँकी रहेकोले एकदिन दिपा एक्लै घर फर्कँदै थिई। कार्यालय छेउकै औषधी पसलमा औषधी किन्न छिरी। सँगैको किराना पसलमा दुई महिला खासखुस गर्दै गरेको सुनी। 'त्यो अर्की चाहिं आज कहाँ गइछे? यो त एक्लै छे त।'

'हिँडी होली नि कुनचाहिँ तोरीलाउरेसँग अर्को एघार लाख फसाउन', खित्खिताए दुवै।

महिलाका खासखुस सुनिरहेकी दीपा मनमनै भुत्भुताई, 'हरे समाज! यी आइमाईलाई कुरा नकाटी खाएकै नपच्ने। नकारात्मक कुरा त हावा भन्दा नि छिटो फैलने। दीपाले विवाद गर्न चाहिन। नसुनेझैं गरी।

दिन बित्दै थियो। सजनीले नेदरल्याण्डमा जेण्डर स्टडीको छात्रवृत्ती पाई। ऊ नेदरल्याण्ड उडी। दिपा र सजनीको भेटघाटको दिनचर्या अब फेसबुक च्याट, स्काइप र भाइबरमा मात्र सीमित हुन थाल्यो। सजनीले नेदरल्याण्डमा दिपाजस्तै मन मिल्ने साथी पाएको बताई। हरेक कुराकानीमा सजनी आफ्नी साथीको बारेमा भन्न छुटाउन्नथी। दिपाका परिवारले सुहाउँदो केटा खोजी विवाह गरिदिए। विवाहमा सजनीले दिपालाई अनलाइनमार्फत केक र बुकी उपहार पठाई।

चार वर्षको अध्ययनपश्चात सजनीले अनुसन्धानको सिलसिलामा केही समयका लागि नेपाल आउन लागेको खबर गरी। दिपा फुरुङ्ग परी। सजनीले आफुसँगै आफ्नो हितैषी मित्र पनि आउन लागेको कुरो बताई। काठमाडौं आउँदा आफ्नै घरमा बस्न दिपाले ढिपी गरेकी थिई। तर, सजनीले दुई महिनाका लागि आफूले अपार्टमेन्ट बुक गरिसकेको बताई। काठमाडौं उत्रिएपछि सजनी सिधै अपार्टमेन्टमै बसी।

आएको भोलिपल्ट सजनीले दिपालाई पुतली सडकको एक क्याफेमा कफीको निम्तो गरी। तोकिएको समयमा दिपा पुगी। सजनी आफ्नी साथी सहित पहिले नै आइपुगेकी रहिछ। उठेर गला मिलाई। वर्षौंदेखि छुट्टिएका युगल जोडीझैं हर्षविभोर भए। खुसीले दुवैका आँखा रसाए। सजनीले ल्याइदिएको कोसेली दिपाको हातमा थमाई अनि सँगै बसेकी साथीलाई देखाएर मुस्कुराउँदै भनी, 'बाइ द वे सी इज माइ पार्टनर जुआना फ्रम मेक्सीको। हामी सँगै पढ्छौं र दुई वर्षदेखि सँगै बस्छौं पनि।'

'हँ के भनेको ...? पार्टनर?' दीपाले नबुझेझैं सोधी।

'एस पार्टनर डार्लिङ्ग, मैले सधैं तँसँग कुरा गरिरहन्थेँ त उसकाे बारेमा', सजनी बोली।

'हो कुरा त गरिरहन्थिस् तर लाइफ पार्टनर नै त भनेकी थिइनस् नि? तँ सुखी छस् त?', दिपाले सोधी।

सजनीले गम्भीर हुँदै भनी, 'समय र परिस्थितिले जीवन आफूले सोचे जस्तो नहुने रहेछ। जीवनमा हामी सुखी हुन चाहन्छौं वा खुसी? सुख वा खुसी छानी छानी पाइँदैन। चाहेर पनि आफूले रोजेको बाटो हिँड्न नसकिने रहेछ। विगतले मलाई दृढ बनाएको छ। बाँच्न सिकाएको छ। त्यतिबेला सायद म बाहिर मात्र खुसी थिए तर आजभित्र र बाहिरदेखि नै खुसी छु। बस् यही नै जीवनको सुन्दरता हो र सुख पनि।' दिपाले त्यो भन्दा बढि सोध्न चाहिन। कफी खाइवरी दिपा र सजनी छुट्टिए।

दिपाको मन भने शान्त भएन। 'जीवन आ-आफ्नै इच्छा र चाखअनुरुप जीउने स्वतन्त्रता त सबैलाई छ, तर.....?' मनमनै गुनी।

अधिकारकर्मी दिक्षा दिदी ५५ वर्षको उमेरमा लोग्ने छाडेर लेस्वियन भएको सुनेकी थिई। दुई-दुई वटा छोरीकी आमा कसरी लेस्वियन हुन्छ? हुनै नसक्ने हल्ला भनेर पत्याएकी थिइन। आज उसकै मिल्ने साथीले रोजेको जीवन जीउने मोड देखेपछि तीन छक्क परी। सजनीको मुद्दाको सिलसिलामा सजनीको साथ-साथ आफूले पाएको दुख पीडा, बेइज्जती, धम्की, गाली सबै एकपटक फेरि सम्झी।

'त्यतिबेला हामीले सोचेको, चाहेको र सजनीको अधिकारको लागि लडेको लडाइको अन्तिम गन्तव्य यही थियो त? लोग्ने मान्छेप्रति उब्जिएको वितृष्णाकै कारण आज ऊ यो मोडमा पुगी त? के यो त्यही एक रातको प्रस्तावकै परिणाम हो त?”

आफूले आफैंलाई प्रश्नमाथि प्रश्न गरी।

तर, निरुत्तर ...।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट