‘मानसिक रोगबाट छोरी सधैँका लागि मुक्त होस् भन्ने चाहनुहुन्छ भने एउटा कुटुम्ब खोजेर जतिसक्तो चाँडो उसको बे गर्दिनोस्,’ छिमेकी दोकाने भाइले खडानन्दलाई सुझाव दिएको थियो, ‘उसले मन परा’को केटोबाट मन अन्यत्र मोडिदिएपछि सब कुरा ठीक हुन्छ। तपैँलाई पनि ढुक्क हुन्छ। छोरीको जात हो, सदैँ घरमा राख्ने कुरा हुँदैन। एक दिन त बे गरेर दिनैपर्छ।’
खुब घत प¥यो उनलाई त्यो सुझाव। त्यही बेलादेखि उनी उपयुक्त केटो खोज्न लागिपरे। बेलबारी, बिजनबारी, बुट्टाबारी, बेर्नाबारी, दानाबारी, खुदुनाबारी, आयाबारी, धुलाबारी, डाँगीबारी, पुहातुबारी, उर्लाबारी, अँठियाबारी, हल्दीबारी, कोरोबारी, केराबारी, तोरीबारी, ताराबारी, भाङबारी अनेक ठाउँमा खबर पठाए। आइतबारे, सोमबारे, मङ्गलबारे, बुधबारे, बिहीबारे, शनिश्चरे मात्र होइन इलामको शुक्रबारेसम्म सूत्र भिडाए। नागरडुब्बा, घैलाडुब्बा, टाँगनडुब्बा, ग्वालडुब्बा आदितिर भाइ धर्मानन्द डुले। पेल्टीमारी, पाठामारी, चप्रामारी, डुँडामारीसम्मका ठाउँका चिनारुकहाँ चहारे। भेटेसम्मका आफन्त र मनले खाएका साथीभाइहरु सबैसँग कुटुम्ब बनाउन लायक केटाको कुरो कोट्याए। तेलपानी, लालपानी, चिसापानी, राँगापानी, धारापानी, जरुवापानी, जुरोपानी आदितिर नन्दिनी पुगिन्। दिनरात दौडधुप गरे, फागुन–चैतको उखर्माउलो गर्मीसमेत नभनी। मकै गोड्ने, पाटा छर्नेलगायतका काम हली, खेतालाहरुको जिम्मामा छाडेर।
नभन्दै फेला प¥यो। कलबलगुडी घर भएका एकजना पञ्च साथीको माध्यमबाट। काँकरभिट्टामा। असमको कोक्राझारबाट आएको त्यस केटाका काका पर्दा रहेछन् ती पञ्च। तीन पुस्ता टाढाको नाताबाट।
खित्रिङमित्रिङ सामानसहितको सानोतिनो किराना दोकान थापेर बसेको त्यस केटाका आफन्त पानीघट्टा, सतिघट्टा र इँटाभट्टामा पनि रहेछन्। बाबुआमा नभएको टुहुरो। पढाइ उतैको म्याट्रिक पास। दाजुभाइ चाहिँ उतै आसामतिर भएका।
केटाका कुरा त अरुअरु पनि आएका थिए। कालेबुङ, कोल्बुङ, कन्याम, केरखा, केचना र कुमरखोदबाट पनि केटो हेर्न आउनका लागि खबर पठाएका थिए। बेलडाँगी, बाहुनडाँगी, सहरेडाँगी, खयरडाँगी, खुट्टेडाँगी आदिबाट आफन्तहरुले कुरो ल्याएका थिए। खडानन्दले कुटम्ब खोजेपछि सहयोग गर्नेहरुको के कमी?
तर उनलाई कोक्राझारबाट आएर काँकरभिट्टामा बसेकै केटालाई कुटुम्ब बनाउन उचित हुन्छ जस्तो लाग्यो। कतिपय केटा उनका नजरमा जँच्तै जँचेनन्। कतिपयका चाहिँ कुरा उनलाई पच्तै पचेनन्।
किनकि नेपालका केटालाई कुटुम्ब बनाउँदा विगतका बारेमा कसै न कसैले बताइदिएर छोरीको जीवन बर्बाद बनाइदिन सक्थ्यो।
यति सोच्नासाथ उनले आफ्ना वरिपरि दुश्मनैदुश्मन मात्र देखे। चोरले प्रत्येक झाडीमा पुलिस देख्छ भनेजस्तै भयो उनलाई पनि। अगाडि पर्दा चेब्रे घसेर कुरा गर्ने अनि पछाडि पर्नासाथ उछित्तो काढ्न शुरु गरिहाल्नेहरुका अनुहार सम्झन थाले। आफूले गरेको प्रगति देखी नसहेर जग्गा कमाउनेहरुलाई उचाल्दै हिँड्नेहरुको समेत याद आयो। हिजो आफूले आधार दिएर बाँच्न सक्ने बनाएकाहरुले गरेको खेदोपाइलो सम्झेपछि त खडानन्दलाई भाउन्न होलाजस्तो भयो।
‘अहँ, हुँदै हुँदैन, मेरी छोरी त्यै काँकरभिट्टाको केटालाई दिन्छु,’ उनको आत्माबाट आवाज आयो।
नेपालमा टेक्ने समाउने गतिलो आधार नभएको, स्थानीय समाजका धेरैसँग सम्पर्क नभएको केटालाई कुटुम्ब बनाउन पाए छोरीको भविष्य बढी सुरक्षित हुन्छ भन्ने आस उनलाई लागेको थियो। भोलि आफूले आधार दिएर पनि गरिखाने बनाउन सकिन्छ भन्ने विश्वास जागेको थियो।
खबर पाउनासाथ केटो आयो। केटी हेर्न। उनै काका पर्ने आफन्त र अर्को एकजनालाई लिएर। गहुँगोरो वर्ण, औसतभन्दा अलि चुच्चो नाक, निधारको दाहिने भागमा सानो खत। झट्ट हेर्दा पनि केटो नराम्रो थिएन।
चैतको मध्यतिरको समय थियो। खडानन्द आँगनमा आइपुग्दा उनीहरु पसिनाले खलखली भएका थिए।
खडानन्द दम्पतीले राम्रै स्वागत सत्कार गरे। शुरुमा निबुको रसको चिसो सर्बतपानीले। त्यसपछि मासुसहितको पकवानले।
कसैसँग केही काम लिनु छ भने सबैभन्दा पहिला नुन भएको कुरा खुवाउनुपर्छ–खडानन्दलाई विश्वास थियो, नुन खाएपछि मान्छेले गुन तिर्छ तिर्छ। तिरेन भने त्यस नुनले ऊ आफैँलाई पिर्छ।
कुरा सकारात्मक रुपमा अघि बढ्यो। खडानन्दलाई केटो आफूले अनुमान गरेभन्दा धेरै सोझो र भलाद्मी लाग्यो। यत्तिको केटो उम्काउनै हुँदैन भन्ने निष्कर्षमा उनी पुगे।
केटो र उसको साथीले एक झलक केटीको अनुहार हेर्न खोजे।
ती दिनहरुमा नम्रता बानी अलि फेरिएको थियो। घरमा नौलो मान्छे कोही आयो कि कोठाबाटै बाहिर निस्कन्नथिन्। कोठाभित्रै पढेर वा रुमाल बुनेर बसिरहेकी हुन्थिन्।
खडानन्दले नन्दिनीलाई अह्राए छोरीलाई तल बोलाउनका लागि। तर अहँ, उनी तल आउँदै आइनन्।
त्यसपछि खडानन्दले तलबाट आफैँले कराएर बोलाए, 'छोरी, एकछिन तल आइज त।' आवाज ठूलो भए पनि बोलीमा मीठास थियो।
बुवाले बोलाएको सुन्नासाथ उनले ढोकामा आग्लो पो लगाइन्। किनकि, बुवाले ती नौला मान्छेहरुसँग गरेका एकएक कुरा उनका चनाखा कानले अघिदेखि टिपिरहेका थिए। भोकाएका कुखुराले चारो टिपेझैँ।
कुनै उपाय लागेन। अन्ततः उनीहरुले छोरीको फोटो देखाए। अल्बममा भएका।
फिस्टाको जस्तो ज्यान भएको त्यस केटोले केटी मन परायो। रुपमा केही खोट भए पो मन नपराओस् !
‘अहिलेका केटीहेरु भनेका यस्तै हुन्, बिहेको कुरा सुनेपछि कुना पसिहाल्छन्,’ केटाका काकाले लमी हुनुको भूमिका निवाह गर्दै भने, ‘केटी मैले देखिसकेकै छु। उनको आनीबानी पनि मलाई थाहा भएकै कुरा हो। मैले हेरेपछि उसलाई भइहाल्छ नि।’
उनीहरु जनैसुपारीका लागि तिथि हेर्ने निर्णयमा पुगे। त्यही बेला केटाको साथीले भन्यो, ‘निर्णय गर्नुअघि एकपटक केटीलाई सोधिहेर्ने हो कि?’
‘वाँ’ले निर्णय गरेपछि भैगो नि!’ लमीपञ्च लय मिलाउँदै बोले, ‘बिहेको कुरामा अचेलका केटीले हुन्छ, गर्छु त कहाँ भन्छन् र?’
केहीबेरको छलफलपछि कुरो मिल्यो। आउँदो वैशाख १५ भित्रै बिहे गर्ने निर्णयमा पुगे। रात रहे अग्राख पनि पलाउँछ, किन ढिलो गर्ने भन्दै।
जनैसुपारी र बिहेको साइत निकाल्न पण्डित पनि बोलाइएन। पात्रो झिकेर खडानन्द आफैँले तिथि जुराए।
खडानन्दको इच्छा त त्यही बेला जनैसुपारी गरिहाल्ने भन्ने थियो। तर, त्यसका लागि केटो तयार भएन चैतको महिना भनेर। साइत उति राम्रो नभएकाले खडानन्दले पनि करकाप गरेनन्।
तोकिएको मितिमा जनैसुपारीका लागि आउने वाचासहित केटो पक्ष बिदा भयो। खडानन्दले टाउकाबाट बाह्र मनको बोझ बिसाएको अनुभव गरे।
केटो पक्ष बिदा भएको एकछिनपछि नम्रता तल ओर्लिन्। उनलाई पिसाबले च्यापेर उखरपात बनाइसकेको थियो।
पाइखानाबाट फर्केपछि नम्रता भान्सामा पसिन्। अनि, आमासँग भनिन्, ‘म त त्यो केटासँग बे गर्दिनँ।’
‘हन, के भन्छे यो केटी?’ नाङ्लामा आरी राखेर निबुवा साँधिरहेकी नन्दिनी झर्किइन्, ‘बुवाले हेरेको त्यति राम्रो केटोसँग नगरेर कोसँग गर्छेस्?’
‘गोविन्दबाहेक अरुसँग त म बे गर्दै गर्दिनँ,’ नम्रताको मनमा दबेर बसेको भाव बाहिर निस्क्यो।
(मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको कृष्ण अविरलको नयाँ उपन्यास ‘नम्रता’को अंश।)