जिपमा ८ वटा सिट। बीचमा कोचेर राखिएका ४ वटा मुढा। अगाडि २ सिट, मान्छे बस्ने तीन। तपाईं'रु जम्मा २ जना, खोइ अरु १२? अनि कसरी हिँड्छ गाडी?-घुमाई–फिराई यत्ती कुरा गर्छ खलासी। सुनवल चोकमा जिप रुँघेको २ घण्टा बितिसक्यो। अनि यो छेउमा बसेको अजनवी साह्रै किचकिचे।
'अनी हजुर! बिदा मे हामी इस्तानबुल चक्कर मार्थ्यो। पुरा पयदल। दामोदरजी चिकेन केवाब खुब खियाउन्थ्यो। अनी बियर। बल्की हामी बियरमे मुह त के, हाथ पनि लान्थेन।'
एक घण्टा यता बोलेको बोल्यै छन्। सेतो सर्ट लगाएको उनले नाम गिर्धारी यादव भन्छन्। पाइन्ट मुनी सर्ट घुसारेका छैनन्। खुट्टामा छालाको चप्पल लगाएका छन्। खुट्टा र चप्पल उस्तै देखिन्छन्। धुलै-धुलो। मेरो जुत्ता पनि धुलाम्य छ।
'दुई साल ज्यादा भो दामोदरजी से नमिलेको। इस्तानबुल मे हामी एके मकान पर बस्थ्यो। और एके अपिसमे नौकरी। पर हजुर मेरो कन्ट्याक १ साल पहले सकियो। उनको बाद मे। हामी नेपाल फर्केर फेरि प्रोजेक्ट ज्वाइन गर्यो। खै दामोदर जी के गर्दैछ?'
मैले दामोदर नचिनेको भए हाम्रो बोलीचाली हुन्थेन होला। उनले नचिनेको भए पनि नहुन सक्थ्यो। वा हुन सक्थ्यो। बस बिसौनीमा हामीलाई समय काट्नु पर्थ्यो। त्यसैले। तर पहिला म बोल्थिन होला। उनको नेपाली स्पस्ट थिएन। बेला-बेला अंग्रेजी मिसाएर कुरा गर्थे। 'लेकिन जब राम्रो प्रोजेक्ट मै अच्छा पैसा और धेर बहुत घुमफिर, बल्की अनसर्टेन।' युरोप बसेर सिकेका होलान्।
दामोदर मेरै साथी हो। पढाईमा कहिल्यै तेज होइन। चिट चोरेर एस.एल.सी पास गर्यो। उसको परको काका सिटिभिटीमा काम गर्थे। उसलाई तिनै काकाले सि. एम. ए. पास गराइदेको रे! होइन भने ऊ त्यती पढ्न सक्नेखालको होइन। गाउँमा यही हल्ला छ।
म पाँच वर्ष विदेश बसेर फर्किँदा गाउँमा दामोदरले राम्रो बन्दोबस्त गरेको थियो। 'विदेशमा मेडिकलको राम्रो रैछ। दामोदरले छिट्टै पैसो कमायो'- छिमेकको कचहरीमा दामोदरको कुरा चल्न थालेको थियो। गाउँलेका धेरै छोराछोरी अनमी र सिएमए भर्ना हुन थालेका थिए। तर मलाई उसले मेडिकल प्रोफेसनमै काम गरेर पैसा कमाएको भन्नेमा कौडी विश्वाश थिएन।
'दामोदर, काम के गर्थ्यो?' इस्तानबुलमा एकसाथ काम-मकान गरेको भन्नासाथ मैले सोधेँ। खासमा मेरो चासो यत्तिमा थियो।
'छ नि हजुर! विदेशमा सब काम समान। बुझिलिनुस् काम। बस्!' जवाफ नआउला भन्ने भएको भए उनीसँग बोल्ने दु:ख बेसाउँथिन।
तर उनले यत्तीचाहीँ भने, ' ऊ त धेर पावरफुल आदमी हो। हामी त नाम निकालेर काम गर्न गको। बल्की ऊ, कुरै छोड्नुस्। सिधै डिउटी ज्वाइन।'
गिर्धारीको रोतरोत झेलेको अर्को एक घण्टामा जिप गुड्यो। उनको तेह्र भौतान कुराबाट मैले बुझेको यत्ती हो-उनी र दामोदर इस्तानबुलको एकै अफिसमा काम गरेका हुन्। कुराको हिसाबले कुनै अन्तरराष्ट्रिय गैह्र-सरकारी संस्था हुनुपर्छ। दामोदरको कामको पत्तो पाउन सकिएन। मेरो अड्कल, माथिल्लो दर्जाको काम गर्ने खालका मानिस यी पक्कै होइनन। मैले मात्र होइन, उनलाई देख्ने जो कोहिले पनि यती अड्कल काट्न सक्छ। वा उनको चप्पल देख्नेले।
यात्रु देख्नासाथ जिप हरदम रोकिन्छ। गिर्धारी बे-रुकावट बोलेका बोल्यै छन्। आधा मान्छे ढालामा झुन्डिएका छन्। उनको कुरा सुन्ने हरकोही मुसुक्क हास्छ। उनी अड मान्दैनन। मेरो मुख संकोचले कसो कसो फुलेझैं भइरहेको छ।
'भैया झर! स्टेसन आयो', खलासी करायो।
'ए बेटा, तिमीलाई पता छ? हाम्रो सालले म तिम्रो भैया लौकेछ?', बेपरवाह खलासीले जिप ठटायो। जिप अगाडि गुड्यो।
'के छ नि, यो पहाडीयनको रिस्ता बोल्न आउन्दैन। दादा उमरको आदमीलाई भि भैया। बेटा उमरको लाई भि भैया, ' खलासी बाह्र-तेह्र जतिको हुँदो हो।
मलाई उनीसँग फुत्किनु थियो। मैले आफ्नो गच्छे बढी झेलिसकेको थिए। म बाटो तताउने सुरमा लागेँ।
'सुन्नुस् त हजुर', म हिँडेको मात्र थिएँ। नसुनेजस्तो गरी हिँडिरहेँ। फेरि उनले बोलाए। मैले सुन्न खोजिन। उनी मेरो अगाडि टुप्लुक्क आइपुगे। अलिक कुदेर।
'हामी तमाम बात मार्यो। बल्की दामोदरको घर पुछ्न भुलेछु।' उनलाई दामोदरको घरको नक्सा चाहियो। मैले अलि पर मोडनिर छ भनेँ। उनले बुझेनछन् क्यार। सँगै जान अनुनय गर्न पो थाले। उनको कुराले नै मलाई पुगेको थियो। यो भन्दा बढी के सुन्नु? म उम्किन खोजें।
'चल्नुस् न हजुर, तपाईं भि साथी से मिल्नुस्', फर्किसकेका उनले अर्को वाक्य बोले। यसो सोचें। दामोदरसँग भेट नभएको पनि थुप्रै भयो। उसको जहान त मैले देखेकै छैन। उनको साथै जाने निधो गरें। उनी खुसी देखिए।
बाटोमा उनले एक किलो स्याउ किने। एउटा चकलेट पनि। 'सगुन त किन्नै पर्यो। धेरै दिनको बाद मिल्दैछु।' मैले टाउको हल्लाएर समर्थन जनाएँ। हामी दामोदरको घरमा पुग्यौँ।
दामोदरले पुरै एक कठ्ठामा घर बनाएको रहेछ। घर अगाडि खाली आँगन छ। आँगनभरी झार जङ्गल। पात-पतिङ्गर। सरसफाइ नपुगेजस्तो। आँगनको एक टुक्रामा वर्षातको पानी। पछाडि करेसाबारीजस्तो देखिन्छ। हरियो सागसब्जी। हामी ढोकानिर पुग्यौँ।
'घरमा को हुनुन्च?' मैले सोधेँ। भित्रबाट सर्याक-सुरुक आवाज आयो। कोही बोल्दैन। मैले दोश्रोपल्ट बोलाएँ।
भित्रबाट भर्खरकी गोरी महिला निस्किइन्, 'को हो?' होची-होची मोटी-मोटी उनको स्वर अल्ली कडा सुनिन्थ्यो।
'दामोदर जी हुनुन्छ?' म नै अघि सरें।
'हुनुहुन्न। किन हो?' उनले हामीलाई नियालेर हेरिन्। उनका आँखा गिर्धारीमा बढ्ता गढेका हुन् कि? मलाई त्यस्तो लाग्दैछ।
'उहाँ दामोदरजी लाई भेट्न् आउनुभको। बोलाइदिनुस् न,' मैले भनेँ।
'भर्खर निस्किनु भको। अहिले आउनुहुन्न। भरे आउनुस् न। वा भोलि,' संघारभित्रबाट बोलेकी उनी यत्तिकैमा फर्किन आँटिन्।
'के छ कि, कल सबेरै भयरहवा पुग्नु छ। फोन मिलाउनुस् न। बोल्नुस्, गिर्धारी आएछ दामोदरजी खुसी-खुसी आउनुहुन्छ', उनले बल्ल मुख खोले।
'के गर्छौ र त्यस्तो बिजी?', महिलाले होच्याएझैं बोलिन्।
'हामी अपिसमे काम गर्छु। सुपरभिजनमे आएछु। और घोराइ भि जानुछ', गिर्धारीको कुरामा उनले ओठ लेप्र्याइन्। गिर्धारीले उही इस्तान्बुलको कहानी सुरु गर्न थाले।
उनले गिर्धारीको कुराको माने राखिनन् र भनिन्, 'ल ल साँझ आउ। भन्दिउँला।'
उनले ढोका ढ्याप्न के आँटेकी थिइन्, मैले भनें, ' उहाँ टाढाबाट आउनु भको। विराटनगरबाट। अनि म गिर्धारीको साथी हुँ। मेरो घर यही बजारमा हो। बोलाइदिनुस्। वा मोबाइल नम्बर दिनुस्। म कल गर्छु।'
उनी अलिक नरम देखीइन्। उनी थोरैभित्र गइन्। फेरी तुरुन्त फर्किइन्। बरान्डाको कुर्ची ईशारा गर्दै भनिन्, 'बस्नुस्।'
मेरो खुट्टा गालिसकेको थियो। म बरान्डामा उक्लेर थ्याच्च बसें। गिर्धारी मेरो पछि-पछि आएँ।
उनी भित्र जान खोजिन्। फर्केर हेरिन्। गिर्धारीलाई दुईपल्ट। उनको आँखामा शंका देखिन्थ्यो। अनि कराइन्, 'बाबु! बाबु!'
एउटा आठ वर्षजत्तिको बालक निस्कियो। 'यही बस है! ख्याल राख', उनी विस्तारै केही भन्दै थिइन्। र नाक-मुखले साउती गर्दै थिइन्। बोलेको अस्पस्ट सुनिन्थ्यो। अनुमान गर्न सकिन्थ्यो। जे होस्! उनले निको कुरा गरेकी पक्कै होइनन्। उनले भनेकी होलिन्, 'हेर्दै चोरजस्ता छन्। राम्ररी हेर्नु।' वा अरु केही।
उनी भित्र पसिन्। छोराले आमाको आदेश अक्षरस पालन गर्दै थियो। उसले हामीलाई चौकिदारले चोर हेरेझैं हेर्यो। बोलाए नि आउँथेन। गिर्धारीले चकलेट देखाए। पहिले मानेन। अब दोमन भयो। ऊ हाँस्न खोज्यो। उसले हामीलाई फकाउन खोजेको होला। भित्रबाट उनै गोरी नारी आइन्। बच्चा सतर्क भयो।
'एकछिन बस्नुस्। आउँदै हुनुन्छ।' दामोदरलाई भेट्न आको गिर्धारी हो। उनी मसँग कुरा गर्दै छन्।
गिर्धारी लगभग मौन छन्। मलाई उनीसँग भलाकुसारी गर्नुपर्ने खासै केही छैन। बच्चाले उसै गरी हेरिराछ। महिला भित्र पसिन्। एकछिनमा लथ्रक-लथ्रक गर्दै दामोदर आइपुग्यो। गिर्धारीलाई देखेर ऊ टाढैदेखी मुस्कुरायो। नजिक आयो। हात मिलायो। उसले मलाई अचम्म मान्दै सोध्यो, 'चिनजान थियो?'
'नाहीँ! बाटोमे गाडीको इन्तजार गर्दा मिलेको', गिर्धारी बल्ल बोले।
'अनि तिमी त विदेश थियौ। कैले आको?', गिर्धारीको हालखबरी लिएपछी मात्र उसले मलाई सोध्यो। मैले बताएँ।
'उहाँ मेरो हाकीम साप। इस्तानबुलको मिसनमा उहाँ मेरो बोस हुनुहुन्थ्यो। अनि मेरो सिटिभिटीमा काम गर्ने अंकलको साथी पनि। उहाँहरु सँगै लखनउमा डिग्री पढ्दा देखीको साथी। मलाई मिसनमा पारेको पनि उहाँले नै हो,' दामोदरले हाम्रो परिचय गराउँदै थियो।
'ए भित्रै बसेर कुरा गरौं न,' उसले केही सम्झेजस्तो गरी कुराकानीकै बीचमा बोल्यो। अनि करायो, 'ए सुमित्रा! सुमित्रा!'
गोरी दामोदरकी पत्नी रहिछन्। बाहिर निस्किइन्। 'अनि चिया पानी सोध्यौ?' उनले नाइँ भनिन्। दामोदरले मुख रातो पार्यो। सुमित्राले मुख बिगारिन्।
'अनि नमस्ते गर्यौ?' उहाँ हाकिमसाप। ऊ मेरो साथी', दामोदर सोध्दै थियो।
सुमित्राले बलजफ्ती हात जोडेजस्तो गरिन्। दामोदर रिसायो। हामी सँगै भित्र पस्यौं।
गिर्धारीले आफैंसँगको कोसेली सुमित्रालाई दिए।
उनीहरु लामो कुरामा पसे। युरोपको रेल। समुद्रको किनार। जाडो यामको हिउँ। हेलोवन पर्वको रमाइलो बस्फोरस स्ट्रेट। कपालीकार्सी। टक्सिम स्क्वार इत्यादी। जागिरको अवधि सकिएपछी दामोदर १ वर्ष इलिगल बसेको कुरा पनि निस्कियो। गिर्धारीलाई त्यसो गर्न मन लागेन रे। म सुनी बसें। दामोदरको छोराले चकलेट चाटिपुछि खाँदैछ।
'अब यहाँ नि सानोतिनो जागिर मिलाउनु पर्यो सर', दामोदरले भन्यो।
'पावर लगाउनुस् न,' यसपाली गिर्धारीले व्यंग्य कसे, 'विदेशको जस्तो काम यहाँ नगर्नुस्। न इज्जत न पैसा।'
दामोदर इस्तानबुलमा सरसफाइको काम गर्थे रे। यो कुरा कसैलाई थाहा छैन रे।
'पच्चिस हजार सम्म पाए त गर्थें सर। घर व्यवहार चलाउन गाह्रो छ,' दामोदरले भने।
'विराटनगर लौटेपछि कार्यालय सहायकको भैकेन्सी खुल्दैछ। त्यसमा तपाईंको बात गरौंला', सुमित्राले ल्याएको चियाको वाफ सासले उडाउँदै गिर्धारीले भने। म चिया सकेर विदा भएँ।
दामोदरको आँगनमा जमेको पानीमा माछाका भुरा रमाइरहेका थिए। तिनलाई त्यही समुद्र। दुई पाइला अगाडि बढेर पछि फर्किए। होइन! ती त चेपागाँडाजस्ता छन्। खै! भुरा नि हुन सक्छन्। मसिना कुरा सजिलै चिनिन्न। सरासर अघी बढें।
दिनभरी मेरो मगजमा इस्तानबुलका हाकिम घुमिरहे। कस्तो अभिमान नभएको मान्छे। उनमा अपमानवोध पनि त छैन। वा यसो हुन सक्छ, अज्ञानीसँगको माथापच्चीमा उनको रुची छैन।