बिहानको पहिलो हरफमा
भुइँकुहिरोेको फेटा गुथेर
चोरेर क्षितीजको रङ—आफ्नो शीरमा चम्काउँछ
बटुलेर डोराडोरी कुहिरैको माला उन्छ
र, मुस्कुराउँछ त्यो किरात बस्ती
कहिलेकाहीँ बल्झाइदिन्छन् घाउ
बर्जित ईतिहासका काला धब्बाहरुले
तर पनि बिर्सिँदैनन्
सुनाहाङ वालिङ खोटे पासुङहरुलाई
आफ्नै आयुलाई तन्काउँदै
कुल्चँदै आफ्नै छायाँलाई
समयको गति नाप्दै—नाप्दै
हरेक दिन—
सधैंजसो हिमाल टिपेर
सजाउँछ छातीमा—टल्काउँछ निधारमा
घरीघरी रिसाउँदै
बसिदिने गर्छन् बादलका लप्काहरु
पन्छाउँदै बादलहरु
चिहाएर हेर्छ आकाश
कहिले याङ्शोला डाँडै–डाँडा
पेरुङ्गोमा कुम्लो पारेर
सुङ्गुर पाठा पु¥याउँछ, पञ्चमी हाट
गैरी खेतको गराजस्तै अनुहारमा
थोरै उज्यालो छर्किएर
फर्कन्छ ऊ
ध्वाँसो परेको थैली फुकाएर
खुसीहरु गन्दै—गन्दै ...
नोट
१ः सुनाहाङ् वालिङ— किरात राज्यको रक्षार्थमा लड्दा सारा फौजहरु सिध्दिए पनि गोर्खा अधिन नमान्दा वि.सं. १८३०/४/४ मा उनको हत्या भएको थियो।
२ः खोटेहाङ— उहिले पूर्वको माझ किरातमा खोटेहाङ राजाले शासन गर्दथे। पछि गएर खोटे राजाद्वारा शासित यस क्षेत्रलाई खोटाङकोट भन्ने गरिन्थ्यो, कालान्तरमा खोटाङकोट शब्दको कोट शब्दांश लोप भई खोटाङ मात्र बाँकि रहन गयो, जुन शब्दबाट अहिले जिल्लाको नाम रहेको छ।