तिमीसँग रहेर
प्रायसः मलाई यस्तो महशुस हुने गर्दछ,
कि दिशाहरु नजीक भएका छन्,
प्रत्येक बाटाहरु छोटा भएका छन्,
संसार खुम्चिएर
एउटा आँगनजस्तो बनिएको छ
जो अटेसमटेस गरेर भरिएको छ,
कतै पनि एकान्त छैन
न बाहिर, न भित्र।
हरेक चीजका आकार घट्दै गएका छन्
वृक्षहरु यति साना भएका छन्
कि म तिनका शिरमा हात राखेर
आशिष दिन सक्दछु
आकाश छातीसँग टकराउँदछ
म जब चाहन्छु बादलहरुलाई मुखभित्र लुकाउन सक्दछु।
तिमीसँग रहेर
प्रायसः मलाई महशुस हुने गर्दछ
कि हरेक कुराको एउटा अर्थ हुने गर्दछ
यहाँसम्म कि घाँस हल्लिनुको पनि
हावा झ्यालसम्म आउनुको,
र किरण पर्खालमा
चढेर पर जानुको।
तिमीसँग रहेर
प्रायसः मलाई लागेको छ
कि हामी असमर्थताहरुले होइन
सम्भावनाहरुले घेरिएका छौँ,
हरेक पर्खालहरुमा ढोका बन्न सक्छ
र हरेक ढोकाहरुबाट पुरापुरै
पहाड गुज्रन सक्दछ।
शक्ति यदि सीमित हो भने
हरेक चीज अशक्त पनि,
पाखुराहरु यदि छोटा छन्
त समुद्र पनि खुम्चिएको,
सामथ्र्य मात्रै इच्छाको दोश्रो नाम हो,
जीवन र मृत्युको बीचमा जुन भूमि छ
त्यो भाग्यको होइन, मेरो हो।
कविको परिचय:
१५ सेप्टेम्बर १९२७ मा उत्तर प्रदेशको बस्ती भन्ने गाउँमा जन्मिएका सक्सेनाले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै एंग्लो संस्कृत हाईस्कुलबाट गरेका हुन् भने उच्च शिक्षा बनारसको क्वीन्स कलेज र प्रयाग विश्वविद्यालयबाट लिएका हुन्।
दिनमान र परागजस्ता चर्चित तथा विशुद्ध साहित्यिक पत्रिकाको उप–सम्पादक र सम्पादक भएर काम गरेका उनले जिविकाको लागि भने अध्यापन, क्लर्क र भारतको प्रसिद्ध रेडियो आकाशवाणीको सहायक प्रोड्युसर भई काम गरेका थिए। लेखनीको शुरुवात उनले कविताबाट गरेता पनि कथा, नाटक र बालोपयोगी साहित्यमा पनि हात चलाएका थिए। उनले अनुवादको काम पनि गरेका छन् भने हिन्दीमा अनुवादित नेपाली कविताहरुको सङ्ग्रहको सम्पादक भई पनि काम गरेका थिए।
उनका कविताहरुमा उनको निजी जीवन र समसामयिक सामाजिक तथा राजनीतिक जीवनको त्रासदी परस्परमा गुञ्जन हुने गर्दछ ।