सामाजिक अव्यवस्था, अन्याय, कुरीति र क्रुरताको सिकार भई सास फेर्ने ठाउँ कतै नदेखेर झ्वाम्म नदीमा हाम्फालेका कति नारीहरूका दुखान्त जीवन–कथाहरू मसिनो सुसेलोमा पोख्दै बगिरहेथ्यो तमोर नदी, अविरल। सामन्ती अत्याचारको जाँतोमुनि पिसिएर मुटु थिल्थिलो भएका गरीबगुर्बाका सुस्केराहरू नदीको तरङ्गमा मिसिएर किनारामा ठोक्किँदै गइरहेथे कतै अनिश्चित यात्रातिर।
चारलाखे साहुले चुसेर सिठ्ठा बनाएका लिम्बुनी आमाका दुई छोरा जुरानसिंह र दलबहादुर तमोर नदीको किनारै–किनार हिँडिरहेका थिए। भदौको जिउ उसिन्ने गर्मीमा पचास वर्षको जुरानसिंहको ख्याउटे अनुहार नुनिला पसिनाले निथु्रक्कै भिजेको थियो। दलबहादुर अलि कम उमेरको, अलि मोटोघाटो र अलि हँसिलो थियो। उसको अनुहार घामको रापले पाकेको थियो रातो भएर। चारलाखे साहुको रैथाने हुकुममुनि किच्चिएर सताइएका जुरानसिंह र दलबहादुर बडाबडा ढाकरमा अलिकता सातुसामल बोकेर हिँडिरहेका थिए धमाधम धरान बजार ताकेर, जहान छोराछोरीका खा“उलाउ“ भन्ने तिर्सनालाई विवश छातीमुनि लुकाएर।
सुलुत्त माथि उठेको चिप्लो, खुट्टा टेक्ने र जिउ अड्याउने खुड्किलासम्म पनि नभएको पहराको बीचसम्म उक्लेपछि जुरानसिंहको जिउ गलेर फत्रक्क भइहाल्यो। नाम्लोले बेस्मारी थिचेर अररिएको टाउको उठाउँदै माथिसम्म दृष्टि पु¥यायो उसले। उकालो पार गर्न उसलाई आँट आएन। उसले हरेस खायो। उसका नौनाडी गलेर आए। दुःख र पीडाले पिलिएको पातलो रगत काम्दै उसका नसाहरूमा बग्यो। लुगलुग कामे उसका गोडा। चिसो हुँदै गयो अनिकाल र दबाबले छिनेको उसको जिउ। फुकीढल जुरानसिंहले अत्यास मान्दै पहराको फेदतिर आँखा लडायो। आफू कहालीलाग्दो आकाशनिरै पुगेको अनुभव भयो उसलाई। फर्केर तल्तिर ओर्लने हुती अब उसमा थिएन। जिन्दगीको मायाले हृदय चिरिएर पोखिएका उसका सुस्केरालाई हावाले हुत्याएर लग्यो माथिमाथि आकाशतिर। जुरानसिंहको त्यो अवस्था मानौँ हावा अँठ्याएर शून्यमा झुण्डिएको एउटा अभिशप्त मान्छेको जस्तै थियो।
पहराको थाप्लोमा उक्लेपछि सन्तोषको सुस्केरा हाल्दै दलबहादुरले तोक्मा लगायो। अनि उसले पहराको बीचमा टाँसिएको जुरानसिंहलाई तल हे¥यो। आसा भरिएका आँखाले जुरानसिंहले दलबहादुरलाई माथि हे¥यो।
‘किन उभिइस् हँ तँ त्यो अक्करमा?’
‘दले’ जुरानसिंहको अताल्लिएको स्वर मास्तिर उठ्यो। ‘तँ मेरा घराँ कस्तो खबर लगिदिन्छस्, दले? लडेर म¥यो भन्छस् कि साहुको पीरले मुगलान भास्सियो भन्छस्? दले, बोल्न मेरो भाइ दले † तेरो बोली सुनेर म खस्छु। आजै मरुँला भन्ने मलाई कहाँ लाग्या थ्यो र, दले?’
‘पख्, एकछिन त पख् नाथु। तँ अकालमा मर्न पाउँदैनस्।’ दलबहादुरले ढाकर बिसायो। अनि हतारहतार ऊ तल ओल्र्यो। जुरानसिंहको ढाकर बोकेर उसलाई भर दिँदै पहराको थाप्लोमा उतारेर उसले सोध्यो, ‘तँ किन यसरी आत्तिइस् हँ? सयौँपल्ट उक्लेको र ओर्लेको यो भीरमा तँ आज किन अल्मलिइस्?’
पुनर्जीवनका आँसु भरिएका जुरानसिंहका आँखामा हर्ष र कृतज्ञताका लहरहरू दगुरे। उसको फुस्रो अनुहारमा जीवनको ममता र आस्था चम्क्यो। दलबहादुरलाई अँगालो हाल्दै प्रेमका आँसुले भिजेको स्वरमा उसले भन्यो, ‘तँ नभएको भए, अँ तँ मसँग नभएको भए आज मेरो के गति हुन्थ्यो? तैँले, अँ तैँले आज मेरो ज्यान बचाइस्। खै म तँलाई के गरुँ?’ जुरानसिंहले पाखुराले दलबहादुरलाई कस्यो। गुन मान्दै उसका गाला मुसा¥यो। एक तमाससित चलिरहेको आफ्नो छाती उसले दलबहादुरको छातीमा टाँस्यो।
‘तँ आज बित्थामा डराइस्। यो राम्रो भएन। तैँले बुझिस् के साँल्दाइ?’ जुरानसिंहको लट्टा परेको कपाल सुम्सुम्याउँदै दलबहादुुरले सम्झायो।
‘कालको मुखबाट तैँले मलाई आज बचाइस्। अहो तँ नभ’को भए आज मेरो के गति हुन्थ्यो? मेरो त बिजोग पो हुन्थ्यो हाउ!’
‘यो ठूलो कुरो होइन। आफ्नो मान्छे भन्या भरअभरलाई त हो।’
‘तँ आज मेरा लागि देउताभन्दा ठूलो भइस्।’
मध्यान्हको चर्को घाम ताता किरणहरू तमोर नदीको किनारमा बिस्कुन लगाएर चम्केको थियो बीच आकाशमा। भेल उर्लेर आएको नदीमा छाल र तरङ्गहरू लठारिँदै, तँछाडमछाड गर्दै दगुरिरहेका थिए।
कहालीलाग्दा पानीका भुल्काहरू हुत्तिँदै र पछारिँदै कुदिरहेका थिए। चारलाखे साहुका सुंगुरका जस्ता आँखा र भालूको जस्तो अनुहारको डरलाग्दो छायाँ हृदयमा टाँसेर जुरानसिंह र दलबहादुर हिँडिरहे, हिँडिरहे।
केहीबेर हिँडेपछि थाकेर लखतरान भएको जुरानसिंहका पिँडुला बटारिन थाले। उसको हिँडाइको चाल ढिलो हुँदै गयो। उसको मूल सातो पहराको बीचैमा हराएको थियो।
‘अलि बिस्तारो हिँड्। हुरुक्क हुनु भन्ने केही छैन। चारलाखे ब्वाँसाको नखाएको रिन भन्दा त मेरो ज्यान ठूलो हो नि हाउ।’ दलबहादुरलाई रोक्दै जुरानसिंहले भन्यो।
‘बेलुकी बास बस्न सावाँपाटी नपुगेर बीचैमा अलपत्र परियो भने के गति हुन्छ? अनि राति पानी प¥यो भने ज्यान जाँदैन?’ दलबहादुरले बाटो सम्झिँदै भन्यो। जुरानसिंहको अनुहार अँध्यारो भयो। उसले खुइय सुस्केरा हाल्यो। त्यो सुस्केरामा उसको जीवनको दुखान्त कथा घोलिएको थियो। त्यसमा उसको अस्तित्वको चीत्कार पोखिएको थियो।
ठाउँ–ठाउँमा तोक्मा लाउँदै, ठाउँ–ठाउँमा अलिबेर थकाई मार्दै उनीहरू गइरहे, अगाडि गइरहे। अनिकालले छिनेको जुरानसिंह जतिसुकै हतार गरेर हिँड्दा पनि बास बस्न सावाँपाटी पुग्न सकेन। झमक्क साँझ पर्दा तिनीहरू सावाँपाटी भन्दा आधा कोश पछाडि नै थिए।
‘पख्, पख्। अब अगाडि बढेर काम छैन। अब यहीँ सुतुँ, ‘ढाकर भूइँमा पछार्दै जुरानसिंहले भन्यो। दलबहादुरले दाउरा खोज्यो र आगो बाल्यो। अनि ढुङ्गाका आडमा बोरा ओछ्याएर उसले ओछ्यान बनायो। नौनाडी गलेको जुरानसिंह ढुङ्गाको सिरानी हलेर ढल्क्यो। दलबहादुरले मकै पोल्योे र गुन्द्रुक साँध्यो। अनि जुरानसिंहलाई बिउँझाउँदै भन्यो, ‘तँ आज साह्रै गलिस् हाउ। उठ्, खा’र सुत्। गुन्द्रुक असाध्यै मीठो छ।’
जुरानसिंहलाई भोक त चौपट्टै लागेको थियो तर एक घोगो मकै र एक दुनो गुद्रुक खाएपछि उसलाई गला लाग्यो।
‘अरू खा, बल गरेर भए पनि खानैपर्छ। भोलि बास बस्न लेउती फेदीमा नपुगी भा’छैन।’
‘भो, ढिपी नगर्। आज मलाई खान मनै थिएन।’
जुरानसिंह दुई माना पानी पिएर घुप्लुक्क सुत्यो।
दलबहादुरले आकाश हे¥यो। वादलका काला पहाडहरू आकाशमा चिप्लिन लागेका उसले देख्यो। उसले छहारी बनायो। दुइटा घुमको छानो हाल्यो। अनि सन्तोषको सास फेर्दै उसले सोच्यो— यति भएपछि त कत्रै पानी परे पनि ठाँगेले छुँदैन। हिँडाइको चाल यही हो भने त धरान पुगेर घर फर्कन महिना दिन लाग्ला। उसले चिसो सुस्केरा हाल्यो।
आधा रात भइसकेको थियो। धमिला पानीका भुल्काहरू हुत्याउँदै तमोर नदी एक धूनमा बगिरहेको थियो। दलबहादुरलाई अँगालोमा बाँधेर जुरानसिंह सपनामै कृतज्ञता प्रकट गरिरहेको थियो। दलबहादुरले लाएको गुन सम्झेर उसको हृदय हर्षले पग्लेको थियो। वादलले छोपेको आकाश अन्धकार भयो। एकछिनपछि हात्तीसुँढे पानी पर्न थाल्यो। गरीबका दुई छोरा मस्त निद्रामा थिए। उनीहरू अहिले एकसरो भिजिसकेका थिए।
दलबहादुर उठ्यो। पानी दर्किरहेको देखेर ऊ आत्तियो। जुरानसिंहलाई घच्घच्याउँदै ऊ करायो, ’ओइ साँल्दाइ, उठेर हेर् त बाहिर पर्लय भइसकेछ।’ जुरानसिंह झस्कियो। उसको जिउ बेस्सरी दुखिरहेको थियो।
तैपनि अल्छी मान्दै उठेर उसले आङ तान्यो।
‘चारलाखे ब्वाँसाको भस्म भइजाओस्, ‘वेदनामय स्वरमा जुरानसिंहले भन्यो, ‘साउने झरीमा हामीलाई नून बोक्न पठाउने असत्ती बज्याको सर्वनाश भइहालोस्!’
‘उठ् साँल्दाइ, चाँडो। आरिन्ने हाउ, कता जाने हो अब यो अँध्यारोमा?’
त्यो चकमन्न अँध्यारोमा भाग्ने ठाउँ कतै थिएन। माथि भीरको डीलबाट पानीको छाँगो ढुन्मुनिदै तल खस्यो। पानीमा डुबेको जुरानसिंह बाँच्ने सहारा खोज्दै करायो, ‘पर्लय भो! दले तँ मलाई बोकेर कता पो लान्छस् हाउ? मेरा नौनाडी गले। अब हिँड्न सक्ने आँट मेरो छैन हाउ भाइ।’
‘पारि जाऊ“, यो खोलाले हामीलाई अब हुत्याउने भो।’ दलबहादुरले भिजेका बोरा ढाकरमा हाल्यो। अनि जुरानसिंहलाई हात समातेर पानीबाट बाहिर निकाल्यो। पानीले चुटेर मुसो भएको जुरानसिंहको मुटु काम्यो।
त्यो रातलाई जीवनको अन्तिम पल सम्झ्यो उसले। घुम ओढेर चिसो ढुङ्गोमा ती बसे। जीवनदेखि थाक्दै गएको जुरानसिंहलाई स्वास्नी छोराछोरीको सम्झना भयो। अनि ऊ मनमनै रोयो। पारिपट्टि आकाशसम्म उचालिएको डाँडोमाथि जुरानसिंहले आगोको ज्वाला देख्यो। त्यो कन्तबिजोगको क्षणमा आगोको ज्वालाले उसलाई अलिकति आशा दियो। अनि ऊ भालेको पहिलो डाकलाई पर्खेर पानीले भिजेको ढुङ्गोमाथि घोप्टो परेर लमतन्न पसारियो।
उज्यालो भुइँमा खस्नासाथ तिनीहरू बाटो लागे। पाइला चाल्ने तागत अब जुरानसिंहमा थिएन। उसका नसा, जोर्नी र उसको ढुकढुकी पनि एक तमाससित थाकिसकेका थिए। तैपनि कुनै निर्जीव वस्तुलाई जवर्जस्ती तानेर कतै लगेझैं गर्दै उसले आफ्नो बोधो जिउ घिस्स्यायो। तातो पानी सिवाय त्यो बिहान उसले केही खाएन। उसको पेट हुस्स ढाडिएको थियो। सुनिएर गाला पुक्क भएका थिए।
घाम चरक्क चर्केपछि जुरानसिंह थला प¥यो। दलबहादुरलाई प¥यो अब फसाद।
‘अब तँ जा, म यहीँ मर्छु।’ हिक्मत हारेको जुरानसिंहले भन्यो। अब मेरो बाँच्ने आस छैन। आरिन्ने रहर पनि छैन हाउ।’ असहाय आँखाले दलबहादुरलाई हेर्दै उसले मनको बह पोख्यो।
‘खै यताले तेरो ढाकर। म खप्ट्यार बोकिदिन्छु। हरेस नखा न हाउ साँल्दाइ, तँलाई केही पो हुँदैन हाउ।’ हतोत्साहले खोक्रो बनाइसकेको जुरानसिंहको हृदयमा आँट भरिदिन खोज्दै दलबहादुरले फकायो।
दलबहादुरले ढाकर बोक्यो। तिनीहरू बिस्तारै गइरहे, अगाडि गइरहे।
भुङ्ग्रोभन्दा तातो ज्वरो जुरानसिंहका जिउभरि खनियो। अब भने ऊ एक पाइलो पनि हिँड्न नसक्ने भयो। बीचैमा जिउ छाडेर उ पल्याङ्ग लड्यो। दलबहादुरले उसलाई उठाएर हिँड्न कर ग¥यो तर उसले ठाडा कान लाएन। अब उसभित्र साहस र धैर्यको कुनै पनि चिन्ह बाँकी थिएन। एकजुवा जति घाम छँदै तिनीहरू एउटा पुरानो, रित्तो गोठमा बसे। आधा माइलजति माथिबाट दलबहादुरले एक माना दूध किनेर ल्यायो। तर जुरानसिंहले दुई मुठीभन्दा बढ्ता निल्नै सकेन।
‘दले, दले, मेरो जिउ पीलो जस्तै चर्किएर दुखो। मेरा पिँडुला बाउँडिए। अब म बाँच्दिन होला हाउ। मेरो जीवन आजैसम्मको र’छ हाउ! हेर कस्तो दुखेको! यसरी जिउ गलेको मलाई कैल्यै पो था’थेन हाउ।’
‘पख्, तँ नामर्द न हो। तैँले आजै यसरी काँत्रिनु हुँदैन। म छउन्जेल तैले दुःख पाउँदैनस्, बुझिस् साँल्दाइ?’
भुटुन खान खोसेलाका दुनामा ल्याएको घ्यू झिकेर दलेले जुरानसिंहको जिउ माडिदियो। उसले स्नेहपूर्ण हत्केलाले सुम्सुम्याउँदै निकैबेर सेकिदियो पनि।
‘तैँले मेरो लागि यसपालि गर्नुसम्म गरिस् हाउ, दले। तैँले छोरोजस्तो भएर मेरा गोडा मलिस्। म गरीब, म तँलाई के गर्न सक्छु र? अहो! यसपालि मैले तँलाई दिनुसम्म पो दुःख दिएँ हाउ। यो तैँले ला’को रिन तिर्न म यस जुनिमा सक्दिन क्यार।’ दलबहादुरको छातीमा शिर राखेर जुरानसिंह सुस्तायो। उसको छातीमा ताता आँसुका दुई थोपा तप्पतप्प चुहे।
रात निकै छिप्पिएपछि तिनीहरू सुते। शिथिलताले सताएर जुरानसिंह निदाएन। उसको पीडा र चिन्तामा डुबेर दलबहादुर छट्पटाइरह्यो।
‘गरीबले चैनको सास फेर्ने दिन कैल्यै आउला के हाउ, दले? आरिन्ने गरीबले मुन्टो उठाउने दिन कैल्यै आउला के हाउ?’ सुस्केरामा दुःख पोख्दै एउटा समस्या उठायो जुरानसिंहले दलबहादुरका अगाडि।
‘खोइ, कुनै दिन आउँछ भन्छन् क्यारे।’ दलबहादुले भन्यो, ‘पर्लय भ’र कलिजुग मासिएपछि फेरि सत्यजुग आउँछ भन्छन् त हाउ। तर पर्लयले जालीफटाहालाई नास नगरी गरीबका दिन आउन गाह्रो गाह्रै छ।’
उसले सुस्केरा हाल्यो।
‘किराले खाइसकेको झार जस्तै भएँ दले म। सत्यजुगका ती दिन मेरो जीवनदेखि धेरै टाढा छन्। ढाड भाँच्चिने गरी ढुङ्गा बोकेर, काँध खुत्तिने गरी काठपात ओसारेर हामी इस्कुल बनाउँछौ, हाम्रै छोराछोरी पढ्न पाउँदैनन्। ज्यान हत्केलामा राखेर घुँडो र मुन्टो गर्दै हामी धरानदेखि नुन तेल खेप्छौँ, हामीले नै अलिनो र खस्रो खानुपर्छ। गोरुझैँ रातदिन जोतिएर हामी कमाई गछौँ, हाम्रा जहान छोराछोरी भोकभोकै गर्छन्। भन्त दले, यो कस्तो निसाप हो? मैले आजसम्म एक मुरी पसिना बगाएँ हुँला। तर आफ्नोलागि फुटेको कौडी जोड्न सकिनँ। मेरा जम्मै पसिना मुखियाका ढुकुटीमा गए, मुखिनीका कन्तुरमा थुनिए।’ जुरानसिंहले जिन्दगी भरिको गुनासो एकै सासमा पोख्यो।
‘अब तँ निदा। तँ गलेर पेदु भइस्।’
बिहानै उठेर तिनीहरू अगाडि बढे। एकछिनपछि जुरानसिंहलाई फेरि ज्वरोले हमला ग¥यो।
‘अब म चट्पटाउन सक्दिनँ। म मरेँ भने, दले, तैँले मेरो लाश लगेर चारलाखे साहुलाई जिम्मा लाइदिनू। मेरो रगतमासु बेचेर मैले नखाएको जम्मै रिन उसले असुल गरोस्। तर मेरा जहान छोराछोरीका गर्धन उसले नअँठ्याओेस्। मैले भनेको तैँले बुझिस्, दले?’
‘जाऊँ, जाऊँ। यस्तो चालले हुँदैन। भरिसक्के भोलि बेलुका धरान पुग्नुपर्छ। आइज, ढाकरमाथि बस्। म तँलाई सजिलै बोकेर लानसक्छु।’
जुरानसिंह मानेन। सकीनसकी ऊ हिँड्दै गयो, हिँड्दै गयो। अलि पर पुगेपछि एउटा रुखको छायाँमा थकाइ मार्न ती बसे। जुरानसिंहको सुन्निएको अनुहार पहेँलो हुँदै विरुप भइरहेको थियो।
‘उमेरमा यही बाटो हिँडेर दुई दिनमा म धरान पुग्थेँ। अब एक वर्खमा पनि धरान पुगेर म घर फर्किन सक्दिनँ होला हाउ। मेरो भाइ दले, अब हामी घर फकौँ। तँ मलाई बोकेर घर पु¥याइदे। साहुको कामभन्दा गरीबको ज्यान ठूलो हो, बुझिस् भाइ?’ जुरानसिंहले हरेस खाएको बोलीमा भन्यो। दलबहादुर वाल्ल प¥यो। उसले केही भन्न सकेन। चारलाखे साहुको कपटी अनुहारको छायाँ उसको कमलो हृदयमा टाँसिएको थियो। नुनको भारी नलिई रित्तै फर्किँदा साहुले बाँच्न देला भन्ने विश्वास उसमा थिएन।
‘तँ भोकले बढ्ता गलिस् क्यार। पख्, ऊ तल बगरमा ओर्लेर भात पकाई खाउँला।’ दलबहादुरले भन्यो। जुरानसिंहले घोस्से मुन्टो लायो।
एउटा लेउ लागेको चिप्लो, भिरालो ढुंगो पार गरेर बगरमा उत्रिनु पथ्र्यो। टेक्ने सजिलो ठाउँ पनि त्यहाँ थिएन, समात्ने कुनै जिनिस पनि त्यहाँ थिएन। दले अघिअघि गएर तल बगरमा उत्रिहाल्यो। जुरानसिंह गोडा कमाउँदै, कहालिँदै बीचैमा रोकियोे।
‘म अब यत्तिकै सकिएँछु, दले!’ अनुहार कालोनीलो बनाउँदै जुरानसिंहले हारेको स्वरमा भन्यो, ‘ता कस्तो खबर सुनाइदिन्छस् दले मेरो घरमा?’ ऊ ढुङ्गामा लिपिक्क टाँस्सियो। त्यस्तै बीस गज जति तल भुमरी परेको नदी थियो। पानीका भुल्का भुलुक्भुलुक् उफ्रिरहेका थिए। उसको ज्यान अब त्यसैत्यसै बिलाउँदै गइरहेको थियो।
‘तँ न काँत्री। लु, यो ढाकरमा बुरुक्क उफ्री। तँलाई हावामै समात्न सकिनँ भने म बाबुको छोरा हुइन“, बुझिस्? तँ आजै मर्न पाउँदैनस्। चाँडो उफ्री, आँखा चिम्लेर, चाँडो।’ दलबहादुर तलबाट कस्सियो। उसका जोशिला कुराले जुरानसिंहलाई थोरै साहस दियो। जुरानसिंहले उफ्रिने आँट ग¥यो। तर अहँ, आँट आएन। पारिपट्टिको जङ्गलले ढाकेको पाखो नदी सँगसँगै सुलुसुलु बगेको उसले देख्यो। उसलाई भनन्न रिँगटा लाग्यो। आफू उभिएको ढुङ्गोसहित सारा संसार नदीसँगै स्वात्तै बगेको देखेपछि उसको हंसले ठाउँ छोड्यो।
‘दले!’ ऊ हैरान भएर करायो। आफू उभिएको चिप्लो ढुङ्गो भित्रभित्रै धसिँदै गएको अनुभव भयो उसलाई। अनि आँखा चिम्लेर दलबहादुरका पाखुरामा पर्ने गरी बुरुक्क उफ्रिन खोज्दा उसको पछिल्लो पैतालो लुत्त चिप्ल्यो। अनि ऊ पानीको भुल्कोमा चप्ल्याङ्ग खस्यो। पानीको हात्तीसुँढे भुल्कोले उसलाई दश गज जति पर हुत्याएर पछा¥यो। मुटु फुटेको करुणाजनक स्वरमा ऊ अन्तिमचोटि बोल्यो, ‘दले!’
तमोर नदीले जुरानसिंहलाई हावाको वेगमा हुत्याएर लग्यो। उसलाई समात्न भनेर दलबहादुर हुरीझैँ किनारै–किनार दगु¥यो। दलबहादुर सासै नबिसाई कति कति परसम्म कुद्यो। अनि एउटा चुच्चो ढुङ्गोमा ठेस लागेर पछारिँदै ऊ घोप्टो प¥यो। उसको नाथ्री फुटेर रगत बग्यो। चारलाखे साहुको निर्दयी अनुहार सम्झिँदै उसले पिच्च थुक्यो। अनि कहिल्यै नफर्किने बाटोमा गएको जुरानसिंहलाई सम्झेर आकाश चिरा पर्ने गरी ऊ चिच्यायो, ‘जुराने! हैन, तँ कता पो बिलाइस् हाउ जुराने?’
https://twitter.com/belakoboli
(२०२५ सालमा मधुपर्कमा प्रकाशित। कुन्साङ काकाका कथा, भाग १ बाट साभार)