चिया पसले भन्थ्यो– दुई चार दिनमा तपाईँको दुध चिया आउँछ। तर पाँचौ दिनसम्म पनि ऊ देखिइन। हरेक दिन ऊ आएकी होली भन्ने आशमा म कहिले एक्लै, कहिले दाइहरुसँग पसलमा जान्थें। लेमन टी खाएर फर्कन्थें।
सात दिनपछि पसलमा ऊ साथीहरुलाई गफ दिइरहेकी थिईः सिन्धुली–बर्दीबासको बाटो त ठ्याक्कै सर्प जस्तो रैछ, यस्तै। उसले हात हल्लाएर सर्प हिँडेको जस्तो बनाई।
मलाई देखेर मुस्कुराउँदै बाँया आँखा झिम्काई।
साहुजीले सोध्यो– सरलाई दुध चिया ल्याउँ कि लेमन टी?
‘लेमन टी।’
ऊ एकछिन अलमलमा पर्यो र भन्यो–तर सर....।
‘कुरो क्लियर छैन दाइ’ मैले हाँस्दै भनें, ‘लेमन टी नै खाम।’
यी सात दिन म कति घोत्लिएँ उसका बारे। एकातिर सृष्टिका सारा कुरा समेटिएका मोटामोटा धर्मशास्त्रका किताब अर्कातिर बढीमा सय अक्षरको उसको भिजिटिङ कार्ड। त्यो कार्डका अक्षर चुम्बकले फलाम तानेझैं जतिबेलै मेरो मन तानिरहन्थे। तर दुई शब्दको उसको थर सियो बन्थ्यो, बेलाबेलामा च्वास्स घोच्ने र मुटु दुखाइरहने। आखिर किन राखी होली यसले दुईटा थर?
मेरो हातमा लेमन टी देखेर उसले आँखा तरी।
उसका साथीहरु खाजा खाएर निस्के। ऊ मोबाइल चलाउँदै बसीरही। सोचें– चुरोट खान मन लागेर बसी होली।
हामी चिया खाजा खाएर उठ्यौं। जान लाग्दा उसले हात तलमाथि गरेर मलाई बस्न संकेत गरी।
मैले संकेतमै सोधें– किन?
दाँया हात मुखमा लिएर बुढी औंलासँग चोर र माझी औंला जोडेर तलमाथि गरी।
‘एउटा साथीले आउँछु भनेर म्यासेज ग¥यो दाइ, म एकछिन बस्छु’, जान लागेका दाइहरुलाई मैले भनें। उनीहरु निस्के।
ऊ टेबलको अर्को कुर्सीमा आएर बसी।
‘झन फोन गर्नु भनेर साहुजीलाई कार्ड दिएर गको’, उसले भनी ‘यत्रो दिनसम्म फोन गर्नु पर्दैन, इडियट कहीँको।’
‘तिमीलाई मेरो नाम थाहा छ र? के भनेर फोन गर्नु?’
‘नामसाम किन चाहिन्थ्यो, चिया पसलमा भेटिने केटो भने चिनिहाल्थें नि।’
उसले दिएको मेरो परिचय सुनेर हैरान भएँ।
एकछिनमा भनें– म जान्छु अब।
‘काँ?’
‘अफिस।’
‘यार, उलाई भनेर साथीहरु छोडेर बसें। ऊ भने जान्छु रे, इडियट। कहाँ गएकी थिएँ यत्रो दिन त सोध।’
‘तिम्रो बिहे भइसक्यो?’ मलाई जे जान्न मन थियो त्यहीँ सोधें।
ऊ एकछिन अलमलिई। बेस्सरी हाँसी र भनी– माइत गएर आको जस्तो लाग्यो कि क्या हो? म बिहे गरेकीजस्ती देखिन्छु र?
आफैंलाई तलदेखि माथिसम्म हेरी र फेरि सोधी– तिमीले कसरी सोच्यौ, मेरो बिहे भइसक्यो?’
‘तिम्रा दुई थर छन्, शर्मा र पौडेल।’
‘एउटा बाबाको हो एउटा आमाको।’
‘छोराछोरीको थर त बाबुकोबाट राखिन्छ।’
‘के फरक भयो त मैले आमाको पनि राखिदिएँ।’
‘फेमिनिस्ट हौ कि क्या हो?’
‘ह्वाट डु यू मिन बाइ फेमिनिस्ट?’
‘यस्तै बाबु आमा दुबैको थर राख्ने, पितृसत्तालाई चुनौती दिने, मेरो शरीर मेरो अधिकार भन्ने, हरेक ठाउँमा समानता खोज्ने...’
‘यी सब कुरा थाहा छैन। मलाई त आफूलाई मन लागेको कुरा गर्न पाउनुपर्छ, त्यत्ति थाहा छ। यस्ता इज्मसिज्ममा नो इन्ट्रेस्ट।’
‘मतलब तिम्रो बिहे भएको छैन?’
‘अहिलेसम्म छैन।’
‘यही तालले हुन पनि हुन्न, बुढी कन्या भएर जुनी सकिन्छ’ म कुर्सीबाट उठ्न खोजें।
‘हुन्न भने नहोस’्, ऊ पनि उठी र भनी, ‘मलाई के को पीर।’
मोबाइलमा फोन गर्न लगाई। मैले उसको नम्बर डायल गरिदिएँ। भनी–ल सेभ भयो, भरे कुरा गरौंला।’
‘मेरो नाम के सेभ ग¥यौ? मैले त भनेकै छैन, देखाऊ त।’
‘तिमीलाई सुहाउने नाम सेभ गरेकी छु, किन चाहियो?’
मैले उसको मोबाइल हेर्न खोजें। ऊ दौडेर गई र भनी–इडियट।
एउटा कुरा ढुक्क भयो, उसको बिहे भएको रहेनछ। त्यति भए मलाई इडियट भने पनि फरक परेन। उसैले त भनेकी थिई– इडियटहरू सोकल्ड ज्ञानीजस्ता ढोंगी हुन्नन।
‘सुन, भोलिदेखि तिमी र म अन्तै चिया खान जाने’ साँझ मोबाइलमा उसले नयाँ प्रस्ताव राखी।
‘किन?’
‘अब किन रे फेरि, चिया खान जाने नि।’
‘मलाई त्यहीँको चिया राम्रो लाग्छ, सस्तो, मिठो अनि सफा पनि।’
‘दायाँबायाँ कुरा था छैन भोलि तीन बजे फोन गर्छु, जहाँ भन्छु त्यहाँ खुरुक्क आउने’, उसले आदेश दिई।
‘हजुरको जो आज्ञा,’ मैले नाइँ भन्नै सकिनँ।
...
‘त्यहाँको जस्तो हल्लाखल्ला छैन नि है,’ कफी सपको कुर्सीमा बसेर उसले भनी।
मैले होको संकेतमा टाउको हल्लाएँ।
वेटर आइपुग्यो, मेनु ल्याएर।
‘२ कप कफी क्यापोचिनो’ उसले भनी।
‘भाइ, मलाई कफी लाते।’
वेटर गयो।
एकछिन उसले मलाई हेरी–दुध चिया खान हुन्न भन्ने मान्छे, त्यति धेरै दुध हुने लाते कफी?
मैले आँखा झिम्काउँदै भनें– चिया र कफी फरक हुन्छ नि।’
उसले जवाफ फर्काइन।
सामुन्ने उभिएको अर्को वेटरलाई बोलाएर वाइफाईको पासवर्ड मागी।
मलाई सोधी– फेसबुक चलाउँदैनौ?
‘झ्याउ लाग्छ।’
‘दुनियाँले यही चलाउँछन्, तिमीलाई झ्याउ लागेर हुन्छ’, ऊ मोबाइलमा हराई।
यो केटी किन सब गरिरहेकी होली सोचेर म पनि हराएँ। आफैंलाई सोधें– यस्ती केटीको संगत गर्नु ठीक हो? आज सोध्छु, खास यो मबाट के चाहन्छ?
एकछिनमा कफी आइपुग्यो। उसले त्यसमा चिनी राखी र चम्चाले हल्लाउन थाली। कफी सुरुप्प पार्दै मैले सोधें– तिमी यो सब किन गरिरहेकी छौ?
‘चिनी राम्ररी घुलेन भने थेग्रिएर बस्छ, कफीको स्वादै आउँदैन’, उसले भनी।
‘मैले चिनी किन घोलेकी भनेर सोध्या होइन, मसँग किन यो सब गरिरहेकी भनेर सोधेको?’
उसले हल्लाइरहेको चम्चा टक्क रोकी र मलाई हेरी।
‘तिमीजस्ता मान्छे मलाई मन पर्छन्।’
‘मन पर्छन् मतलब?’
‘साह्रै माया लाग्छ।’
‘माया लाग्छ भन्नाले?’
‘हुन्छ नि बिचरा, कति सिरियस भन्नेजस्तो लाग्छ’, उसले थपी ‘तिमीजस्ताहरू संसारै आफूले धानेको जसरी जतिबेलै सिरियस हुन्छौ, जिन्दगी के हो थाहै नपाएर एकदिन सिरियस अवस्थामै मर्छौ, यस्ता मान्छे मलाई खुब मन पर्छ।’
‘मतलब मलाई देखेर तिमीलाई दया लाग्छ?’
‘ठ्याक्कै त्यही वर्ड हो’, उसले भनी ‘मेरो मुखमा अघि आएन, लाइफ त इन्जोइ गर्ने हो नि। सिरियस त जसले सृष्टि
चलाइहेको छ उही हुन्छ, हामी किन हुने?’
उसको कुरा सुनेर हाँसो उठ्यो–सृष्टि चलाउनेचाहिँ को रैछ?’
‘ल, त्यत्ति पनि थाहा छैन, धर्मशास्त्रका कुरा पढ्दैनौ कि क्या हो?’ कफीको चुस्की लिँदै उसले भनी ‘ब्रह्माजीले सृष्टि गर्नुहुन्छ, बिष्णुजीले सम्भार गर्नुहुन्छ अनि शिवजीले संहार गर्नुहुन्छ भनेर त्यत्रो लेखिदिएकै छ त।’
ती मोटामोटा किताब जुन पढेर म ज्ञानी पुरुष बन्न खोज्दै थिएँ। यसले ती सबै पढेकी रै छ? अचम्ममा परें।
‘अरु के के लेखेको छ, धर्मशास्त्रका किताबमा?’
‘सानो हुँदा स्वस्थानी सुनेन कि क्या हो, टिभीमा आउने महाभारत, रामायण पनि हेरेनौं?’ उसले यसरी भनी जे म अचेल पढिरहेको छु, यति जाबो कुरा त फुच्चे हुँदा नै सबैलाई थाहा हुन्छ।
‘अनि ब्राह्मण पुत्रीले चुरोटको धुँवा उडाउँदै हिँडे पनि केही फरक पर्दैन लेखेको छ धर्मशास्त्रमा?’
‘त्यही भएर त मलाई ती किताबप्रति इरिटेड लाग्छ। मान्छेलाई जे मन लाग्छ त्यो गर्न नपाइने रे महिलाले यो गर्नु पर्ने पुरुषले त्यो गर्नु पर्ने भन्छ। त्यस्तो पनि कहिँ हुन्छ, मान्छे त आफूलाई जे मन लाग्छ त्यही गर्छ। तिमीलाई पनि यस्तै लाग्छ नि, होइन।’
‘तिमी किन चुरोट खान्छौ?’ मैले उसको उत्तर पनि भएको प्रश्नलाई वेवास्ता गर्दै प्रसंग बदलें।
‘म के खादिनँ त्यो सोध न बरु?’
‘मतलब कुनै कारण हुन्छ नि।’
‘तिमीले अहिलेसम्म कुनै केटालाई यही कुरा सोधेका छौ?’
‘छैन।’
‘अनि मलाई किन सोधेको त?’
‘तिमी केटी हो नि, त्यही भएर।’
‘तिमीलाई एउटा कुरा थाहा रैनछ, सृष्टि विस्तार गर्न चार पुत्रले अस्वीकार गरेपछि ब्रह्माजीले आफैंलाई दुई भागमा बाँड्रे मनु र सतरुपा जन्माउनु भयो। उनै मनु र सतरुपाका सन्तान हौं रे हामी। अब मनु र सतरुपा दुबै ब्रह्माजी नै हो भने तिमी के यो केटा र केटीको लफडामा सिरियस भइरहेको? लेट्स चेन्ज द टपिक।’
‘तिम्रो घर कहाँ हो?’ उसले भनेअनुसार मैले विषय बदलिदिएँ।
‘एक दिन लैजान्छु।’
‘कहिले लान्छौं भनें र?’
‘मुखले भन्नुभन्दा प्रत्यक्ष ठाउँ नै हे¥यो भने तिमीलाई सजिलो हुन्छ नि।’
वेटरले बिल ल्याइदियो। मैले त्यो समाएँ र पर्स निकालेर पैसा राखिदिएँ।
कुर्सीबाट उठ्दै उसले भनी– तिमीसँग कुरा गर्दा मजा आयो। तर तिमीलाई धर्मसर्मका कुरा त्यति थाहा रहेनछ, गीता, महाभारत पढ्ने गर।
जुन किताबप्रति इरिटेड लाग्छ भन्थी तिनै किताब मैले पढ्नु पर्ने उसको सुझाव अनौठो थियो।
छुट्टिने बेला प्लाष्टिकको झोला मतिर बढाएर उसले भनी– यो लेऊ तिमीलाई ल्याइदिएकी, इलामबाट।’
‘के छ यसमा?’
ऊ हिँडी। अलि पर पुगेपछि फर्केर भनी–माइतबाट ल्याएको कोसेली हो।
साँझ कोठामा आएर उसको कोसेली खोलेर हेरें। अलिकति छुर्पी र ललिपप थियो।
उसैको फोन बज्यो।
‘कस्तो छ, छुर्पी,’ उसले सोधी।
‘तिमीजस्तै छ।’
‘मतलब?’
‘मतलब कडा छ,’ मैले हाँस्दै भने, ‘तर बिस्तारै बिस्तारै मिठो लाग्दैछ।’
(क्रमशः)